पौष २४ मंगलबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । मंगलबार तयार पारिएको मुख्य १० समाचारमा राप्रपा : कोशीबाट सभामुखको उमेदवारी फिर्ता गर्न केन्द्रीय निर्देशन समितिको आग्रह देखि १७ डीआईजीहरूको सरुवासम्मका समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
राप्रपा : कोशीबाट सभामुखको उमेदवारी फिर्ता गर्न केन्द्रीय निर्देशन समितिको आग्रह
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोशी प्रदेशबाट सभामुख फिर्ता गर्न केन्द्रीय समिति र कार्यसम्पादन समितिलाई निर्देशन दिएको छ । मंगलबार बसेको केन्द्रीय निर्देशन समितिको बैठकले कोशी प्रदेशका सभामुखको उम्मेदवारी फिर्ता गर्न आवश्यक कदम चाल्न केन्द्रीय कार्य समिति र कार्यसम्पादन समितिलाई निर्देशन दिएको केन्द्रिय निर्देशन समितिका अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले एक विज्ञप्ती जारी गर्दै जानकारी दिए ।
तर कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले शपथ लिइसकेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विष्टले निर्वाचित भएपश्चात सपथ ग्रहण समेत गरेका छन् । नवनिर्वाचित सभामुख विष्टलाई आजै प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनियताको शपथ गराएका थिए । सभामुखको शपथग्रहण समारोहमा मुख्यमन्त्री केदार कार्की, उपसभामुख सृजना दनुवारलगायत उपस्थित थिए ।
श्रमिकलाई आर्थिक बोझ थपिने निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप आर्थिक भार पर्ने निर्णय तत्काल फिर्ता लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री कार्यालयमा आज श्रममन्त्री, सचिव र विभागीय कर्मचारीसँगको छलफलमा उनले मन्त्रालयले वृद्धि गरेको भनिएको शुल्क श्रमिकबाट नलिई यथावत् रूपमा हुने गरी कार्यान्वयनको व्यवस्था मिलाउन निर्देशन दिए ।
प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्रमा वैदेशिक रोजगारीमा रहेका नेपालीको महत्वपूर्ण योगदान रहेको स्मरण गराउँदै श्रमिकलाई अतिरिक्त आर्थिक भार थप्ने मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिए । ‘हाल वृद्धि भएको भनिएको शुल्क श्रमिकबाट नलिई यथावत् रूपमा हुने गरी कार्यान्वयनको व्यवस्था मिलाउनुहोला,’ उनले भने, ‘आन्तरिक वा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप सेवा शुल्कलगायत थप आर्थिक बोझ पर्ने कुनै प्रकारको काम नगर्ने व्यवस्था गर्नुहोला ।’
वैदेशिक रोजगारीमा जाने युवा अनुचित लेनदेन र दलालबाट ठगिएका उल्लेख गर्दै प्रधानमन्त्रीले उनीहरूलाई सरकारले नै सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउनुपर्ने बताए । सामाजिक सुरक्षा कोषमा सङ्कलन भएको रकमलाई अधिकतम् लाभ हुने परियोजनामा लगानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिँदै उनले श्रमिकलाई उद्यमशील बनाउने र वैदेशिक रोजगारीबाट फर्किएकाको ज्ञान सीप र पूँजीको पूर्ण उपयोग गर्ने वातावरण सृजना गर्न आग्रह गरे ।
प्रधानमन्त्री दाहालले सामाजिक सुरक्षा कोषमा औपचारिक, अनौपचारिक र वैदेशिक रोजगारी तथा स्वरोजगारमा रहेका श्रमिकको आबद्धता र विस्तारलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न निर्देशन दिए । उनले वैदेशिक रोजगारीका स–साना कामका लागि पनि काठमाडौँ धाउनुपर्ने परिस्थितिको अन्त्य गरी सम्भव भएसम्म सबै सेवा स्थानीय तहबाटै प्रवाह गर्ने व्यवस्था मिलाउनुपर्ने बताए ।
कोशीका सभामुखले लिए शपथ
कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले शपथ लिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विष्ट मंगलबार सभामुख निर्वाचित भएका हुन् । नवनिर्वाचित सभामुख विष्टलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनियताको शपथ गराएका हुन् । सभामुखको शपथग्रहण समारोहमा मुख्यमन्त्री केदार कार्की, उपसभामुख सृजना दनुवारलगायत उपस्थित थिए ।
द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारको प्रतिवद्धताः टिआरसी विधेयकमा कुनै बाधा गर्दैनौँ
सशस्त्र द्वन्द्वको क्रममा मृत्यु भएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी संसदमा विचाराधीन टिआरसी विधेयकमा आफूहरूले कुनै बाधा नगर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
टिआरसी विधेयकमा द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारका सम्भव मागहरू सम्बोधन गर्न आग्रह गर्दै उनीहरूले सरकारले सशस्त्र द्वन्द्वका क्रममा राज्य पक्ष र विद्रोहीबाट मारिएका दुवै पक्षलाई समान व्यवहार गरेका कारण आफूहरू विधेयकमा बाधक नबन्ने स्पष्ट गरेका हुन् । भेटमा द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारका वरिष्ठ उपाध्यक्ष रिता कार्कीले युद्धको पीडा र मर्म प्रधानमन्त्री प्रचण्डलाई जति अरू नेताहरूलाई बोध नहुने भन्दै प्रधानमन्त्रीकै कार्यकालमा द्वन्द्वपीडितका सबै मागहरू सम्बोधन हुने विश्वाससमेत व्यक्त गरिन् ।
भेटमा प्रधानमन्त्री प्रचण्डले सरकारले सरकार र विद्रोही दुवैतर्फबाट मारिएका परिवारलाई समान व्यवहार गरेको र भविष्यमा समेत कुनै प्रकारको भेदभाव नहुने स्पष्ट पार्दै टिआरसी विधेयकमा सम्भव विषयहरू राखेर परिमार्जन गर्ने बताए ।
केएमसी चिकित्सक निलम्बनः समस्या समाधान गर्न शिक्षा मन्त्रीको निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोकप्रसाद राईले काठमाडौँ मेडिकल कलेजबाट निलम्बित आवासीय चिकित्सक डा विशद दाहालको कारबाही यथाशीघ्र फुकुवा गर्न काठमाडौँ विश्वविद्यालयलाई निर्देशन दिएका छन् ।
काठमाडौँ विश्वविद्यालयको सहकुलपतिका हैसियतले मन्त्री राईले त्यस्तो निर्देशन दिएका हुन् । मन्त्री राईको उक्त निर्देशनबारे मन्त्रालयका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई आज जानकारी गराउँदै निजमाथिको निलम्बन फुकुवा गरी विश्वविद्यालयले तय गर्ने मापदण्ड जारी भएपछि मात्रै चिकित्सकहरुलाई स्वास्थ्य शिविरमा परिचालन गराउन निर्देशन दिइएको बताए । उक्त कलेजले १२ दिनअघि डा दाहाललाई खटाइएको शिविरमा नगएका कारण निलम्बन गरेको थियो भने उक्त कारबाही नियमसङ्गत नभएको भनी संसदीय समितिमा आवाज उठेको थियो ।
पराजित भएका उमेदवारलाई राष्ट्रिय सभा निर्वाचनमा समावेश गराएको प्रति लामिछानेको असन्तुष्टि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रिय सभाको निर्वाचनमा एक पटक निर्वाचनमा असफल भएकालाई आगामी निर्वाचनमा सहभागि गराएको भन्दै असन्तुष्टि जनाएका छन् ।
स्थानीय तहदेखि प्रतिनिधिसभा सम्मको निर्वाचनमा पराजित भएकालाई राष्ट्रिय सभाको निर्वाचनको उमेदवार बनाएको भन्दै लामिछानेले असन्तुष्टि व्यक्त गरेका हुन् । उक्त विषयले नेपालको राजनीतिक व्यवस्थामाथि नै प्रहार गरेको बताए । मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफाबार छलफलमा उनले यस्तो बताए ।उनले एक पटक निर्वाचनमा पराजित भएका उमेदवारहरुलाई आगाामी निर्वाचनमा प्राथमिकता दिन नहुने समेत बताए ।
आफ्नै छोराको खुकुरी प्रहारबाट चक्रवर्ती कलेजका अध्यक्ष घाइते, नर्भिकमा उपचार गरिँदै
बिजुलीबजारस्थित चक्रवर्ती कलेजका अध्यक्ष देवेन्द्र भण्डारीमाथि उनका आफ्नै छोराले खुकुरी प्रहार गरेका छन् । सोमबार राति ११ बजे समूहसहित कलेज प्रवेश गर्न खोजेका देवेन्द्रलाई भित्र रहेका छोरा निरजसहितको समूहले आक्रमण गरेको थियो। प्रहरीले निरजसहित आक्रमणमा संलग्नलाई पक्राउ गरेको जनाएको छ।
उनको अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार छोरा निरजले आफू कलेजको अध्यक्ष भएको दाबी गर्दै बाबु देवेन्द्रलाई प्रवेश गर्न नदिएपछि केही दिनदेखि विवाद सुरु भएको थियो। भण्डारी बाबुछोराबीच कलेज व्यवस्थापनको विषयमा लामो समयदेखि विवाद रहँदै आएको छ।
यसअघि विद्यार्थी भर्ना र महँगो शुल्कका कारण चक्रवर्ती कलेज विवादमा आउने गरेको थियो । कलेज व्यवस्थापनले मनपरी शुल्क वृद्धि गरेपछि विद्यार्थीसमेत आन्दोलित हुँदै आएका छन् ।
१७ डीआईजीहरूको सरुवा
प्रहरी प्रधान कार्यालय, प्रशासन शाखाको अनुरोध पत्र बमोजिम उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ(मन्त्रीस्तरीय)को निर्णयानुसार आज गृह मन्त्रालयले १६ जना प्रहरी नायव महानिरीक्षकहरूको सरुवा गरेको छ भने एक प्रहरी नायव महानिरीक्षकको काज सरुवा गरेको छ।
गृहमन्त्रालयले मंगलबार कोशीमा चन्द्रकुवेर खापुङ, मधेसमा यज्ञविनोद पोखरेल, बागमतीमा विष्णुकुमार केसी, गण्डकीमा विकासराज खनाल, लुम्बिनीमा कुबेर कडायत, कर्णालीमा लालमणि आचार्य र सुदूरपश्चिममा वीरेन्द्र केसीलाई पठाउने निर्णय गरेको छ।
माइतीघर मण्डालबाट डा. गोविन्द केसी पक्राउ
निषेधित क्षेत्र माइतीघर मण्डलामामा प्रदर्शनमा उत्रिएपछि प्रा.डा गोविन्द केसीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार दिउँसो साढे १ बजे १० वर्षे सशस्त्र द्वन्दकालका पीडितलाई न्याय देऊ, माइतीघरको निषेधाज्ञा तत्काल फिर्ता सहितका नारा लिएर प्रदर्शनमा उत्रिएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
केसीले यसअघि सरकारसँग चिकित्सा शिक्षा र स्वास्थ्य सुधारका क्षेत्रमा भएका सहमति कार्यान्वयन गर्नुपर्ने माग राख्दै आएका थिए ।
सञ्चारमन्त्री शर्माको दबाबपछि दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन्। उनले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई आफ्नो राजीनामा पत्र बुझाएका छन् । बुधबारदेखि लागू हुनेगरी राजीनामा दिएको खनालले जानकारी दिए। सञ्चारमन्त्री शर्माको दबाब खेप्न नसकेका कारण खनालले कर्यकाल सकिनु आठ महिनाअगावै पदबाट राजीनामा दिएका हुन् । शर्मा मन्त्री भएदेखि नै खनाललाई हटाउन चाहेकी थिइन्।
प्राधिकरणसँग जोडिएका विषयमा निर्णय गराउन भन्दै शर्माले खनालालई दबाब दिएको बताइन्छ । प्राधिकरणसँग सम्बन्धित खरिद, स्मार्ट टेलिकमको लाइसेन्स खारेजी, एनसेलको सेयर खरिदबिक्रीको प्रक्रिया चलिरहेको समयमा खनालले राजिनामा दिएका हुन्। शर्माको दबाबअनुसार काम नगरेपछि मन्त्रालयका सल्लाहकारमार्फत खनालमाथि दबाब बढेको थियो।




