माघ १८ गते बिहीबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । बिहीबार तयार पारिएको मुख्य १० समाचारमा देखि
सम्मका समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिको दरखास्त राेक्न माग गर्दै रिट दायर
नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिको दरखास्त आह्वानविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।दूरसञ्चार ऐनले योग्यता तोकेका क्षेत्रलाई पाखा लगाउने प्रपञ्च गरी दरखास्त आह्वान गरिएकाे दाबीसहित अधिवक्तात्रय अनन्तराज लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले रिट दायर गरेका हुन्। कानुन, लेखापरीक्षण तथा व्यवस्थापनको क्षेत्रका व्यक्तिलाई पाखा लगाउने उद्देश्य राखी सरकारी वा संस्थानको राजपत्रांकित प्रथम श्रेणी दशौँ तह वा सोभन्दा माथिल्लो पदमा काम गरेका व्यक्तिलाई मात्र दरखास्त दिन पाउने व्यवस्था आपत्तिजनक रहेको रिटमा दाबी गरिएको छ।
दूरसञ्चार प्राधिकरण ऐन, २०५३ को दफा ५(१) दूरसञ्चार सेवासँग सम्बन्धित प्राविधिक र प्रशासनिक, बजार व्यवस्थापन, लेखा तथा लेखापरीक्षण वा कानुनी क्षेत्रबाट योग्यता र अनुभव भएका अध्यक्षसहितको ५ सदस्यीय प्राधिकरणको बोर्ड गठनको व्यवस्था छ। ती क्षेत्रलाई नसमेटी सरकारी वा संस्थानका अधिकृतहरूलाई मात्र अवसर दिने गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड, २०७३ को दफा ९ मा विभेदकारी व्यवस्था भएकोसमेत रिट निवेदकको जिकिर छ।
मापदण्ड र दरखास्त आह्वानको सर्तले संविधानको धारा १६, १७, १८ र ३३ ले सुनिश्चित गरेको हकअधिकार उल्लंघन भएको दाबी गरिएको छ। रिटको प्रारम्भिक सुनुवाइ शुक्रबारलाई तोकिएको छ।
अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
जिल्ला अदालत काठमाडौंले सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । अब चौधरीलाई सीआईबीले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्नेछ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उद्योगपति तथा सिजी होल्डिङ्सका अध्यक्ष चौधरीलाई आजै पक्राउ गरेको थियो ।बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले चौधरीलाई काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको थियो ।
सीआईबी प्रमुख किरण बज्राचार्यका अनुसार उनलाई सीआईबीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ । चौधरीसँगै मिलेमतोमा जग्गा हिनामिना गरेको आरोपमा अजितनारायण सिंह थापा पनि पक्राउ परेका छन् । थापालाई बत्तीसपुतलीस्थित निवासबाटै पक्राउ गरिएको हो ।
६ सयजनालाई ठगी गरेको आरोपमा ललितपुरका सुजन तामाङ पक्राउ
नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले करिब ६ सयजनालाई ठगी गरेको आरोपमा विकास वाइबा भनिने सुजन तामाङलाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीका निम्ति विभिन्न देशमा पठाइदिने भन्दै उनीमाथि ठगी गरेको आरोप छ । क्रोसिया, क्यानडा पोल्यान्ड, पोर्चुगललगायत मुलुकमा पठाइदिने भन्दै उनले प्रतिव्यक्ति पाँच लाखदेखि १८ लाख रुपैयाँसम्म असुलेको प्रहरीको भनाइ छ । तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । उनी काठमाडौंको बालाजुचोकस्थित युरोन्स म्यानपावरका सञ्चालक हुन् ।
नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राई नियुक्त
सरकारले नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सञ्चालक सदस्य राईलाई नियुक्त गर्ने निर्णय गरेको हो । सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माका अनुसार बैठकले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको सदस्य पदमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौंका साहरा श्रेष्ठलाई मनोनयन गर्ने निर्णय पनि गरेको हो । त्यस्तै मन्त्रिपरिषद्को आजकै बैठकले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा रौतहटका उमाशंकर प्रसादलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
त्यस्तै सरकारले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा निजी क्षेत्र समेतको प्रतिनिधित्व हुनेगरी राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो।
केके भए निर्णय?
राष्ट्रिय योजना आयेगको रिक्त सदस्य पदमा रौतहट निवासी उमाशंकर प्रसादलाई नियुक्त गर्ने। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको अध्यक्षतामा निजी क्षेत्र समेतको प्रतिनिधित्व हुनेगरी राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने।
नेपाल वायुसेवा निगम ऐन, २०१९ दफा ४ को उपदफा ४ बमोजिम नेपाल वायुसेवा निगमको रिक्त उपाध्यक्ष पदमा सञ्चालक समितिका सदस्य विक्रम राईलाई नियुक्त गर्ने। नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको सदस्य पदमा सिन्धुपाल्चोक निवासी लेखनाथ लामा र काठमाडौं निवासी डा. सहारा श्रेष्ठलाई मनोनयन गर्ने। सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने।
जुम्लामा ढिला गरी हिमपात, जाडो बढे पनि किसान खुशी
जुम्लामा आज (बिहीबार) बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलो गरी हिउँ परेको हो । सदरमुका खलङ्गामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ । ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुशी भएको जिल्लाको तिला गाउँपालिमा–१ का स्थानीय बासिन्दा पार्वती बुढाले जानकारी दिए ।
यस वर्षको हिउँदे यामको पहिलो हिमपात हो । अहिले हिमपात भइरहेको छ । माघको महिना लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने हो कि भन्ने किसान चिन्तामा थिए । जौं र गहुँबाली लगाएका किसान भने यो हिउँले निकै राहत भएको कृषि विकास कार्यालयले जनाएको छ । स्याउ र ओखरका बिरुवा रोप्ने याम आएकाले हिउँले सहज हुने कृषि उद्यमी गोपाल रोकायाको भनाइ छ । जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा अवरुद्ध भएको छ ।
भिजिट भिषामा नक्कली कागजात तयार पारेर पठाउने अध्यागमनका ९ अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा
भिजिट भिसामा नक्कली कागजात तयार गरेर सेटिङमा पठाएको आरोपमा २२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयका बहालवाला ९ जना अधिकृतसहित २२ जनाविरुद्ध ठगी तथा संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको हो। यीमध्ये एकजना अधिकृतसहित १० जना पक्राउ परेका छन्। ८ अधिकृतसहित १२ जना अहिले फरार छन्।
नवलपारासीको कावासोती घर भई हाल भरतपुर महानगरपालिका ८ खैरहनी बस्ने ४४ वर्षीया गीता शाह, काठमाडौँको तीनकुनेका ३७ वर्षीय अरुण दाहाल, सिरहाको मिर्चैयाका २७ वर्षीय सरोजकुमार यादव, पश्चिम रुकुमको सानोभेरी १० घर भई हाल जाजरकोटको भेरी नगरपालिका बस्ने अध्यागमन अधिकृत ३७ वर्षीय नरवीर खड्का र रामेछापको दोरम्बा गाउँपालिका ७ का ३१ वर्षीय पदम लामा पक्राउ परेका छन् ।
काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका ४ बस्ने ३९ वर्षीय मनोज तामाङ, स्याङ्जाको चापाकोट नगरपालिका १ पैदीमगरेका ३९ वर्षीय रामप्रसाद भण्डारी, गुल्मीको सत्यवती गाउँपालिका ७ घर भई काठमाडौंको टोखा बस्ने स्काइ टुर्स एण्ड ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, स्याङ्जाको वालिङका रविन अर्याल र मोरङको पथरी शनिश्चरे घर भई हाल ललितपुरको इमाडोल बस्ने ४५ वर्षीय विनोद कार्की पनि पक्राउ परेका छन्। फरार १२ जनाविरुद्ध पनि मुद्दा दायर भएको छ।
विमानस्थल अध्यागमन कार्यालयका पूर्व अधिकृतहरु ताराबहादुर कुँवर अध्यागमन कार्यालयमा कार्यरत अधिकृतहरु कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल, सुजन फागोविरुद्ध मुद्दा दायर भएको छ। उनीहरु सबै फरार छन्। यस्तै सिनामंगलको होटल बाल्टिक इनका सञ्चालक ४२ वर्षीय आशिष भन्ने केदारबहादुर खड्का, बाराको सिमराकी २३ वर्षीया कौशिला मगर, सोलुखुम्बु घर भई मूलपानी बस्ने ४० वर्षीया लक्ष्मी राई र सिन्धुलीको कमलामाई नगरपालिकाकी ३४ वर्षीया रिता दमाईविरुद्ध पनि मुद्दा चलाइएको छ।
राजनीतिक दलसम्बन्धी विधेयक सङ्घीय संसदमा दर्ता
सरकारले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा दर्ता गराएको छ ।उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको नामबाट बिहीबार सङ्घीय संसद्को प्रतिनिधि सभामा दर्ता गरिएको विधेयकमा अध्यादेश खारेज भइसकेकाले ऐनमा भएको साबिककै व्यवस्था कायम राखी विधेयक दर्ता गरिएको छ ।
नेपालको संविधानको भाग २९ मा राजनीतिक दल सम्बन्धी व्यवस्था बमोजिम राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ ले राजनीतिक दल सम्बन्धी ऐन,२०७३ को केही व्यवस्थाहरूमा संशोधन गरेको थियो । तर २०७८ असोज ११ मा सो अध्यादेश राष्ट्रपतिबाट खारेज भएकाले अध्यादेशले परिवर्तन गरेका कानुनी व्यवस्थाहरूलाई हटाएर ऐनको साबिककै व्यवस्था कायम राख्न संशोधन विधेयक ल्याइएको हो । विधेयकमा ऐनको दफा ३३ को उपदफा २, दफा ४८ को उपदफा १ का सम्बन्धमा अध्यादेश खारेज भएकाले साबिककै अवस्था कायम राख्ने उल्लेख छ ।
ऐनमा भएको ‘सङ्घीय संसद्का संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्को कुनै दलमा प्रवेश गरेमा वा त्यस्ता सदस्यहरू समेत भई नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्याग गरेको मानिने छैन’ भन्ने व्यवस्थालाई संशोधन गरी ‘महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र नयाँ दर्ता भएको दलको हकमा त्यस्तो दल दर्ता हुँदाको बखतको केन्द्रीय समितिको २० प्रतिशत वा सो भन्दा बढी सदस्य वा त्यस्तो दलको सङ्घीय संसद्को संसदीय दलको २० प्रतिशत वा सो भन्दा बढी सदस्य’ राखेर तत्कालीन सरकारले अध्यादेश ल्याएको थियो । सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले सरकारले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता गराएको र सो विधेयकमा ऐनमा भएकै साबिकको व्यवस्था गर्न भनिएको जानकारी दिए । सरकारले आगामी सोमबारका लागि संसद्को अधिवेशन आह्वान गरेको छ ।
बाँसबारी प्रकरण: नातेदार पक्राउ परेपछि राष्ट्रपतिका सल्लाहकार सीआईबीमा
राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिल थापा बाँसबारी छालाजुत्ता कारखाना प्रकरणमा पक्राउ परेका अजित नारायण थापालाई भेट्न सीआईबी पुगेका छन् । छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष समेत रहेका थापालाई बिहिबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको थियो ।
अजित पक्राउ परेका खबर पाएपछि राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा सीआईबी पुगेका हुन् । अजित उनको नातेदार भएको बताइएको छ । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा गैरकानुनी तरिकाले निजीकरण गरेको आरोपमा सीआईबीले थापासहित व्यवसायी अरुण चौधरी र कारखानाको सञ्चालक समितिका वर्तमान अध्यक्ष सञ्जय ठाकुर पनि पक्राउ गरेको छ ।
दरबार हत्याकाण्डबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तीमा माधव नेपालको असन्तुष्टि
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल प्रधानमन्त्री प्रचण्डले राजदरबार हत्यकाण्डबारे दिएको अभिव्यक्तीमा असन्तुष्टि बनेका छन् । बिहिबार जनकपुरमा समाजवादी पत्रकार संघ धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले राजदरबार हत्याकाण्डबारे छानबिन गर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तीमा असन्तुष्टि जनाएका हुन् । उनले भने,‘ प्रधानमन्त्री प्रचण्डले दरबार हत्याकाण्ड छानबिन गर्ने विषयमा विचार नै नपु¥याई बोल्नुभयो ।’
अध्यक्ष नेपालले गठबन्धनमा सहभागी दलहरुसँग कुनै पनि छलफल नगरी भम्भीर विषय प्रधानमन्त्रीले अभिव्यक्ती दिनु उचित नभएको भन्दै आक्रोस पोखेका छन् । प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्ती देशका सम्पूर्ण जनताले मनपराए पनि दलहरुमा बाधा पर्ने भन्दै असन्तुष्टि जनाएका हुन । तत्कालीन हत्याकाण्डका समयमा आफूलाई गिरिजाप्रसाद कोइरालाले सोधेको तर प्रधानमन्त्रीले कुनै सल्लाह नमागेको भन्दै आक्रोस व्यक्त गरेका छन् । देशमा भएका सबै घट्नाका विषयमा प्रधानमन्त्रीले गठबन्धन दलहरुसँग नेताहरुसँग छलफल गर्नुपर्ने अध्यक्ष नेपालको भनाइ छ । दरबार हत्याकाण्डको केही समयपछि नेकपा एमालेका वर्तमान अध्यक्ष गृहमन्त्री बनेको र पछि प्रधानमन्त्री पनि बनिसकेकाले केही बढी जानकारी भएको हुने उनले बताए ।
बालेनलाई अमेरिका भ्रमणको निम्तो
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनसँग अमेरिकाी राजदूत डीन आर थम्प्सनले शिष्टाचार भेट गरेका छन् । बिहीबार मेयर साहको कार्यकक्षमा भएको भेटघाटमा आपसी विषयमा कुराकानी भएको थियो । आपसी कार्यक्रमका रुपमा हामीले आइटीको तालिम चलाउन सक्छौँ । यसबाट अमेरिकन कम्पनीले कामका लागि जनशक्ति पाउँछन् । नेपाली युवाहरुले आय आर्जन गर्न पाउँछन् । यससँगै उनीहरु विश्वबजारका लागि दक्ष जनशक्ति बन्न सक्छन्,’ बालेनले भने, ‘युनेस्को रचनात्मक सहर सञ्जालअन्तर्गत चलचित्र विधामा जोडिएर काठमाडौँले काम गरिरहेको छ ।
यसमा हलिउडका चलचित्र निर्माता, निर्देशक, कलाकार, वितरकसँग आपसी कार्यक्रम तय गर्न दूतबासले सहजीकरण गरिदिनेछ भन्ने अपेक्षा गरेका छौँ ।’ राजदूत थम्प्सनले यस्ता कार्यक्रममा अमेरिकाकातर्फबाट विज्ञ, व्यापारिक, सामाजिक तथा नागरिक तहको सम्बन्ध बढाउन सहजीकरण गर्न सकारात्मक रहेको बताए । नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनमा अमेरिकाबाट प्रतिनिधित्व गर्ने क्षेत्रगत प्रतिनिधि र कार्यक्रम महानगरपालिकासँग सम्बन्धित हुन सक्छन् । त्यस ठाउँमा सम्भावित कार्यक्रमका बारेमा छलफल गर्न सकिन्छ । छलफलमा धारणा राखिएको थियो । थम्प्सनले बालेनलाई अमेरिका भ्रमणको निमन्त्रणा दिएका छन् ।




