खेलकुद

क्रिकेट प्रशिक्षकका लागि खुल्ला दरखास्त आह्वान गरिने

काठमाडौं । नेपाली क्रिकेट टोलीलाई प्रशिक्षण दिन नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक नियुक्तिका लागि एक साताभित्र खुल्ला दरखास्त आह्वान गर्ने भएको छ । क्यानको हिजो बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले अन्तराष्ट्रिय क्रिकेट परिषद् आइसीसीसँग छलफल गरेर मुख्य प्रशिक्षकसहित जनरल म्यानेजर, फाइनान्स म्यानेजर र व्यवस्थापकका लागि एक सातामा दरखास्त आह्वान गर्ने निर्णय गरेको छ ।

क्यानले सात प्रदेशका लागि प्रशिक्षकको दरखास्त खुल्ला गर्ने तथा मुलपानीसहित अरु तीन वटा मैदानका लागि एक एक जना क्युरेटर नियुक्त गरेको छ ।

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक उमेश पटवालले राजिनामा दिएपछि यो पद रिक्त थियो । हिजो सोमबारको बैठकमा क्यानले विभिन्न सात वटा निर्णय सार्वजनिक गरेको छ ।

यसका साथै क्यानले भदौं १५ गतेभित्र क्यानको साधारणसभा गर्ने निर्णय पनि गरेको छ । यसैगरी क्यानले केन्द्रिय सदस्य जयन्ती भट्टको संयोजकत्वमा सात सदस्यीय महिला क्रिकेट विकास समिति गठन गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *