अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्सले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा फ्रान्सले युक्रेनमाथि ७–१ गोलको फराकिलो जित निकालेको हो ।
यूईएफए नेसन्स लिग खेल खेल्नु अघि फ्रान्सले मैत्रीपूर्ण खेल खेलेको हो ।
घरेलु मैदानमा भएको खेलमा फ्रान्सलाई फराकिलो जित दिलाउन ओलिभर जिरुउडले दुई गोल गरे । इडुआर्डो कामाभिंगा, कोरेन्टिन टोलिसो, केलियन एमबाप्पे र एन्टोइन ग्रिजमनले एक एक गोल गरे । उता युक्रेनका भिक्टोरले एक गोल फर्काए ।
खेलको ९ औँ मिनेटमा कामाभिंगाले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । २४ औँ मिनेटमा जिरुउडले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसको १० मिनेटपछि जिरुउडले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३-० को स्थितिमा पुर्याए ।
एक गोल फ्रान्सले आत्मघाती उपहार पाएको थियो । ३९ औँ मिनेटमा युक्रेनका भिटाली माइकोलेनकोले आत्मघाती गोल गरेका थिए । यससँगै फ्रान्स पहिलो हाफमा ४ गोल गर्न सफल भयो ।
५३ औँ मिनेटमा भिक्टोर स्यानकोभले गोल गर्दै युक्रनेलाई खेलमा फर्काउने कोसिस गरे । तर, ६५ औँ मिनेटमा टोलिसोले गोल गर्दै फ्रान्सलाई ५-१ को स्थितिमा पुर्याए ।
८२ औँ मिनेटमा युवास्टार एमबाप्पेले गोल गरे । ८९ औँ मिनेटमा ग्रिजमनले गोल गर्दै फ्रान्सलाई ७-१ को फराकिलो जित दिलाए ।




