एजेन्सी । युएईमा जारी १३ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले पहिलो जित निकालेको छ ।
गएराति भएको खेलमा सनराईजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्दै कोलकत्ताले पहिलो जित निकालेको हो ।
शेख जायद स्टेडियममा हैदराबादले दिएको १ सय ४३ रनको लक्ष्य कोलकत्ताले १८ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।
कोलकत्ताको जितमा शुभमन गिलले अविजित रहँदै ७० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै इयान मोर्गनले अविजित ४२ रन बनाए । नितिस रानाले २६ रन जोडे ।
.हैदराबादका खलिल अहमेद, राशिद खान र टी नटराजनले १/१ विकेट लिए ।यस अघि ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो ।
हैदराबादका लागि मनिस पाण्डेले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान डेभिड वार्नरले ३६ रन जोड्दा जोनी बेयर्स्टो ५ रनमा आउट भए ।
रिद्धिमान शाहले ३० तथा मोहमद नाबीले अविजित ११ रन बनाए ।कोलकत्ताका पाट कुमिन्स, भरुण चक्रवर्ती र आन्द्रे रसेलले १/१ विकेट लिए ।




