पौष २३ सोमबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । सोमबार तयार पारिएको मुख्य १० समाचारमा नेपालमा कोरोनाको नयाँ ‘सबभेरियन्ट’ देखियो देखि इरानकी एक महिलालाई ७४ कोर्रा सजाय सम्मका समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
नेपालमा कोरोनाको नयाँ ‘सबभेरियन्ट’ देखियो
काठमाडौं। नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन डट वान पुष्टि भएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जीन सिक्वेन्सिङ गर्दा नेपालमा पहिलोपटक कोरोनाको नयाँ भेरियन्ट जेएन डट वान पुष्टि भएको जानकारी दिए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १६ वटा एन्टिजेन पोजेटिभ नमुनाको जीन सिक्वेन्सिङ गर्दा नेपालमा सातवटा नमुनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन डट वान पुष्टि भएको हो ।
कोभिडको नयाँ सब भेरियन्ट ‘जेएन डट वान’ पछिल्लो एक महिनायता विश्वभर तीव्र रूपमा फैलिरहेको छ । डा.प्रकाश बुढाथोकीले कोरोना संक्रमण फैलन नदिन भीडभाडमा मास्कको प्रयोग, भौतिक दूरी कायम राख्नुका साथै हातको सरसफाइमा समेत विशेषतः ध्यान दिन आग्रह गर्नुभएको छ। मन्त्रालयले नयाँ सब भेरिएन्टको बढ्दो संक्रमणलाई मध्येनजर गर्दै नेपाल प्रवेश बिन्दुमा सम्पूर्ण हेल्थ डेक्सहरु, स्वास्थ्य कार्यालयहरुमार्फत आवश्यक स्क्रीनिङ र निगरानी निरन्तर गर्नुका साथै स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य उपचार व्यवस्थापनको तयारी अवस्थामा रहन अनुरोध गरेको छ ।
१९ सिटका लागि ५२ जनाको उम्मेदवारी दर्ता
आगामी माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज सातै प्रदेशका सम्बन्धित निर्वाचन कार्यालयमा विभिन्न समूहका लागि ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । कूल १९ सिटका लागि हुने निर्वाचनमा सातै प्रदेशमा महिला समूहतर्फ १७, दलित समूहतर्फ छ, अपाङ्गता भएका व्यक्ति वा अल्पसङख््यक समुदायतर्फ आठ, र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा शान्ति पूर्णरूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । आयोगका अनुसार कोशी प्रदेशमा महिला समूहका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि तीन राजनीतिक दलका तर्फबाट जम्मा पाँच, मधेस प्रदेशमा महिला समूहका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि तीन राजनीतिक दलका तर्फबाट पाँच उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ ।
बागमती प्रदेशमा महिला समूहका लागि चार राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि तीन राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि चार राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि चार राजनीतिक दलका तर्फबाट जम्मा १५ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । गण्डकी प्रदेशमा महिला समूहका लागि तीन राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि तीन राजनीतिक दलका तर्फबाट आठ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।
लुम्बिनी प्रदेशमा महिला समूहका लागि तीन राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि चार राजनीतिक दलका तर्फबाट सात उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । कर्णाली प्रदेशमा महिला समूहका लागि दुई राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि दुई राजनीतिक दलका तर्फबाट छ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।
स्वीकृत निर्वाचन कार्यक्रमअनुसार यही पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण हुने कार्यसूची छ ।
सहकारी पीडितको समस्या सम्बोधन गर्ने ठोस प्रस्ताव ल्याउनुस् ः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको समस्या सम्बोधन हुँदा लाखौं निक्षेपकर्ताहरू प्रताडित भएकोमा जोड दिँदै उक्त समस्याको व्यवस्थित समाधानको प्रस्ताव ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन् ।
सोमबार दिउँसो सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्रीले सो निर्देशन दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने, ‘सहकारीको समस्या छिटो समस्या नगर्दा लाखौं निक्षेपकर्ता प्रताडित भएका छन्, उनीहरू घर न घाट भएका छन्। उनीहरूको समस्या कसरी सम्बोधन गर्ने ? त्यसबारे ठोस प्रस्ताव बनाएर ल्याउनुस्।’ बैठकमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालले सहकारीको समस्या सम्बोधन गर्न सहकारीको नियमन गर्न निक्षेप कोषको कानुनी प्रबन्धलाई व्यवहारिक रूप दिन आवश्यक रहेको बताए
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सहकारीको निश्चित सिलिङभन्दा माथिको नियमन नेपाल राष्ट्र बैंकले गर्नेगरि निर्णय गरेर जानुपर्ने बताए ।
राष्ट्रियसभाको उम्मेदवार चयनप्रति अर्जुननरसिंह के.सी र बलबहादुरको असन्तुष्टि
नेपाली कांग्रेस केन्द्रिय सदष्य तथा सांसद अर्जुननरसिंह के.सी. र बलबहादुर के.शीले राष्ट्रियसभा सदस्यको निर्वाचनमा उमेदवारी छनोटको विषयमा गत पौष १४ गते कांग्रेस केन्द्रिय समितिले गरेको निर्णय बमोजिम नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार एक सुचना जारी गर्दै राष्ट्रिय सभा निर्वाचनका क्रममा नेपाली कांग्रेसले सो निर्णय बमोजिम उमेदवारी चयनमा ध्यान नदिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेद्वार तय गर्ने सम्बन्धमा गत पौष १४ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रदेश कार्यसमितिको सिफारिस भई आएका नामहरूमध्ये भौगोलिक तथा जातीय सन्तुलन समेतलाई ध्यान दिई पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान पुरÞ्याउन सक्ने क्षमता भएका, पार्टीप्रति प्रतिबद्ध, स्वच्छ छवि भएका, हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका, योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने निर्णय गरेको तर सोही निणर्यलाई पालन नगरी राष्ट्रिय सभा निर्वाचनका लागि उमेदवारी चयन भएको भएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन् ।
उनीहरुले समग्र मधेस प्रदेशबाट मधेसी समुदायबाट प्रतिनिधित्व नपाएको र विज्ञ, बौद्धिक, व्यावसायिक र पेशागत वर्गलाई पूर्ण रुपमा उपेक्षा गरिएको जनाएका छन् । समग्रतामा उम्मेद्वार चयनमा देखिएको एकाधिपत्य र चरम एकपक्षीय कार्यशैली पार्टी र आम भावना विपरीत भएकोले राष्ट्रियसभा उम्मेद्वार चयनको हालैको निर्णयमा असहमत भएकोले फरक मत प्रस्तुत गरेका हुन् ।
सुदूरपश्चिम प्रदेशमा महिला समूहका लागि तीन राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि दुई राजनीतिक दलका तर्फबाट छ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ
अध्यक्ष तिमिल्सना र आयरल्याण्डका माथिल्लो सभाका अध्यक्षबीच भेटवार्ता
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरि बट्टिमरबीच सोमबार भेटवार्ता भएको छ । नेपालको पाँच दिने औपचारिक भ्रमणमा आएका अध्यक्ष बट्टिमरले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा पुगेर भेटवार्ता गरेका हुन् ।
भेटवार्ताका क्रममा अध्यक्ष तिमिल्सिनाले युरोपिएन युनियनले नेपाल माथि लगाएको हवाई प्रतिबन्ध खुल्ला गरिदिन आग्रह गरेका छन् । उनले हवाई प्रतिबन्धका कारण नेपालको अर्थतन्त्र र पर्यटनमा नकारात्मक असर परेको बताउँदै आयरल्याण्ड इयुको सक्रिय सदस्य भएका कारण नेपाली बिमान माथि युरोपेली आकाशमा लागेको प्रतिबन्ध हटाउन सकारात्मक पहल र परिणाम आउने कुरामा बिश्वस्त रहेको उनले बताए । उनले आयरल्याण्डमा नेपाली बिद्यार्थीका लागि छात्रबृत्ति बढाउन आग्रह गर्दै त्यसबाट उत्पादित दक्ष जनशक्तिलाई नेपालको बिकास र सम्बृद्धिमा लगाउन सकिने बिश्वास पनि ब्यक्त गरेका छन् ।
भेटवार्ताका क्रममा आयरल्याण्डका माथिल्लो सदनका अध्यक्ष बुटिमेरले आफुँ नेपाल भ्रमणबाट फर्केपछि हवाई प्रतिबन्ध हटाउने बिषयमा संवाद र छलफल अगाडी बढाउने बिश्वास दिलाए । अध्यक्ष तिमिल्सिनाले नेपालले आफुँ यस अघि देखि नै नेपालले हवाई उड्डयनमा सुधारका लागि गरिरहेको सकारात्मक पहलका बारेमा पुर्ण जानकार रहेको पनि बताए । उनल दुई देशबीचको असम्बन्धलाई सुमधुर बनाउन संसद र सांसदहरुको महत्त्वपूर्ण भूमिका रहने बताउँदै भ्रमणबाट एक अर्काको संसदीय अभ्यास र अनुभव बुझ्ने अवसर उपलब्ध हुने बिश्वास ब्यक्त गरे। ‘यसबाट संसदीय लोकतन्त्रलाई सुदृढ बनाउँदै हाम्रा नागरिकको अधिकार सुनिश्चित गर्न सघाउ पुग्ने छ।’ उनको भनाई थियो ।
राष्ट्रिय सभालाई समावेशी बनाउन महिला, अपांगता भएका व्यक्ति तथा अल्पसंख्यकहरूको स्थान सुरक्षित गर्ने व्यवस्था रहेको चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले यस्ता लोकतान्त्रिक अभ्यासहरूबाट हरेक तह र तप्काका योग्य व्यक्तिहरूलाई कानून निर्माणको अग्रपंक्तिमा ल्याउने प्रयत्न गरेको जानकारी गराए ।
नेपाल सन् २०२६ सम्म अतिकम विकसित मुलुकबाट स्तरोन्नति भई सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने नेपाल सरकारको उद्देश्य रहेको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले उक्त स्तरोन्नतिलाई दिगो, अपरिवर्तनीय तथा सहज बनाउनको लागि ठूलो साधन तथा श्रोतको आवश्यकता पर्ने भएकाले यसको लागि युरोपेली संघ लगायत अन्तर्राष्ट्रिय समुदायको सहयोगको खाँचो औल्याए । उनले व्यापार, लगानी तथा पर्यटनका क्षेत्रमा हाम्रा दुई देशले साझेदारी विस्तार गर्दै लैजानु पर्ने आवश्यकतामा पनि जोड दिए ।
उक्त भेटमा आयरल्याण्डको उपल्लो सदनका अध्यक्ष बट्टिमोरले नेपाल र आयरल्याण्ड दुबै देशले साझा मुद्दाहरुमा आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने बिश्वास ब्यक्त गर्दै आगामी दिनमा साझा सहकार्य बढाउने प्रतिबद्धता पनि जनाए । नेपालमा हिमाल आरोहण र पदयात्राका लागि आयरल्याण्डका धेरै नागरिक इच्छुक रहँदै आएको बताउँदै आगामी दिनमा पर्यटकलाई नेपाल भ्रमणका लागि उत्प्रेरित गर्न आवश्यक रहेको बताए ।
अध्यक्ष बट्टिमर पाँच सदस्यीय संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सोमबार बिहान नेपाल आएका हुन् । उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) , सभामुख देबराज घिमिरे र परराष्ट्रमन्त्री नारायणप्रसाद साउद संग पनि भेटघाट गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा नारायणहिटी दरबार संग्राहलय, बसन्तपुर दरबार, भक्तपुर दरबार, स्वयम्भु लगायतका स्थानको भ्रमण गर्ने कार्यक्रम छ ।
एमालेले मधेस प्रदेशमा उठाएका उम्मेदवारको मतदाता नामावलीमै नाम छैन, अर्कैले पाए टिकट
मतदाता नामावलीमा नामै नभेटिएपछि एमालेले मधेस प्रदेशबाट राष्ट्रिय सभाका एकजना उम्मेदवार परिवर्तन गरेको छ। महोत्तरीका अर्जुन सिंहको उम्मेदवारी दर्ता नहुने भएपछि उनको ठाउँमा जनकपुरधामकी विजेता झालाई उम्मेदवार बनाइएको छ । मतदाता नामावलीमा नाम नरहेको भनी शंका लागेपछि एमाले नेताहरूसहित सिंह जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेका थिए। त्यहाँ मतादाता नामावलीमा नाम नरहेकाले उम्मेदवारी दर्ता गर्न नमिल्ने भनेर निर्वाचन कार्यालयले उनलाई फर्काइदिएको हो।
टिकट पाएकी झा गत स्थानीय तहको निर्वाचनताका कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेकी थिइन्। एमालेले मधेसमा दुईजना उम्मेदवार उठाएको छ ।
१४ किलो सुन तस्करी प्रकरण ः आठ प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
जिल्ला अदालत काठमाडौँले सुन तस्करी प्रकरणमा पक्राउ परेका ८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। जिल्ला अदालतले आइतबार उनीहरूलाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै थुनामा पठाउने आदेश गरेको हो। यो सँगै उनीहरूलाई कारागार चलान गरिएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकर बहादुर राईको इजलासले सबै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। यो मुद्दामा २ जना फरार रहेका छन्। दुबईबाट १४ किलो सुन लिएर आएका गोरखाका चन्द्र घलेलाई पक्राउ गरेपछि थप तस्करीबारे खुलेको थियो। विमानस्थल भन्सार कार्यालयले अनुसन्धानका क्रममा यो समूहले १३८ किलो सुन तस्करी गरेको भन्दै सोही बराबर बिगो र जरिवाना दाबी गरेको छ।
पछिल्लो पटक सुन लिएर आएका चन्द्र घले, नेपालमा सुन तस्करीको व्यवस्थापन गर्ने मिनबहादुर घले, यसअघि सुन तस्करी गर्ने स्याङ्जाका कृष्णकुमार श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका छन्। यही मुद्दामा प्रतिवादी बनाइएका डीबी भन्ने धनबहादुर गुरुङ र उनकी पत्नी बिना गुरुङ भने फरार छन्। यस्तै तस्करीको सुन विमानस्थलबाट गिरोहको घरसम्म पु¥याइदिने कर्मचारी पनि जेल चलान भएका छन्। विमानस्थलका कर्मचारीहरू राधाकृष्ण श्रेष्ठ, लेकबहादुर तामाङ, रमेश देउला, अनिल श्रेष्ठ, शेरबहादुर बस्नेत जेल चलान भएका हुन्।
उनीहरू नागरिक उड्ययन प्राधिकरणअन्तर्गतका कर्मचारी हुन्। उनीहरूले धनबहादुर गुरुङसँग घुस लिई सुन चोरी पैठारी गरेको आरोप छ। सुन तस्करीमा नाम जोडिएका र बयान पोलेका अंकित अग्रवाल, राजेन्द्र बस्नेत, बिमल पोद्दार, राजकुमार भारती, जीवन गुरुङ, गुरु भन्ने व्यक्तिहरूको एकिन नाम, थर, वतन र कसुर खुलेका बखत पेस गरिने भएको छ।
बालेनले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाए ताला
काठमाडौँ महानगरपालिकका मेयर बालेन साहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको कार्यकक्षमा ताला लगाएका छन् । मेयर साह र प्रमुख प्रशासकीय अधिकृत अधिकारीबीच महागरपालिकाको स्वास्थ्य विभागतर्फका कर्मचारी नियुक्तीको विषयमा विवाद भएपछि मेयर साहले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका हुन् ।
कर्मचारी नियुक्तीको विषयमा विवाद पश्चात प्रमुख प्रशासकीय अधिकृत अधिकारी पुनः कार्यालय आउने तयारी गरेको थाहा पाएपछि मेयर साहले उनको कार्यकक्षमा ताला लगाइ दिएका छन् ।
वन अधिकृतविरुद्ध एक करोड २५ लाख भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड २५ लाखभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत (अधिकृत दसौँ तह)विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका प्रवक्ता देवप्रसाद थपलियाले डिभिजनल वन अधिकृत दीर्घ नारायण कोइरालाले एक करोड २५ लाख ९६ हजार ३५३ रुपियाँ भ्रष्टाचार गरेको आरोपमा सोमबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको जानकारी दिए ।
गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कोइरालाले भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रवक्ता थपलियाका अनुसार कोइरालाले सार्वजनिक सेवामा स्थायी नियुक्ति लिएको मिति (२०४६ जेठ २ गते) देखि २०७८ फागुन १२ सम्ममा गरेको आम्दानी तथा खर्चको विश्लेषण गर्दा एक करोड २५ लाख ९६ हजार ३५३ रुपियाँ बढी देखिएको छ ।
कोइरालाको सम्पत्ति विवरणको विश्लेषण गर्दा पारिश्रमिक बचत, भत्ता बचत रकम, घर जग्गा बिक्री, जीवन बिमा परिपक्व भई प्राप्त गरेको रकम, ग्यास स्टोरबाट भएको आम्दानी, शेयर बिक्रीबाट प्राप्त रकम, कृषि आय र छोरीको बचत रकमसमेत गरी ८१ लाख ८६ हजार ९५६ रुपियाँ ३१ पैसा आर्जन गरेको देखिन्छ अख्तियारले उल्लेख गरेको छ ।
सोही अवधिमा व्यय (खर्च तथा लगानी) तर्फ घर निर्माण, जग्गा खरिद र रजिस्ट्रेसन दस्तुर, अध्ययन खर्च, बिमाको प्रिमियम भुक्तानीमा भएको खर्च, सवारी खरिदमा भएको खर्च, शेयर खरिद तथा लगानी, ग्यास स्टोरमा गरेको लगानी रकम, सामाजिक व्यवहार खर्च, विद्युतीय उपकरण खरिदबापतको रकम र बैङ्क मौज्दातसमेत गरी जम्मा दुई करोड सात लाख ८३ हजार ३४९ रुपियाँ ८५ पैसा खर्च तथा लगानी भएको आयोगको अनुसन्धानबाट खुलेको छ ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २०(१) बमोजिम गैर कानुनी रूपमा सम्पत्ति आर्जनसम्बन्धी कसुर गरेको भन्दै आयोगले कोइरालाविरुद्ध एक करोड २५ लाख ९६ हजार ३५३ रुपियाँ बराबरको बिगो जरिवाना र कैद सजायको मागदाबी गरेको छ ।
इरानकी एक महिलालाई ७४ कोर्रा सजाय
‘सार्वजनिक नैतिकताको उल्लङ्घन’ गरेको आरोपमा इरानी अधिकारीहरूले एक महिलालाई ७४ पटक कोर्रा लगाएको र टाउको नढाकेकामा जरिवाना लगाएको न्यायापालिकाले बताएको छ । “दोषी रोया हेशमतीले तेहरानमा व्यस्त सार्वजनिक स्थानहरूमा अपमानजनक तरिकाले उपस्थित भएर उदारतालाई प्रश्रय दिएकी छन्”, न्यायपालिकाको मिजान अनलाइन वेबसाइटले शनिबार राति भनेको छ, “सार्वजनिक नैतिकता उल्लङ्घन गरेको आरोपमा उनलाई ७४ कोर्रा हान्ने सजाय कानून र शरियाअनुसार दिइएको थियो ।”
सन् १९७९ को इस्लामिक क्रान्तिको लगत्तैदेखि इरानमा सबै महिलाहरूका लागि आफ्नो गर्धन र टाउको ढाक्न कानूनले अनिवार्य गरेको छ । इरानमा ड्रेस कोडको उल्लङ्घनमा कोर्रा हान्नु असामान्य छन् । यद्यपि सन् २०२२ को अन्त्यमा सुरु भएको सरकारविरोधी प्रदर्शनका क्रममा उल्लङ्घनको अभ्यास बढेपछि अधिकारीहरूले नियमको अवहेलना गर्नेमाथि कडा कारबाही गरेका छन् ।
ती विरोध प्रदर्शनहरू सन् २०२२ सेप्टेम्बरमा महिलाहरूका लागि इस्लामिक गणतन्त्र इरानको कठोर ड्रेस कोडको कथित उल्लङ्घनको आरोपमा पक्राउ परेकी २२ वर्षीया इरानी कुर्द महसा अमिनीको हिरासतमा मृत्यु भएपछि सुरु भएको थियो । विरोध प्रदर्शनका क्रममा महिला प्रदर्शनकारीहरूले आफ्नो टाउकोबाट स्कार्फ उतारेर जलाइदिएका थिए । अन्य महिलाहरूले पनि ड्रेस कोडको उल्लङ्घन सुरु गर्न थाले । त्यसपछि कारबाही सुरु गरियो ।
कुर्द–केन्द्रित अधिकार समूह हेन्गावले हेशमतीको पहिचान कुर्द मूलकी ३३ वर्षीया महिलाका रूपमा गरेको छ । “टाउकोमा स्कार्फ नलगाई सामाजिक सञ्जालमा तस्बिर प्रकाशित गरेको आरोपमा उहाँलाई अप्रिलमा पक्राउ गरिएको थियो”, उहाँका वकिल मजियार टाटाईले सुधारवादी शारग दैनिकलाई भन्नुभयो, “सार्वजनिकरूपमा मुस्लिम बुर्का नलगाएकामा हेशमतीलाई एक करोड २० लाख रियाल (करिब २५ अमेरिकी डलर) को जरिवाना तिर्न पनि आदेश दिइएको थियो ।”
इरानी अधिकारीहरूले उल्लङ्घनमाथि निगरानी गर्न सार्वजनिक स्थानहरूमा निगरानी क्यामेरा लगाएका छन् र नियमको उल्लङ्घन गर्ने व्यवसायहरू बन्द गरिदिएका छन् । इरानको संसद्ले ड्रेस कोडको उल्लङ्घन गर्नेलाई कडा सजाय दिने विधेयकमाथि पनि छलफल गरेको छ ।




