मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

चैत्र १३ गते मंगलबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । मंगलबार तयार पारिएको मुख्य १० समाचारमामा ओवादीले गर्‍याे इलाम–२ उपनिर्वाचनका लागि ४ जनाको नाम सिफारिस देखि विदेश जाने श्रमिकलाई अभद्र व्यवहार नगर्न अध्यागमन कर्मचारीलाई गृहमन्त्रीको निर्देशन सम्मका समाचार समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

माओवादीले गर्‍याे इलाम–२ उपनिर्वाचनका लागि ४ जनाको नाम सिफारिस

काठमाडौं । माओवादी केन्द्रले आगामी वैशाख १५ गते हुने इलाम जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को उप–निर्वाचनका लागि चार जना उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । प्रदेश समिति कार्यालय विराटनगरले जिल्ला समन्वय समिति इलामको सिफारिसको आधारमा चार जनाको नाम सिफारिस गरेको छ । प्रदेश अध्यक्ष हर्क बहादुर नेम्वाङ (मिक्सो) का अनुसार धिरेन्द्र शर्मा तिम्सिना (रमण) उर्मिला तामाङ (चन्दा) ओम बहादुर गुरुङ (सौरभ )कुमार बराइली (अनिल) को नाम सिफारिस गरिएको हो ।

राजनीतिमा छट्टुहरु हावी हुन थाले: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिमा छट्टुहरु हावी हुन थालेको टिप्पणी गरेका छन् । मंगलबार नवीन्द्रराज जोशीको तेस्रो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सांसद थापाले राजनीतिमा छट्टुहरु हावी हुन थालेको बताएका हुन् । उनले कांग्रेस पार्टी भित्र अहिले इमान्दार र योग्यताको निम्ति प्रयास गर्ने मानिस चाहिएको बताउदै भने- ‘नेपाली कांग्रेसभित्र हामीलाई यो बेला इमान्दार पनि, सँगसँगै योग्यताका निम्ति प्रयास गर्ने मानिस चाहिएको छ। तर राजनीतिमा विस्तारै कस्तो हुन्छ भने छट्टुहरु हावी हुन थाले, छट्टुहरु कस्तो हुन्छ भने आउँछ लटरपटर पार्छ, झुक्याउँछ, रंगरोगन गर्छ जान्छ। हामीलाई छट्टुहरु चाहिएको होइन, हामीलाई गति र मति दुवै भएको मान्छे चाहिएको हो। गति छ मति छैन, मति छ गति छैन।’ महामन्त्री थापाले अहिले उत्तेजनाको राजनीति गर्नेले नयाँ पुस्ताको चाडो परिवर्तन होस् भन्ने चाहनाको दुरुपयोग गरेको आरोप लगाए ।

उनले भने- ‘आफ्नो जीवनकालमा बदलियोस् भन्ने चाहना राखेको छ। नयाँ पुस्ताले चाडोभन्दा चाडो परिवर्तन होस् भन्ने चाहेको छ। त्यसलाई चाहनालाई उत्तेजनाको राजनीति गर्नेले दुरुपयोग गर्ने गरेका छन्। त्यसलाई चेतनाको राजनीतिले पक्रनुपर्नेछ।’ उनले कांग्रेसभित्रको गुटगत प्रतिस्पर्धा र शक्ति संघर्षले कोर विषय नै हराउने गरेको बताउदै केहि राम्रो गरौं भन्दाभन्दै गुटका कारण कोर कुरा हराउने गुनासो गरेका थिए ।

कांग्रेसको गैर सरकारी संस्था समन्वय विभागमा १० जना सदस्य मनोनित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको गैर सरकारी संस्था समन्वय विभागमा १० जनालाई मनोनित गरेका छन् । देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य डा। रणबहादुर रावल प्रमुख रहेको कांग्रेस गैर सरकारी संस्था समन्वय विभागको सदस्य मनोनीत गरेका हुन् ।

प्रदेश सरकारको नेतृत्व परिवर्तन गरे देश दुर्घटनाको दिशातर्फ धकेलिन्छ : डा. कोइराला

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा अहिलेसम्म कुनै पनि स्थायी गठबन्धन नभएकाले प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्न नहुने बताएका छन् । सत्ता गठबन्धनभित्र प्रदेश सरकारको नेतृत्व फेरबदल गर्ने बहस जारी रहेको बेला उनले यस्तो बताएका हुन् । उनले प्रदेश सरकारको नेतृत्व परिवर्तन गरे देश दुर्घटनाको दिशातिर मोडिने बताए । अहिले प्रदेश सरकार खारेज गर्न संघीयता विरोधीहरुले आवाज उठाइरहेको बेला प्रदेश सरकारको नेतृतव फेरबदल गर्ने कुराले अर्को तनाव सिर्जना गर्ने उनले बताए ।

निर्वाचन भएको दुई वर्ष पुग्न नपाई अस्थायी राजनीतिले प्रदेश सरकार र संघबीचको सन्तुलनमा ह्रास आएको बताउँदै उनले देशको विकास र संघीयताको स्थायित्वका लागि वर्तमान प्रदेश सभाका अंकगणित हेर्दा संघकै गठबन्धन अनुरूप प्रदेशमा पनि सरकार संचालनमा ल्याउन खोजे कुनै प्रदेशमा संवैधानिक र कानूनी जटिलता आउने तथा कुनै प्रदेश मध्यावधिमा जाने संभावना देखिएको टिप्पणी गरे । उनका अनुसार मध्यावधि निर्वाचन आजको आवश्यकता र बाध्यता दुवै होइन ।अहिले बारम्बार सत्ता परिवर्तन गर्ने शैलीले प्रदेश सरकारमा किचलो चलिरहेको छ ।

योजना आयोगले रोजगारीका कार्यक्रम प्रस्तुत गरोस् : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगारी प्रवद्र्धन हुनेगरी नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोगका नवनियुक्त सदस्यहरूलाई बोलाएर प्रधानमन्त्री दाहालले विद्यमान समस्या समाधान गर्नेगरी योजना तयार गर्नुपर्नेमा जोड दिए । उत्पादन र रोजगारी न्यून हुनु देशको प्रमुख समस्या भएको उल्लेख गर्दै उनले अर्थतन्त्रको हरेक क्षेत्रमा समस्या देखापर्ने तथा एक क्षेत्रको समस्या समाधान गर्न खोज्दा अर्को क्षेत्रमा समस्या झन बल्झिने अवस्थालाई सम्बोधन गर्न जरूरी रहेको उल्लेख गरे ।

“आयोगले सरकारको थिङ्क ट्याङ्कका रूपमा निर्वाह गर्नुपर्ने भूमिकालाई अझ प्रभावकारी बनाउने छ भन्ने विश्वास लिएको छु,” प्रधानमन्त्री दाहालले भने “आगामी दिनमा योजनाहरू प्रभावकारी एवं तथ्यमा आधारित हुनेछन् ।” तथ्याङ्क प्रणालीलाई सुदृढ तुल्याई तथ्यमा आधारित नीति निर्माणमा ध्यान दिन सो अवसरमा उनले निर्देशन दिए । “मलाई विश्वास छ, अहिले बनेको नयाँ टोलीले राष्ट्रिय योजना आयोगको काम–कारबाहीलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउनेछ,” प्रधानमन्त्री दाहालले भने, “यसबाट योजना निर्माण, अध्ययन–अनुसन्धान र विकास–निर्माणका आयोजनाको कार्यान्वयनलाई सहजीकरण गर्ने दिशामा गति पैदा गर्नेछ ।”

उनले १६औँ योजनाको कार्यान्वयन अन्तिम चरणमा पुगेकालाई अन्तिमरूप दिने प्रक्रिया अघि बढाउन र योजनामा प्रस्ताव गरिएका रणनीति तथा कार्यक्रमलाई आगामी वर्षको बजेट निर्माणको क्रममा समावेश गर्न आयोगलाई निर्देशन दिए । सोह्रौँ योजनाले प्रमुख रूपमा देशभित्र उत्पादन र रोजगारी बढाउने दिशामा नयाँ खालका नतिजामूलक कार्यक्रमलाई अघि बढाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले भने, “हामीले अब निर्माण गर्ने पूर्वाधारले कुन हदसम्म उत्पादन र रोजगारी बढाउन सहयोग पुराउँछ, त्यसको आधारमा मात्र पूर्वाधारका आयोजना छनोट गरी कार्यान्वयनमा लैजानुपर्छ ।” सो अवसरमा आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र आयोगका सदस्यहरुको उपस्थिति रहेको थियो ।

कांग्रेसपछि हाम्रो नेपाली पार्टीले पनि फिर्ता लियो बागमती सरकारलाई दिएको समर्थन

हाम्रो नेपाली पार्टीले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेशमा दुई सांसद रहेको हाम्रो नेपाली पार्टीले प्रदेश प्रमुखलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । केन्द्रमा नयाँ समीकरण बनेपछि गत फागुन २३ मा नेपाली कांग्रेसका ६ जना मन्त्रीले राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेल अल्पमतमा छन् । उनले संवैधानिक व्यवस्था अनुरूप ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । बागमतीमा वर्तमान सरकार टिकाइराख्न साना दलको समर्थन निर्णायक बनेको छ । हाम्रो नेपाली पार्टीले मुख्यमन्त्रीमा समेत आफ्नो दाबेदारी पेश गरको छ ।

केन्द्रको गठबन्धन अनुसार मुख्यमन्त्री जम्कट्टेलको पक्षमा माओवादीका २१, एमालेका २७, एकीकृत समाजवादीका ७ गरि ५५ सदस्यको समर्थन रहेको छ । त्यस्तै ११० सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेस ३७ सिटसहित सबैभन्दा ठुलो दल रहेको छ । प्रदेशमा राप्रपाका १३ र नेपाल मजदुर किसान पार्टीका ३ सांसद रहेका छन् । बागमती प्रदेशमा राप्रपाका साभामुख रहेका छन् । यस्तो अंक गणितमा मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत लिन एक मत आवश्यक रहेको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।  जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ विदेशमन्त्री यीबीच आज बेइजिङको स्टेट गेस्ट हाउसमा द्विपक्षीय भेटवार्ता भएको हो ।उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठ समकक्षी यीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा पुगेका हुन् । चीनमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ समकक्षी तथा बेइजिङ र अन्य प्रान्तहरुमा चीनका उच्चस्तरका विभिन्न व्यक्तित्वसँग भेट गर्ने कार्यक्रम छ । 

उपप्रधानमन्त्री श्रेष्ठले आजै चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सिपिपिसिसी)का केन्द्रीय अध्यक्ष वाङ हुनिनसँग भेटवार्ता गर्ने छन् । त्यस्तै उनले चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग (आइडिसिपिसी) का उपमन्त्री सुन हाइयानसँग पनि भेट गर्ने कार्यक्रम छ । 

बीएण्डसीलाई सम्बन्धन दिने सर्वोच्चको फैसलाप्रति गोविन्द केसीको आपत्ति

मेडिकल व्यवसायी दुर्गा प्रसाईले सञ्चालन गरिरहेको झापाको बीएण्डसी मेडिकल कलेजलाई प्रक्रिया पुर्याएर डाक्टर पढाउने अनुमति दिनू भन्ने सर्वोच्च अदालतको फैसलाप्रति डा गोविन्द केसीले आपत्ति जनाएका छन् । सोमबार सर्वोच्चका न्यायाधीशद्धय शारंगा सुवेदी र कुमार चुँडालको संयुक्त इजलासले प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने आदेश दिएपछि आज एक विज्ञप्ति जारी गर्दै केसीले आपत्ति जनाएका हुन् । उनले ऐनको उल्लंघन भएमा फैसला नस्वीकार्ने चेतावनी दिएका छन् । केसीले सर्वोच्चको सो फैसलाले मेडिकल क्षेत्रमा अराजकताको सुरुवात हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

उनले लेखेका छन्,- ‘सो फैसलाले चिकित्सा शिक्षा ऐनको मर्ममा प्रहार गर्‍यो र आयोगलाई निस्तेज तुल्यायो भने मेडिकल शिक्षाको क्षेत्रमा अराजकतालाई बल पुग्नेछ र आम नागरिकको स्वास्थ्यमा थप खेलबाड हुनेछ। यही सन्दिग्ध अर्थ लाग्ने फैसलामा टेकेर कसैले पनि ऐन उल्लङ्घन गर्ने काम गरेमा त्यो हामीलाई स्वीकार्य हुने छैन।’ उनले प्रतिकुल फैसला आएको अवस्थामा त्यसले न्यायिक अराजकता सिर्जना गर्न सक्छ र न्यायालयले आफैँ त्यस्तो गल्ती सुधार्नुको विकल्प नरहेको पनि बताएका छन्।

‘देशको कानुन र संविधान टेकेर हुने कुनै पनि फैसला मान्नु हामी सबैको कर्तव्य हुन्छ तर कसैको निहित स्वार्थमा कानुन प्रतिकुल फैसला आएको अवस्थामा त्यसले न्यायिक अराजकता सिर्जना गर्न सक्छ र न्यायालयले आफैँ त्यस्तो गल्ती सुधार्नुको विकल्प रहँदैन। त्यसैले ऐनप्रतिकुल फैसला आएको अवस्थामा सम्बन्धित निकाय तत्काल न्यायिक पुनरावलोकन (भ्याकेट) मा जानुको विकल्प रहने छैन’, उनले भनेका छन्।

केसीले कानुनको बलमा प्रक्रिया मिच्ने काम भए आफू जुनसुकै बेला आमरन अनशनमा बस्नेपनि चेतावनी दिएका छन् । केसीकै पटक पटकको अनसनका कारण प्रसाईको मेडिकल कलेजले सम्बन्धन पाएको थिएन । प्रसाईले आफ्नो बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन नदिएको भन्दै चिकित्सा शिक्षा आयोग, काठमाडौँ विश्वविद्यालयलयागत निकायका विरुद्ध २०७७ असारमा रिट दायर गरेका थिए।

डा. गोविन्द केसीको अभियानका कारण आफ्नो व्यवसाय धरापमा परेको उनको आरोप थियो। आफ्नो मेडिकल कलेजलाई सम्बन्धन नदिएको भन्दै चिकित्सा शिक्षा आयोग, काठमाडौँ विश्वविद्यालयलगायत निकायका विरुद्ध २०७७ असारमा प्रसाईले दायर गरेको रिटको अन्तिम सुनुवाइ मंगलबार सकिएको हो।

लिखु तामाकोशीका पूर्वअध्यक्ष खड्का भ्रष्टाचारमा दोषी ठहर

रामेछापको लिखु तामाकोशी गाउँपालिकाका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीशद्धय टेकनारायण कुँवर र तेजनारायण सिंह राईको इजलासले सोमबार गाउँपालिका तत्कालीन अध्यक्ष खड्कालाई दोषि ठहर गर्दै ६ महिना कैद सजाय सुनाएको हो। विशेष अदालतले खड्कालाई १ करोड ९९ लाख ३२ हजार ५ सय ९ रुपैयाँ ८८ पैसा जरिवाना पनि तिराउने फैसला गरे‍को छ। अदालतले राजुप्रसाद न्यौपाने र टंकप्रसाद चौलागाईंलाई ३ महिना कैद र ६३ लाख १० हजार ८ सय ३६ रुपैयाँ ६२ पैसा जरिवाना सुनाएको छ। त्यसैगरि दुर्गाबहादुर डिम्दोङ तामाङ र नोर्बु लामालाई ३ महिना कैद र ३१ लाख ५५ हजार ४ सय १८ रुपैयाँ ३१ पैसा जरिवाना भएको छ। न्यौपाने तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र डिम्दोङ लेखापाल थिए।

सामान ल्याउने ठेकेदार कम्पनी सञ्चालक अमृतबहादुर तामाङलाई पनि ३ महिन कैद र ४२ लाख ३५ हजार ६ सय ८६ रुपैयाँ ४७ पैसा जरिवाना अदालतले तोकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय गाउँपालिकामा विद्युतीकरण गर्दा भ्रष्टाचार भएको भन्दै २७ जनाविरुद्ध मुद्दा चलाएको थियो। उक्त प्रकरणमा पाँच जना दोषी ठहर भएका छन् भने अन्य २२ जनालाई अदालतले सफाइ दिएको छ ।

विदेश जाने श्रमिकलाई अभद्र व्यवहार नगर्न अध्यागमन कर्मचारीलाई गृहमन्त्रीको निर्देशन

 उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले अध्यागमन विभागका कर्मचारीहरूलाई विदेश जाने श्रमिकलाई अभ्रद व्यवहार नगर्न निर्देशन दिएका छन् । मंगलबार गृहमन्त्री लामिछानेले अध्यागमन विभागका कर्मचारीहरुलाई विगतमा जस्तो बारम्बार गल्ति नदो¥याउन निर्देशन दिएका हुन् । कालिकास्थानस्थित अध्यागमन विभागमा पुगेर गृहमन्त्री लामिछानेले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्र धानिदिने श्रमिकहरूलाई अभद्र व्यवहार नगर्न आग्रह गरेका हुन् । बिमानस्थलमा विदेश जाने आउने नेपाली श्रमिकहरुलाई अध्यागम विभागका कर्मचारीहरुले विगतमा बारम्बार अभ्रद व्यवहार गरेको भन्दै गृहमन्त्री लामिछानेले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकको सम्मान गर्न आग्रह गरेका हुन् ।

गृहमन्त्री लामिछानेले विदेशी गएका नेपालीहरुलाई आफ्नो देशको नीति नियम र संस्कारको प्रंशसा गर्न योग्य बनाउन आवश्यक रहेको उल्लेख गर्दै अध्यागमन सुधारका योजना समेत आग्रह गरे । कर्मचारीवृत्तमा केही खराब मान्छेका कारण इमान्दारले दोष पाउने गरेको उनको भनाइ थियो । अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउनु आवश्यक रहेको उल्लेख गर्दै प्रविधिमैत्री बनाउनुपर्ने बताए । उनले विगतमा भएका घटनामा आफूले कसैलाई दोष नदिने बताउँदै अब त्यस्ता गल्ती दोहोरिन नहुने उल्लेख गरे। कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले सकारात्मक सोचाई र व्यवहारका साथ सेवा दिन, प्रविधिमैत्री बन्न, मनसायपूर्ण गल्ती नगर्न निर्देशन दिए। विभागका महानिर्देशक कोशहरि निरौलाले विभागको काम–कारबाही, समस्या र चुनौतीबारे गृहमन्त्री र सचिवलाई ब्रिफिङ गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *