खेलकुद

बंगलादेशविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको बिदाई

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेशसँगको मैत्रीपूर्ण खेल खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाई गरेको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगालामा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल, एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ लगायतले नेपाली टोलीलाई विदाई गरेको हो । बिदाईको क्रममा सदस्यसचिव सिलवालले नेपालको राष्ट्रिय झन्डा फरवार्ड भरत खवास र गोलरक्षक किरण चेम्जोङलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

२५ खेलाडी र ७ पदाधिकारीसहितको नेपाली टोली बिहीबार ढाका प्रस्थान गर्नेछ । रोहित चन्द चोटका कारण टोलीमा समावेश छैनन् भने प्रशिक्षणमा बोलाईएको खेलाडी मध्ये ७ जना कोरोना संक्रमण देखिको छ । उनीहरु पनि टोलीमा समावेश छैनन् ।

नेपालले बंगलादेशसँग यही नोभेम्बर १३ र १७ मा ढाकाको बंगबन्धु रंगशालामा मैत्रीपूर्ण फुटबल खेल खेल्नेछ । मुख्य प्रशिक्षक योहान कालिनको अनुपस्थितिमा टोलीको प्रशिक्षणको जिम्मेवारी बालगोपाल महर्जनले सम्हालेका छन् । टिमको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल रहेका छन् ।

नेपाली टोलीमा किरण चेम्जोङ, भरत खवास, अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दिप कार्की, दिलेन लोक्तान, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रन्जित धिमाल, रवि पासवाल, सरोज दाहाल, सेसेहाङ आङदम्बे, सुबास गुरुङ, सुजन श्रेष्ठ, सुमल अर्याल, तेज तामाङ र छिरिङ गुरुङ रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *