काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सहभागी भएर स्वदेश फर्किएका छन् ।
आईपीएल टिम दिल्ली क्यापिटल्समा सहभागी जनाएर सन्दीप आज विहान स्वदेश फर्किएका हुन् । सन्दीप तीन महिनापछि स्वदेश फर्किएका हुन् । सुरुमा सन्दीप क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्डिज पुगेका थिए । त्यहाँ उनले राम्रो प्रदर्शन गरेका थिए।
त्यसपछि उनी आईपीएलमा सहभागी हुन संयुक्त अरब एमिरेट्स (यूएई) गएका थिए । तर, उनले आईपीएलमा दिल्लीबाट कुनै मौका पाएनन् । फाइनलमासमेत पुगेको दिल्लीबाट सन्दीपले एक खेल पनि खेल्न पाएनन् । मंगलबार भएको फाइनलमा दिल्ली मुम्बईसँग ५ विकेटले पराजित भएको थियो ।
बिहीबार स्वदेश फर्किएसँगै सन्दीपले कथा नसकिएको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्विटमा ‘कथा सकिएको छैन, विस्तारै सुरु हुँदै छ’ लेखेका हुन् । उनको त्यो स्टाटसबाट आफ्नो खेल जीवन नसकिएको बरु सुरुवात भइरहेकोतर्फ संकेत गरेको बुझ्न सकिन्छ ।




