एजेन्सी । बार्सिलोना, युभेन्टस, चेल्सी र सेभिया युरोपियन च्याम्पियन्स लिग फुटबलको ‘राउन्ड अफ सिक्सटिन’ मा प्रवेश गरेका छन् । मंगलबार राति भएको समूहका चौथो चरणका खेल जित्दै चारै टोली नक–आउट चरणमा प्रवेश गरेका हुन् ।
समूह ‘जी’ को खेलमा युक्रेनको डाइनामो किभलाई ४–० ले हराउँदै बार्सिलोना नकआउट चरणमा उक्लियो । सो खेलमा लियोनल मेस्सीसहित चर्चित खेलाडीले खेलेका थिएनन् ।
यही समूहको अर्को खेलमा हंगेरीको फेरेन्कभारोसलाई २–१ ले हराउँदै क्रिस्टियानो रोनाल्डोको युभेन्टस पनि अर्को चरणमा पुग्यो ।
युएफा च्याम्पियन्स लिगको समूह ‘ई’ बाट चेल्सी र सेभिया नकआउट चरणमा पुगेका छन् । फ्रान्सको रेनेजलाई २–१ ले हराउँदै चेल्सी तथा रुसको एफसी क्रस्नोडारलाई २–१ ले हराउँदै सेभिया अघिल्लो चरणमा पुगेका हुन् ।




