मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

माघ १६ गते मंगलबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । मंगलबार तयार पारिएको मुख्य १० समाचारमा बालुवाटारमा सत्ता गठबन्धनको बैठकदेखि संघीय सांसदको टोली भारत भ्रमण सम्मका समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

बालुवाटारमा सत्ता गठबन्धनको बैठक

सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । हालै सम्पन्न राष्ट्रिय सभाको निर्वाचनको समीक्षा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको बैठक राखेका हुन् । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा, लोसपा, राजमोका शीर्ष नेताहरु सहभागी छन् ।

राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा गठबन्धनभित्रबाट भोट क्रस हुँदा माओवादी उम्मेदवार चम्पादेवी कार्की पराजित भएकी थिइन् । महिला कोटामा एमालेकी रुक्मिणी कोइराला विजयी भएकी थिइ्रन् । कोशीमा लगातार दुईवटा चुनावमा सत्ता गठबन्धनको उम्मेदवार हारेर एमाले उम्मेदवार जित्नुलाई गम्भीर रूपमा लिइएको छ ।

तेस्रो लगानी सम्मेलनको नाम ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट’

आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ तय भएको छ । लगानी सम्मेलन निर्देशक समितिको दोस्रो बैठकले लगानी सम्मेलनको लोगो टुंगो लगाएको हो । लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले लगानी सम्मेलन आयोजना गर्न सरकारले अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, मुख्य सचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा प्राविधिक समिति गठन गरेको जानकारी दिए ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा लगानी सम्मेलन सचिवालय रहेको छ । लगानी सम्मेलनका लागि कानुनी सुधारको सिफारिस गर्न गठित कार्यदलले विभिन्न एक दर्जन ऐन तथा नियमावली संशोधन गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत आर्थिक तथा पूर्वाधार क्षेत्र हेर्ने सचिवको संयोजकत्वमा गठित मौजुदा नीतिगत, संरचनागत एवं प्रक्रियागत सुधारका लागि सुझाव कार्यदलले आफ्नो प्रतिवेदन बुझाइसकेको छ । लगानी बोर्डको कार्यालयले गत शुक्रबार नेपालमा लगानी सम्भाव्यता पहिचान र आर्थिक विकासका लागि समन्वयात्मक रणनीति शीर्षकमा कार्यशाला आयोजना गरेको थियो ।

कांग्रेस निकट आदिवासी जनजाति महासङ्घका चार सदस्य मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा चार सदस्य मनोनयन गरेका छन् । मंगलबार सभापति देउवाले ओमबहादुर घर्ती मगरको अध्यक्षतामा गठित महासंघ, केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा चार जनालाई मनोनयन गरेका हुन् । मनोनयन भएका थप सदस्यहरूमा अमिर लामा मोक्तान (बारा), अर्जुनकुमार गुरुङ (सिन्धुली), इन्द्रमाया लामा (चितवन) र सानुराम घले (धादिङ) रहेका छन् ।

राजेन्द्र पाण्डे अस्पताल भर्ना, माधव नेपाल पुगे भेट्न

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपनि उनी स्वयंभुको मनमोहन अस्पताल भर्ना भएका हुन् । पिसाबसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएको एकीकृत समाजवादीले जनाएको छ । उनी केहि दिन अस्पतालमै रहने बताइएको छ । यसैबीच पार्टीका उपाध्यक्ष, पूर्व मुख्यमन्त्री तथा संसदीय दलका उपनेता पाण्डेलाई भेट्न पार्टी अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपवाल अस्पताल पुगेका छन । उनले अस्पताल पुगेर पाण्डेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

कोरियन कम्पनी र लगानीकर्तालाई स्वागत गर्न तत्पर छौं : परराष्ट्रमन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले कोरियन कम्पनीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।
काठमाडौंस्थित कोरियन दूतावासले मंगलबार होटल याक एन्ड यतिमा आयोजना गरेको नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औं वार्षिकोत्सब अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले भने, ठूलो संख्यामा कोरियाली कम्पनी, उद्योगीलाई र लगानीकर्ताहरुलाई स्वागत गर्न तत्पर छौं।

परराष्ट्रमन्त्री साउदले दुबै मुलुकबीच आर्थिक सहयोग विस्तार गर्ने प्रचुर सम्भावना रहेकोसमेत बताएका छन्। भने, हामीबीच आर्थिक साझेदारीका सम्भावनाहरू अन्वेषण गरौं। द्विपक्षीय व्यापार अभिवृद्धि गरौं र लगानी बढाऔं।

उनले कृषि, उर्जा, पर्यटन र सूचना प्रविधिको क्षेत्रमा साझेदारीलाई बलियो बनाएर अघि बढ्नुपर्ने बताएका छन्। भने, कोरियामा हजारौं नेपाली कामदार छन्। नेपालीहरुले थप अध्ययनका लागि कोरिया रोजेका छन्। हजारौं कोरियाली पर्यटकका रूपमा नेपाल आउने गरेका छन्। कोरियालीहरूको ठूलो संख्याले नेपालमा लगानी गरेको छ। आगामी दिनहरूमा, हामी यसलाई साझेदारीलाई थप विस्तार गर्नेछौं। परराष्ट्रमन्त्री साउदले उच्चस्तरीय भ्रमणको आदानप्रदानलाई पनि गति दिने उल्लेख गर्दै भने म विश्वस्त छु कि स्वर्ण जयन्तीको अवसरमा उच्चस्तरीय भ्रमण गर्न सक्छौं।

संघीय सांसदको टोली भारत भ्रमणमा

संघीय संसदको एक टोली भारत भ्रमणमा गएको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन सामितिका सभापति राजकिशोर यादवसहित समितिका अन्य सदस्यहरु मंगलबार भारत प्रस्थान गरेका हुन् ।

भारतीय संसदको अन्तर्राष्ट्रिय समितिको निमन्त्रणमा मंगलबार उनीहरु भारत गएका हुन् । भारत भ्रमणमा जानेहरुमा यादवसहित सुनीता बराल, छिरिङबहादुर ल्हामु लामा तामाङ, सम्झना थपलिया, योगेश गौचन, हरि उप्रेती, शिशिर खनाल र गंगाराम चौधरी रहेका छन् । सो टोली राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको उडानबाट नयाँदिल्ली प्रस्थान गरेको हो ।

सुदूरपश्चिमका मन्त्री साउदविरुद्ध प्रहरीमा उजुरी

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउदविरुद्ध उजुरी परेको छ । बझाङको बुंगल नगरपालिका–१ का धनबहादुर बोहराले आइतबार मन्त्री साउदविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका हुन् ।

केही समयअघि ऋण लगेको पैसा फिर्ता माग्दा मन्त्रीले ज्यान मार्ने धम्की दिएको भन्दै उजुरी आएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देबेन्द्र पालले जानकारी दिए । बोहराले साउदलाई विभिन्न मितिमा पैसा दिएको तर फिर्ता माग्दा उल्टै ज्यान मार्ने धम्की दिएको उजुरीमा उल्लेख गरेका छन् । साथै उनले आफ्नो सुरक्षाको समेत माग गरेका छन् ।

आजबाट वडा तहमा कांग्रेस अभियान

 सांगठनिक सुदृढीकरणको लक्ष्यसहित मंगलबारबाट ‘समुदायमा कांग्रेस’ अभियानअन्तर्गत ६५ जिल्लामा कांग्रेस वडा तहमा केन्द्रित हुने भएको छ । ‘समुदायमा जाऔँ, जनताका कुरा सुनौँ’ नारासहित अभियान २६ माघसम्म सञ्चालन हुनेछ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले १० हिमाली र दुई भूकम्प प्रभावित जिल्लाबाहेक ६५ जिल्लाका सबै वडामा एकसाथ अभियान सुरु हुन लागेको जानकारी दिए । अभियान नहुने हिमाली जिल्लामा सोलुखुम्बु, खोटाङ, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट र दैलेख छन् ।

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पनि अभियान हुनेछैन । अभियानका लागि कांग्रेसले जिल्लामा केन्द्रीय प्रतिनिधि र त्यसबाहेक समन्वयका लागि केन्द्रबाट छुट्टै टोलीसमेत पठाएको छ । ‘अभियानका लागि हिमाली जिल्ला र भूकम्प प्रभावित दुई जिल्लामा अभियान राखिएको छैन । अभियान हुने जिल्लामा केन्द्रीय प्रतिनिधि पुगिसक्नुभएको छ । अभियानलाई अझै प्रभावकारी बनाउन समुदायको बीचमा पुग्न र संवाद गर्न केन्द्रबाट छुट्टै टोली पनि पठाइएको छ,’ पौडेलले भने ।

भ्रष्टाचारको सूचकांकमा नेपाल १०८औं स्थानमा

नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा १०८औँ स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) २०२३ मा १०० मा ३५ अंक पाएर नेपाल १०८औँ स्थानमा परेको हो ।

अघिल्लो वर्ष सन् २०२२ मा नेपाल ३४ अंकसहित १००औँ स्थानमा थियो । सूचकांकमा यस वर्षको औसत अंक ४३ रहेको छ । एसिया प्रशान्त क्षेत्रको औसत स्कोर ४५ रहेको छ । विश्वका दुई तिहाई मुलुकले ५० भन्दा कम अंक पाएका छन् । यसले ती देशमा भ्रष्टाचार गम्भीर समस्याको रूपमा रहेको उल्लेख गरिएको छ ।

गत वर्षको तुलनामा नेपालको अंकमा यस वर्ष केही सुधार भएतापनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै यस वर्ष पनि नेपाल कायमै रहेको छ । दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ । भुटान ६८ अंकका साथ २६ औं स्थानमा रहेको छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान छ ।

संघीय सांसदको टोली भारत भ्रमणमा

संघीय संसदको एक टोली भारत भ्रमणमा गएको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन सामितिका सभापति राजकिशोर यादवसहित समितिका अन्य सदस्यहरु मंगलबार भारत प्रस्थान गरेका हुन् ।

भारतीय संसदको अन्तर्राष्ट्रिय समितिको निमन्त्रणमा मंगलबार उनीहरु भारत गएका हुन् । भारत भ्रमणमा जानेहरुमा यादवसहित सुनीता बराल, छिरिङबहादुर ल्हामु लामा तामाङ, सम्झना थपलिया, योगेश गौचन, हरि उप्रेती, शिशिर खनाल र गंगाराम चौधरी रहेका छन् । सो टोली राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको उडानबाट नयाँदिल्ली प्रस्थान गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *