माघ २६गते शुक्रबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । शुक्रबार तयार पारिएको मुख्य १० समाचारमा कोशीमा मन्त्रिपरिषद् विस्तार, ४ मन्त्री र २ राज्यमन्त्री नियुक्त देखि कोशी प्रदेश पुनः नामकरणका लागि सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति सम्मका समाचार समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
कोशीमा मन्त्रिपरिषद् विस्तार, ४ मन्त्री र २ राज्यमन्त्री नियुक्त
कोशी प्रदेशमा सरकार विस्तार भएको छ । मुख्यमन्त्री केदार कार्कीले शुक्रबार ४ जना मन्त्री र २ जना राज्यमन्त्री नियुक्त गरेका हुन् । आज थपिने मन्त्रीहरुमा नेकपा माओवादी केन्द्रबाट उदयपुरका नारायण बुर्जा मगर र संखुवासभाका राजेन्द्र कार्की रहेका छन् । त्यस्तै नेपाली कांगेसबाट प्रदीपकुमार सुनुवार र रामकुमार खत्री मन्त्री नियुक्त गरेका छन् । कांग्रेसबाटै इन्दिरा थापा राज्यमन्त्री नियुक्त भएकी छन् ।
बुर्जामगरले खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय र कार्कीले सामाजिक विकास मन्त्रालय पाएका छन् । कांग्रेसका खत्रीले उद्योग, कृषि तथा सहकारी र सुनुवारले स्वास्थ्य मन्त्रालय पाएका छन् । कांग्रेसकी इन्दिरा थापा आर्थिक मामिला तथा योजना राज्यमन्त्री बनेकी छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राज्यमन्त्रीमा सुनिताकुमारी राम रहेका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालय भने मुख्यमन्त्री कार्की स्वयमले राखेका छन् ।
एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषद्ममा विचाराधीन
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकम कम्पनी एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन नेपाल सरकार मन्त्रिपरिषद्मा विचाराधीन रहेकोे बताएकी छिन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिमा जवाफ दिँदै मन्त्री शर्माले छानबिन समितिले प्रतिवेदन बुझाएकाले सोको अध्ययन भइरहेको जानकारी दिइन् । उनले त्यसबारे निर्णय नभएकाले हाल प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने जवाफ दिइन् । समितिका केही सदस्यले प्रतिवेदन आफूहरुलाई दिन माग गरेका थिए । समितिको आजको बैठकमा सुरक्षण मुद्रणसम्बन्धी विधेयकका दफा १९ देखि २६ सम्ममा छलफल भई पारित भएको छ ।
जसपाले गर्याे तीन पालिका समिति पुनर्गठन,तीन समितिमा ७१ सदस्यीय
जनता समाजवादी पार्टी (जसपा) नेपालका तीन पालिका समिति पुनर्गठन भएका छन् । पुनर्गठन गरिएको पालिकामा उपमहानगरपालिकादेखि गाउँपालिका समितिसम्म रहेका छन् ।
जसपाले छविलाल वाइबाको अध्यक्षतामा हेटौंडा उपमहानगरपालिका समिति पुनर्गठन गरेको छ । वाइबा नेतृत्वको समिति २५ सदस्यीय रहेको छ । इलामको माई नगरसमिति रामबहादुर राईको अध्यक्षतामा पुनर्गठन भएको छ । राईको अध्यक्षतामा पुनर्गठन गरिएको समिति ३१ सदस्यीय रहेको छ ।
जसपाको धनपालथान गाउँपालिका समिति पनि पुनर्गठन भएको छ । प्रमोदकुमार शर्माको अध्यक्षतामा १५ सदस्यीय गाउँ समिति बिहीबार पुनर्गठन गरिएको स्रोतले जनाएको छ । जसपाले आगामी दिनमा हुने निर्वाचनलाई मजबुद्ध बनाउनका लागि तीन पालिका पुनर्गठन गरेका हुन् । यसरी सबै पालिकामा सहमति र सहकार्यका हिसावबले पनि विकासका काम्मा समेत ध्यान पुग्ने जसपाले अपेक्षा लिएको छ ।
देशभरि प्रभाव पर्ने गरी निर्णय गर्नुस् : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस काठमाडौँको सम्मेलनले ठूलो महत्व राख्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै सभापति देउवाले देशको राजधानी भएकाले यहाँ राम्रो काम गर्नुपर्ने बताए । “काठमाडौँमा कांग्रेसको सङ्गठन महत्वपूर्ण छ, यहाँको सम्मेलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा प्रभाव पार्छ, देशभरि प्रभाव पार्ने गरी राम्रो प्रस्ताव पास गर्नुहोस्”, उनले भने ।
सभापति देउवाले नेपाली कांग्रेस नेपाली जनताको पार्टी भएकाले सधैँ जनताका पक्षमा निर्णय गर्न निर्देशन दिए । उनले भने, “काठमाडौँ जिल्ला कार्यसमितिमार्फत देशैभरका कांग्रेसका नेता तथा कार्यकर्तालाई यो भन्न चाहन्छु कि कांग्रेस जनताको पार्टी हो, हाम्रा सबै निर्णय र कदम जनताका पक्षमा हुनु जरुरी छ ।” कांग्रेस नेता प्रकाशमान सिंहले आगामी फागुन ७ गतेदेखि चल्ने नीति अधिवेशनका लागि पार्टीभित्र देखिएका अप्ठ्यारा फुकाउन आवश्यकपर्ने राय सुझाव दिन सबैलाई आग्रह गरे । उनले कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधानलाई कार्यान्वयन गर्नका लागि कांग्रेसले नै महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।
कांग्रेसका नेता डा मीनेन्द्र रिजालले केन्द्र, प्रदेश र स्थानीय तहमा सत्तामा भएको पार्टी कमजोर बनेकामा चिन्ता व्यक्त गरे । उनले कांग्रेस एक्लै चुनाव लडेर अगाडि बढेमात्र बलियो पार्टी बन्नसक्ने बताए । कांग्रेस ललितपुरका सभापति जीतेन्द्र श्रेष्ठले उच्च मनोबलका साथ पार्टीमा काम गरेर पार्टीभित्र एकताको सन्देश दिन जरुरी रहेको उल्लेख गरे । संविधानसभा सदस्य दीपकप्रसाद कुइँकेलले पार्टीलाई सुझबुझपूर्ण ढङ्गले अगाडि बढाउनुपर्नेमा जोड दिए ।
प्रदेशसभा सदस्य प्रभात तामाङले जनप्रतिनिधि र पार्टीबीच तालमेल हुन नसकेको उल्लेख गरे । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीले समुदाय एकातिर, कांग्रेस अर्कातिर हुँदै गएको आभास भएको बताए । काठमाडौँ महानगरपालिका–२६ का वडाअध्यक्ष ख्यामराज तिवारीले गुटको व्यक्तिलाई टिकट दिँदा पार्टी कमजोर भएको बताए । काठमाडौँ क्षेत्र नं ९ का सभापति जयकृष्ण महर्जन, कांग्रेस काठमाडौँ महानगर सभापति नीलकाजी शाक्य, टोखा नगरपालिका–४ का सभापति रवीन्द्र श्रेष्ठलगायतले पार्टीलाई चलायमान बनाएर अगाडि बढ्न सुझाव दिए ।
स्काउटको निर्वाचन रोक्ने सरकारको निर्णय झिकाउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले नेपाल स्काउटको निर्वाचन रोक्ने प्रधानमन्त्ती पुष्पकमल दाहाल प्रचण्डको निर्णय झिकाउन आदेश दिएको छ । लोकबहादुर भण्डारीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्दय सपना प्रधान मल्ल र नहकुल सुवेदीको संयुक्त इजलासले सो आदेश दिएको हो । यसअघि सर्वोच्चले निर्वाचन नरोक्न अन्तरिम अल्पकालीन आदेश दिँदै आजका लागि छलफलमा बालाएको थियो ।
स्काउटको निर्वाचन भोलीका लागि तय भएको छ । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेपछि सरकारले तत्कालका लागि स्थगीत गर्ने निर्णय गरेको थियो । स्काउटमा लामो समयदेखि विवाद देखिँदै आएको छ । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल दुवैले लामो समयदेखि समानान्तर कमिटी बनाएर गतिविधि गर्दै आएका छन् । त्यसअघि नै सर्वोच्च अदालतमा रिट विचाराधीन रहेको भन्दै निर्वाचन स्थगित गरिएको थियो। रिटको टुंगो लागेपछि मात्रै निर्वाचनको नयाँ मिति घोषणा गर्ने सरकारले भनेको थियो। तर निर्वाचन रोकिएको भन्दै भण्डारी समयमै निर्वाचन गराउन माग गरेर सर्वोच्च गएका थिए। उनको रिटमा सुनुवाइ गर्दैै सर्वोच्चले प्रधानमन्त्री कार्यालय र निर्वाचन समितिको निर्णय मगाउने आदेश दिएको हो।
राष्ट्रपतिद्वारा क्यानडा र पोर्चुगलमा राजदूत नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारण २८२ को उपधारा १ बमोजिम भरतराज पौडेल र शनिल नेपाललाई राजदूत नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार पौडेल क्यानडाका लागि आवासीय नेपाली राजदूत नियुक्त भएका छन् । यस्तै नेपाल गणतन्त्र पोर्चुगलका लागि राजदूत नियुक्त भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । मन्त्रिपरिषद्को सिफारिसअनुसार यसअघि नै उनीहरूको संसदीय प्रक्रिया पुरा भइसकेको थियो ।
कांग्रेसले सुशासनलाई पार्टीको मन्त्र बनाउनुपर्छ- महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले सुशासनलाई पार्टीको मन्त्र बनाएर अगाडि बढाउनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस काठमाडौँ जिल्ला सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले देशको विकासका लागि कांग्रेसले सुशासनलाई पार्टीको मूल मन्त्र बनाएर अगाडि बढाउनुपर्ने बताएका हुन् । महामन्त्री थापाले पछिल्लो समय संविधानमाथि प्रहार गर्ने कोसिस भइरहेको बताए । “संविधानमाथि आक्रमण भइरहेको छ, यस्ता अवरोध बेलाबेलामा आइरहन्छन्, यस्ता अवरोधसँग जुध्दै जाने हो चिर्दै जाने हो”, उनले भने । उनले काठमाडौँमा कांग्रेस सबैभन्दा ठूलो पार्टी भएको भन्दै काठमाडौँलाई अगाडि बढाउन कांग्रेसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।
उनले स्थानीय निकाय र पार्टीबीच समन्वय हुन नसकेको आम गुनासो रहेको भन्दै त्यसलाई चिर्न जरुरी रहेको उल्लेख गरे । उनले भ्रष्टाचारी जोगाउनका लागि सरकार लाग्न नहुने बताए । “दोषी उम्कनुहुन्न, निर्दोष फस्नुहुन्न, भ्रष्टाचारी, ठग भिआईपी हुँदैन”, उनले भने । महामन्त्री थापाले सुशील कोइरालाको दृढता र लचकताका कारण संविधान निर्माण भएको बताउँदै अग्रज नेताको आस्था, निष्ठा र नैतिकताबाट पछिल्लो पुस्ताले पाठ सिक्नुपर्ने बताए । कांग्रेस नेता प्रदीप पौडेलले काठमाडौँका जनताले पार्टीले गरेको मूल्याङ्कनका आधारमा निर्णय लिने गरेको स्मरण गरे । उहाँले विस २०४८ सालपछि नेपालमा धेरै विकास भएको उल्लेख गरे । “आम जनताको गुनासो छ, देशमा सुशासन हुन सकेन, भ्रष्टाचार नियन्त्रण हुन सकेन भन्ने छ, त्यसलाई कांग्रेसले गम्भीर भएर सोच्नुपर्छ”, उनले भने ।
नेता पौडेलले स्वास्थ्य, शिक्षा र न्याय आम नागरिकले खोजेको भन्दै त्यो दायित्व पूरा गर्न कांग्रेस लाग्नुपर्ने बताए । उनले पार्टीका नेता होइन कार्यकर्ताले टिकट दिने व्यवस्था बनाउनुपर्ने बताए । काठमाडौँका जिल्ला सभापतिलाई कांग्रेसले टिकट दिन नसकेको उनको भनाइ थियो । कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले नीति अधिवेशनले सङ्गठनलाई चुस्त, दुरुस्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । “अब देश र जनताले खोजेकोजस्तो पार्टी बनाउनका लागि नीति अधिवेशनले आवश्यक बाटो पहिल्याएर अगाडि बढ्नुपर्छ”, उनले भने । कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले जनप्रतिनिधि र पार्टीका बीचमा समन्वय नहुँदा समस्या परेको बताए । पार्टीभित्र देखिएको तित्ततालाई एकतामा ल्याउनका लागि सबै लाग्नुपर्ने उनको भनाइ थियो । प्रदेश सभापति बानियाले टिकट दिने पद्धतिमा परिवर्तन गर्न जरुरी रहेको बताए ।
कांग्रेसको स्वयंसेवक परिचालन उपसमितिमा पाँच सदस्य मनोनीत
नेपाली कांग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन स्वयंसेवक परिचालन उपसमितिमा सदस्य मनोनीत गरेको छ । कांग्रेसले केन्द्रीय सदस्य जीतजङ्ग बस्नेतको संयोजकत्वमा गठित ‘स्वयंसेवक परिचालन उपसमिति’ मा आज पाँच जना सदस्य मनोनीत गरेको हो ।
पार्टीले उपसमितिमा नेपाल महिला सङ्घ, केन्द्रीय तदर्थ समितिका अध्यक्ष उषा राउत मिश्र, नेपाल तरूण दल, केन्द्रीय तदर्थ समितिका अध्यक्ष विद्धान गुरुङ, नेपाल विद्यार्थी सङ्घ, केन्द्रीय तदर्थ कार्य समिति अध्यक्ष दुजाङ शेर्पा, नेपाल भूतपूर्व सैनिक सङ्घ, केन्द्रीय तदर्थ कार्य समितिका अध्यक्ष अवकाश प्राप्त सुवेदार मेजर मेघराज टन्डन र नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, केन्द्रीय तदर्थ कार्य समिति अध्यक्ष देवेन्द्रकुमार शेरचनलाई मनोनीत गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
२०५२ सालदेखि सञ्चालनमा आएको गोपी कृष्ण फिल्म हल बन्द हुँदै
२०५२ सालदेखि सञ्चालनमा आएको गोपी कृष्ण मुभिज बन्द हुने भएको छ। व्यावसायिक मन्दीका कारण फागुनको १ गतेबाट गोपी कृष्ण मुभिज बन्द गर्नु परेको प्रबन्ध निर्देशक निरक पौडेलले जानकारी दिएका छन् । कोरोनाको संक्रमण कालदेखि नै फिल्म क्षेत्रमा आएको व्यावसायिक मन्दीका कारण यस प्रालिले व्यहोर्नु परेको ठूलो आर्थिक घाटा तथा राज्यको विद्यमान करण प्रणालीले गर्दा फिल्म निर्माण, प्रदर्शन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको यस व्यवसायलाई बन्द गर्नुको पीडा व्यक्त गर्न सकिँदैन निर्देशक पौडेलले विज्ञप्ती जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
काठमाडौँ महानगरपालिकाले निश्चि समयभित्र आर्थिक वर्ष २०७८/ ७९ देखि तिर्न बाँकी मनोरञ्जन कर, व्यवसाय कर, सम्पत्ति कर र अन्य कर तिर्न समय दिएको थियो । तर हल सञ्चालकले अटेर गरे महानगरको आर्थिक ऐनअनुसार कारबाही गरिने बताएको थियो । महानगरले बारम्बार सूचित गर्दा पनि हलले अटेर गर्दै आएको थियो । नगर प्रहरी निरीक्षक ईश्वरीप्रसाद वाग्लेसहित दुई गाडी नगर प्रहरी परिचालन गरेर नै गोपीकृष्ण हलमै पुगेपछि हल व्यवस्थापनले प्रतिक्रिया जनाएको थियो त्यसपछि शुक्रबार गोपि कृष्ण फिल्म हल प्रबन्धक निर्देशक पौडेलले स्थायी रुपमै फाल्गुण बाट हल बन्द हुने सुचना सार्वजकि गरेका हुन् ।
कोशी प्रदेश पुनः नामकरणका लागि सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति
कोशी प्रदेशको पुन : नामकरण गर्न सरकार र पहिचान पक्षाधरबीच सहमति भएको छ । सरकार र संयुक्तसंघर्ष समितिको शुक्रबार भएकाे दोस्रो वार्ता मार्फत कोशी प्रदेशको पुनः नामकरणका लागि पहल गर्ने र आन्दोलनलाई शान्तिपूर्ण बनाउने लगायत विषयमा ५ बुँदे सहमति सहमति भएको हो । कोशी प्रदेशमा नेकपा एमालेबाट निर्वाचित भएका पूर्व मुख्यमन्त्री हिकमत कुमार कार्कीको पालामा राजनैतिक दलहरुको सहमतिअनुसार बहुमतबाट १ नं, प्रदेशको नाम कोशी नामाकरण गरिएको थियो । तर प्रदेशमा राजनीतिदलको वृत परिर्वतन भएपछि कोशी प्रदेशको नामकरण परिवर्तन गर्न लागिएको हो ।
अहिले कोशी प्रदेशको मु्ख्यमन्त्रीमा कांग्रेसबाट निर्वाचित केदार कार्की रहेका छन् । सत्तागठबन्धनभित्र भएको आन्तरिक छलफलपछि शुक्रबार कोशीको नाम परिवर्त गर्ने कुरामा सहमति भएको हो । पहिचान पक्षधरले कोशी प्रदेश नाम मान्य नभएको भन्दै किराँत प्रदेश तथा लिम्बुवान राज्य घोषणा गर्नुपर्ने मागसहित आन्दोलनमा उत्र्रिने क्रममा एक जनाले आन्दोलनका क्रममा ज्यान समेत गुमाएका थिए । यद्यपी प्रदेशको नामाकरण स्थायी नहुनाले कोशी प्रदेशले धेरै क्षेति बेहोर्दै आएको छ । प्रदेशको समग्र समझदारी र शान्तिपूर्ण विकास र रुपान्तरणका लागि कोशी प्रदेशको नामाकरण स्थायी हुन आवश्यक छ ।




