चैत्र ६ गते मंगलबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । मंगलबार तयार पारिएको मुख्य १० समाचारमा गृहले सबै जिल्ला प्रशासनसँग माग्यो इजाजत प्राप्त हतियारको विवरण देखि नेपाल महिला क्रिकेटकी पहिलो कप्तान नेरीको सन्यास सम्मका समाचार समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
गृहले सबै जिल्ला प्रशासनसँग माग्यो इजाजत प्राप्त हतियारको विवरण
काठमाडौँ । गृह मन्त्रालयले इजाजत दिइएका हतियारको विवरण पठाउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । सोमबार सर्वोच्च अदालतबाट इजाजत लिइएको हतियारसहित दुई व्यक्ति पक्राउ परेका थिए । त्यसपछि गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई इजाजत दिइएका हतियारको विवरण २४ घण्टाभित्र उपलब्ध गराउन आदेशात्मक पत्र पठाएको हो । हतियार तथा खरखजना ऐन २०१९ ले स्थानीय प्रशासनसँग स्वीकृति लिएर हतियार राख्न पाउने प्रबन्ध गरेको छ। सोहीअनुसार मन्त्रालयले हालसम्मको इजाजत विवरण पठाउन पत्राचार गरेको हो ।
‘हालसम्म हातहतियार तथा खरखजनाको इजाजत पत्र जारी गरिएका व्यक्ति, प्रयोजन, प्रकार तथा संख्यासहित नवीकरण भए / नभएको विवरण, त्यस्ता हातहतियार इजाजत विपरीत प्रयोग भए / नभएको विवरण र बिनाइजाजत प्रयोग गरिएको, नवीकरण नगरिएको र उद्देश्य विपरीत प्रयोग गरिएका कारण त्यस्ता हतियार बरामद गरिएको सो समेत खुलाई पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र उपलब्ध गराइदिनुहुन आदेशानुसार अनुरोध छ’, पत्रमा भनिएको छ ।
स्थगित भएको प्रतिनिधि सभा बैठक बुधबार मात्रै बस्ने
सांसदहरुको गणपुरक संख्या नपुगेपछि मंगलबार १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक अब बुधबार मात्रै बस्ने भएको छ। संघीय संसद् सचिवालयले सूचना टाँस गर्दै बुधबार बिहान ११ बजे बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित भएको जनाएको छ। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले भन्सार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्तावमाथि सामान्य छलफल सकिएपछि निर्णयार्थ पेस हुँदा नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले गणपुरक संख्या यकिन गर्न माग गरेका थिए।
कांग्रेस सभामुख तिमिल्सिनाको मागपछि बैठक सञ्चालन गरिरहेकी उपसभामुख इन्दिरा रानाले गणपुरक संख्या यकिन गर्न निर्देशन दिइन्। गणपुरक संख्या यकिन गर्न ३ मिनेटका लागि घण्टी बजाइयो। तर गणना गर्दा गणपुरक संख्या नपुगेको देखियो।प्रतिनिधि सभामा कायम सदस्य संख्याको १ चौथाइ सांसदको उपस्थितिलाई गणपुरक संख्या पुगेको मानिन्छ। हाल प्रतिनिधि सभामा कायम सदस्य संख्याको एक चौथाइ संख्याअनुसार गणपुरक संख्या पुग्नका लागि बैठकमा ६९ जना सांसदको उपस्थिति हुनुपर्ने हो। तर मंगलबारको बैठकमा ६६ जना सांसद मात्रै उपस्थित भएको पाइयो। त्यसपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि संसद् बैठक स्थगित गरेका थिए। १५ मिनेटका लागि स्थगित गरिएको बैठक अब बुधबार बिहान ११ बजे बस्नेछ।
गृहमन्त्रीमाथिको आरोप छानविन गर्न संसदीय समिति गठन गर्न माग
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणका विषयमा संसदीय छानविन समिति गठन गर्न माग गरेको छ। प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले दिएको जवाफ चित्त नबुझेको भन्दै घटनाको छानविन गर्न संसदीय समिति गठन गर्न माग गरे। मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकमा उपप्रधानमन्त्री लामिछाने बारे जवाफ दिएका थिए। उनले लामिछाने कुनै सहकारीको संस्थापक, व्यवस्थापक, सञ्चालक केही नरहेको र उनीमाथि उजुरी मात्र परेको भन्दै कांग्रेसले अनावश्यक राजनीति गरेको आरोप लगाएका थिए।
कांग्रेसले संसदमा आज पनि माग्यो गृहमन्त्रीको राजीनामा
नेपाली कांग्रेसले आज पनि प्रतिनिधिसभामा गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमा अनुसन्धान हुनुपर्ने माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेस सांसद दिपक गिरीले गृहमन्त्रीको राजीनामाको माग गर्दै आफैले आफै माथि अनुसन्धान गर्ने व्यवस्था कहिँ नभएको बताए ।
उनले सहकारी ठगी प्रकरणमा जोडिएका माओवादी केन्द्रका कार्यकर्ता दिपेश पुन पक्राउ परेको र लामिछानेलाई भने गृहमन्त्री बनाइएको बताएका थिए । कांग्रेस सांसद गिरीले कांग्रेसले पटक पटक यो विषय उठाइरहेको र प्रधानमन्त्रीले बाहिर होइन संसदमा आएर जवाफ दिन समेत आग्रह गरेका थिए ।गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सिंहदरबार परिसरमा प्रदर्शन गरेका छन् । तर उक्त विषयमा गृहमन्त्री लामिछाने दोषि नभएको भन्दै आरोपित गृहमन्त्री बचाउनमा प्रधानमन्त्री प्रचण्ड लागेका छन् ।
सहकारी प्रकरणमा रवि लामिछाने संलग्न छैनन्- प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले रवि लामिछानेको विषय उठाएपछि आफुले यस विषयमा अध्यान गरेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री रवि लामिछाने हाल कुनै सहकारी संस्थाको बोर्डमा या लेखा समिति वा कुनै समितिमा नरहेको बताएका छन् । उनले सुर्यदर्शन सहकारीका पिडितकर्ताहरुले गरेको उजुरीमा कुनै व्यक्तिको नाम उल्लेख नभएको बताउदै प्रधानमन्त्री प्रचण्डले रवि लामिछाने सहकारी प्रकरणमा संलग्न नभएको अनुसन्धानबाट देखिएको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले रवि लामिछाने सरकारमा आउनु अघि नै उनको संलग्नता सहकारी प्रकरणमा नभएको देखिएको स्पष्ट गरेका छन् । उजुरीको भरमा राजीनामा दिन नसकिने भन्दै कांग्रेसले यो विषयलाई अनावश्यक रुपमा राजनीति गरेको आरोप लगाएका छन् । उनले भने- ‘सुशासन कायम गर्ने सवालमा म कुनै पनि सम्झौता गर्दिनँ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यसमा आफ्नो पार्टी र अरुको पार्टी भन्ने आग्रह र पूर्वाग्रह मैले राख्दिनँ । यदि अनुसन्धानबाट कैफियत देखिएमा कसैलाई पनि कारबाही गर्न कुनै पनि कुराले रोक्ने छैन ।’
सुशासनको सङ्कल्प लिएर आफूले सरकारको नेतृत्व गरेदेखि नै ठूलाठूला भ्रष्टाचार, सुन तस्करी, जग्गा हिनामिना लगायतका काण्डहरूको छानबिन भइरहेका उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस कार्यलाई अझै प्रभावकारी बनाइने बताए ।उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका विषयमा प्रतिपक्षी दलहरूले उठाउनुभएको विषयमा प्रधानमन्त्री प्रचण्डले भने, ‘हालसम्मको अनुसन्धानले उहाँ सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारीलगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा पनि कहीँ कतै जोडिएको देखिएको छैन ।’
प्रधानमन्त्री प्रचण्डले सहकारीमा रवि लामिछानेको नाममा प्रवाह भएको भनिएको ऋण फर्छ्योट भएको देखिन आएकाले उहाँको हकमा अनुसन्धान गर्नुपर्ने नदेखिएको भन्ने प्रहरीबाट ‘ब्रिफिङ्ग’ भएको सदनलाई जानकारी गराए ।
चालीस करोडको राजस्व छली, ७९ करोड मागदाबीसहित मुद्दा
राजस्व अनुसन्धान विभागले भन्सार छली गरी झण्डै रु ४० करोड बराबरको मालवस्तुको चोरी पैठारी गरेको आरोपमा विभिन्न फर्म तथा व्यवसायीहरूविरुद्ध मुद्दा दायर गरेको छ । विभागले उनीहरुविरुद्ध बिगो असुल गरी बिगो बराबरको रु ७९ करोडभन्दा बढी रकम असुल गरी हदैसम्मको कैद सजाय माग दाबीसहित उच्च अदालतमा मुद्दा दर्ता गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार सन्दीप ट्रेडर्सका मुख्य कारोबारी दयाशङ्कर चौधरी र उक्त फर्मका प्रोपाइटर विमलावती चौधरीले सबैभन्दा बढी राजस्व छली गरेको पाइएको छ । उनीहरूविरुद्ध बिगो मूल्याङ्कन गर्दा रु १२ करोड ८५ लाखभन्दा बढी बिगोबराबरको राजस्व छली गरेको निष्कर्ष निकाल्दै बिगोबराबरको जरिवाना र हदैसम्मको कैद सजाय माग गरी सोमबार मुद्दा दर्ता गरिएको हो ।
उक्त ट्रेडर्सको कारोबारसम्बन्धी कागजात तथा विरणहरुको विश्लेषण गर्दा विसं २०७९ भदौ देखि २०८० भदौसम्ममा भिसिटिएस प्रणालीमा प्रविष्टी गरेको विवरणमा रु छ लाख ४९ हजार चार सयबराबरको मालवस्तु खरिद गरेको देखिएको तर भन्सार प्रज्ञापनपत्रलगायतका अन्य विश्वसनीय स्रोत बिना नै करोडौँका मालवस्तु बिक्री गरेको देखिएको अधिकारीले बताए । उक्त ट्रेडर्सले भन्सार चोरीपैठारी गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ऐन) २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरेको पाइएको विभागले बताएको छ । यस्तै अन्य प्रतिवादीहरु गुरु इम्पेक्सका प्रोपाइटर सीताराम रौनयार, शुभश्री इन्टरप्राइजेजका रिजवान अन्सारी, न्यु कञ्चन इन्टरप्राइजेजका मीराकुमारी श्रीवास्तव, एसपी कन्सर्नका प्रभुशङ्कर रौनियार न्यु एसकुमार इन्टरनेशनलका रामछत्री कलवारले गरेको कारोबारका सम्बन्धमा छानबिन गर्दा राहुल दुवेदीसहितका ती फर्मका प्रोपाइटरहरु तथा भारतीय नागरिकसमेतको मिलेमतो र संलग्नतामा ठूलो परिमाणको मालवस्तु भन्सार छली मालवस्तु नेपाल भित्र्याइ चोरीपैठारी गरेको पाइएको विभागको निष्कर्ष छ ।
विभागले प्रयोगमा ल्याएको भिसिटिएस प्रणालीमा राहुलकुमार दुवेदीले प्रविष्ट गरेको विवरण र आन्तरिक राजस्व विभागले सञ्चालन गरेको प्रणालीमा प्रविष्ट गरेको विवरणबाट प्राप्त भ्याट रिटर्न अनुसन्धान तथा विष्लेषणमा विभागले उक्त तथ्य पत्ता लगाएको हो । भन्सार छली तथा मालवस्तु चोरी पैठारीको आरोपमा विभागले राहुलकुमार दुवेदीको हकमा रु १७ करोड ३८ लाख, सीताराम रौनियारको हकमा रु एक करोड ८२ लाख, रिजवान अन्सारीको हकमा रु दुई करोड ११ लाख, मीराकुमारी श्रीवास्तवको हकमा रु दुई करोड ११ लाख, प्रभुशङ्कर रौनियारको हकमा रु एक करोड ७८ लाख र रामछत्री कलवारको हकमा रु एक करोड ७७ लाख बिगो बराबरको भन्सार छली गरेको निष्कर्षसहित मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।
महाधिवेशन तयारीमा जुट्न अध्यक्ष नेपालको निर्देशन
नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन् । अध्यक्ष नेपालले अन्तरपार्टी निर्देशन जारी गर्दै गत फागुन २१ गते गठबन्धन फेरिएर विकसित नयाँ राजनीतिक घटनाक्रमबाट अन्योलमा नपरी महाधिवेशनमा जुट्न कार्यकर्तापङ्क्तिलाई निर्देशन दिएका हुन् । जनतामा रहेको निराशालाई सम्बोधन गर्न हामीले प्रयास गर्नुपर्ने बताउँदै उनले भने, ‘हामीले आवश्यक राजनीतिक पहलकदमी लिँदै अगाडि बढ्नुपर्छ । तर कुनै पनि अन्योलमा नपरी पार्टीको मुख्य ध्यान सङ्गठन तथा सदस्यता विस्तार अभियान र महाधिवेशनमा केन्द्रित गर्नुपर्छ ।’
बदलिएको परिस्थितिमा पार्टी अर्को गठबन्धनमा रहेको उल्लेख गर्दै उनले भने, ‘मन्त्रीहरूबाट परिणाममुखी काम होउन्, सरकारले राम्रो काम गरोस् ।’ पार्टीले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा गर्न लागेको महाधिवेशनको तयारी सुरु गरेको छ । अध्यक्ष नेपालको नेतृत्वमा १०औँ महाधिवेशन मूल व्यवस्थापन कमिटीका साथै विभिन्न १३ वटा कमिटी गठन गरिएको छ । केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्यलाई कमिटीको सदस्यमा राखिएको छ ।
महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेको पार्टीले सङ्गठन सुदृढीकरण तथा विस्तार कार्य जारी राखेको छ । पार्टीले राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक र विधान प्रतिवेदन लेखन कार्य ९० प्रतिशत सम्पन्न गरेको जनाएको छ । महाधिवेशन केन्द्रित अभियान दुई महिनासम्म सञ्चालन गरेकामा यही चैत २५ गतेसम्म चल्ने छ । पछिल्लो विकसित राजनीतिक अवस्था, समसामयिक विषयवस्तु, अन्तर्राष्ट्रिय घटनाक्रमको समेत समीक्षा गरी ती प्रतिवेदनका आधारमा एउटै दस्ताबेज तयार गरिने सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । पार्टीभित्रको सबै वैचारिक पक्षलाई समेटेर महाधिवेशनमा एउटै दस्ताबेज प्रस्तुत गरिने जनाइएको छ ।
सत्तारुढ गठबन्धनको न्यूनतम नीतिगत र साझा सङ्कल्प सार्वजनिक
सत्तारुढ गठबन्धनको न्यूनतम नीतिगत र साझा सङ्कल्प सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गठबन्धनमा आवद्ध शीर्ष नेताहरुको उपस्थितीमा उक्त सङ्कल्प सार्वजनिक गरिएको हो ।जनतामा रहेको निराशा चिर्दै आशा र भरोसा कायम गर्ने लक्ष्य राखिएको सङ्कल्पमा नेपाली जनताको सर्वोपरी हितलाई केन्द्रमा राखिएको छ । सत्तारुढ गठबन्धनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) समावेश छन् ।
शेयर बजारलाई नीतिगत सुधारमार्फत चलायमान बनाउने, हरित वित्तको परिचालन, १५औँ आवधिक योजनाको वस्तुनिष्ट मूल्याङ्कन गरी १६औँ आवधिक योजना कार्यान्वयनमा ल्याउने, वित्तीय संस्थालाई विसङ्गति मुक्त बनाउने, सहकारी, लघुवित्तका समस्या समाधान गर्ने लक्ष्य सङ्कल्पमा राखिएको छ । सो सङ्कल्प पूर्वअर्थमन्त्री एवम् एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वाचन गरे ।
अवरण लगत्तै श्री एअरको जहाजको पाङ्ग्रा फुस्कियो
धनगढी विमानस्थलमा अवतरणका क्रममा पाङ्ग्रा फुस्किएपछि श्री एअरलाइन्सको जहाज ग्राउन्डेड भएको छ। श्री एअरलाइन्सको उडान नम्बर एएनएच २२७ को जहाज सोमबार साँझ काठमाडौंबाट यात्रु बोकेर धनगढी विमानस्थलमा अवतरण भएको थियो। विमानस्थलमा अवतरणपछि पार्किङ गर्ने क्रममा अगाडिको पाङ्गा फुस्किएर गुल्टिँदै झाडीमा पुगेको थियो।
जहाजमा रहेका सबै यात्रुलाई सकुशल रुपमा जहाजबाट निकालेपछि ग्राउन्डेड गरिएको धनगढी विमानस्थलमा प्रमुख गणेशबहादुर सिंहले जानकारी दिए। जहाज पुनः उडान गर्न योग्य नदेखिएपछि ग्राउण्डेड गरिएको विमानस्थल प्रमुख सिंहले बताए। ‘प्राविधिक रूपमा जहाज पुन: उडान गर्न अयोग्य देखियो। त्यसपछि ग्राउण्डेड गरिएको छ,’ सिंहले भने। काठमाडौंबाट प्राविधिकको टोली बोलाएर प्राविधिक परीक्षणको काम भइरहेको धनगढी विमानस्थलले जनाएको छ।
नेपाल महिला क्रिकेटकी पहिलो कप्तान नेरीको सन्यास
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पहिलो कप्तान नेरी थापाले अन्तर्राष्ट्रिय र घरेलु दुबै क्रिकेटबाट सन्न्यासको घोषणा गरेकी छिन् । नेरीले सोमबार १७ वर्ष लामो क्रिकेट यात्रा टुंगाउने घोषणा गेकी हुन् । उनले भनेकी छन्- ‘म आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गर्दैछु। क्रिकेट जीवनमा उतार चढाव भएपनि यो १७ वर्ष अविश्वसनीय रह्यो, उनले लेखेकी छिन्, खेल जीवनबाट सन्यास लिएको हुँ सम्झनाबाट हैन ।’नेरीको कप्तानीमा नेपालले सन् २००७ मा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा भाग लिएको थियो । उनको कप्तानीमा नेपालले एसीसी वुमन्स प्रतियोगिताको फाइनल पुगेको थियो ।
पछिल्लो समय टोलीमा नरहेकी उनी एपिएफबाट घरेलु क्रिकेट खेल्दैआएकी थिइन् । बाँके नेपालगञ्जकी नेरीले २००७ देखि झन्डै १२ वर्ष राष्ट्रिय टोलीबाट खेलेकी थिइन् ।




