खेलकुद

आइपिएलको फाइनलमा आज मुम्बई र दिल्ली भिड्दै

काठमाडौँ । यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स पुगेका छन् । नेपाली समय अनुसार ७:४५ बजेदेखि अब दुवै टिमबीच उपाधिका लागि आज फाइनल खेल हुने छ ।

अहिलेसम्म १३औ सिजनमा मुम्बई इण्डियन्स छैठौ पटक फाइनल खेल्दै छ भने दिल्ली क्यापिटल्स पहिलो पटक फाइनलमा पुगेको हो । मुम्बईले यस अघि चार पटक उपाधि समेत जितेको छ । मुम्बईले २०१० मा फाइनलमा पुगेर चेन्नई सुपरकिंग्ससँग पराजित भएको थियो ।

खेलाडीहरुको प्रदर्शन र समग्र टिमको प्रदर्शन हेर्दा मुम्बई इण्डियन्स निकै बलियो देखिन्छ । मुम्बईले यस सिजनमा खेलेको १५ खेलमा १० खेलमा जित हासिल गर्दै फाइनलमा पुगेको हो ।

त्यस्तै दिल्लीले भने १६ खेलमा ९ खेल जितेर पहिलो पटक फाइनलमा पुगेको छ । तर दिल्लीले आफ्ना पछिल्ला ७ खेलमा २ जित र ५ खेलमा हार बेहोरेको थियो ।

तर हरेक खेल फरक हुने हुनाले फाइनल कसले जित्छ भन्ने अनुमान गर्न मुश्किल रहेको छ । मुम्बई इण्डियन्सका कप्तान रोहित शर्मा इन्जुरीबाट फर्किएपनि यस सिजनमा उनको प्रदर्शन राम्रो रहेको छैन । यद्यपी अन्य खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

मुम्बईका लागि अहिलेसम्म इशान किशन र क्वेंटन डिककले ४८३-४८३ रन बनाएका छन् । त्यस्तै यस सिजनमा मुम्बईका लागि उत्कृष्ट प्रदर्शन गरेका खेलाडी हुन् सूर्यकुमार यादव । यादवले यस सिजनमा १५ खेलमा ४६१ रन बनाएका छन् । त्यस्तै मुम्बईका लागि हार्दिक पाण्डेयले १३ खेलमा २७८ रन बनाएका छन् भने रोहित शर्माले २६४ रन बनाएका छन् । त्यसैगरी केरन पोलार्डले २५९ रन बनाएका छन् ।

त्यस्तै बलिङतर्फ मुम्बईका जसप्रित बुमराहको यो सिजन निकै सफल रहेको छ । बुमराहले १४ खेलमा २७ विकेट लिदै दोस्रो स्थानमा रहेका छन् । मुम्बईको सफलतामा बुमराहको निकै ठुलो भूमिका रहेको छ । त्यस्तै मुम्बईको बलिङ अट्याकलाई प्रभावशाली बनाउने अर्को बलर हुन् ट्रेन्ट बोल्ट । न्युजील्याण्डका तिब्रगतिका बलर बोल्टले १४ खेलमा २२ विकेट लिएका छन् । त्यस्तै मुम्बईका लागि लेग स्पिनर राहुल चहरले १५ खेलमा १५ विकेट लिएका छन् ।

त्यस्तै दिल्ली क्यापिटल्सका लागि सर्बाधिक रन बनाउने खेलाडी शिखर धवन हुन् । धवनले यस सिजनमा दुई शतकसहित ६०३ रन बनाएका छन् । उनी यस आइपिएलमा धेरै रन बनाउने खेलाडीको सुचिमा दोस्रो स्थानमा रहेका छन् । त्यस्तै दिल्लीका लागि कप्तान श्रेयस अय्यरले ४५४ रन बनाएका छन् । त्यस्तै अस्ट्रेलियन अलराउन्डर मार्कोस स्टोइनिसले दिल्लीलाई फाइनलमा पुर्याउन ठुलो भूमिका खेलेका छन् । उनले ३५२ रन बनाएका छन् । त्यस्तै रिषव पन्तले २८७ रन बनाएका छन् ।

त्यसैगरी दिल्लीको यस सिजनमा सफलताका लागि दक्षिण अफ्रिकी तिब्रगतिका बलर कागीसो रबाडाको ठुलो भूमिका रहेको छ । रबाडा यस सिजनमा अहिलेसम्म धेरै विकेट लिने बलर समेत हुन् । रबाड़ाले १६ खेलमा २९ विकेट लिएका छन् । त्यस्तै दिल्लीका लागि भारतीय स्पिनर आर आश्विनले समेत राम्रो योगदान दिएका छन् । आश्विनले १४ खेलमा १३ विकेट लिएका छन् । त्यसैगरी अराउण्डर मार्कोस स्टोइनिसले १६ खेलमा १२ विकेट लिएका छन् ।

यसरी हेर्दा दुई टिमका खेलाडीको प्रदर्शन उत्कृष्ट रहेको देखिन्छ । फाइनल खेलमा बुमराह भर्सेज शिखर तथा रबाडा भर्सेज रोहितको रोचक भिडन्त हुने अनुमान गर्न सकिन्छ ।

मुम्बई आइपिएलमा आफ्नो सफलतालाई निरन्तरता दिदै पाँचौ पटक उपाधि जित्न फाइनल खेल्ने छ भने दिल्लीले पहिलो पटक आइपिएल उपाधि जितेर इतिहास बनाउने लक्ष्यका साथ फाइनल खेल्दै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *