काठमाडौँ । बुन्डेसलिगामा बोरुसिया डर्टमण्डले शानदार जित दर्ता गरेको छ ।
गएराति भएको खेलमा डर्टमण्डले घरेलु टोली हेर्था बर्लिनलाई ५–२ गोल अन्तरले पराजित गरेको हो । डर्टमण्डको जितमा इर्लिङ हालाण्ड नायक बने । उनले चार गोल गरे । राफायल गुरेरोले डर्टमन्डका लागि एक गोल गरे । यस्तै, ब्राजिली विङ्गर म्याथुस कुन्हाले हर्थाका लागि दुई गोल गरेका थिए ।
हालाण्डले १५ मिनेटमा आफ्नो ह्याट्रिक पुरा गरे भने ७९ औँ मिनेटमा चौथो गोल गरेका थिए । हालाण्डले सबै प्रतियोगितामा पछिल्ला ६ खेलमा १० गोल गरेका छन् भने यो सिजन देश र क्लबका लागि १७ खेलमा २१ गोल गर्न सफल भएका छन् ।
जितसँगै डर्टमण्डले ८ खेलमा १८ अंक जोडेको छ । उसले शीर्ष स्थानको बायर्न म्युनिखसंग अंक दुरी घटाएको छ । बायर्नको समान खेलबाट १९ अंक छ । गएराति बायर्नले भेरडाआ ब्रेमेनसंग १–१ गोलको बराबरी खेलेको थियो । पराजित हेर्था ७ अंकसहित १३ औँ स्थानमा छ ।




