माघ २२ गते सोमबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । सोमबार तयार पारिएको मुख्य १० समाचारमा देखि
सम्मका समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
त्रिविको वेबसाइट ह्याकको छानबिनका लागि तीन सदस्यीय समिति गठन
त्रिभुवन विश्वविद्यालयले परीक्षा नियन्त्रण कार्यालय (पनिका) को वेबसाइट ‘ह्याक’ भएको विषयको निष्कर्ष निकाल्नका लागि छानबिन समिति गठन गरेको छ । त्रिविका निमित्त रजिष्ट्रार कृष्णप्रसाद बस्यालका अन्ुसार इन्जिनियरिङ अध्ययन संस्थान (आईओएम) का डिन प्रा.डा. शशीधर राम जोशीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । गत शुक्रबार सगठित समितिलाई १५ दिनको समय दिएको उनले बताए ।
निमित्त रजिष्ट्रार बस्यालका अनुसार समितिले वेबसाइट ह्याक हुनुको कारण, ह्याक हुन नदिने उपाय र चुनौतीको विषयमा सुझावसहित प्रतिवेदन पेश गर्नेछ । त्रिुभवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले १५ माघबाट अनलाइनबाट विद्यार्थीका प्रमाणपत्रहरु दिन भनेको तर सेवा सुरु भएको एक दिनमै वेबसाइट ह्याक भएको थियो । तर, सोमबार साँझसम्म सञ्चालन हुने गरी काम भइरहेको निमित्त रजिष्ट्रार बस्यालले बताए । गत सोमबार –१५ माघ)बाट त्रिवि अनलाइन सेवा प्रवाह शुरु गरेको थियो तर सोही दिन ‘ह्याकर’ले सिस्टम ‘ह्याक’ गरेको थियो । शुक्रबार साँझसम्म वेबसाइटमा ‘मेन्टेनेन्स’ भइरहेको उल्लेख छ ।
कांग्रेस महासमिति बैठकको तयारी तीव्र गतिमा
नेपाली कांग्रेसले आगामी फागुन ७ गते हुने पार्टी महासमिति बैठकको तयारीलाई तीव्र गतिमा अघि बढाएको छ । पार्टीको १४औँ महाधिवेशनपछि पहिलोपटक हुन लागेको महासमिति बैठकलाई नीति अधिवेशनका रुपमा गर्नेगरी कांग्रेस केन्द्रीय कार्यालयले तयारीलाई तीव्र गतिमा अघि बढाएको हो । हाल देशभरबाट ९० प्रतिशत महासमितिको निर्वाचन सम्पन्न भइसकेको र बाँकी स्थानमा पनि हुने क्रममा रहेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
महासमिति बैठकमा पार्टी केन्द्रीय कार्यसमिति, सबै निर्वाचन क्षेत्रबाट निर्वाचित हुने महासमिति सदस्य, भ्रातृ, शुभेच्छुक र विदेशस्थित जनसम्पर्क संस्थाबाट प्रतिनिधित्व हुने गरी दुई हजार तीन भन्दा बढी महासमिति सदस्य रहनेछन् । महासमिति बैठक फागुन ७ देखि १० गतेदेखि ललितपुरको गोदावरीस्थित सनराईज सभाहलमा हुँदैछ । बैठक तयारीका लागि सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति गठन गरिएको छ ।
बैठक नीति अधिवेशनका रुपमा हुने भएकाले समसामयिक राजनीतिक विषयमा प्रस्ताव निर्माण गर्न पार्टी उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा प्रस्ताव तयारी अन्तिम चरणमा छ । यसैगरी, बैठक तयारीका लागि माघ २१ गते विभिन्न उपसमिति गठन गरी संयोजक पनि चयन गरिएको छ । प्रचार प्रसार उपसमितिको संयोजकमा मीनबहादुर विश्वकर्मा, आवास समन्वय उपसमितिको संयोजकमा मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमितिको संयोजकमा उदयशम्शेर राणा, यातायात व्यवस्थापन उपसमितिको संयोजकमा धना खतिवडालाई चयन गरिएको पार्टी कार्यालयले जनाएको छ ।
यसैगरी, स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा जीतजङ्ग बस्नेत, स्वास्थ्य समन्वय उपसमितिको संयोजकमा उर्मिला नेपाल केसी, प्रदेश समन्वय उपसमितिको संयोजकमा इन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमितिको संयोजकमा जितेन्द्र श्रेष्ठ (जिल्ला सभापति, ललितपुर)लाई चयन गरिएको मुख्यसचिव पौडेलले बताए । पार्टी महामन्त्री विश्वप्रकाश शर्माले आइतबार नै उपसमितिका संयोजक र पार्टी सचिवालयको संयुक्त बैठक गरेर तयारीका बारेमा छलफल गरेका थिए ।
महामन्त्री शर्माले सभाहल पुगेर सबै उपसमितिको कार्यविभाजनअनुसारका कामका लागि सरसल्लाह गरेको जानकारी दिए ।यसअघि यही माघ २० गतेसम्म सबै महासमिति सदस्यको निर्वाचन सम्पन्न गरी सूची प्राप्त भइसक्नुपर्ने समय निर्धारण गरिएको थियो । यद्यपि सुनसरी, भोजपुर, खोटाङ, महोत्तरी, बारा, पर्सा, सप्तरी, सिन्धुली, धादिङ, काठमाडौँ, दोलखा, रामेछाप, पर्वत, दाङ, कपिलवस्तु र कञ्चनपुरका केही क्षेत्रबाट महासमिति सदस्यको सूची प्राप्त हुन बाँकी रहेको सचिव पौडेलले जानकारी दिए ।
अरुण चौधरीसहित ३ जनालाई थप तीन दिन हिरासतमै राख्न अदालतको अनुमति
बासँबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका सीजी ग्रुपका व्यवसायी अरुणकुमार चौधरीसहित तीनजनालाई थप तीन दिन हिरासतमै राख्न अदालतले अनुमति दिएको छ। सोमबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना भएको आरोपमा प्रहरीले चौधरीसहित तीन जनालाई माघ १८ गते पक्राउ गरेको थियो । उनीहरुले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकराी जग्गा हडपेको आरोप लागेको छ । त्यसक्रममा चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले म्याद पाएको थियो । यो अवधिमा प्रहरीले तीनै जनाको बयान सकेको छ । तर, थप अनुसन्धान बाँकी रहेको भन्दै प्रहरीले फेरि अनुसन्धानका लागि हिरासतमा राख्न म्याद लिएको थियो ।
रवि लामिछानेसँग देश विकासको काम गर्ने उदेश्य नभएको सिके राउतको दावी
जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको ध्यान आगामी दिनमा प्रधानमन्त्ती दिशामा मात्र केन्द्रीत भएको टिप्पणी गरेका छन् । जनमत पार्टीको २१ माघमा बसेको सचिवालय बैठकमा अध्यक्ष राउतले छलफलका लागि पेस गरेको राजनीतिक प्रस्तावमा सोही कुरा उल्लेख गरेका छन् । अध्यक्ष राउतले रास्वपा नयाँ खुलेको दल भएकाले विकासको अपेक्षा जनताले धेरै गरेपनि रास्वपासँग जनताका लागि र देशको दिगो विकास र अवस्था तथा व्यावस्था परिवर्तनका लागि कुनै पनि राजनैतिक दर्शन, आर्थिक नीति वा निकास र विकासको कार्ययोजना नभएको उल्लेख गरे । राउतले रास्वपाले नेपालको विविधता र सामाजिक संरचनाप्रति अनुभवको कमीले गर्दा मधेशी, आदिवासी, मुस्लिम, थारु सहितका सीमान्तकृत वर्गको मुद्दा सम्बोधन गर्न नसक्ने निष्कर्ष निकालेका छन् ।
नागरिकता विधेयकको विरोध, संघीयता र प्रदेशको विरोध, मधेश केन्द्रित नेता र दलहरूको विरोध, थरुहट आन्दोलन र पहिचान आन्दोलनप्रतिको दृष्टिकोण रास्वपाका परिचायक भएको राउतको भनाइ छ । उनले रास्वपालाई लोकप्रियतावादबाट बढी निर्देशित रहेको भन्दै राष्ट्रपति, सेना, संघीयताको विरोध गर्नु यसैको उदाहरणका रूपमा रहेको उल्लेख गरेका छन् ।
सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न ७ सांसद चयन
सभामुख देवराज घिमिरेले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न ७ सदस्य टिम मनोनीत गरेका छन् ।
आजबाट सुरु भएको संसद्को हिउँदे अधिवेशनको सुरुआत गर्दै सभामुख घिमिरेले सांसद्को टिम छनोट गरेका हुन् ।आज सुरु भएको प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्य मनोनयन गरेका हुन् । सभामुखमा सांसद ईश्वरीदेवी न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, चन्दा कार्की भण्डारी, प्रतीक्षा तिवारी, विमला सुवेदी, बुद्धिमान तामाङ, रामकृष्ण यादवलाई मनोनयन गरेको सभामुख घिमिरेले बताए ।
प्रतिनिधिसभाको बैठक माघ २४ गते बुधबार बस्नेगरि स्थगित
प्रतिनिधि सभाको अर्को बैठक माघ २४ गते बुधबार बिहान ११ बजे बस्ने गरि स्थगित भएको छ । आज देखि शुरु भएको संघीय संसदको तेस्रो अधिवेशन अन्तर्गत आज प्रतिनिधि सभामा अर्थमन्त्री प्रकाशशरण महतद्वारा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० संसदमा पेस गरेका थिए भने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङद्वारा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ बमाजिमको बाधा अड्काउ फुकाऊ आदेश पेस गरेका थिए । आजको बैठकमा सभामुख देवराज घिमिरेले चालु अधिवेशनमा आवश्यक कानुन निर्माण र संसदीय गतिविधिलाई बढाउन जरुरी रहेको बताएका थिए ।
विवाहपूर्व २० वर्ष पुगेको प्रमाणपत्र कायम गर्न संसदमा संकल्प प्रस्ताव दर्ता
नेपालमा दिनप्रतिदिन बढीरहेको बालविवाह रोक्नका लागि प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता भएको छ ।प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले समाजमा बालविवाह व्याप्त रहेको र विवाह गरेका किशोर किशोरीमा विभिन्न किसिमका पारिवारिक तथा स्वास्थ्य समस्या देखा परेको भन्दै यसको नियन्त्रणका लागि प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता गरेकी हुन् । विवाहपूर्व २० वर्ष पुगेको बालिग प्रमाणपत्र लिएर मात्र विवाह गर्न पाउने व्यवस्था हुनुपर्ने संकल्प प्रस्तावमा छ ।
जन्म दर्ता, नागरिकता र अन्य कागजात राज्यले दिन्छ, त्यस्तै विवाहपूर्व वडाबाट आफू २० वर्ष पूरा भएको बालिग दर्ता पत्र अनिवार्य लिनुपर्ने व्यवस्था गरियो भने बालविवाहलाई नीतिगत तह बाटै रोक्न सकिन्छ भन्ने अपेक्षा गरेर संकल्प प्रस्ताव गरेको उनको भनाइ छ । संविधान २०७२ को धारा ३९ को उपधारा ५ मा सानै उमेरमा बालबालिकाको विहे नगर्ने व्यावस्था उल्लेख छ । मुलुकी देवानी संहिता, २०७४, बालबालिकासम्बन्धी ऐन २०७५ ऐनले पनि नीतिगत तहमै बालविवाहलाई अस्वीकार गरेको छ ।
तर त्यसको कार्यान्वयन नहुँदा अहिले दिनप्रतिदिन समाजमा विवाह गर्ने कानुनी उमेर नपुगी विवाह गर्नेको संख्या बढ्दो छ । जसका कारण समाजमा दिनप्रतिदिन विवाह भइसकेको किशोर किशोरीहरुबीच कलह बढ्दै जानुका साथै सम्बन्ध विग्रदै जाँदा उनीहरुका बच्चाहरुको भविष्य अन्धकारतिर ढल्किन्छ । त्यस्ता समस्याहरुको अन्तयका लागि आगामी दिनमा विवाह गर्नुपूर्व २० वर्ष पुगेको प्रमाणपत्र लिनुपर्ने व्यावस्था लागूगर्न उचित हुने देखिन्छ ।
देउवाले गरे भूतपूर्व सैनिक संघमा ७९ केन्द्रीय सदस्य मनोनीत
नेपाली का सभापति शेरबहादुर देउवाले मेघराज टण्डनको अध्यक्षता पार्टीको भातृ संगठन भूतपूर्व सैनिक संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ७९ सदस्यहरू मनोनीत गरेका छन् ।सोमवार विज्ञप्ति जारी गर्दै देउवाले ७९ केन्द्रीय सदस्यहरू मनोनीत गरिएको जानकारी दिएका छन् ।
बालकुमारी घटनाको जाँचबुझ आयोगको म्याद थप
ललितपुरको बालकुमारीमा हालै भएको घटनाको अध्ययन गर्न सरकारले बनाएको जाँचबुझ आयोगको म्याद १५ दिन थप भएको छ । बालकुमारीमा गएको पुस १३ गते कोरियाको रोजगारी अनुमति प्रणाली (इपिएस) भाषा परीक्षाको सन्दर्भमा भएको प्रदर्शनपछि झडप हुँदा दुईजनाको मृत्यु भएको थियो भने यातायातमन्त्रीको गाडी जलाइएको थियो । उक्त घटनाको छानबिन गर्न मन्त्रिपरिषद्द्वारा पुस १६ गते गठित जाँचबुझ आयोगको म्याद १५ दिन थप गरिएको गृहमन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिए ।
समितिलाई छानबिनका लागि एक महिनाको म्याद दिइएको भए पनि काम सम्पन्न नभएकाले म्याद थपिएको हो । उक्त घटनामा २३ वर्षका सुजन रावत र २२ वर्षका वीरेन्द्र शाहको मृत्यु भएको थियो भने भौतिक पूर्वाधार तथा यातायतमन्त्री प्रकाश ज्वाला चढेको गाडी प्रदर्शनकारीले जलाएका थिए । त्यसपछि सरकारले पूर्वन्यायाधीश शेखर पौडेलको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । समितिमा नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य हुनुहुन्छ ।
मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगलाई घटनामा भएको मानवीय, भौतिकलगायत क्षतिको विवरणको अध्ययन र विश्लेषण गर्ने, उक्त घटनाका कारण र सो स्थानमा गरिएको सुरक्षा प्रबन्ध तथा सुरक्षा योजनाको अध्ययन गरी त्यसमा भएका कमीकमजोरी पत्ता लगाउने, उक्त घटनासँग सम्बन्धित व्यक्ति, पदाधिकारी एवं निकायको भूमिका सम्बन्धमा अध्ययन गरी दोषी देखिएकालाई कारबाहीको सिफारिस गर्ने र आगामी दिनमा त्यस प्रकारका घटना हुन नदिन अपनाउनुपर्ने उपाय समेटिएको प्रतिवेदन तयार पारी पेस गर्ने जिम्मेवारी दिएको छ । उक्त घटनापछि केही प्रहरी कर्मचारीलाई निलम्बन गरिएको छभने ललितपुरका तत्कालीन प्रहरी प्रमुख सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय र तत्कालीन प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितलाई गृहमन्त्रालयमा फिर्ता गरिएको थियो ।
रवि लामिछानेसहित १८ जनाविरुद्ध कास्की प्रहरीमा जाहेरी
रास्वपाका सभापति रवि लामिछानेसहित १८ जनाव्यक्ति र संस्थाविरुद्ध सूर्यदर्शन सहकारी पीडितहरुले प्रहरीमा जाहेरी बुझाएका छन् । सूर्यदर्शन सहकारीबाट पीडित बनेका व्यक्ति तथा संस्थाहरूले लामिछानेसहित १८ जनाविरुद्ध कास्की प्रहरीमा जाहेरी बुझाएका छन् । जाहेरीमा लामिछानेसहित पूर्व उपराष्ट्रपति नन्द किशोर पुनका छोरा दीपेश पुन, पूर्व अध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोला लगायतको नाम उल्लेख गरिएको छ ।
त्यस्तै नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, नेचर नेष्ट, वारिसान इन्फोमेसन टेक्नोलोजी, स्प्रिङ उड रियलस्टेट, सोनी क्यापिटल, ग्रिजी स्पान, गोर्खा ग्रुप इन्भेस्टमेन्ट र गोर्खा आयुर्वेद प्रालि विरुद्धको नाम समेटिएको छ । पैसा लिएको तर फिर्ता नगरेका कारण जाहेरी दिएको पीडितहरूले बताएका छन् । प्रहरीले निवेदन आएको जानकारी दिदै दर्ताकै प्रक्रियाकै आधारमा अनुसन्धान थाल्ने बताएको छ ।




