सारजाँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभन पञ्जाव विजयी भयो । पञ्जावसँग कोलकता नाइट राइडरलाई ८ विकेटले पराजित भएको हो ।
गएराति सारजाँ क्रिकेट स्टेडियममा सम्पन्न खेलमा टस जितेर पञ्जावले कोलकतालाई ब्याटिङको निम्तो दिएको थियो । कोलकताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४९ रन बनाएको थियो । कोलकताका लागि ओपनर ब्याट्सम्यान शुभम् गिलले सर्वाधिक ५७ रनको योगदान दिए । त्यसपछि कप्तान इयोन मोरगेनले ४० र लोकिज फरगुसनले २४ रन बनाउनुबाहेक अरु कुनै व्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । पञ्जावका लागि महम्मद सामीले ३ विकेट लिएका थिए ।
१ सय ५० रनको लक्ष्य पञ्जावले १८ ओभर ५ बलमा २ विकेटको नोक्सानीमा भेटायो । ओपनर व्याट्सम्यान मन्दिप सिंहले ६६ तथा क्रिस गेलले ५१ रन तथा कप्तान केएल राहुलले २८ रनको योगदान दिएका थिए । कोलकताका लागि बरुण चक्रवर्ती र फरगुसनले १–१ विकेट लिएका थिए ।




