मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

फाल्गुण १ गते मंगलबाुर संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । मंगलबार तयार पारिएको मुख्य १० समाचारमामाओवादी युद्धका सहयात्रीलाई एकताबद्ध हुन अध्यक्ष दाहालको अपिल देखि डडेल्धुरामा एक बालिका पटक पटक बलात्कृत सम्मका समाचार समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

माओवादी युद्धका सहयात्रीलाई एकताबद्ध हुन अध्यक्ष दाहालको अपिल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा योगदान दिने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन अपिल गरेका छन् । जनयुद्ध दिवसको सन्दर्भ पारेर माओवादी केन्द्रले आजदेखि राजधानीमा आयोजना गरेको प्रथम विधान सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले परिवर्तनका लागि बलिदान गर्ने योद्धालाई आरोपित गर्ने अधिकार कसैसँग पनि नभएको उल्लेख गरे । सबै क्रान्तिकारी एकताबद्ध हुने राम्रो अवसर भएको उल्लेख गर्दै अध्यक्ष दाहालले भने, “एकै मोर्चा र केन्द्रमा एकताबद्ध गर्न आग्रह गर्दछु । ढिलो नगरौँ, समीक्षा गरौँ, नयाँ लहर सिर्जना गरौँ । माओवादी युद्धका सहयात्रीहरु आउनुहोस् । यो मोर्चालाई एकताबद्ध गरौँ ।”

सामाजिक न्याय र सुशासन कायम गरेर अगाडि बढ्ने अवसर भएको भन्दै उनले सङ्कल्प गर्ने यस दिनमा सबै एकताबद्ध हुन अपिल गरे । जनयुद्ध नेपालको इतिहासको दूरगामी महत्वको रहेको र आगामी दिनमा पनि रहने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले नेपालमा जनयुद्ध सम्भव छ भन्ने निष्कर्षसहित आफूहरु अगाडि बढेको तथा सोहीअनुसार जनताले अभियानमा सहयोग प्रदान गरेको स्मरण गरे । जनयुद्धको दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले जनयुद्ध दिवस मनाउन बिदा दिएको भए पनि अदालतको निर्णयलाई स्वीकार गर्नुपरेको यथार्थ सुनाए । सरकारले बिदा नदिए पनि क्रान्तिकारीहरुले यस बिदालाई भव्यरुपमा मनाउने उल्लेख गर्दै उनले यस दिनलाई उच्च सम्मान गर्नुपर्ने बताए ।

“नेपालको ऐतिहासिक परिवर्तनमा मुख्य र निर्णायक भूमिका प्रचण्डको नेतृत्वमा सम्पन्न भएको जनयुद्ध नै थियो भन्ने कुरामा कुनै विवाद छैन, विवाद पनि गर्न हुँदैन”, उपाध्यक्ष श्रेष्ठले भने, “शान्ति प्रक्रिया अगाडि बढाउने क्रममा अध्यक्ष प्रचण्डकै नेतृत्वमा भएको र यसले नेपाली समाजलाई रुपान्तरण गरेको छ, उहाँकै दूरदृष्टिअनुसार जनयुद्धले गणतन्त्र स्थापना भएको हो ।” सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा मात्र हाम्रो लक्ष्य नभएको उल्लेख गर्दै उपाध्यक्ष श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गरेर समाजवादउन्मुख लोकतान्त्रिक गणतन्त्र दिशामा अगाडि बढ्नु पार्टीको मूल लक्ष्य हुनुपर्ने बताए । समाजवादको नयाँ आधार तयार पार्नका लागि सबै क्रान्तिकारी शक्तिलाई एकताबद्ध गरेर अगाडि बढाउनुपर्नेमा जोड दिँदै उनले राष्ट्रिय सार्वभौमिकता, प्राप्त उपलब्धिको रक्षा, सुशासनसहितको समृद्धि र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नु नै अबको कार्यभार भएको बताए ।

माओवादी केन्द्रको विधान सम्मेलन आजदेखि राजधानीमा सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधि सहभागी छन् । सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी तथा जनवर्गीय सङ्गठनका पदाधिकारी सहभागी छन् । पार्टीलाई व्यवस्थितरुपमा सञ्चालनका निम्ति आवश्यक विधान बनाउन सम्मेलन आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ ।

विधान अधिवेशनमा प्रधानमन्त्री प्रचण्डद्वारा प्रत्यक्ष निर्वाचनमार्फत पार्टीको सबै कमिटी निर्माण गर्ने प्रस्ताव पेस

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विधान अधिवेशनमा मस्यौदा विधान पेश गरेका छन् । प्रज्ञा भवनमा जारी बैठकमा मस्यौदामाथि छलफलका लागि २० समूह गठन गरेको छ । अधिवेशनमा लगभग १२ सयको वरिपरी सहभागीता जनाएका छन् । तीन दिनसम्म संचालनमा आउने अधिवेशनमा माओवादी केन्द्रले पाटी कमिटीलाई सानो र व्यवस्थित तरिकाले संचालन गर्ने जनाएको छ । अध्यक्ष प्रचण्डले बैठकमा प्रत्यक्ष निर्वाचनमार्फत पार्टीको सबै कमिटी निर्माण गर्ने प्रस्ताव पेस गरेका छन् ।

प्रचण्डले प्रस्ताव पेश गर्दै वर्तमान परिस्थितिमा प्रत्यक्ष निर्वाचित कमिटी नै सहयोगी बन्न सक्ने र जनवादी अभ्यासलाई पनि विर्सन नहुने बताए । केन्द्रीय समिति र विभिन्न स्तरको समितिको निर्वाचन कसरी गर्ने र कस्तो अपनाउने भन्नेमा बहस चलेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले हरेक विषयको अनुभव भएको भन्दै सबैस्तरको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत नै गर्न आवश्क औँल्याए । उनका अनुसार प्रत्यक्ष निर्वाचन प्रणाली स्थानीय, प्रदेश र केन्द्रीय तहको पनि प्रत्यक्ष गर्नुपर्ने हुन्छ । समावेशी प्रतिनिधित्वका बारेमा प्रधानमन्त्री प्रचण्डले न्यायोचित ढङगबाट अगाडी बढाउनुपर्ने बताए । केन्द्रीय समिति निर्वाचित गरिसकेपछि पनि केही निश्चित प्रतिशत कोटा राख्ने कुरा आजै बसेको पदाधिकारी बैठकमा पनि भएको र सोअनुसार १० प्रतिशत सहवरणको प्रावधान राख्ने उनको प्रस्ताव थियो । यसबारे अन्तिम निर्णय गर्ने टुङ्गो विद्यान अधिवेशनलाई दिएको प्रधानमन्त्ती प्रचण्डको भनाइ छ ।

प्रचण्डले केन्द्रीय समितिले पदाधिकारी छनोट गर्ने प्रस्ताव गर्दै जनवादी केन्द्रीयता कम्युनिस्ट पार्टीको संगठतात्मक सिद्धान्त भएको बताउँदै जनवादी केन्द्रीयताको ब्याख्यामा अझ वृहत बनाउनुपर्ने उल्लेख गरे ।

लघुवित्त र सहकारीपीडितलाई न्याय दिन म सक्रिय छु : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौँ नेपालीलाई न्याय दिन आफैँ सक्रिय भइरहेको बताएक छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा स्वर्णीम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।

भेटमा प्रधानमन्त्रीले भने, “यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु । लाखौँ बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छ । तपाईहरूको सुझाव पनि म हेर्छु । यो समस्या जतिसक्दो चाँडो टुङ्ग्याउन चाहन्छु, यसमा तपाईहरूको पनि सहयोग चाहियो ।”

एमाले रौतहटको अध्यक्षमा साह निर्वाचित

नेकपा एमाले रौतहटको अध्यक्षमा सचिदानन्द साह निर्वाचित भएका छन्। साह कुल १९३ मत ल्याएर निर्वाचित भएका हुन्।उनका प्रतिष्पर्धी अखिलेश्वर चौधरीले १७५ मतमात्रै प्राप्त गरे। उपाध्यक्षमा रुपेशकुमार पटेल निर्वाचित भए ।यस्तै सचिव पदमा बाबुराम दाहाल, उपसचिवमा अवधेशकुमार यादव निर्वाचित भएका छन् । एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरिएको हो ।

काठमाडौं महानगरले कान्ति बाल अस्पतालको फोहोर नउठाउने

 काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पतालको फोहोर संकलन तथा ढुवानी रोकेको छ । महानगरपालिकाले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि अस्पतालको फोहोर नउठाउने भएको हो । महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वको टोलीले अस्पतालको फोहोर व्यवस्थापनमा लापरवाही गरेको भन्दै फोहोर नउठाउने निर्णय गरेको हो । फोहोर वर्गीकरण र ढुवानी पूर्वतयारीमा कमजोरी देखिएपछि फोहोर नउठाउने जानकारी उपमेयर डंगोल नेतृत्वको टोलीले अस्पताललाई दिइएको हो।

अध्यागमनले दिन थाल्यो बिहान ८ बजेदेखि राति ८ बजेसम्म सेवा

 अध्यागमन विभागले मंगलबारबाट सेवाअवधिको समय बढाएको छ । विभागले १ फागुन मंगलबारबाट सेवाअवधि बढाएर बिहान ८ बजेदेखि राति ८ बजेसम्म सेवा दिन थालेको हो । यसअघि कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममात्र सेवा प्रवाह हुँदै आएकोमा बिहान २ घण्टा र साँझ ३ घण्टा गरेर दैनिक ५ घण्टा सेवाअवधिको समय विभागले बढाएको हो ।

साताको सात दिन नै बिहान ८ बजेदेखि र राति ८ बजेसम्म सेवा दिइने भए पनि सार्वजनिक बिदामा भने बिदा रहने विभागले जनाएको छ । बिहान १० बजेदेखि अघि र साँझ ५ बजेपछि भने भिसा शुल्क भुक्तानी अनलाइन प्रणालीमार्फत् मात्र गर्न सकिने विभागको सूचनामा उल्लेख छ ।

पाल्पामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

पाल्पाको तिनाउ गाउँपालिका-५, मस्यामको चिदिसमा मंगलबार भएको जिप दुर्घटनामा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताएअनुसार सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको हो । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रजिअ काफ्लेले बताए ।

‘नेपाल विश्वविद्यालय विधेयक’मा संशोधनकर्तासँग छलफल

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले राष्ट्रियसभाबाट प्रतिवेदनसहित प्राप्त ‘नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ मा संशोधनकर्ता सदस्यसँग छलफल सुरु गरेको छ । उक्त विधेयकमा ३६ जना सदस्यले आफ्ना संशोधन दर्ता गराएकामा आजदेखि छलफल सुरु भएको हो । बैठकमा सांसदले भएका विश्वविद्यालयलाई स्तरीय बनाउन लाग्नुपर्ने र थप विश्वविद्यालय आवश्यक छैनन् भन्दै नयाँ विश्वविद्यालयले उद्यमशील जनशक्ति उत्पादन गर्ने गरी काम गर्न जोड दिए । उनिहरुले विश्वविद्यालयमा राजनीतिक भागबण्डा हुन नहुने र दक्ष जनशक्ति उत्पादन र रोजगारीको वातावरण हुनुपर्ने बताए ।

शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिलाकुमारीले मुलुकमा प्रगतिशील व्यावसायिक र प्राज्ञिक जनशक्ति उत्पादन गर्ने गरी सरकारले सो विधेयक ल्याएको जानकारी दिइन् । आजको बैठकमा संशोधनकर्ता सांसद रघुजी पन्त, सूर्य ढकाल, मनिष झा, मैना कार्की, प्रेम सुवाललगायत सांसदले संशोधनको औचित्वबारे सैद्धान्तिक भनाइ प्रस्तुत गरेका थिए ।

डडेल्धुरामा एक बालिका पटक पटक बलात्कृत

आलिताल गाउँपालिकाकी एक १२ वर्षीया बालिका पटक पटक बलात्कृत हुनु परेको घटना बाहिरिएको छ । उपचारका लागि अस्पताल पुगेपछि बालिका बलात्कारको सिकार भएको घट्ना खुल्न आएको हो । उपचारका लागि अस्पताल पुगेकी बालिका आफन्त र गाउँकै एक युवाबाट बलात्कृत हुनुपरेको खुलेको प्रहरीले जनाएको छ । बालिका आइतबार उपचारका लागि आफन्तसहित प्रशुराम नगरपालिकाको जोगबुडा अस्पताल पुगेकी थिइन् । उपचारमा संलग्न चिकित्सकले बालिकामाथि बलात्कार भएको आशङ्का गरेपछि प्रहरीलाई खबर गर्दा घटना बाहिरिएको हो ।

प्रहरीले अनुसन्धान गर्दा बालिका पटक पटक बलात्कारको सिकार भएको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कुसुम नायकले बताए । गत वर्ष भदौमा काका नातापर्नेबाट बलात्कृत भएकी बालिका फेरि गएको माघ ६ गते एक स्थानीय युवकबाट पनि बलात्कारमा परेको उनको बयानबाट खुल्न आएको हो । पीडित बालिकाले डर, धम्कीका कारण घटनाबारेमा कसैलाई पनि नभनेको प्रहरीको भनाइ छ । अहिले बालिकालाई आफन्तको सहयोगमा जिल्ला प्रहरी कार्यालय पुर्याइएको छ । पीडित पक्षको जाहेरीका आधारमा बलात्कार गरेको आरोपमा आलितालका २० वर्षीय पुष्कर थापालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मुद्दाफाँटका प्रहरी वरिष्ठ नायब निरीक्षक करवीरसिंह ऐरले बताए ।

बालिका वृद्ध हजुरबुवा र हजुरआमासँग बस्दै आएकी छिन् । ती बालिकाका काका नाता पर्ने व्यक्ति भने अहिले भारतमा छन् । बलात्कारको घटना ढाकछोप गर्न उनी भारत गएको हुन सक्ने प्रहरीको आशङ्का छ । बालिकाका आमाबाबु कामका सिलसिलामा भारतमा रहेका बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *