खेलकुद

आईपीएल : बैंगलोरले चेन्नईलाई ३७ रनले हरायो

यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले चौंथो जित निकालेको छ ।

गएराति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ३७ रनले हराउँदै बैंगलोरले चौंथो जित निकालेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ७० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रनमै समेटियो ।

चेन्नईका लागि अम्बाती रायाडुले सर्वाधिक ४२ रन बनाए । यस्तै, नारायण जागाडिसनले ३३ रन जोड्दा शेन वाट्सनले १४ र कप्तान महेन्द्र सिंह धोनीले १० रन बनाए ।

चेन्नईलाई सस्तोमै समेट्न बैंगलोरका लागि क्रिस मोरिसले ३ विकेट लिए । वासिङ्गटन सुन्दरको नाममा २ विकेट रह्यो ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो ।

बैंगलोरका लागि कप्तान विराट कोहलीले अविजित रहदै ९० रनको अर्धशतकीय इनिङ्स खेले । शिवम डुबेले अविजित २२ रन जोडे ।

यस्तै देवदुत पडीक्कलले ३३ रन जोड्दा वासिङ्गटन सुन्दरले १० रन बनाए ।

चेन्नईका सार्दुल ठाकुरले २ विकेट लिए ।

जितसँगै बैंगलोर तालिकाको चौंथो स्थानमा उक्लिएको छ । बैंगलोरले ६ खेलमा ८ अंक जोडेको छ ।

छैटौं स्थानको चेन्नईको यो पाँचौं हार हो । ७ खेलमा चेन्नईले ४ अंक जोडेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *