मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

माघ १७ गते बुधबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । बुधबार तयार पारिएको मुख्य १० समाचारमा आज राति पाँच वटा प्रदेशमा हल्का वर्षाको सम्भावना देखिन्यायाधीश भुवन गिरीविरुद्धको रिटमा मिसिल झिकाउन सर्वोच्चको आदेश सम्मका समेटिएको छ ।

आज राति पाँच वटा प्रदेशमा हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभावका कारण आज राति पाँच वटा प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ।मौसम विज्ञान विभा अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको पूर्वानुमान महाशाखाले गरेको छ।

उनले भने , “आज रातिदेखि पश्चिमी वायुको प्रभाव बढ्ने देखिन्छ। जसको कारण यी पाँच प्रदेशका केही स्थानमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।” बिहीबारसमेत आंशिकदेखि हल्का वर्षाको सम्भावना रहेको उहाँको भनाइ छ। काठमाडौं उपत्यकामा बिहीबार मात्र छुटफुट वर्षाको सम्भावना रहेको मौसमविद् अर्यालले जानकारी दिए ।

वायुको प्रभावका कारण कोशी प्रदेशको उच्च हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको उनको भनाइ छ। मधेश प्रदेशमा यस वायुको प्रभावका कारण बाक्लो तुवालो विस्तारै हट्दै जाने छ। पर्सीबाट भने मौममा सुधार हुँदै जाने उनले जानकारी दिए ।

त्रिवि पनिकाको वेबसाइट ह्याक

१२ कक्षामा अध्ययनरत विद्यार्थीले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट ह्याक गरेका छन् ।काठमाडौंको एक विद्यालयमा कक्षा १२ मा अध्ययनरत रोहित रोकायाले पनिकाको वेबसाइट ह्याक गरेको खुलेको हो । मंगलबार राति ह्याक भएको साइट रिडाइरेक्ट भएर रोकायाको फेसबुक अकाउन्टमा पुगेको थियो । साइट ह्याक भएको केही समयपछि उक्त फेसबुक अकाउन्टबाट ह्याक भएकोबारे सूचना दिइएको थियो ।

उक्त अकाउन्टमा लेखिएको छ, ‘हिजोदेखि टीयूले अनलाइन सेवा सुरु गरेसँगै यसले टीयूको वेबसाइटमा अट्याक सर्फेस पनि बढाएको छ यसले गर्दा टीयूको वेबसाइटमा सुरक्षा चुनौती थपिएको छ । अब टीयूले अनलाइन प्रणालीबाट आएका लाखौं कागजपत्रलाई सुरक्षित राख्नुपर्ने हुन्छ ।’ उक्त अकाउन्टमा अब टीयूले कुनै पनि सफ्टवेयर बनाउँदा सुरक्षाको पाटोलाई पनि विशेष महत्व दिन अत्यन्त जरुरी रहेको उल्लेख गरिएको छ । ह्याकर रोकायाले सबैको डाटा सुरक्षित रहेको पनि बताएका छन् ।

सुनील र विकललाई थप ७ दिन थुनामा राख्न अदालतको अनुमति

 विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई दोस्रोटपकट ७ दिन थुनामा राख्ने अनुमति दिएको छ। एक साता अघि अदालतबाट लिइएको ७ दिन हिरासतमा राख्ने अनुमतिको म्याद आज सकिँदै थियो। त्यसकारण दोस्रो पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत पुगी म्याद थपेको हो।

आगामी वर्षायाममा बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात गर्ने प्रस्ताव पारित

 नेपाल विद्युत प्राधिकरणले आगामी वर्षायामदेखि बंगलादेशमा विद्युत निर्यात गर्ने भएको छ । मंगलबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले आउँदो बर्षायाममा नेपालमा उत्पादित ४० मेगावाट विद्युत भारतीय प्रशारणलाईनमार्फत बंगलादेशमा निर्यात गर्ने निर्णय गरेको छ । प्राधिकरणको सञ्चालक समितिका एक सदस्यका अनुसार सो विद्युत ढल्केबार मुजफ्पुर प्रशारण लाईनमार्फत प्रबाह गरेर भारतीय प्रशारण लाइनमा पठाइने छ । भारत र बंगलादेशबीच पनि अन्तरदेशीय प्रशारण लाइन छ । बंगलादेशले सोही प्रशारण लाइनको निर्यातबिन्दुबाट नेपालबाट लिएको ४० मेगावाट विद्युत लिएर आफ्नो देशको प्रशारण लाइनमा लैजाने छ ।

बंगलादेशले बहरामपुर भेरामारा भारत बंगलादेश अन्तरदेशिय प्रशारणलाइनबाट ५०० मेगावाट विद्युत आयात गर्दछ भने त्रिपुरा केमिला प्रशारणलाईन अन्तरआबद्धता आयोजनाबाट १५० देखि १६० मेगावाट विद्युत आयात गर्दछ ।
बंगलादेशको सरकारले नेपालबाट ४० मेगावाट विद्युत आयात गर्न गत डिसेम्बरमा निर्णय गरिसकेको थियो । बंगलादेशको मन्त्रिपरिषद्अन्तर्गतको आर्थिक मामिला समितिले यससम्बन्धी प्रस्तावमा डिसेम्बर ६ मा प्रारम्भिक सैद्धान्तिक सहमति दिएको थियो ।

नेपालको ४० मेगावाट विद्युत आफ्नो प्रशारणलाईनबाट बंगालादेश निर्यात गर्न भारतले सहमति दिएको छ । नेपालले ढल्केबारबाट बंगलादेशलाई ४० मेगावाट विद्युत दिने छ । बंगलादेशले भारतसँगको अन्तरदेशीय प्रशारण लाईन बिन्दुबाट त्यति नै क्षमताको विद्युत लिने छ । झण्डै एक बर्ष पहिले नै नेपाल, भारत र बंगलादेशका अधिकारीहरुबीच २०८० को वर्षायामदेखि भारतीय प्रशारण लाइनमार्फत नेपालबाट ५० मेगावाट विद्युत बंगलादेश निर्यात गर्न दिन सहमत भएका थिए । सन २०२३ को फ्रेबुअरीमा भारतको राजस्थानस्थित माउन्ट आबुमा सम्पन्न भएको नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकहरूमा उक्त सहमति बनेको थियो। सो सहमतिबारे पछि बंगलादेशका ऊर्जा सचिवलाई जानकारी गराइएको थियो ।

एमाले सांसद बसन्त नेम्वाङ बिरामी, हेलिकप्टरबाट काठमाडौं ल्याईंदै

 पार्टी कामको सिलसिलामा ताप्लेजुङ पुगेका नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री बसन्त नेम्वाङ अस्वस्थ भएका छन् । संघीय सांसद समेत रहेका उनी पार्टी कामको लागि ताप्लेजुङ पुगेका थिए । उनको अचानक शरिरको एकभाग नचल्ने भएको हो । उनलाई ताप्लेजुङबाट उद्धार गरेका हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भईरहेको एमालेले जनाएको छ ।

नेम्वाङ एमाले ताप्लेजुङका इन्चार्जसमेत हुन् । उनी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका थिए ।

मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिने

गोलबजार (सिरहा)। लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालबीच निःशुल्क मोतिविन्दुको शल्यक्रियाका लागि सम्झौता भएको छ । सम्झौताअनुसार एक हजार लहानवासीको निःशुल्क शल्यक्रिया गरिनेछ । सम्झौता पत्रमा नगरप्रमुख महेश चौधरी र अस्पताल सञ्चालक समिति अध्यक्ष रवीन्द्रलाल चौधरीले हस्ताक्षर गरे । नगरपालिकाको आर्थिक सहयोग र अस्पतालको प्राविधिक सहयोगमा लहानका वडामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिनेछ । लहान नगरपालिकाले गतवर्ष पनि एक हजार जनामो मोतिवन्दुको शल्यक्रिया र सात हजारभन्दाबढीको जाँच उपचार गराएको थियो ।

संसदको हिउँदे अधिवेशनको तयारी, पदाधिकारीले गरे निरीक्षण

संघीय संसदको हिउँदे अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाका दुवै सदनको बैठकका लागि संसद् सचिवालयले आवश्यक तयारी गरिरहेको हो। संघीय संसदका दुबै सदनको हिउँदे अधिवेशन २२ माघ अपराह्न ४ बजे बोलाइएको छ । संसद् सचिवालयका पदाधिकारीले बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनको निरीक्षण गरेका छन् । कार्यवाहक महासचिव पदमप्रसाद पाण्डेयको नेतृत्वमा संसदका कर्मचारीले सदनको सम्पूर्ण पक्षको अवलोकन गर्दै जानकारी लिएका छन् ।

चिनियाँ महिला गैरकानुनी रुपमा नेपालमा बसेको खुलासा , जरिवानासहित स्वदेश फिर्ता गरिने

 गैरकानुनी रुपमा चिनियाँ महिला नेपालमा बसिरहेको खुलासा भएको छ । चिनियाँ संस्था ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ की मुख्य निर्देशक सोउ सिच्याङ अवैधरुपमा नेपालमा बसेको पुष्टि भएसँगै सरकारले उनलाई डिपोर्ट (नेपालबाट निष्कासनको निर्णय) निर्णय गरिसकेको छ । उनी यस अघि जाजरकोटमा राहत विवरणको विषयमा विवादमा परेर कुटपिटमा परेकी थिइन् । गत मंसिर २० मा ती चिनियाँ महिलामाथि कुटपिटको आरोपमा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य गोरख बहादुर केसीलाई पार्टीले स्पष्टीकरण समेत सोधेको थियो ।

उनलाई गैरकानुनी रुपमा नेपाल बसेकाले अध्यागमन विभागले १५ हजार रुपैयाँ जरिवाना गरेर छोड्ने निर्णय गरेको छ ।

गत मंसिर २८ गते अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले गृह मन्त्रालयलाई पत्राचार गर्दै सोउ सिच्याङ भिसा अवधिभन्दा बढी नेपाल बसेको पाइएकाले अध्यागमन ऐन, २०४० को दफा १० (४) बमोजिम १५ हजार रुपैयाँ जरिवाना गर्न प्रस्ताव गरेका थिए । सोही ऐनको दफा ९ (१) र ९ (१क) ले गरेको व्यवस्था तथा अध्यागमन कार्यविधि २०६५ को दफा ६ (३) देहायको २ (१०) बमोजिम उक्त भिसा वर्षमा नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गर्नको लागि समेत निर्णयार्थ पेस गरेका थिए ।

नर्भिक हस्पिटलकाे शनिवार नि:शुल्क ओपिडी सेवा

नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको नर्भिक आईभीएफ सेन्टरले यही माघ २० गते शनिबार नि:शुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । स्त्री रोग तथा निसन्तानसम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै नर्भिक आईभीएफले एक दिनका लागि निशुल्क ओपिडीमार्फत सेवा दिन लागेको हो । नर्भिक हस्पिटलकी वरिष्ठ स्त्री रोग तथा टेष्ट ट्युव बेबी विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा नुतन शर्मासहितको टोलीले बिरामीको स्वास्थ्य जाँच तथा उपचार गर्नेछ । डा शर्मासँग स्वास्थ्य जाँच वा परामर्श गर्न बिरामीले कुनै पनि शुल्क तिर्नुपर्ने छैन ।

नि:शुल्क ओपिडी सेवा बिहान १० बजेदेखी अपरान्ह ३ बजेसम्म संचालन हुनेछ भने एक सातासम्म फलोअप जाँच निशुल्क गरिएको नर्भिक हस्पिटलका सीईओ अजय कुमार मिश्राले जानकारी दिए । नि:शुल्क ओपिडी सेवामा स्वास्थ्य परीक्षण गराउन चाहने बिरामीले अग्रिम रुपमा पनि नाम दर्ता गराउन सक्ने अस्पतालले जनाएको छ । नर्भिक अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत सर्वसाधरण बिरामीलाई लक्षित गर्दै प्रत्येक शनिबार विभिन्न रोगसँग सम्बन्धित् विशेषज्ञ चिकित्सकद्वारा नि:शुल्क ओपिडी सेवा संचालन गर्दै आएको छ ।

न्यायाधीश भुवन गिरीविरुद्धको रिटमा मिसिल झिकाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निलम्बित न्यायाधीश भुवन गिरीविरुद्ध दायर वैवाहिक बलात्कार मुद्दाको मिसिल झिकाउन उच्च अदालतको नाममा आदेश जारी गरेको छ । बुधवार कामु प्रधान न्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश सुनिल पोखरेलको इजलासले यस्तो आदेश गरेको हो ।

रुपन्देही जिल्ला अदालतका तत्कालीन न्यायाधीश भुवन गिरीविरुद्ध उनकै पत्नीले दायर गरेको वैवाहिक बलात्कार मुद्दामा उच्च अदालतबाट थुनामा राख्नु नपर्ने आदेश भएको थियो । तर गिरीकी पत्नीले उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै सर्वोच्च अदालतसम्म पुगेकी थिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *