मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

पौष २९ आइतबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । आइतबार तयार पारिएको मुख्य १० समाचारमा निर्माण व्यवसायीको बाँकी रकम भुक्तानी दिन प्रधानमन्त्री दाहालको निर्देशन देखि जापान भूकम्प अपडेट : २२० जनाको मृत्यु, २० बेपत्ता सम्मका समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

निर्माण व्यवसायीको बाँकी रकम भुक्तानी दिन प्रधानमन्त्री दाहालको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई सरकारकातर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन् । निर्माण व्यवसायीसँग अर्थमन्त्री डा प्रकाशरण महत, भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्य सचिव डा वैकुण्ठ अर्याल, अर्थसचिव डा कृष्णहरि पुष्कर, भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालसँग आज आफ्नै कार्यकक्षमा भएको छलफलमा प्रधानमन्त्रीले निर्माण व्यवसायीलाई तिर्नुपर्ने रकम तत्काल भुक्तानीका निम्ति प्रक्रिया थाल्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले गत आर्थिक वर्षको एक अर्ब ७१ करोड र चालु आवको अहिलेसम्मको दायित्व छ अर्ब ३० तत्काल निकासा दिन अर्थमन्त्रीलाई निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । निर्माण व्यवसायीलाई उक्त रकम भुक्तानी भएपछि विकासनिर्माणका कामले गति लिने र अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको छ ।

सत्ता गठबन्धनमा अब सात दल मात्रै, सिके राउत बाहिरिए

राष्ट्रिय सभा निर्वाचनमा अब सात दल मात्रै गठबन्धनमा हुने भएका छन् । सिके राउत नेतृत्वको जनमत पार्टी बाहिरिएको छ । माघ ११ गते हुन लागेको १९ सिटको निर्वाचनमा सत्तारुढ सात दलले आइतबार संयुक्त अपील जारी गरे पनि जनमत पार्टीका अध्यक्ष राउतले हस्ताक्षर गरेनन् । गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, नाउपा र जनमोर्चासमेतको साझा अपील निकालेका थिए । जनमत पार्टीले आसन्न निर्वाचनमा गठबन्धनसँग एक सिट माग गरेको थियो, तर गठबन्धनका अन्य दललाई नै भाग नपुगेपछि जनमतले सिट पाएन ।

गठबन्धनमा भागबन्डा नगरेपछि जनमतले लुम्बिनी प्रदेशको अन्य क्लस्टरमा बालगोविन्द चौधरी र मधेस प्रदेशको अन्य क्लस्टरमा रामशंकर महासेठलाई उम्मेदवार बनाइएको छ । जनमतले मधेश र लुम्बिनीबाहेक अन्य प्रदेशमा आफ्ना उम्मेदवार उठाएको छैन । आफूहरू राष्ट्रिय पार्टी भए पनि एक सिट पनि नदिइएको भन्दै जनमतका अध्यक्ष सिके राउत सत्ता गठबन्धनका अन्य दलसँग असन्तुष्ट छन्। जनमत पार्टी प्रचण्ड नेतृत्वको सरकारमा सुरुदेखि नै सामेल, तर असन्तुष्ट रहेको दल हो ।

जनमतबाट पहिलो चरणमा उपाध्यक्ष अब्दुल खान खानेपानीमन्त्री बनेका थिए । तर मन्त्रालयमा चित्त नबुझेपछि दुई महिनामै जानमतले आफ्ना मन्त्री फिर्ता बोलाएको थियो । हाल जनमतबाट सचिव अनितादेवी साह संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री छन् । राष्ट्रिय सभा निर्वाचनका लागि मात्र जनमत गठबन्धनबाट बाहिरिएको हो । अन्य मुद्दामा भने जनमत सत्तारुढ गठबन्धनसँगै छ ।

राष्ट्रिय सभा सदस्यका लागि हुन गइरहेको निर्वाचनमा जनमत पार्टीको तर्फबाट दिइएको उम्मेदवारी फिर्ता लिन माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको आग्रह सो पार्टीका अध्यक्ष डा. सीके राउतले अस्वीकार गरेका छन् । राष्ट्रिय सभा सदस्यका लागि जनमत पार्टीबाट अध्यक्ष राउतले सत्ता गठबन्धनको निर्णय विपरीत मधेस प्रदेश र लुम्बिनी प्रदेशमा उम्मेदवारी दिन लगाएका छन् ।

धरानका मेयर र उपमेयरबीच विवादको अवस्था सिर्जना , साङपाङलाई भिडियो पुष्टि गर्न उपमेयरको चुनौती

धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाबीच कार्यपालिका बैठकमै चर्काचर्की परेको छ । लामोसमयदेखि हर्क साङपाङलाई साथ र सर्पोट दिदैँ आएका उपमेयर बेघामाथि मेयर साङपाङले सामाजिक सँजालमा असहयोग गरेको भन्दै चरित्र हत्या गर्ने किसिमको भिडियो सार्वजनिक गरेपछि मेयर र उपमेयरबीचको विवादको अवस्था सिर्जना भएको हो । उपमेयर बेघाले मेयर साङपाङलाई सामाजिक संजालमा पोष्ट गरेको भिडियोका बारेमा पुष्टि गर्न चुनौती दिएपछि साङपाङ निरास बनेका छन् ।

कार्यकक्षबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो हटाएको विषयमा कुरा गर्दै नीति भन्दा बाहिर गएको कुरा राम्रो नहुने उनले उल्लेख गरेका छन् । साङपाङलाई सामाजिक संजालमा सार्वजनिक भएको भिडियोका बारेमा पुष्टि गर्न समेत उनले चुनौती दिएका छन् तर साङपाङलाई उक्त कुरा पुष्टि गर्न भने सहज छैन् ।

साम्पाङले केही समयअघि फेसबुकमा उपमेयर बेघाका बारेमा नकरात्मक सन्देश सार्वजनिक गरेका थिए । सोही विषयमा उपमेयरले आपत्ति जनाएका हुन । आफूलाई विषालुको संज्ञा दिएको उक्त सामाग्रीलाई लिएर बेघाले आक्रोश पोख्दै आपत्ति जनाएपछि बैठक हलमै तनाव भएको थियो । निरङकुश शैलीमा अभिव्यक्ती दिएको भन्दै उपमेयरले साङपाङलाई लोकतान्त्रिक हुन आग्रह गरेका छन् ।

राष्ट्रियसभा निर्वाचनः मंगलबारदेखि माघ १२ सम्म आचारसंहिता लागू गर्ने आयोगको निर्णय

निर्वाचन आयोगले माघ ११ गते सम्पन्न हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि मंगलबारदेखि आचारसंहिता लागू गर्ने निर्णय गरेको छ । आयोगको आज बसेको बैठकले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा २ अनुसार माघ ०२ देखि माघ १२ गते राष्ट्रियसभा सदस्य निर्वाचन सम्पन्न नभएसम्म आचार संहिताको दफा १ मा उल्लिखित सबै व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेगरी आचार संहिता जारी गरेको आयोगका प्रवक्ता सहसचिव शालीग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगको निर्णय अनुसार कुनै सार्वजनिक स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन, निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन नहुने, कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचन सम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने, राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अङ्कित कुनै सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन हुँदैन ।

त्यसैगरी ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन तथा बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन नहुने पनि आयोगले जनाएको छ ।

त्यस्तै आचारसंहिता अनुसार प्रचलित कानून बमोजिम निषेध गरिएको समय र स्थानमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने, सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) गर्ने जस्ता भ्रामक टिका टिप्पणी गर्न वा गराउन नहुने बताइएको छ ।

निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्न नहुने, कुनै पनि किसिमबाट मतदाताको गोप्यता भङ्ग गर्ने कार्य गर्न नहुने, मतदाता र मतदानमा खटिएका कुनैपनि कर्मचारीसँग वादविवाद गर्न वा उनिहरुलाई हतोत्साहित गर्ने कुनै पनि कार्य गर्न नहुने, कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने व्यवस्था रहेको छ ।

यसैगरी निर्वाचन प्रचार प्रसारमा संलग्न हुने नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले आयोगको अनुमति लिई निर्वाचन प्रचार प्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न नहुने तथा मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म कुनै पनि प्रकारका अन्तरक्रिया, सम्मेलन, कार्यशाला गोष्ठी वा निर्वाचनसँग सम्बन्धित छलफल वा सामूहिक मस्तिष्क मन्थन आदि गर्न नहुने समेत व्यवस्था रहेको छ ।

निर्वाचन आचारसंहिताले मतदान हुने दिनको अघिल्लो अठचालिस घण्टा अर्थात २०८० माघ ८ गते रातको १२ बजेदेखि निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने, मतदान हुने दिनको अठचालिस घण्टा अघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनु पर्ने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाईन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने व्यवस्था पनि आचारसंहितामा रहेको छ ।

दुर्गा पौडेललाई राष्ट्रिय सभामा मनोनीत गर्न चित्रबहादुर केसीको प्रस्ताव

गत वर्ष मंसिरमा सम्पन्न संघीय निर्वाचनमा प्यूठानबाट सात दलिय गठबन्धनका तर्फबाट उम्मेदवार बनेर पराजित भएकी दुर्गा पौडेललाई राष्ट्रिय सभामा मनोनीत गर्न राष्ट्रिय जनमोर्चाले प्रस्ताव गरेको छ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्षसमेत रहेकी पौडेललाई राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाको महिला सदस्यमा नियुक्त गर्न जनमोर्चाले प्रस्ताव गरेको हो । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो प्रस्ताव गरेका हुन् ।

‘हामीले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष र प्रवक्ता का। दुर्गा पौडेललाई राष्ट्रपतिद्वारा मनोनीत हुने राष्ट्रिय सभाको महिला सदस्यका लागि प्रस्तावित गरेका छौँ’, अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘त्यो पद मन्त्रिपरिषद्ले निर्णय गरेर राष्ट्रपतिद्वारा मनोनीत हुने पद भएकाले सरकार र राष्ट्रपतिद्वारा पनि उहाँलाई राष्ट्रिय सभामा नियुक्त गर्ने कुरामा जोड दिन्छौँ ।’

आगामी फागुन २० गतेबाट राष्ट्रपतिबाट मनोनीत १ सहित राष्ट्रिय सभाका २० सदस्यको पदावधि सकिँदै छ । त्यसमध्ये १९ जनाको माघ ११ मा निर्वाचन हुँदैछ । पौडेल संघीय निर्वाचनमा प्यूठानबाट नेकपा एमालेका युवा नेता सूर्य थापासँग भारी मतले पराजित भएकी थिईन् ।

आलमविरुद्धको मुद्धा स्थगित सूचीमा

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्धको मुद्दा स्थगितको सूचीमा परेको छ । फाँट नम्बर ५ को गोला कुनै पनि न्यायाधीशले नतानेपछि उक्त मुद्दा स्थगितको सूचीमा परेको हो । रौतहट जिल्ला अदालतमा पुष २९ गते आइतबार अन्तिम सुनुवाइका लागि पेसी तोकिएको भएपनि गोला नतानिएपछि स्थगितमा परेको हो । न्यायाधीश अभावमा उक्त मुद्दाको पेसी स्थगितमा परेको हो । जिल्ला अदालतमा ७÷ ७ न्यायाधीशको दरबन्दी रहेपनि हाल केवल २ न्यायाधीश मात्रै उपस्थित भएका थिए ।

रौतहटको राजपुरमा २०६४ चैत २७ गते भएको बम बिस्फोटका घटनामा संलग्न भन्दै प्रहरीले मोहम्मद अफताब आलम, शेख सेराज भन्ने शेख सराज, शेख फजलेहक, शेख भदई, मोहम्मद महताब आलम, सगिर आलम, बद्री सहनी, गौरीशंकर साह, मुक्ति साह, मोहद मोबिन आलम र शेख जुमइन भन्ने शेख मलकारविरुद्ध मुद्दा चलाएको थियो । आलमविरुद्ध विस २०७६ कात्तिक १८ गते मुद्धा दर्ता भएको थियो ।

राष्ट्रिय सभा उम्मेदवारले साढे तीन लाखसम्म खर्च गर्न पाउने

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तोकेको छ । आयोगले आइतबार विज्ञप्ति जारी गरी उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खातावाट खर्च गर्न र यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको नाम नामेसीसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउन निर्देश गरेको छ ।

निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ बमोजिम निर्वाचन परिणाम घोषणा भएको तीस दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने आयोगको भनाइ छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञपितमा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ (१) सँग सम्बन्धित अनुसूची–१ ले तीन लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न सक्ने गरी हद तोकिएको उल्लेख छ । उक्त खर्च मतदाता नामावली खरिद, सवारी साधन, सवारी सधानको इन्धन, प्रचार प्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, प्रचार प्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न सकिने छ ।

रामबहादुर बम्जन र अनुयायीले प्रयोग गरेको बाराको वन क्षेत्रका संरचना हटाउने तयारीमा निकुञ्ज

तपस्वी’ तथा लिटलबुद्धको नामबाट चिनिएका रामबहादुर बम्जन विभिन्न आरोपका कारण प्रहरीको नियन्त्रणमा छन् । अहिले उनको आश्रममा गएका उनका अनुयायीहरु चार जनालाई वेतपता पारेको र यौन दुव्र्यवहार गरेको आरोपमा अहिले कारागारमा छन बम्जन । अहिले पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रभित्र बनाएका संरचना हटाउन निकुञ्जले पहल सुरु गरेको छ ।
तत्कालीन जिल्ला वन कार्यालयको क्षेत्रधिकारभित्र रहेको हलखोरिया र आसपासको क्षेत्रमा २०६२ जेठदेखि रामबहादुर बम्जन र उनका अनुयायीले भौतिक संरचना बनाएर भोगचलन गर्दै आएका थिए । बम्जनले ध्यान गरेको स्थलमा अहिले पनि केही अनुयायीले दैनिक सरसफाइ र पूजाआजा गर्दै आएका छन् । तर वनको जग्गा अतिक्रमण गरेर बस्नु वन ऐन अनुसार गैरकानुनी हुने भएकाले अब उक्त अतिक्रमण गरिएको क्षेत्र हटाउने तयारी पर्सा राष्ट्रिय निकुञ्जको टोलीले गरिरहेको छ ।

बाराको हलखोरियामा १४ वर्षको उमेर ध्यान गर्न गएका बम्जन बस्ने आश्रमको भवनको झ्याल २०७४ सालपछि निकुञ्ज कर्मचारी र सेनाको टोलीले भवनको झ्याल भत्काएको थियो तर भत्किएकोे संरचनामा पनि बम्जनका केही अनुयायी अझै बस्ने गरेका छन् ।

२०७२ सालमा हलखोरियालाई निकुञ्जको विस्तारित क्षेत्रभित्र समेटेपछि कोर क्षेत्रभित्र बनेका भवनहरुको झ्याल सेना र निकुञ्जले भत्काएको थियो । पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बम्जनको विषयमा केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन गरिरहेकाले मन्त्रालय वा विभागबाट कुनै निर्देशन आउनासाथ बाँकी भएका संरचना पनि हटाउने तयारी गरेको छ । खतिवडाले राष्ट्रिय निकुञ्जभित्र बनेका संरचना हटाउन स्वत पाउने तर अन्तराष्ट्रिय चासोको विषय भएकाले अन्तिम नतिजाको पर्खाइमा रहेको बताए । राष्ट्रिय निकुञ्ज ऐनले निकुञ्ज क्षेत्रभित्र कुनै पनि धार्मिक संरचना बनाउन निशेष गरेका छन् । प्रमुख संरक्षण अधिकृत खतिवडाले पुराना संरचना बस्न योग्य नभएको उनको भनाइ छ ।

बम्जनविरुद्ध व्यक्ति बेपत्ता, यौनजन्य दुर्व्यवहार लगायतमा आरोप लागेपछि बाराको हलखोरियाबाट सिन्धुली गएका थिए । जीतपुरसिमरा उपमहानगर– १८ का हस्तबहादुर आलेको छोरा सुरेश बहादुर आले बम्जनको आश्रम स्थलबाटै बेपत्ता भएको भन्दै प्रहरीमा उजुरी परेको छ । २०६१ सालमा बाराको निजगढ नगरपालिका वडा नं १२ रतनपुरीमा जन्मिएका
थिए बम्जन । बम्जन ध्यान गर्नका लागि सुरुको १० महिना निजगढ रतनपुरीकै कल्की सामुदायिक वनमा ध्यानमा बसेका थिए। त्यसपछि हलखोरिया वन क्षेत्रमा ६ वर्षसम्मा ध्यानमा बसेका थिए बम्जन । २०६२ सालदेखि बम्जनसँगै रतनपुरी आश्रमा बसेका बेदबहादुर थिङले प्रचलित कानुनले कसुरदार ठहर गरे बम्जनले कारबाही भोग्नुपर्ने बताए ।

जापान भूकम्प अपडेट ः आइतबारसम्म २२० जनाको मृत्यु, २० बेपत्ता

जापानको मध्य प्रान्त इशिकावामा आइतबार ७.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको सङ्ख्या २२० पुगेको छ । स्थानीय समयअनुसार बिहान ९ बजेसम्म सबैभन्दा बढी प्रभावित प्रान्तमा वेपत्ताको सङ्ख्या २० रहेको छ भने भूकम्पका कारण कम्तीमा एक हजार १५ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार उत्तरी र पूर्वी जापानमा आइतबार साँझदेखि मङ्गलबारसम्म तीव्र हावाहुरी, हिमपात र उच्च छालआउने सम्भावना रहेको छ ।

भूकम्प प्रभावित होकुरिकु क्षेत्र र निगाता प्रान्तमा आइतबार ७२ किलोमिटर प्रतिघण्टाको रफ्तारमा हावा चल्ने अनुमान गरिएको छ । सोमबारदेखि मङ्गलबारसम्म होकुरिकु क्षेत्र र निगाता प्रिफेक्चरमा चिसो हावा चल्ने अनुमान गरिएको छ । चीसोले गर्दा जापानी समुद्रको तटीय क्षेत्रमा भारी हिमपात हुनेछ ।

यसैबीच जनवरी १ मा गएको शक्तिशाली भूकम्पपछि देशको सात तहको प्रणालीमा एक वा सोभन्दा बढी को तीव्रताका भूकम्पका झट्का शनिबार अपराह्न ४ बजेसम्ममा एक हजार ३६८ पटक मापन गरिएको जेएमएले जनाएको छ । मौसम विज्ञान अनुुन्धान निकायका अनुसार मानिसहरुले अझै एक महिनासम्म ५.० म्याग्च्यिुड वा सोभन्दा माथिको शक्तिशाली भूकम्पको सामना गर्न सक्नेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *