मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विषेश मुख्य १० समाचार

माघ ११ गते बिहीबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । बिहीबार तयार पारिएको मुख्य १० समाचारमा बागमतीबाट गठबन्धनका चारै उम्मेदवार विजयी देखि ढोरपाटनका मेयर नेपालीविरूद्व ‘रेड नोटिस’ जारी, पक्राउ गर्न बाटो खुल्यो सम्मका समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

बागमतीबाट गठबन्धनका चारै उम्मेदवार विजयी

राष्ट्रिय सभामा बागमती प्रदेशबाट सत्ता गठबन्धनका चारै जना उम्मेदवार विजयी भएका छन् । बागमतीबाट महिलातर्फ नेपाली कांग्रेसका विष्णुदेवी पुडासैनीले ६ हजार ६२२ मतभारसहित विजयी भएकी छन् भने उनले नेकपा एमालेकी उम्मेदवार रोचकुमारी चौलागाईंलाई पराजित गरेकी छन् । उनले २ हजार ५५२ मतभार प्राप्त गरेकी छन् ।

त्यस्तै दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी भएका छन् । रिजालले ६ हजार ५१२ मतभार प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार ध्रुवराज विश्वकर्माले ३ हजार ५२ मतभार प्राप्त गरेका छन् । त्यसैगरी अन्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार जितजंग बस्नेत निर्वाचित भएका छन् । बस्नेतले ६ हजार ५३१ मतभार ल्याउँदा नेकपा एमालेका त्रिलोचन निर्मल पौडेलले २ हजार ३५९ मतभारसहित पराजित भएका छन् ।

अल्पसंख्यक तथा अपांगतातर्फ माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी विजयी भएका छन् । अधिकारीले ६ हजार ४३६ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार विवेक देवकोटा २ हजार ७३४ मतभर प्राप्त गर्दै पराजित भएका छन् ।बागमती प्रदेशमा प्रदेशसभाका सदस्यतर्फ एक सय १० मतदाता रहेकामा एक सय आठले मतदान गरी ९८ दशमलव १८ प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ दुई सय ३७ मतदाता रहेकामा तीन सय ३४ ले मतदान गरी ९८ दशमलव ७३ प्रतिशत मतदान भएको छ । यसरी बागमती प्रदेशतर्फ कूल मतदाता तीन सय ४७ मा तीन सय ४२ ले मतदान गरेकाले ९८ दशमलव ५६ प्रतिशत मतदान भएको छ ।

कांग्रेसका सिटौला राष्ट्रिय सभा सदस्य निर्वाचित

कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी भएका छन् ।

अन्य तर्फबाट उमेद्वार बनेका सिटौलाले एमाले राप्रपा गठबन्धनबाट उम्मेदवार बनेका उद्धव पौडेललाई पराजित गरेका हुन् । २ जना प्रदेश सभा सदस्यले फ्लोर क्रस गरेर पौडेललाई मत हालेपनि स्थानीय तह तर्फ भने सिटौलाले अग्रता हासिल गरेपछि विजयी भएका हुन् । सिटौलाले कुल ५ हजार २९२ मतभार प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी पौडेलले ४ हजार ५६२ मतभार प्राप्त गरेका छन् ।

कोशी प्रदेशमा निर्वाचक मण्डलका सदस्यहरु मध्ये प्रदेश सभाका सदस्यतर्फ ९३ जना मतदाता रहेकोमा ९३ जनाले नै मतदान गरी १०० प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ २७३ मतदाता रहेकोमा २७१ जनाले मतदान गरी ९९.४५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

सत्ता गठबन्धनले महिला सिट गुमाएको छ भने नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका कृष्णप्रसाद सिटौलालाई गठबन्धनकै दुई सांसदले मत दिएनन् । महिलातर्फ एमालेकी रूक्मिणी कोइराला निर्वाचित भएकी छिन् । उनले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी मा‌‌ओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गरिन् । राष्ट्रियसभाको अध्यक्ष बनाउने गरी सिटौलालाई कोशीबाट उम्मेदवार बनाइएको थियो ।

कोशीमा गठबन्धनबाट ‘फ्लोरक्रस’, एमालेकी कोइराला विजयी

राष्ट्रिय सभामा कोशी प्रदेशबाट नेकपा एमालेकी उम्मेदार रूक्मिणी कोइराला विजयी भएकी छन् । कोइरालाले ५ हजार ८६ मतभार प्राप्त गरेकी छन् ।

त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाएकी छन् ।

सत्ता गठबन्धनबाट ‘फ्लोरक्रस’ भएपछि एमाले उम्मेदवार विजयी भएकी हुन् । कोशी प्रदेशमा निर्वाचक मण्डलका सदस्यहरु मध्ये प्रदेश सभाका सदस्यतर्फ ९३ जना मतदाता रहेकोमा ९३ जनाले नै मतदान गरी १०० प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ २७३ मतदाता रहेकोमा २७१ जनाले मतदान गरी ९९.४५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार : पाँच जनाविरुद्ध मुद्दा दायर

सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क प्याड वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरी, लेखा अधिकृत श्याम सुन्दर यादव, शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र श्री लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराजका प्रोप्राइटर ललिता कुमारी साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।

आर्थिक वर्ष २०७७ /०७८ मा सामुदायिक विद्यालयका छात्राहरुका लागि निःशुल्क वितरण गर्न गाउँपालिकाले १७ लाख ८५ हजार ९२८ रुपैयाँको स्यानिटरी प्याड खरिद गरेको थियो । अख्तियारका अनुसार सार्वजनिक खरिद ऐन र नियमावली अनुसार प्रचलित दरभाउलाई आधार मानेर लागत अनुमान तयार गर्नुपर्ने थियो । तर तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चौधरी लगायतले श्री लक्ष्मी ट्रेडर्सकी ललिताकुमारीसँग मिलेमतो गरे । उनीहरुले ९ लाख ११ हजार ९२५ रुपैयाँ पर्ने स्यानिटरी प्याडलाई १७ लाख २५ हजार ९२८ रुपैयाँ मा खरिद विक्री गरेको अख्तियारले जनाएको छ ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चौधरीसहित चार कर्मचारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो ८ लाख ७४ हजार ३ रुपैयाँ बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन माग गरिएको छ ।
बिशेष अदालत काठमाडौंमा दायर आरोपपत्रमा लक्ष्मी ट्रेडर्सकी ललिताकुमारी पनि मुख्य कसुरदारहरुलाई सरह सजाय गरी बिगो समेत असुल उपर गर्न माग गरिएको अख्तियारको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।

राष्ट्रपति पौडेल र अष्ट्रेलियाका राजदूतबीच भेटवार्ता

 राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले भेटवार्ता गरेकी छिन् ।नेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले दक्षिण–पूर्वी एसिया तथा प्रशान्त क्षेत्रको समृद्ध अर्थतन्त्रको हैसियतले मात्र नभई विश्व आर्थिक मञ्चमा अष्ट्रेलियाको महत्त्वपूर्ण उपस्थिति रहेकाले नेपालजस्ता भूपरिवेष्टित र अल्पविकसित मुलुकको सामाजिक एवं आर्थिक विकासमा अष्ट्रेलियाको सहयोग आगामी दिनमा अझ वृद्धि हुने विश्वास व्यक्त गरेका थिए ।

तीनै जना स्वतन्त्र मेयरले राष्ट्रिय सभाको निर्वाचनमा गरेनन् मतदान

स्थानीय तहको नेतृत्व र स्थानीय तहको विकासलाई फरक तरिकाले अगाडी बढाइरहेका तीनै वटा स्वतन्त्र मेयरहरुले राष्ट्रिय सभाको निर्वाचनमा मतदान बहिष्कार गरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङ र धनगढी महानगरपालिकाका मेयर गोपाल हमालले राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान बहिस्कार गरेका हुन् । यी मेयरहरु विभिन्न फन्डाले चर्चामा आउने गरेका छन् । उनीहरुले निर्वाचनमा मतदान गर्ने मनसाय नभएपछि कार्यव्यस्थताले असमर्थ भएको जनाएका छन् ।

आज बिहान ९ देखि ३ बजेसम्म तोकिएको मतदानको समयमा तीनै मेयरले जान मन गरेनन् । प्रदेशको मतदान केन्द्रमा बालेन, हर्क र गोपी मतदान केन्द्रमा गएनन् । उनीहरुको मतदानस्थल भने फरक–फरक थियो । कोशी प्रदेशमा २ सिटका तीन दलका पाँच जना उम्मेदवार थिए भने बागमती प्रदेशका ४ सिटका ६ दलका १५ जना उम्मेदवार थिए । यस्तै सुदूरपश्चिमका ३ सिटमा तीन दलका ६ उम्मेदवार थिए ।

नेपाली कांग्रेस उम्मेदवार बिष्णु कुमारी सापकोटा ५४३५ मतले निर्वाचित

नेपाली काँग्रेस उम्मेदवार विष्णु कुमारी सापकोटा राष्ट्रिय सभा निर्वाचनमा ५४३५ मतले निर्वाचित भएकी छिन् ।

आज भएको राष्ट्रिय सभाको निर्वाचनमा सापकोटाले ५४३५ मत भार प्राप्त गरेर राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन् । यस्तै उपविजेता नेकपा एमालेकी तुलसा के सी ले २८६७ मताभार प्राप्त गरेकी छिन् ।

माओवादीका पूर्वब्रिगेड कमाण्डर मार्शल चरेश काण्डमा पक्राउ

हाल नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय सदस्य रहेका माओवादी पूर्वब्रिगेड कमान्डर जितमान पुन (मार्शल) पक्राउ परेका छन् । रुकुम पूर्वको भुमे गाउँपालिका–१ का पुनमाथि २०५३ सालमा चरेस ओसारपसारसम्बन्धी मुद्दा चलेको थियो । सो मुद्दामा जिल्ला अदालत दाङले साढे दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

सोही मुद्दामा उनलाई प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको हो । अदालतले पुनलाई डिल्लीबजार कारागार पठाएको छ ।
पुनलाई पक्राउ गरिएको विषयमा पूर्वप्रधानमन्त्री एवम् नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराईले जनयुद्धकालीन मुद्धामा पुनलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन् ।

‘पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जितमान पुन ‘मार्शल’ लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरिएकोमा नेसपाको घोर आपत्ति छ । हामी यो घटनाको तीव्र भ्रत्सना गर्दछौँ,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् । उनले यसबारे तुरुन्त आवश्यक कदम चाल्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह समेत गरेका छन् । पुन ०७४ सालको निर्वाचनमा रुकुम पूर्वबाट बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्तिबाट उम्मेदवारसमेत थिए ।

राहुल महरालाई थुनामा राख्न जिल्लाको आदेश उच्चद्वारा सदर

भेपमा लुकाएर सुन तस्करी आरोपमा राहुल महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई उच्चले पनि सदर गरेको छ।उच्च अदालत पाटनका न्यायधीशद्धय अन्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले भेप प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंकै आदेश सदर गरेको हो।

पुर्पक्षको लागि थुनामा पठाउने जिल्लाको आदेश विरुद्ध ७३ नम्बरको निवेदन लिएर उच्च पुगेको महरालाई थुनामा राख्ने शुरुकै आदेश उच्चले सदर गरेको अदालतका उपरजिष्टार तीर्थराज भट्टराईले जानकारी दिए। इलेक्ट्रोनिक सिगरेट भेप प्रकरणमा महरामाथि अपराधिक विश्वासघात, भन्सार चोरी पैठारी र संगठित अपराधमा मुद्दा चलेको छ। इजलासले भेप प्रकरणमै पुर्पक्षका लागि थुनामा रहेका लोकेन्द्र कुमार पौडेलको हकमा भने पाँच लाख रूपैया धरौटीमा छाड्ने आदेश दिएको छ।

ढोरपाटनका मेयर नेपालीविरूद्व ‘रेड नोटिस’ जारी, पक्राउ गर्न बाटो खुल्यो

 बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरूद्ध रेड नोटिस जारी भएको छ । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) ले रेड नोटिस जारी गरेको हो । नेपालीविरूद्व रेड नोटिस जारी गर्न नेपाल प्रहरीको एनसीबी काठमाडौंले इन्टरपोलको प्रधान कार्यालय फ्रान्समा पत्र पठाएको थियो ।

रेड नोटिस जारी भएसँगै इन्टरपोलको सदस्य राष्ट्रहरू १९५ देशका प्रहरीले नेपालीलाई पक्राउ गरेर नेपाल फर्काउने बाटो खुलेको छ । पोखरा र बागलुङमा इमेज बचत तथा ऋण सहकारी संस्था चलाएका नेपालीले प्रारम्भिक अनुसन्धानमा दुई अर्ब अपचलन गरेको पाइएको छ।

सहकारीमा बचत गरेका सर्वसाधारण नागरिकले आफ्नो रकम फिर्ता माग्न थालेपछि नेपाली गत आइतबारदेखि सम्पर्कविहीन छन्। उनले सहकारीको पैसाबाट ४४ ठाउँमा जग्गा किनेको तथ्य खुलेको छ । ढोरपाटनका मेयर नेपाली माओवादी पृष्ठभूमिका हुन्। माओवादीले २०७४ को स्थानीय निर्वाचनमा ढोरपाटनको मेयर उम्मेदवार नबनाएपछि उनी एमालेमा प्रवेश गरेर मेयरको टिकट पाएका थिए।

त्यतिबेला मेयर जितेका नेपाली गत वर्ष भएको स्थानीय निर्वाचनमा एमालेकै तर्फबाट दोस्रोपटक ढोरपाटनको मेयर जितेका थिए। सहकारीबाट करोडौं अपचलनको आरोपमा फरार नेपालीलाई एमालेले निलम्बन गरेको छ। उनी एमालेका गण्डकी प्रदेश कमिटी सदस्य हुन्। सहकारीका बागलुङ र पोखराका बचतकर्ताले प्रशासनमा उजुरी दिएपछि नेपालीलाई अध्यागमन विभागले विदेश यात्रामा रोक लगाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *