खेलकुद

पन्जाव र चेन्नाईलाई जितनै पर्ने दवाव

युएईमा जारी इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा आज २ खेलहरु हुँदैछन् । दिउँसो पौने चार बजेदेखि आबुधावी रंगशालामा सुरु हुने पहिलो खेल किंग्स एघार पन्जाव र कोलकाता नाइट राइडर्सबीच हुनेछ ।

साँझ पौने ८ बजेदेखि दुवईमा सुरु हुने अर्को खेल रोयल च्यालेन्जर्स बैंग्लोर र चेन्नाई सुपर किंग्सबीच हुनेछ ।

जारी सिजनको आईपीएलमा कोलकाता र पन्जाव दुवैले अपेक्षाकृत प्रदर्शन गर्न सकेका छैनन् । कोलकाताले तुलनात्मक रुपमा ब्याटिङको समस्या झेलिरहेको छ भने पन्जावको बलिङमा सुधार हुनुपनेृ देखिन्छ ।

कप्तान केएल राहुलसहित अर्का ओपनर मयंक अग्रवाल नै जारी सिजन सर्बाधिक रन बनाउने सूचीको शीर्ष २ स्थानमा छन् । तर टिमले लगातार हारिरहेको छ । पछिल्लो ६ खेलमा उसले ५ खेल हारेको छ । भारतीय महान बलर अनिल कुम्लेको टिममा तीव्र बलर प्रभावकारी देखिएका छेनन् । पन्जाव अंकतालिकाको अन्तिममा छ ।

अर्कोतर्फ आन्द्रे रसेलको खराव लय कोलकाताका लागि महंगो परिरहेको छ । युवा ब्याट्सम्यानलाई अधिक अवसर दिएको कोलकाताले पर्याप्त रुपमा आफ्नो लय समाउन सकेको छैन । यद्यपी ५ खेलबाट ६ अंकसहित उसले अंकतालिकाको चौथो स्थानमा आफूलाई सुरक्षित राखेको छ ।

दोस्रो खेलमा तीनपल्टको च्याम्पियन चेन्नाईले विराट कोहलीको बैंग्लोरसँग खेल्नेछ । दुवै टोली अहिलेसम्म सेट भइसकेका छैनन् । कप्तान महेन्द्र सिंह धोनीसहित भेट्रान खेलाडीहरुको जमघट रहेको चेन्नाईको मध्यक्रमले जिम्मेबारी लिन नसक्दा लगातार खेल हारिरहनु परेको छ । चेन्नाईले पछिल्ला ६ मध्ये २ खेलमात्र जितेको छ ।

बैंग्लोरका लागि पनि प्रदर्शन सुखद छैन । तर पछिल्लो खेलदेखि एबीडी भिल्लियर्सले राम्रो प्रदर्शन गर्न थालेका छन् । विराट कोहली आफैं पनि लयमा देखिएका छैनन् । पछिललो ५ खेलमा बैंग्लोरमा ३ खेल जितेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *