युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज मुम्बई इन्डियन्स र कोलकत्ता नाईट राइडर्सबीच खेल हुँदैछ । खेल नेपाली समयानुसार शेख जियाज रंगशालामा ७:४५ बजे सुरु हुनेछ ।
अंक तालिकाको दोस्रो स्थानमा रहेको मुम्बईलाई चौथो स्थानमा रहेको कोलकत्ताले चुनौती दिन लागेको हो ।
आजको खेलमा जित हात पार्दै मुम्बई शिर्षस्थानमा पुन: उक्लिने दाउमा रहेको छ । यता, कोलकत्ता भने मुम्बईलाई हराउँदै शिर्ष तीनमा उक्लिने तयारीमा छ ।
मुम्बई रोहित शर्माको कप्तानीमा हार्दिक पाण्डे, केइरन पोलार्ड, ट्रेन्ट बोल्ड, जसप्रित ब्रुमराह, क्वान्टन डी ककलगायतका अनुभवी र उत्कृष्ट खेलाडीको साथमा मैदान उत्रिदैँछ ।
कोलकत्तामा भने दिनेश कार्तिकको नेतृत्वमा आन्द्रे रसेल, शुभमान गिल, इयन मोर्गन, प्याट क्युम्किसलगायतका खेलाडी छन् ।
‘हेड टु हेड’को आंकडा हेर्दा मुम्बई निकै बलियो देखिएको छ । यी दुई टोलीबीच खेलिएका २६ खेलमा मुम्बई २० मा र कोलकत्ता ६ मा विजयी भएका छन् । पछिल्लो खेलमा मुम्बईले कोलकत्तालाई ४९ रनले हराएको थियो ।




