पौष २७ शुक्रबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । शुक्रबार तयार पारिएको मुख्य १० समाचारमा तीन दलका शिर्ष नेताहरुबीच शितल निवासमा छलफल ,देशमा देखिएका समस्या सामाधान गर्न राष्ट्रपतिको आग्रह देखि नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत सम्मका समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
तीन दलका शिर्ष नेताहरुबीच शितल निवासमा छलफल ,देशमा देखिएका समस्या सामाधान गर्न राष्ट्रपतिको आग्रह
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरु शितलनिवास पुगेका छन् । देशमा उठेका समसामयिक विषयमा छलफलका लागि राष्ट्रपति पौडेलले प्रधानमन्त्रीसहित दलका शिष नेताहरुलाई सितल निवास बोलाएका हु्न् ।
संघीयता कार्यान्वयन, सुशासन र विश्वविद्यालयका सन्दर्भमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई शुक्रबार शीतलनिवासमा बोलाएर छलफल गरेका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार देशमा उठेका जल्दाबल्दा विषयमा देखिएको समस्या समाधान गरेर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउने काममा मिलेर अघि बढ्न राष्ट्रपति पौडेलले दलका शिर्ष नेताहरुलाई ध्यानाकर्षण गराएका छन् । राष्ट्रपति पौडेलले दलहरूले आफूहरुले मिलेर ल्याएको संघीयता कार्यान्वयन गर्न प्रदेशलाई अधिकारी दिने गरी तत्काल कानुनहरु पनि मिलेर बनाउन, निमुखाले न्याय पाउने गरी सुशासन कायम गर्न नेताहरुको ध्यानाकर्षण गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेले जानकारी दिए । सो छलफलका क्रममा पौडेलले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्त्ती गर्ने विषयमा राजनीति दाउपेच नगरी क्षमतावान व्यक्तीको नियुक्ती गरेर विश्वविद्यालयमा देखिएको समस्या सामाधान गर्न समेत आग्रह गरेका छन् ।
कोशीमा सभामुखबारे केन्द्रीय बैठकले निर्णय लिन्छ ः अध्यक्ष लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशको सभामुख लिएको विषयमा केन्द्रीय कार्यसमितिको बैठक बसेपछि मात्र उचित निर्णयमा पुग्ने बताएका छन् । शुक्रबार पृथ्वी जयन्तीको अवसरमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कोशी प्रदेशको सभामुख लिने विषय पार्टीभित्र संवेदनशील ढंगले उठिरहेको भन्दै केन्द्रीय कार्यसमितिको बैठक बसेपछि मात्र उचित निर्णयमा पुग्ने बताएका हुन् ।
उनले भने, ‘सभामुखमा हामीले यो पहिलो पटक लिएका होइनौं । बागमतीमा पनि सहभागिता छ । यो नौलो कुरा होइन् । संसदमा हामी छौं भने त्यसको सर्वोच्च पद लिन कसैसँग शर्त नगरी लिन्छौं । यो विषय हाम्रो पार्टीमा संवेदनशील रुपमा उठिरहेको छ । यी सबै पक्षमा कुनै पक्ष विपक्षमा कुरा गर्नुभन्दा पार्टीको संवेदनशील ढङ्गले उठेको विषय भएकाले केन्द्रीय कार्यसमितिको बैठक बसेपछि उचित निर्णयमा पुग्छौं ।’
माघ तेस्रो साताबाट हिउँदे अधिवेशन बोलाउने सरकारको तयारी
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले हिउँदे अधिवेशन माघको तेस्रो साता बोलाउने तयारी गरेको खुलासा गरेकी छन्। शुक्रवार ललितपुरमा राष्ट्रिय चलचित्र नीति, २०७१ र चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ लाई प्रतिस्थापन गर्नेगरी तर्जुमा हुँदै गरेको नयाँ नीति र विधेयकको मस्यौदाबारे भएको छलफलमा मन्त्री शर्माले सरकारले आगामी हिउँदे अधिवेशन माघको तेस्रो साताबाट बोलाउने तयारी थालेको बताएकी हुन्।
‘फिल्मसम्बन्धी विधेयक अहिले हामीले अर्थ र कानून मन्त्रालयमा सैद्धान्तिक स्वीकृतिका लागि पत्र पठाइसकेका छौँ। त्यो स्वीकृति भएर आउने क्रम जारी छ। हामी आउने अधिवेशन माघको १८ वा २० तिरबाट अधिवेशन शुरु हुन्छ‚’ उनले भनिन्, ‘संसद अधिवेशनमा पेश गर्ने गरेर हामीले यो फिल्मसम्बन्धी ऐन बनाएर पठाउने तयारीमा छौँ।’
उनले आगामी संसद अधिवेशनमा पेश गर्नेगरी सरकारले फिल्मसम्बन्धी ऐनको पनि तयारी गरिरहेको बताइन्। उनले नेपाली फिल्म राम्रो बनाइ विदेशी फिल्मसँग प्रतिष्पर्धा गर्नुपर्ने अवस्था भएकाले फिल्मको गुणस्तरीयतामा ध्यान दिन आग्रह गरिन्। उनले नेपाली फिल्म विदेशी फिल्मसँग प्रतिष्पर्धा गर्न योग्य बनाउनुपर्ने बताइन्।
‘नेपाली फिल्मलाई राम्रो बनाइ विदेशी फिल्मसँग प्रतिष्पर्धा गर्नुपर्ने अवस्था छ। विदेशी फिल्मसँग प्रतिष्पर्धा गर्न योग्य हाम्रा फिल्म बनाउनुपर्नेछ‚’ उनले भनिन्‚ ‘गुणस्तरीयतामा हामीले विशेष ध्यान दिनुपर्छ। राज्यले पनि स्वदेशी फिल्मको प्रमोसनका लागि के गर्दा फाइदा हुन्छ, त्यसमा बढी ध्यान दिनुपर्छ।’
नेपाल–भारतबीचको सीमा समस्या समाधानको प्रक्रियामा छ ः परराष्ट्रमन्त्री एनपी साउद
परराष्ट्रमन्त्री एनपी साउदले नेपाल–भारतबीच रहेको सीमा विवादबारे बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको बताएका छन्। परराष्टमन्त्ती एनपी साउदले शुक्रबार बिहान नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले जिल्ला सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् । कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्ताबाहेकका सीमामा धेरै सहमति भइसकेको उल्लेख गर्दै सीमा विवाद समाधानका लागि दुबै देशको जोइन्ट बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको बताए ।
उनले कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्ताबाहेकमा धेरै सहमति भइसकेको बताए । मन्त्री साउदले केही समयअघि भएको सिमा नामाङकन र रेखाङकनमा केही समस्या देखिएको अहिले नेपाल र भारतबीच भएको सिमा विवादको अन्त्यका लागि जोइन्ट बाउन्ड्री वर्किङ ग्रुपलेले काम गरिरहेको उनको भनाइ छ ।
नेपाल सरकार आफ्नो सीमा र देशको स्वामित्व रहने जमिनकाबारे पूर्णरूपमा सजग रहेको बताउँदै उनले भने,‘सीमा समस्या वार्ता, छलफल र कूटनीतिक पहलबाट टुंग्याउने प्रयास भइरहेको छ । उक्त विषयमा भारतका विदेशमन्त्री एस जयशंकरसँग समेत छलफल गरेको बताए ।
भारतलाई १० हजार मेघावाट विद्युत् बिक्री गर्ने, पञ्चेश्वर सुरू गर्ने, जाजरकोट भूकम्पपीडितलाई १० अर्ब बराबरको भारतीय अनुदान ल्याउनेलगायतका विषयमा छलफल भएको मन्त्ती साउदले बताए । पञ्चेश्वर परियोजना बन्नु सुदूरपश्चिमबासीका लागि मात्रै नभई सिंगो नेपालकै लागि फाइदाजनक भएको उनको तर्क थियो। पञ्चेश्वर परियोजनाले यहाँको रोजगारीमा सहयोग पु¥याउने मन्त्री साउदले विश्वास व्यक्त गरे।
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत भएका छन् । रेशमपत्नी रञ्जिता श्रेष्ठ यसअघि पार्टी अध्यक्ष थिइन् । निर्धारित समयमा चौधरीको मात्रै उम्मेदवारी परेको थियो । चौधरीको प्रस्तावक रोशन थापा र समर्थक सानु शाक्य थिए । पार्टीको संरक्षक रहेका चौधरी २०७४ मा कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । चौधरी सर्वसम्मत भए पनि घोषणा गर्न भने बाँकी नै छ ।
०७२ मा टीकापुर घटनामा दोषी ठहर भएपछि उनले पार्टीको संरक्षकको रहेर २०७८ को पुस १९ मा निर्वाचन आयोगमा पत्नी रञ्जीता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी दर्ता गरेका थिए । चौधरीले २०७४ को चुनावमा प्रतिनिधि सभामा चुनाव जितेका थिए । पछि उनी राष्ट्रिय जनता पार्टीमा आवद्ध थिए । राष्ट्रिय जनता पार्टी फुटेर लोकतान्त्रिक समाजवादी पार्टी गठन भएपछि चौधरी सोही पार्टीमा थिए । तर, थरुहट आन्दोलन र बन्दी रिहाबारे सरकार, मधेसी दलले चासो नदेखाएपछि उनले आफैले दल खोलेका थिए ।
गत जेठमा मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई आममाफी दिएका थिए ।नागरिक उन्मुक्ति पार्टीको महासचिवमा आधा दर्जन बढी आकांक्षी देखिएका छन् । अहिलेसम्म ठाकुरसिंह थारु, धर्म थारु र गंगा थारुले महासचिवका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
पृथ्वी जयन्तीमा सरकारले सार्वजनिक बिदा दिने, प्रधानमन्त्री प्रचण्डले योगदान स्मरण नगर्ने
पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर मनाइँदैछ। पृथ्वी जयन्तीका अवसरमा राजनीतिक दलहरूले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । यस दिनको अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । पौडेलले राष्ट्रनिर्माता शाहको सिंहदरबार मूलगेट अगाडि रहेको शालिकमा माल्यार्पणसहति पुष्पगुच्छा अर्पण गरेका हुन् । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै विभिन्न दलका शीर्ष नेताले उनीप्रति श्रद्धासुमन अर्पण गरेका छन् । वर्तमान राष्ट्रपति, पूर्वराष्ट्रपतिहरू, पूर्वप्रधानमन्त्रीहरू, कांग्रेस, एमालेलगायतका दलका अध्यक्षले पृथ्वीनारायण शाहको योगदानको स्मरण गरेका छन् । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एउटा विज्ञप्तिसमेत निकालेनन् ।
माओवादी अध्यक्षसमेत रहेका प्रचण्ड देशको कार्यकारी प्रमुखको भूमिकामा रहेका बेला देशकै विभूतिलाई सम्झन आवश्यकसमेत ठानेनन् ।प्रचण्ड मात्र होइन, माओवादीका कुनै पनि नेताले पृथ्वीनारायण शाहलाईं सम्झेनन् । कतिसम्म भने उनीहरू पृृथ्वीनारायणले नेपाल एकीकरण गरेको नभई राज्य विस्तार गरेको भन्न रुचाउँछन् । पृथ्वीनारायणले बाइसे चौबीसे राज्यलाई एक गरेर नेपाल बनाएका थिए । यदि उनले त्यसो नगरेको भए नेपालको अस्तित्वसमेत रहँदैनथ्यो ।
अन्य विभिन्न चाडबाड, पर्व र दिवसमा विज्ञप्ति र शुभकामना दिइहाल्ने प्रचण्ड र उनको सचिवालय अहिले मौन छ । बरु प्रचण्डको निजी सचिवालयका सल्लाहकार मनोहरि तिमल्सिनाको फेसबुक ह्याक भएको र पैसा उठाउन लागेको भन्दै सामाजिक सञ्जालमा भाइरल बनाइएको छ ।
गत वर्ष प्रचण्डले नै पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेका थिए । त्यसबेला राप्रपा सरकारमा थियो । तर अहिले राप्रपा प्रतिपक्षमा छ । राप्रपाले राजाको एजेन्डा बोकेको र पृथ्वीनारायण शाहको जन्म जयन्तीमा उसले भव्य कार्यक्रम राखेको भएर होला प्रचण्डले विज्ञप्तिसमेत नदिएको । आज राप्रपाले भव्य चियापानको आयोजना गरेको छ । जसमा प्रचण्डलाई पनि बोलाइएको छ ।
मेयर जोडिएको किर्ते नागरिकता प्रकरणः छानबिन गर्न समिति गठन
नागरिकता किर्ते प्रकरणमा जिल्ला प्रशासन कार्यालय पर्साले छानबिन समिति गठन गरेको छ । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह माथि छानबिन गर्न समिति गठन गरिएको हो । नागरिकता किर्ते प्रकरणमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
नागरिकता किर्ते प्रकरणको बारेमा ५ दिन भित्रमा अनुसन्धान प्रतिवेदन पेस गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी भुसालले बताए । रूबीना श्रेष्ठको नागरिकता सम्बन्धी हराएको प्रमाणको फाइल समितिले फेलापारि जाँचबुझ अगाडि बढाइसकेको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार समितिले नागरिकता जारी गर्ने तत्कालीन प्रशासकीय अधिकृत षड्कुमार पोखरेललाई बयानका लागी बोलाइएको एक कर्मचारीले बताए । तत्कालीन प्रशासकीय अधिकृत पोखरेलले राजेशमान सिंहलाई बाबुका रूपमा सनाखत गराएर नागरिकता वितरण गरे अनुसूची फारम भने अहिलेसम्म फेला परेको छैन ।
’आमा बाबुको विवरण खुलाइएको फारम अझै भेटिएको छैन, जन्म दर्ता समेत रेकर्डबाट हटाइएको देखियो,’ भुसालले भने , ‘आन्तरिक अनुसन्धान सकिए पछि मेयर सिंहलाई मात्र बयानका लागि बोलाइने छ ।’ मेयर सिंहले भने नागरिकता प्रकरणमा जवाफ दिन वा सञ्चार माध्यमहरुसँग खुलेर कुरा गर्न आनाकानी गर्दै आएका छन् ।
नागरिकताको सनाखत गर्ने व्यक्तिको नाम राजेशमान सिंह सहित उनको नागरिकता नम्बर ३४१६०३८१७ उल्लेख छ । बुवाको प्रमाणको रूपमा सिंहकै नागरिकताको प्रतिलिपि पेस गरिएको छ । नागरिकतामा बाबुको नाम लेखिए पनि आमाको नाम भने उल्लेख गरिएको छैन ।
नागरिकता प्रकरणमा विभिन्न दलहरूको विरोध पछि गृह प्रशासन माथि दबाब बढ्दै गएको छ । बुधवार नगर प्रमुखले किर्ते गरेको प्रकरणको छानबिनको माग गर्दै वीरगन्जमा जुलुस प्रदर्शन भएको थियो । जुलुस पछि वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जना स्थानीय नेताहरूले संयुक्त रूपमा जाहेरी दिएका थिए ।
नक्कली बाबु बनेर नागरिकता दिएको प्रकरणमा उनी विरुद्ध वीरगन्जका सचेत नागरिकको तर्फबाट विभिन्न पार्टीका प्रतिनिधि र स्थानीयहरूले जिल्ला प्रशासन कार्यालय पर्सामा जाहेरी दिएका हुन् । बुधवार वीरगन्जका सचेत नागरिक अगुवाहरूको समूहले मेयरविरुद्ध वीरगन्ज महानगरका विभिन्न स्थानहरू प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराए पछि दबाब बढ्दै गएको छ ।
जाहेरीमा नक्कली बाबु बनेर नागरिकता दिलाएका वीरगन्ज महानगरपालिकाका वडा नम्बर ३ का ५३ वर्षीय मेयर राजेशमान सिंह र नागरिकता जारी गराएकी वर्ष २१ की युवतीलाई विपक्षी बनाइएको छ ।
जाहेरी दर्ता गराउनेहरूमा जसपाका स्थानीय नेता मनोज राउत कुर्मी, जनमत पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज मुकेश द्विवेदी, जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, नेपाली काँग्रेसका नगर सदस्य सुलतान अन्सारी, नेकपा एमालेका मधेस प्रदेश सदस्य ल्याकत अली, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता राजेश पटेल र राप्रपाका नेता जलेश्वर सर्राफ लगायत रहेका छन् ।
अमेरिका र बेलायतले थाले हुथी विद्रोहीविरुद्ध भीषण आक्रमण
अमेरिका र बेलायतले यमनको इरान समर्थित हुथी विद्रोही समूहविरुद्ध भीषण आक्रमण शुरु गरेका छन् ।
गाजामाथि इजरायली आक्रमणयता हुथी समूहले लाल सागरमा पश्चिमा देशका मालवाहक पानी जहाजमाथि आक्रमण गर्दै आएको थियो । यसविरुद्ध अमेरिका र बेलायती सेनाले संयुक्त रुपमा आक्रमण शुरु गरेका हुन् ।
दुवै देशका सेनाले मिसाइल तथा लडाकु जेटबाट आक्रमण गरेको पुष्टि गरेका छन् । हुथी समूहविरुद्ध अमेरिका र बेलायतले गरेको यो पहिलो जवाफी कारबाही हो। गत महिनादेखि ह्वाइट हाउसले हुथी समूहलाई लाल सागरमा आक्रमण रोक्न र नरोके कडा कारबाही गर्ने चेतावनी दिँदै आएको थियो ।
अमेरिकाको चेतावनीपछि केही हप्ता आक्रमण रोकेको हुथी समूहले गत मंगलबार ड्रोन तथा मिसाइल प्रयोग गरी मालबाहक जहाजमा आक्रमण गरेको थियो । हिजो हुथी समूहले अदनको खाडीमा एक मालबहाक जहाजमाथि ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । गत नोभेम्बर यता इरान समर्थित हुथी समूहले लाल सागरमा ड्रोन तथा मिसाइलबाट २७ वटा आक्रमण गरेको छ । हुथी समूहका एक कमाण्डर अब्दुल कादर अल मोर्तदाले अमेरिका र बेलायतले यमनको राजधानी सना, सादा, धमार लगायतका क्षेत्रमा दर्जनौँ पटक हवाइ आक्रमण गरेको सामाजिक सञ्जाल एक्स मार्फत् पुष्टि गरेका छन् ।
वीर अस्पतालमा तालाबन्दी गरे आफैँ आएर खोल्छु ः मन्त्री बस्नेत
काठमाडौँ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा यदि कसैले तालाबन्दी गर्छ भने आफैँ आएर ताला काट्ने बताएका छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालद्वारा आज आयोजित मेमोग्राफी सेवाको उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले वीर अस्पतालमा एक समूहले दिनरात काम गर्ने गरेको र अर्को समूह काम नगर्ने गरेको आफूले थाहा पाएको बताए । उनले भने , “मलाई बद्नाम गर्ने उद्देश्यले आफ्नो स्वार्थ पूरा गर्न नभएको प्रचार गर्दै एक समूह हिँडेको छ । ऐन संशोधन गरेर भए पनि उक्त समूहलाई ठेगान लगाउनुपर्ने अवस्था आएको छ ।”
महिलाको स्तन क्यान्सर भए÷नभएको परीक्षण गर्ने मेमोग्राफी सेवाको शुभारम्भ गर्दै मन्त्री बस्नेतले बिहान ८ बजेदेखि ओपिडी सेवाको सुरुआत र भिआइपी÷भिभिआइपी उपचारका लागि छुट्टै वार्डको व्यवस्थाले सकारात्मक सन्देश दिएको बताए । उनले क्यान्सरको उपचार व्यवस्थासँगै मुटुरोगसम्बन्धी उपचारको पनि विशेष व्यवस्था गर्नुपर्ने आवश्यकता रहेकामा जोड दिए ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा डा भूपेन्द्रकुमार बस्नेतले ‘थ्रिडी टेक्नोलोजी’सहित नतिजा हेर्न सकिने उत्कृष्ट मेसिन जडान गरेको जानकारी दिए । उनले सघन उपचार कक्षको क्षमता बढाउनुका साथै अब आउने नयाँ शैक्षिकसत्रदेखि एमबिबिएस पढाई हुने व्यवस्था गरिएको बताए ।
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत भएका छन् । रेशमपत्नी रञ्जिता श्रेष्ठ यसअघि पार्टी अध्यक्ष थिइन् । निर्धारित समयमा चौधरीको मात्रै उम्मेदवारी परेको थियो । चौधरीको प्रस्तावक रोशन थापा र समर्थक सानु शाक्य थिए । पार्टीको संरक्षक रहेका चौधरी २०७४ मा कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । चौधरी सर्वसम्मत भए पनि घोषणा गर्न भने बाँकी नै छ ।
०७२ मा टीकापुर घटनामा दोषी ठहर भएपछि उनले पार्टीको संरक्षकको रहेर २०७८ को पुस १९ मा निर्वाचन आयोगमा पत्नी रञ्जीता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी दर्ता गरेका थिए । चौधरीले २०७४ को चुनावमा प्रतिनिधि सभामा चुनाव जितेका थिए । पछि उनी राष्ट्रिय जनता पार्टीमा आवद्ध थिए । राष्ट्रिय जनता पार्टी फुटेर लोकतान्त्रिक समाजवादी पार्टी गठन भएपछि चौधरी सोही पार्टीमा थिए । तर, थरुहट आन्दोलन र बन्दी रिहाबारे सरकार, मधेसी दलले चासो नदेखाएपछि उनले आफैले दल खोलेका थिए ।
गत जेठमा मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई आममाफी दिएका थिए ।नागरिक उन्मुक्ति पार्टीको महासचिवमा आधा दर्जन बढी आकांक्षी देखिएका छन् । अहिलेसम्म ठाकुरसिंह थारु, धर्म थारु र गंगा थारुले महासचिवका लागि उम्मेदवारी दर्ता गरेका छन् ।




