मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष १० समाचार

माघ १ गते सोमबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । सोमबार तयार पारिएको मुख्य १० समाचारमा वीरगन्जका मेयर सिंहको नक्कली बाबु प्रकरणः सिडिओ कार्यालयबाटै प्रमाण गायबदेखि मकरस्नान गर्न कालीगण्डकी किनारमा भक्तको घुइँचोसम्मका समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

वीरगन्जका मेयर सिंहको नक्कली बाबु प्रकरणः सिडिओ कार्यालयबाटै प्रमाण गायब

काठमाडौं । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले किर्ते गरी युवतीलाई नागरिकता दिलाएको प्रकरण झन् पेचिलो बन्दै गएको छ । नागरिकता पाउन पेस गरिएका प्रमाणहरू जिल्ला प्रशासन कार्यालय पर्साबाट गायब भएसँगै यो प्रकरण पेचिलो बन्दै गएको हो । जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारी उमेश ढकालकै बेला उक्त प्रमाणहरू गायब गरिएको चर्चा छ । मेयर राजेशमान सिंह श्रेष्ठको ठेक्कापट्टाका पूर्वसहकर्मी एवं छिमेकीसमेत रहेका नुरेनबी ठकुराइले उक्त नागरिकता पाउन पेस गरिएका प्रमाणका प्रतिलिपिहरू माग गरेपछि सूचना गायब गरिएको समाचार स्रोतको दाबी छ ।

‘ठूलो रकमको चलखेलमा अनुसूची फारम र जन्म दर्ताको प्रमाणहरू गायब गरिएको हो । यसो त त्यस बेला १० लाख रुपैयाँको चलखेल भएको चर्चाले जिल्ला प्रशासन कार्यालय तरंगित भएको थियो,’ नाम उल्लेख नगर्ने सर्तमा स्रोतले भन्यो । वीरगन्ज महानगरपालिका–३ बस्ने नुरेनबी ठकुराइले २०६९ मंसिर ११ गते सूचना पाउन जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दर्ता गराएका थिए । सूचनाको प्रतिलिपि ऐन ७ को २ बमोजिम सूचनाको हक पाउन पेस गरिएको निवेदनमा तत्कालीन प्रमुख जिल्ला अधिकारी उमेश ढकालले तोक लगाएपछि दर्ता गरिएको थियो ।

वीरगन्ज महानगरपालिका– ३ बस्ने राजेशमान सिंहले जिल्ला प्रशासन कार्यालय पर्साबाट सनाखत गरी कति जनालाई नागरिकता दिलाएको र उनका कति जना छोराछोरीहरू छन् र कतिजना छोराछोरीलाई उनले नागरिकता दिलाएको भन्दै सूचना माग गरिएको छ । साथै, सबै नागरिकता लिन पेस गरिएको प्रमाणका प्रतिलिपिहरूसमेत माग गरिएको छ । ‘सूचनाको हकअनुसार प्रमाणका सबै प्रतिलिपि माग गर्दै निवेदन दर्ता गराउन जाँदा सिडिओ ‘ओके’ भन्दै निवेदनमा तोक लगाउनुभयो,’ नुरेनबीले भने,‘त्यसपछि मलगायत नेपाली कांग्रेसका सभापति महमद साहबुदिनजी जिल्ला प्रशासन कार्यालयमा लगातार तीन चार दिन गयौं, तर प्रतिलिपि दिन आनाकानी गरियो । अन्तिममा सिडिओले नै बोलाएर “व्यक्तिगत नागरिकतासम्बन्धी विवरणका प्रमाणहरू परिवारबाहेक अरू कसैलाई दिन नमिल्ने” भन्दै हामीलाई फर्काउनुभयो ।’

मेयर राजेशमान सिंहले छोरी बनाएर अरूलाई नागरिक दिलाएको कुरा नुरेनबीको निवेदन पछि मात्रै जिल्ला प्रशासन कार्यालयमा तरंगित भयो । किर्तेको वास्तविकता थाहा पाएपछि हाकिमहरूको ठूलो चलखेल भएको समाचार स्रोतको दाबी छ, ‘उनको निवेदनपछि तीन चार दिनको ठूलो चलखेलमा प्रमाण लुकाउने काम भएको हो ।’ नगर प्रमुख सिंहले नागरिकतामा किर्ते गरेको भन्दै नेपाली कांग्रेसका क्षेत्रीय सभापति महमद साहबुदिनले कारबाही निवेदन दर्ता गराएको लगभग एक हप्ता हुन लागेको छ । श्रेष्ठको नागरिकता प्रकरणबारे छानबिन गर्न गठित समितिले तीन दिनदेखि खोजेको फाइल फेला पार्नसकेको छैन, जसले गर्दा यो प्रकरण झन् पेचिलोसँगै शंकास्पद बन्दै गएको छ ।

कार्यालय स्रोतका अनुसार रुबीनाको नागरिकता लिन पेस गरिएका मुख्य प्रमाणहरू नुरनबीको निवेदनपछि नै गायब पारिएको हो । जसमा आमाबुवाको नाता प्रमाणित हुने जन्मदर्ताको प्रमाणदेखि जिल्ला प्रशासन कार्यालयले नागरिकता प्रदान गर्नु अगाडि फोटोसहित वडाबाट सिफारिस गरिएको अनुसूची फारम जसमा आमाबुवा वा परिवारका व्यक्तिले दुवै औँठाछापसहितको हस्ताक्षर गरी सनाखत गरेको हुन्छ ।

रुबीना श्रेष्ठको नागरिकताबारे गरिरहेको छानबिनमा अहिलेसम्म ढड्डाबाहेकको अन्य प्रमाण फेला नपरेको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए । उनका अनुसार छानबिन समितिले गहिरिएर छानबिन गरिरहेको छ । ‘प्रकरणसँग सम्बन्धित मुख्य कागजातहरू अहिलेसम्म भेटिएको छैन, जसले गर्दा अनुसन्धान अगाडि बढ्न नसकेको हो,’ उनले भने ।

समयसीमाभित्र कागजात फेला नपरे त्यसपछि अर्को बाटो अवलम्बन गर्ने तयारीमा प्रमुख जिल्ला अधिकारी भुसाल रहेको बुझिएको छ । केही कर्मचारीले नियतवश नै अनुसूची फर्म बेपत्ता बनाएको देखियो भने हदैसम्मको कारबाही गर्ने तर्खरमा सिडिओ भुसाल छन् । नागरिकता किर्ते प्रकरणको बारेमा पाँच दिनभित्र अनुसन्धान प्रतिवेदन पेस गर्न निर्देशन दिइएको उनले बताए ।

मेयर सिंहले भने नागरिकता प्रकरणमा जवाफ दिन वा सञ्चार माध्यमहरूसँग खुलेर कुरा गर्न आनाकानी गर्दै आएका छन् । उनले आफ्नो व्यक्तिगत सामाजिक सञ्जालको वालमा ‘कुनै प्रश्नको जवाफ समयले दिने गर्छ, जुन जवाफ समयले दिन्छ त्यो एकदम सुन्दर हुने गर्छ,’ लेखेका छन् । नागरिकताको सनाखत गर्ने व्यक्तिको नाम राजेशमान सिंहसहित उनको नागरिकता नम्बर उल्लेख छ । बुवाको प्रमाणको रूपमा सिंहकै नागरिकताको प्रतिलिपि पेस गरिएको छ । नागरिकतामा बाबुको नाम लेखिए पनि आमाको नाम भने उल्लेख छैन । नागरिकता प्रकरणमा विभिन्न दलहरूको विरोधपछि गृह प्रशासनमाथि दबाब बढ्दै गएको छ ।

बुधवार नगर प्रमुखले किर्ते गरेको प्रकरणको छानबिनको माग गर्दै वीरगन्जमा जुलुस प्रदर्शन भएको थियो । जुलुसपछि वीरगन्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध थप १५ जना स्थानीय नेताहरूले संयुक्त रूपमा जाहेरी दिएका थिए । नक्कली बाबु बनेर नागरिकता दिएको प्रकरणमा उनीविरुद्ध वीरगन्जका सचेत नागरिकको तर्फबाट विभिन्न पार्टीका प्रतिनिधि र स्थानीयहरूले जिल्ला प्रशासन कार्यालय पर्सामा जाहेरी दिएका हुन् । जाहेरीमा नक्कली बाबु बनेर नागरिकता दिलाएका वीरगन्ज महानगरपालिकाका–३ का ५३ वर्षीय मेयर सिंह र नागरिकता जारी गराएकी वर्ष २१ की युवतीलाई विपक्षी बनाइएको छ ।

टुँडिखेलको भीडमा च्यापिएर ११ जना घाइते, ट्रमा सेन्टरमा उपचार हुँदै

माघी मनाउने क्रममा भिडभाड हुँदा काठमाडौँको टुँडिखेलमा च्यापिएर ११ जना घाइते भएका छन् । माघे सङ्क्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको अलग अलग कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण भिडभाडमा च्यापिएर घाइते भएका हुन् ।

घाइते हुनेमा १० जना महिला र एक जना पुरुष रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमुद ढुङ्गेलले जानकारी दिए । घाइतेहरूको अवस्था सामान्य रहेको र उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । भित्र बाहिर गर्नेका लागि ढोका एउटै भएकाले भित्र बाहिर गर्ने क्रममा उनीहरू च्यापिएका हुन् ।

घाइतेहरूको विवरण
१. जिल्ला खोटाङ हलेशी तुवाचुङ नगरपालिका वडा नं. १० घर भई हाल ललितपुर पाटन ढोका बस्ने वर्ष १२ को त्रिसना मगर (टाउकोमा चोट बोल्न सक्ने)
२. जिल्ला सिन्धुपालचोक घर भई हाल ललितपुर जिल्ला चामुण्डा बस्ने वर्ष १२ की अन्जना तामाङ (निधारमा चोट बोल्न सक्ने)
३. जिल्ला धादिङ गंगा जमुना गाउँपालिका वडा नं. ५ घर भई हाल काठमाण्डौ जिल्ला फुटुङ बस्ने वर्ष १९ की रेजिना घले (निधार र मुखमा चोट बोल्न सक्ने) ।
४. जिल्ला धनकुटा घर भई हाल ललितपुर जिल्ला चाखुपाट बस्ने वर्ष १६ की निकिता मगर (अनुहारमा चोट बोल्न सक्ने) ।
५. जिल्ला बर्दिया राधापुर नगरपालिका वडा नं. १ घर भई हाल काठमाण्डौ जिल्ला नयाँबजार बस्ने वर्ष ३० की रेखा चौधरी (पेटमा चोट बोल्न सक्ने) ।
६. जिल्ला प्युठान खलङगा गाउँपालिका वडा नं. ४ घर भई हाल काठमाण्डौ जिल्ला फुटुङ बस्ने वर्ष १६ की अनिसा के.सी. (दाहिने हातमा चोट बोल्न सक्ने) ।
७. जिल्ला कैलाली भजनिया नगपालिका वडा नं. ३ घर भई हाल ललितपुर भैसेपाटी बस्ने वर्ष २५ की कल्पना चौधरी (टाउकोमा चोट बोल्न सक्ने) ।
८. जिल्ला सुनसरी धरान उप–महानगरपालिका वडा नं. ३ घर भई हाल काठमाण्डौ जिल्ला बनस्थली बस्ने वर्ष २२ की मन्दिरा बस्नेत (बाया खुट्टा र कानमा चोट बोल्न सक्ने) ।
९. जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं. २२ बस्ने वर्ष ४० की मिना थापा (वेहोस अवस्थामा ल्याएको हाल बोल्न सक्ने) ।
१०. जिल्ला कैलाली घोडाघोडी गाउँपालिका घर भई काठमाण्डौ जिल्ला सितापाईला बस्ने वर्ष १९ की रिजा रेस्मी मगर (निधारमा पेटमा चोट बोल्न सक्ने) ।
११. जिल्ला रोल्पा घर भई हाल कोशी प्रदेश तालिमकेन्द्र दरबन्दी भई त्रिपुरेश्वर विशेष सुरक्षा गणमा कार्यरत प्र.ज. पृथ्वी बुढामगर (बाया खुट्टामा चोट बोल्न सक्ने) ।

बर्दियाः रास्वपामाथि जनताको अविश्वास ,पाटी छोड्ने नेता तथा कार्यकर्ताहरुको घोषणा

पछिल्लो समय देशको विकास परिवर्तनको लक्ष्य लिएर अघि बढिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीमाथि पुराना दलको कार्यशैली नै देखा परेको भन्दै जनताहरुले अविश्वास गर्न थालेका छन् । निर्वाचनको चार वर्ष अगावै मिसन ८४ चलाएको भन्दै अहिले रास्वाको चौतर्फी आलोचना भइरहेको बेला बर्दिया जिल्लाका २१ जना नेता तथा कार्यकताहरुले पाटी परित्यागको घोषणा गरेका छन् । सदरमुकाम समेत रहेको गुलरिया नगरपालिका ४ का २१ जना अगुवा नेता कार्यकर्ताले सामूहिक रूपमा पार्टी छाडेको घोषणा गरेका हुन् ।

पार्टी छाड्नेमा रास्वपाका वडा सभापति प्रेमबहादुर खड्का, सहसचिव दीपेन्द्रप्रसाद लामिछाने, गुलरिया नगर कमिटी सदस्य उमेश यादव लगायतले पार्टी छाडेको भन्दै बोधार्थ नगर समिति,प्रदेश समिति,केन्द्रीय समितिलाई दिएका छन् ।

जिल्ला अध्यक्ष देवराज पाठकका अनुसार अहिले रास्वपा परित्याग गर्ने २१ जनामध्ये ३ जना पहिल्यै पार्टीको कारबाहीमा परेको जिल्ला अध्यक्ष देवराज पाठकले जाकारी दिए । मनौवैज्ञानिक तरिकाले जनताको भावनासँग मिल्दो जुल्दो भाषण शैलीले माथि उस्किएको रास्वपामा जनताको अविश्वास गुम्न थालेपछि पनि रास्वपाले नयाँ परिवर्तनका लागि केही संकल्प लिएको छैन् ।

देशको नयाँ पाटीको रुपमा उदायको रास्वपाले वर्तनमान अवस्था परिवर्तनका लागि पाटीको आफ्नै संकल्प नभएका कारण अहिले जनताले विश्वास गर्न छोडेका छन् । देश तथा विदेशमा पुगेर निर्वाचनकेन्द्रित भाषणहरु दिने शैलीले रास्वपाले देश परिवर्तनका लागि व्यावहारिक पक्षमा कुनै पनि उदाहरणीय काम गर्न नसक्ने जनताले मुल्याङकण गर्न थालेका छन् ।

राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछानेले देशमा परिवर्तन ल्याउन र देशको अवस्था परिवर्तनका लागि अन्य दलको पुरानै शैलीमा यात्रा गर्नु उचित हुँदैन । नयाँ पाटीले देशको विकासका लागि पनि नयाँ गति दिन सकेको अवस्थामा मात्र पाटीमा पनि स्थायीत्व देखिनुका साथै जनताको विश्वास समेत दृढ बन्न सक्छ । अहिले देशका नागरिकहरुले चाहेको विकास हो । भाषण होइन् ।

मेयर साम्पाङले लगाए बीपी स्वास्थ्य प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा ताला

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायमुकायम उपकुलपति प्रा. डा. प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाएका छन् । प्रतिष्ठानमा विवाद चलिरहेका बेला उपकुलपति भागेको भन्दै मेयर साम्पाङले सोमबार प्रतिष्ठानमै पुगेर कार्कीको कार्यकक्षमा आफैले ताला लगाएका हुन् । बीपी प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक कर्मचारी चिकित्सकका माग सम्बोधन गर्न नसकेको भन्दै मेयर साम्पाङ एक्लै मोटरसाइकल चढेर प्रतिष्ठानमा पुगेका थिए । उनी उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेर उपमहानगर कार्यालयमा फर्किएका छन् ।

बरहथवामा आफूखुसी गोली चलाउने वरिष्ठ हवल्दार यादवको जागिर जाने

सर्लाहीको बरहथवामा भएको घटनामा गोली चलाउने नेपाल प्रहरीका वरिष्ठ हवल्दार सोनेलाल यादवको पद चैट हुने भएको छ । स्वास्थ्य संस्थाको स्तरोन्नतिको विषयमा विवाद हुँदा भएको झडपमा प्रहरीको गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो। यादवले माथिको आदेशविनै गोली चलाएको खुलेको छ । बरहथवा घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा समिति बनेको थियो। समितिले आइतबार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा हवल्दार यादवले आफूखुसी गोली चलाएका कारण घटना भएको उल्लेख छ।

गोलीकाण्डलगत्तै उनलाई जिल्ला प्रहरी कार्यालय तानिएको थियो । इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत डीएसपी गंगा थापालाई पनि त्यहाँबाट फिर्ता बोलाउन समितिले सिफारिस गरेको छ।

स्वास्थ्य बीमा गरेकाले दश प्रतिशत रकम मात्र तिर्नुपर्ने

आजदेखि स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रमअन्तर्गत उपचार गर्ने बीमितले उपचार खर्चबापत १० प्रतिशत रकम मात्र (सहभुक्तानी) तिर्नुपर्ने हुन्छ । बोर्डले आजदेखि स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा उपभोग गरेबापत लाग्ने खर्चको १० प्रतिशत रकम बीमित बिरामीले आफैँले तिर्नुपर्ने बोर्डका कार्यकारी निर्देशक डा दामोदर बर्सौलाले जानकारी दिए ।

यसअघि बोर्डमा आबद्ध भएकाले कुनै पनि बीमितले उपचार गरेबापत खर्च तिर्नुपर्दैनथ्यो । पाँचजना परिवारसम्म सदस्य भएका परिवारले वार्षिक रु तीन हजार पाँच सयको योगदान रकम तिरी एक लाखसम्मको सुविधा लिनसक्ने व्यवस्था रहेको छ । उनले अनावश्यक स्वास्थ्य परीक्षणलाई निरुत्साहित गर्नका लागि परीक्षणका रुपमा सहभुक्तानी प्रणाली लागू गरिएको बताए ।

“बीमितले अनावश्यक रुपमा चिकित्सकलाई दबाब दिएर स्वास्थ्य परीक्षण गराउन थाले,” उनले भने, “त्यसलाई निरुत्साहित गर्नका लागि आवश्यक मात्र स्वास्थ्य परीक्षण गराउन भनेर बिरामीलाई १० प्रतिशत तिराउने निर्णय गरेका हौ ।” उनका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र र २५ शय्यासम्मका अस्पतालमा गरिएको स्वास्थ्य उपचारमा भने बीमितले १० प्रतिशत रकम तिर्न नपर्ने छ । सहभुक्तनी प्रणाली सङ्घीय अस्पताल, २५ शय्याभन्दा माथिका प्रदेश र प्रादेशिक अस्पताल र सबै निजी तथा सामुदायिक अस्पतालमा लागू हुनेछ ।

अहिलेसम्म कूल ७४ लाख ६६ हजार सातजना बीमा आबद्ध रहेको र तीमध्ये ३४ लाख ७६ हजार सात सय ७८ जनाले बीमा कार्यक्रममार्फत स्वास्थ्य सेवा लिएको बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले जानकारी दिइन् । उनका अनुसार अहिले सक्रिय बीमित ४८ लाख ५९ हजार पाँच सय १५ जना रहेका छन् । यस्तै अति गरिब, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अति अशक्त, एचआइभी सङ्क्रमित, जटिल क्षयरोगी, कुष्ठरोगी र महिला स्वास्थ्य स्वयंसेविकालाई भने सहभुक्तानी प्रणाली (१० प्रतिशत रकम तिनुपर्ने) लागू नगरिने कार्यविधिमा उल्लेख गरिएको छ ।

अस्पतालमा ओपिडी र इमर्जेन्सीको शुल्क घट्यो

सरकारले अस्पतालहरूलाई तिर्ने बहिरंग (ओपिडी) र आकस्मिक सेवा (इमर्जेन्सी) को शुल्क घटाएको छ । स्वास्थ्य बीमा बोर्डले आगामी माघ ८ गतेदेखि लागू हुने गरी नयाँ शुल्क निर्धारण गरेको हो । नयाँ शुल्कअनुसार अब बीमामा आबद्ध व्यक्तिको ओपिडीमा ५० रुपैयाँ र आकस्मिक सेवाको टिकटका लागि एक सय रुपैयाँ लाग्ने छ । यसअघि ओपिडीमा दुई सय रुपैयाँ र आकस्मिक सेवामा चार सय रुपैयाँ शुल्क तोकिएको थियो ।

‘हाल सुविधा थैलीमा भएको ओपीडी प्याकेज कष्ट दुई सय र इमरजेन्सी प्याकेज कष्ट चार सय रहेकामा सोको हालसम्म पनि पूर्ण कार्यान्वयन नभएको पाइएकाले सो प्याकेज कष्टलाई परिमार्जन गरी मिति २०८० माघ ८ गते आइतबारदेखि लागू हुने गरी ओपीडी टिकट शुल्क ५० र इमर्जेन्सी शुल्क एक सय निर्धारण गरियो,’ बोर्डको निर्णयमा उल्लेख छ ।

मेलम्चीको पानी पुनः वितरण, प्रधानमन्त्री दाहाल भन्छन्‘अब नियमित आउँछ’

काठमाडौंवासीका घरमा आजदेखि मेलम्चीको पानी चौथो पटक आएको छ । मेलम्चीको पानी पुनर्वितरणको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार परिसरबाट गर्दै उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन सरकार प्रयासरत रहेको बताएका छन् ।

प्रधानमन्त्री दाहालले अब मेलम्चीको पानी नियमित रुपमा उपभोक्ताको धारामा झर्ने प्रबन्ध मिलाउने बताए । काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन सरकार प्रयासरत छ । हाल आयोजनाको हेडवक्र्सको निर्माणको कार्य यथाशीघ्र सम्पन्न गरी दोस्रो चरणको याङग्री तथा लार्के नदी डाईभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइनेछ,’ प्रधानमन्त्री दाहालले भने । प्रधानमन्त्री दाहालले अर्को वर्षदेखि २४ सैँ घण्टा पानी आउने गरी निर्माण र व्यवस्थापन गर्न मन्त्रालय र आयोजना प्रमुखलाई निर्देशन दिए ।

‘सुन्दरीजलमा थप क्षमताको पानी प्रशोधन केन्द्र तथा काठमाडौं उपत्यकामा नयाँ वितरण प्रणाली र फोहोर पानी प्रशोधन प्रणालीसमेत विकास गर्नुपर्नेछ । केही वर्षभित्रै अर्को चरणमा काठमाडौं उपत्यकाभित्र खानेपानी वितरणको कार्य नयाँ वितरण सञ्जालमार्फत समानुपातिक, सुरक्षित तथा तोकिएको परिमाणको खानेपानी सेवा २४ सै घण्टा उपभोक्ता सदस्यहरूको धारामा वितरण गरिने व्यवस्था मिलाउन म सम्बन्धित निकायलाई निर्देशितसमेत गर्दछु,’ दाहालले भने ।

प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवको आयोजनामा रहेको मेलम्ची खानेपानी आयोजनाको दीर्घकालिन समस्या समाधानका लागि विस्तृत अध्ययन गरी ठोस् कार्ययोजनामार्फत काम गरी बाह्रै महिना मेलम्चीको पानी उपभोक्ताको धारामा झार्ने गरी प्रयास गरिरहेको बताए । प्रधानमन्त्री दाहालले खानेपानीको दीगो व्यवस्थाका लागि दोस्रो चरणको याङग्री तथा लार्के नदी डाईभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइने जानकारी गराए ।

पर्सामा कोरोना सङ्क्रमित भेटिएपछि निगरानी बढाइयो

कोरोनाका नयाँ सङ्क्रमित भेटिएपछि भारतसँग सीमा जोडिएको पर्साको वीरगञ्जस्थित नाकामा स्वास्थ्य सतर्कता बढाइएको छ । भारतको विभिन्न स्थानमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जानाका साथै केही दिनअघि वीरगञ्जस्थित सीमानाकामा नयाँ सङ्क्रमित भेटिएपछि स्वास्थ्य सतर्कता बढाइएको हो ।

सीमानाकामा स्वास्थ्य सहायताकक्ष स्थापना गरी भारतबाट आउनेहरुको निरीक्षण र निगरानी गन थालिएको छ । भारतबाट रेल, बस र निजी सवारी साधनमा आउने यात्रुलाई स्वास्थ्य सहायताकक्षमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी भित्रिन दिने गरिएको वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखा संयोजक अनिल यादवले जानकारी दिए । उनका अनुसार महानगरले सञ्चालन गरेको हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीले भारतबाट यात्रा गरेर आउनेलाई सुरुमा स्क्रिनिङ गरी ज्वरो वा खोकीको लक्षण देखिएकाको एन्टिजेन परीक्षण गर्ने गरेका छन् ।

संयोजक यादवले गत पुस १ गतेदेखि सञ्चालित उक्त हेल्थ डेस्कमा हालसम्म पाँच हजार दुई सय पाँचजनाको स्क्रिनिङ गरिएको जानकारी दिए । जसमध्ये दुई सयमा एन्टिजेन परीक्षण गर्दा गत बुधबार दुई भारतीय र एकजना नेपालीमा कोरोना पोजेटिभ देखिएको उनले बताए।

भारतबाट आउने सबैको स्वास्थ्य जाँच गर्न सम्भव नभएकाले रेल, बस वा निजी सवारीमा आउनेहरुको स्क्रिनिङ गर्ने गरिएको र त्यसमध्ये शङ्कास्पद व्यक्तिको मात्र एन्टिजेन परीक्षण गर्ने गरिएको यादवको भनाइ छ । एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएकालाई होम आइसोलेसनमा पठाउने गरिएको उनले बताए । हेल्थ डेस्कमा हाल दुई स्टाप नर्स, तीन हेल्थ असिस्टेन्ट, दुई ल्याब टेक्निसियन र एक ल्याब असिस्टेन्ट गरी आठजना स्वास्थ्यकर्मी परिचालन गरिएको महानगरको स्वास्थ्य शाखाले जनाएको छ । पछिल्लो केही समययता भारतको गोवा, महाराष्ट्र, कर्नाटक, तेलागनलगायत राज्यमा पुनः कोरोना सङ्क्रमण फैलिन थालेपछि भारतीय सीमासँग जोडिएका क्षेत्रमा स्वास्थ्य सतर्कता बढाइएको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

धनुषामा श्रीमान मृत्त, श्रीमती घाइते अवस्थामा फेला

धनुषामा एक पुरुष मृत्त र उनकी श्रीमती गम्भीर घाइते अवस्थामा फेला परेका छन् । महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैयाका राधे सहनी मृत्त फेला परेका हुन् । उनकी श्रीमती अस्मिता सहनी सख्त घाइते अवस्थामा रहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिए ।

प्रहरी निरीक्षक कार्कीका अनुसार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ पकडियास्थित गहुँ खेतमा आज बिहान राधे मृत्त फेला परेका हुन् । श्रीमतीको भने प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । राधेको ससुराली घर क्षिरेश्वरनाथ नगरपालिका पकडिया हो । चार महिनाअघि मात्र राधे र अस्मिताले प्रेम विवाह गरी क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा डेरा गरी बस्दै आएका थिए ।

केही साथीसँगै ससुराली घर पकडियाबाट महेन्द्रनगर डेरामा रमाइलो गर्नुपर्छ भनेर श्रीमतीसहित राधे निस्केका थिए । त्यही क्रममा राधे मोटरसाइकल दुर्घटनामा परेको जस्तो देखिएको प्रहरीले जनाएको छ । राधेसँगै गएका दुई जना साथीहरू भने फरार छन् र उनीहरूको खोजी भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए । स्थानीयले भने घटना रहस्यम भएको बताएका छन् ।

मकरस्नान गर्न कालीगण्डकी किनारमा भक्तको घुइँचो
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन आज मकर सङ्क्रान्ति स्नान गर्नका लागि पवित्र कालीगण्डकी नदीमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । उत्तरायण सुरु हुने आजको दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिने भएकाले बिहानदेखि कालीगण्डकीका विभिन्न स्थानमा भक्तजनको भीड लागेको हो ।

कालीगण्डकीअन्तर्गत पर्वतको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल मोदीवेणी धाम, सेतीवेणी, पुर्तिघाट, जैमिनिघाट, नयाँपुललगायत स्थानमा बिहानदेखि भीड लागेको हो । मोदीवेणीमा बिहानदेखि भजनकीर्तन पनि सुरु भएको छ ।

बिहान कालीगण्डकीमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वासका साथ उनीहरु स्नान गर्न आएका हुन् । नजिकका भक्तजन बिहान कालीगण्डकीमा पुगेका छन्भने टाढाटाढाबाट आउनुपर्नेहरु भने आइतबार नै सदरमुकाम कुश्माबजार, फलेवास, शालिग्रामलगायत बजार क्षेत्रमा बसोबास गरी बिहान स्नान गर्न पुगेका हुन् ।

माघे सङ्क्रान्तिका दिन कालीगण्डकीमा स्नान गरेर घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन रहेको छ । यसैबीच, पर्वत, स्याङ्जा र गुल्मीका सङ्गमस्थलमा अवस्थित कालीगण्डकी नदीको तट सेतीवेणीमा आज विशेष मेला लागेको छ । तीन जिल्लाको सिमानामा रहेको विश्वकै ठूलो शालिग्राम शिलाको दर्शन गर्न र कालीगण्डकी स्नान गर्नका लागि स्वदेश तथा विदेशबाट भक्तजनको भीड लागेको स्थानीय तिलक पराजुलीले जानकारी दिए ।

कालीगण्डकी ‘ए’ जलविद्युत् निर्माणका क्रममा बनेको जलाशयमा सञ्चालित स्टिमरमार्फत शालिग्रामको दर्शन गर्न आउनेको सङ्ख्या उल्लेख्य रहेको उनले बताए । अन्य चाडपर्वमा भन्दा माघे सङ्क्रान्तिमा यहाँ बढी भीड लाग्ने गर्दछ । उक्त स्थानमा माघे सङ्क्रान्तिमा एक लाखभन्दा बढी आन्तरिक तथा बाह्य भक्तजन आउने गरेका छन् ।

रुरुक्षेत्रमा भक्तको भीड

यसैगरी, मकर सङ्क्रान्तिका अवसरमा गुल्मीको धार्मिक एवं ऐतिहासिकस्थल रुरुक्षेत्रको कालीगण्डकीमा स्नान गर्नका लागि आज बिहानदेखि श्रद्धालु भक्तजनको घुइँचो बढेको छ ।

गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल रुरु क्षेत्रमा अवस्थित कालीगण्डकी नदीमा स्नान गरी त्यस नजिकै रहेको भगवान् हृषिकेष मन्दिरमा पूजाआजा गर्नाले देव ऋण, पितृ ऋण र ऋषि ऋणबाट मुक्त हुने जनविश्वास रहिआएको छ । आजका दिन कालीगण्डकीमा स्नान गर्नाले आफूले अन्जानमा गरेका सम्पूर्ण पाप नष्ट भई मोक्ष प्राप्ति हुन्छ भन्ने जनविश्वास छ । नेपालकै चारधाममध्येको एक धामका रुपमा प्रसिद्ध धार्मिकस्थलका रुपमा चिनिएको रुरुक्षेत्रमा स्नान गर्नका लागि नेपालका विभिन्न स्थानका साथै भारतबाट समेत भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

त्यस अवसरमा स्थानीय रुरु फ्रेन्ड्स क्लब र फ्रेन्ड्स क्लबको मुख्य आयोजनामा आजदेखि छ दिनसम्म रमाइलो मेला सञ्चालन गरिएको छ । कालीगण्डकी नदीमा सञ्चालन हुन लागेको रिडी मेलामा हातबाट बुनेका कम्मल, काम्ला, राडी–पाखीलगायत बाँस तथा चोयाबाट निर्मित सामग्रीका साथै ओखरका घाँजी, गुँड, सुन्तलालगायत वस्तुको राम्रो व्यापार हुने गर्दछ । मकर सङ्क्रान्तिमा रिडी क्षेत्रमा हजारौँ श्रद्धालु भक्तजन आउने भएका कारण रिडी मेलामा व्यापार गर्नका लागि गुल्मी, पाल्पा, अर्घाखाँचीलगायत स्याङ्जा, प्यूठान, बाग्लुङ्, रुकुम, रोल्पा, पर्वतलगायत ठाउँबाट समेत व्यापारी रिडी आउने गर्दछन् ।

मेलामा रुरुक्षेत्र गाउँपालिका र कृषि ज्ञान केन्द्रको आयोजनामा कृषि मेला प्रदर्शनीको आयोजना गरिएको छ । प्रदर्शनीमा घरेलु उत्पादनका सामग्रीलगायत कृषि उपजका वस्तु राखिएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले राससलाई जानकारी दिएका छन् । मेला अवधिभर स्थानीय एवं राष्ट्रिय कलाकारको साङ्गीतिक प्रस्तुति राखिएको छ । मेलालाई व्यवस्थित रुपमा सञ्चालनका लागि स्थानीय एक दर्जनभन्दा बढी सङ्घसंस्थाको पनि सहयोग रहेको मेला आयोजक संस्था रुरु फ्रेन्ड्स क्लबका अध्यक्ष सोबित थापाले जानकारी दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *