माघ ४ बिहीबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । बिहीबार तयार पारिएको मुख्य १० समाचारमा राष्ट्रपति पौडेलबाट आर्थिक कार्यविधि अध्यादेश जारी देखि घातक हतियार प्रयोग गर्नुको कारण देखाउन सर्वोच्चको आदेशसम्मका समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
राष्ट्रपति पौडेलबाट आर्थिक कार्यविधि अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश जारी गरेका हुन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सो अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
८७ लाख बराबरको पोटास खाद सहित १३ वटा ट्रक प्रहरीको नियन्त्रणमा
बाराको जीतपुर सिमरा उप–महानगरपालिका, वडा नं. १ पथलैया चोकबाट एम एस किसान टे«ड इन्डिया कम्पनीको८७ लाख ३६ हजार रूपैया बराबरको ५, ४६० बोरा पोटास खाद सामाग्री प्रहरीले नियन्त्रण गरेको छ । पोटास ट्रकमा लोड गरी वीरगंज देखि राजबिराज, विराटनगर, वृतामोड तर्फ जादै गरेको भन्ने गोप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय निजगढले बुधबार र बिहीबार गरी पोटास खाद १६८० बोरा, ४ ट्रक, र पोटास खाद ४२० बोरा, १ ट्रक नियन्त्रणमा लिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
सुप्रिम र सूर्यदर्शन सहकारी घोटालामा संलग्न हुनेलाई कारबाही गर्न नेविसंघको माग
नेपाल विद्यार्थी संघले कास्कीको सूर्यदर्शन र चितवनको सुप्रिम सहकारी घोटालामा संलग्न हुनेलाई कारबाही गर्न माग गरेको छ । नेविसंघले बिहीबार सहकारी विभागमा ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जीबी राईलाई कारबाही गर्न माग गरेको हो। लामिछानेले ‘सुप्रिम सहकारीका बचतकर्ताको १ करोड, पोखराको सूर्यदर्शन सहकारीबाट १० करोड, साहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख र बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख गरी ३२ करोड ४५ लाख रुपैयाँ गोर्खा मिडियाको खातामा ट्रान्सफर भएको’ समाचार सार्वजनिक भएको भन्दै यसबारे सत्यतथ्य सार्वजनिक गर्न नेविसंघको माग छ। नेविसंघले रास्वपाका सांसदसमेत रहेका लामिछानेको राजीनामासमेत मागेको छ।बुधबार अधिवक्ता युवराज सफलले सहकारी घोटालामा संंलग्न रहेको भन्दै लामिछाने र राईलाई कानुनअनुसार कारबाही गर्न उजुरी दर्ता गरेका छन् ।
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगान्डा प्रस्थान गरेसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पाएका छन् । राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई दिइएको जनाएको छ ।
प्रधानमन्त्री प्रचण्ड युगान्डामा आयोजना हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औँ शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ गएकाले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री खड्कालाई तोकिएको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष जोशीको निधन
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको छ । गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाका अनुसार उपाध्यक्ष जोशीको ५२ वर्षको उमेरमा बिहीबार बिहान करिब ४ बजे आफ्नै घरमा निधन भएको हो ।
उपाध्यक्ष जोशी क्यान्सरबाट पीडित थिइन् । ललितपुरको किष्ट अस्पतालमा उपचार गराएर हालै उनलाई घर लगिएको थियो । २०७९ वैशाखमा भएको स्थानीय तह चुनावमा जोशी नेपाली कांग्रेसबाट उम्मेदवार भई उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।
कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले उपाध्यक्ष जोशीको निधनमा दुःख व्यक्त गर्दै गत मंसिर २८ को जंसालमा भएको भेट नै अन्तिम भएको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ‘प्रचण्ड’ युगान्डा प्रस्थान
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गरेका छन् । उनी आज बिहान कतार एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी छन् ।
प्रधानमन्त्री दाहालले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शिखर सम्मेलनमा भोलि शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन प्रधानमन्त्री दाहाल गणतन्त्र युगान्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछन् । शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री दाहालले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछ । यसअघि मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद यही माघ १ गते राति नै त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।
शिखर सम्मेलनले मन्त्रिस्तरिय बैठकको प्रतिवेदनमाथि विचार विमर्श गर्ने, सन् २०१९ मा भएको १८औँ शिखर सम्मेलनको नतिजा कार्यान्वयनमा हासिल भएको प्रगतिको समीक्षा गर्ने र कम्पाला घोषणापत्र पारित गरेर टुङ्गो लगाउने बताइएको छ ।
नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो र यसको स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ । असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो । प्रधानमन्त्री दाहाल भ्रमण सम्पन्न गरी यही माघ ७ गते बिहान काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ ।
मुख्यमन्त्री कार्कीको सम्पत्तिः २५ तोला सुन र ८ लाख ब्यालेन्स
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कार्कीको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । सम्पति विवरणमा कार्कीले बुढीगंगामा घर बाहेक तीन वटा घडेरी रहेको उल्लेख गरेका छन् । उनले घर र सबै जग्गा श्रीमती शान्तादेवी बस्नेतको नाममा रहेको छ । उनले उक्त घरजग्गा पैत्रिक सम्पत्ति बेचबिखन तथा जागिरबाट आर्जन गरेको बताएका छन् । उनले बूढीगंगा–२ ‘क’मा पौने ९ धुर, बूढीगंगा–२ ‘क’मै सवा ११ धुर र बूढीगंगा–८ ‘ख’मा ३ कट्ठा जग्गा जागिर, बोनस, कर्जा र सापटीबाट किनेको उल्लेख गरेका छन् ।
मुख्यमन्त्री कार्की परिवारसँग विवाह, उपहार तथा खरिदबाट प्राप्त भएको २५ तोला सुन र ८० तोला चाँदी रहेको विवरणमा उल्लेख छ । उनीहरुको नाममा विभिन्न बैंकमा लगभग ८ लाख नगद रहेको छ । मुख्यमन्त्री कार्कीको नाममा कृषि विकास बैंकमा २० हजार ८३ रूपैयाँ ९० पैसा, उनकी श्रीमतीको नाममा कृषि विकास बैंकमा ८२ हजार ५७८ रूपैयाँ ४४ पैसा र एभरेष्ट बैंकमा ३ हजार ६ सय ६० रुपैयाँ छ । छोराहरु साकेत कार्कीको नाममा कृषि विकास बैंकमा ३ लाख ४८ हजार ५८४ र शाब्दिक कार्कीको नाममा ३ लाख ३९ हजार ८३६ रूपैयाँ ६९ पैसा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
यस्तै, ५२ वटा बैंक तथा वित्तीय संस्था तथा कम्पनीको शेयर मुख्यमन्त्री कार्की, उनकी श्रीमती र छोराहरुको नाममा रहेको छ । कार्कीले १ करोड ८ लाख २ हजार ऋण देखाएका छन् । जसमा उनले ८ लाख ७० हजार मात्रै भुक्तानी गरेका छन् ।
मिसन ८४ भनेर पर्खिन नसक्ने अवस्था आउन सक्छ ः अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार निकम्मा र देशद्रोही भएको टिप्पणी गरेका छन् । बिहीबार पार्टी सम्बद्ध खेलकुद संगठनको कार्यक्रममा बोल्दै गठबन्धन सरकारलाई देशद्रोहीको संज्ञा दिएका हुन् । उनले जनताको बलमा सरकारविरूद्ध आन्दोलनमा उत्रनुपर्ने र देश बर्बाद हुन बाट जोगाउनुपर्ने आवश्यकता पनि औंल्याएका छन् ।
‘एकपल्ट एकजनाले भनेका थिए– कोसँग मेरो गर्धन जोडिएको छ, घाँटी जोडिएको छ । यिनीहरूको सबैको घाँटी एकैठाउँमा जोडिएको छ । यिनीहरूको घाँटीमात्रै होइन सिंगै शरीर जोडिएको छ,’ उनले भने, ‘अंग्रेजीमा भनाइ छ– बर्ड्स अफ् द सेम फिगर फ्लाइ टुगेदर । यी एकै वंश, एकै नश्लका हुन् । र यी भ्रष्टाचार वंशका हुन् । यी कमिसनतन्त्रीय वंशका हुन् । यिनको गोत्र निकम्मा गोत्र हो । यिनको जात देशद्रोही हो। यी एकैखालका हुन्। त्यसकारण यी एकै ठाउँमा बस्छन्। हामीले जनताको बलमा आन्दोलनमा उत्रनुपर्ने र देश बर्बाद हुन बाट जोगाउनुपर्ने आवश्यकता छ ।’
अध्यक्ष ओलीले मिसन ८४ पर्खिन नसक्ने अवस्था आउने बताएका छन् । उनले भने, ‘यस स्थितिमा मिसन ८४ पर्खिन नसक्ने अवस्था आउन सक्छ । देश बर्बाद हुन लाग्यो भने मिसन ८४ भनेर बस्ने अवस्था हुन्न ।’ ओलीले अहिलेको गठबन्धन लोभीपापीहरुको मिलेमतो भएकाले यसलाई भत्काउन गाह्रो हुने भन्दै आन्दोलनबाट सरकार हटाउन प्रयास गर्ने आशय व्यक्त गरे । छोटो, ३ दिनको तयारीमा हामी राष्ट्रिय आन्दोलनमा उत्रिन पर्ने हुन सक्छ । उनीहरुले हामीमाथि जस्तोसुकै प्रहार गर्न सक्छन्’, ओलीले भने । अहिलेको गठबन्धन देशका लागि हानिकारक रहेको भन्दै उनले समय घर्किनुअघि नै निर्णायक कदम चाल्नुपर्ने बताए ।
मर्मतपछि निगमको वाइड बडी उड्यो
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज मर्मतपछि नियमित उडानमा फर्किएको छ ।
गत सोमबारदेखि ग्राउण्डेड उक्त जहाजको प्राविधिक मर्मतपछि आजदेखि नियमित उडानमा आएको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार गत सोमबार काठमाडौँ–दोहा उडानको तयारीमा रहेको उक्त जहाजको ‘फ्लाइट कन्ट्रोल सेन्सर’मा समस्या देखिएपछि ग्राउन्डेड भएको थियो । जहाजको आवश्यक पार्टपुर्जा बेलायतबाट ल्याएर मर्मत गरिएको हो । वाइडबडी जहाज मर्मतपछि अपरान्ह ४ बजे दुई सय ६७ यात्रु लिएर दुबईका लागि उडेको निगमका प्रवक्ता पौडेलले जानकारी दिए । निगमको अन्तर्राष्ट्रिय उडानका लागि दुई थान न्यारो बडी र दुई थान वाइड बडी जहाज छन् । तीमध्ये एक न्यारो बडी जहाज मर्मतका लागि हालै इजरायल पठाइएको छ ।
घातक हतियार प्रयोग गर्नुको कारण देखाउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले भीड नियन्त्रणमा घातक हतियार प्रयोग गर्नुको कारण देखाउन आदेश दिएको छ। बिहीबार सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले कारण देखाउ आदेश दिएको हो। रिट निवेदकको माग बमोजिम किन अन्तरिम आदेश दिनु नपर्ने हो, त्यसको कारण भए पेश गर्नू भनेको छ।
प्रहरीले भीड नियन्त्रणमा घातक हतियार प्रयोग गरेको उल्लेख गर्दै त्यसको प्रयोगमा रोक लगाउन माग गरी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले माघ ३ गते रिट दायर गरेका थिए। उनले प्रहरीले घातक हतियार प्रयोग गर्दा नागरिकले ज्यान गुमाउने परेको उल्लेख गरेका थिए।




