रोम । इटालियन लिग फुटबल प्रतियोगिता ‘सिरी–ए’ मा शीर्षस्थानको युभेन्टस युडिनेजीसँग पराजित भएको छ । गएराति भएको खेलमा युडिनेजीले युभेन्टसलाई २–१ ले हरायो ।
यो पराजयसँगै युभेन्टसले उपाधिका लागि कम्तिमा अर्को खेलसम्म कुर्नुपर्ने भएको छ । उपाधिका लागि युभेन्टसलाई ३ अंकको आवश्यकता रहेको छ । युडिनेजीको मैदानमा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्स पराजित भएको थियो ।
खेलको ४२ औं मिनेटमा माटियास डे लिग्टले गोल गर्दै युभेन्टसलाई अग्रता दिए । तर दोस्रो हाफमा युडिनेजीका इलिजा नेस्तेरोभ्सकी र सेको फोफानाले एक एक गोल गर्दै टोलीलाई विजयी गराए ।
युभेन्टस लगातार नवौं सिजन सिरी ‘ए’ को उपाधि जित्ने तयारीमा छ । यो उपाधि युभेन्टसका लागि किर्तीमानी ३६ औं सिरी ‘ए’ उपाधि हुनेछ । जारी सिजनमा ३५ खेलबाट युभेन्टसको ८० अंक छ । समान खेलबाट ७४ अंक जोडेको एटलान्टा दोस्रो स्थानमा रहेको छ ।




