पौष २० शुक्रबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । शुक्रबार तयार पारिएको मुख्य १० समाचारमा त्रिविको उपकुलपतिको विज्ञापनमा रहेको पूर्वपदाधिकारीको अनुभव हटाएर अर्को सूचना जारी गर्न प्रधानमन्त्रीको निर्देशन देखि पाथीभरा क्षेत्रमा हिमपात, जनजीवन प्रभावितसम्मका समाचारलाई समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
त्रिविको उपकुलपतिको विज्ञापनमा रहेको पूर्वपदाधिकारीको अनुभव हटाएर अर्को सूचना जारी गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं। प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिएका छन् । शुक्रबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई प्रधानमन्त्रीको कार्यकक्षमा बोलाएर उक्त विज्ञापन सच्चाउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभरि रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेकोमा शुक्रबार प्रकाशित गरिएको सूचनाले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुनसक्ने भन्दै त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्चाएर अर्को सूचना निकाल्न निर्देशन दिएका हुन् । शुक्रबार छनोट तथा सिफारिस समितिको तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेश गरेको सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले पदाधिकारीमा तीन वर्षे अनुभवको प्रावधान हटाउन निर्देशन दिएका हुन् ।
त्यस्तो प्रावधानले पूर्वपदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने र त्यसले मेरिटोक्रेसीमा सिन्डिकेट लगाउनेमा हाम्रो चासो रहेको बताउँदै प्रधानमन्त्रीले सक्षम र योग्य मान्छे आउने बाटो सम्पूर्ण रूपले खुला गरी अर्को विज्ञापन खोल्दै मन्त्रालयमार्फत समितिलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहेको जोकोही योग्य प्राज्ञिक नेपालीले दरखास्त हाल्न सक्ने गरी फराकिलो मापदण्ड नबनाए विश्वविद्यालय सुधार कठिन भएकाले उच्च शिक्षाको गुणात्मक सुधारका निम्ति गम्भीर हुन पनि शिक्षामन्त्रीलाई निर्देशन दिएका छन् ।
आन्दोलन अनियन्त्रित भएपछि बरहथवामा कर्फ्यू
सर्लाहीको बरहथवामा एक आन्दोलनकारीको मृत्यु भएपछि स्थानीय प्रशासनले कार्फ्यू आदेश जारी गरेको छ । बरहथवा नगरपालिका–६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएपछि स्थानीय प्रशासनले कार्फ्यू आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले एक सूचना जारी गर्दै कर्फ्यू लगाएको बताएका छन् ।
आज बेलुका साढे ५ बजेदेखि भोलि बिहान ८ बजेसम्म बरहथवा नगर क्षेत्रको पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती÷चोर्निया पुल क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको हो । १५ बेडको प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिको विषयलाई लिएर मेयर कल्पनाकुमारी कटुवालविरुद्ध उत्रिएका प्रदर्शनकारीले तोडफोड र आगजनी गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।
यो आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानून बमोजिम कारवाही समेत गर्न सक्ने प्रशासनले जनाएको छ ।
एमाले केन्द्रीय सदस्यमा ६ जना मनोनित
नेकपा एमालेले ६ जनालाई पार्टी केन्द्रीय सदस्यमा मनोनित गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले कोशीका तुलसीप्रसाद न्यौपाने, वागमतीका केशवराज पाण्डे, कर्णालीका विनोद शाह, सुदूरपश्चिमका दामोदर भण्डारी, मधेस रामअवतार यादव र झापाका दिपक कार्कीलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । मनोनितमध्ये कार्की बाहेकका ५ जना तत्कालीन प्रदेश अध्यक्ष रहेका थिए भने कार्की झापा जिल्लाका अध्यक्ष रहेका थिए ।
प्रधानमन्त्री प्रचण्डलाई अदालतको अवहेलना मुद्दामा सफाइ
अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सफाइ पाएका छन् । २०७३ जेठमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
उक्त रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासले प्रधानमन्त्री प्रचण्डलाई सफाइ दिएको हो । सर्वोच्च अदालतले प्रचण्डले अदालतको अवहेलना गरेको ‘मागदाबी नपुग्ने’ आदेश सुनाएको हो।
तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेल र छविलाल अधिकारीलाई पक्राउ गरेपछि काठमाडौँमा आयोजित पार्टीको कार्यक्रममा प्रचण्डले अदालत शान्ति सम्झौताविपरीत जान लागेको आरोप लगाएका थिए।
मधेस र बागमतीबाहेक एमालेका पाँच प्रदेश समितिले पठाए नाम
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि एमालेका मधेस र बागमतीबाहेक पाँच प्रदेश कमिटीले केन्द्रमा उम्मेदवारको नाम सिफारिस गरेको छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको हो । कोशी प्रदेश कमिटीले अन्य क्लस्टरतर्फ झापाका उमानाथ ओली, हरिचरण बानियाँ, भोजपुरका परशुराम अधिकारी, खोटाङका कर्ण घलेलाई सिफारिस गरेको छ । महिलातर्फ इलामका रजनी मेचे र सुनसरीका मेचीमाया धिमाल र रूक्मिणी कोइराला सिफारिस भएका छन् ।
गण्डकी प्रदेश कमिटीले अन्यतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली, बागलुङका मोहनलाल शर्मा, म्याग्दीकी ममतादेवी शर्मा उपाध्यायलाई सिफारिस गरेको छ । अपांगाता–अल्पसंख्यकतर्फ कास्कीका मेघराज आचार्य, मुस्ताङका हेमन्त शेरचन, गोरखाकी मिना बराम सिफारिस भएका छन् । महिलातर्फ गोरखाका सम्झना देवकोटा, कास्कीका सगुन गुरूङ, स्याङ्जाका ईश्वरी सिग्देल अर्याल सिफारिस भएका छन् ।
धरानमा शुरु भएको श्रम संस्कृतिले राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा चर्चा पाएको छ ः मेयर बालेन शाह
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मेयर हर्कसाङपाङ मेयरमा निर्वाचित भएपछि विकासले धरानको मुहार फेरिएको बताएका छन् । शुक्रबार धरान उत्सवको उद्घाटनमा धरान पुगेका मेयर शाहले धरानको विकासबारे प्रशंसा गर्दै यस्तो बताएका हुन् ।
उनले धरानको विकास र काम गर्ने शैलीले धरानको परिचर्चा समेत अन्तराष्ट्रिय जगतमा हुन थालेको समेत बताए । उनले भने,‘ धरानउपमहानगरपालिकाका मेयर हर्क साङपाङले अरुको कुरा सुन्ने भन्दा पनि आँफूले देखेका सपना र जनताका सपना पुरा गर्ने विषयमा निरन्तर लागि परेकाले धरानको चर्चा राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा फैलिएको बताए । निरन्तरको मेहनत र धनको लोभमा नपरिकन काम गरेकाले यो सम्भव भएको उनले बताए । शाहले धरान मेयर शाहले धरानमा शुरु भएको श्रम संस्कृति देशमात्रै नभएर विदेशमा समेत अनुकरणीय भएकाले आगामी दिनमा समेत आँफूले देखेका सपना पुरा गर्न पछि नपर्न स्ुझाव समेत दिए ।
धरान डे को विशिष्ट अतिथिको रूपमा धरान पुगेका मेयर शाहले अकल्पनीय काम गरेको बताएका छन् । पुराना राजनीति दल तथा कार्यकर्ताले विगतमा स्वतन्त्र निर्वाचित जनप्रतिनिधीहरुले काम गर्न सक्दैनन् भन्ने मान्यतालाई स्वतन्त्र जनप्रतिनिधीले चिरफार पार्न सफल भएको बताए । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंँमा आकाश भैरबलाई मानिने र धरानमा यलम्बरलाई मानिने भन्दै मेयर साङपाङलाई आकाश भैरवको प्रतिमा समेत उपहार दिएका छन् ।
दूतावासले २० करोडसम्मका परियोजना बाँड्नसक्ने सम्झौता राष्ट्रघातीः नेता खनाल
पूर्वप्रधानमन्त्री एवं सत्तारुढ एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भारतीय दूतावासले २० करोडसम्मका परियोजना बाँड्नसक्ने सम्झौता राष्ट्रघाती भएको भन्दै सम्झौता रद्द गर्न माग गरेका छन् ।
खनालले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपाल र नेपाली जनताको सार्वभौमिकता र सार्वभौम अधिकारमाथि खेलबाड भएको दाबी गरेका छन् । उनले भनेका छन्– ‘सम्झौता बमोजिम अब देखि छिमेकी भारतको नेपाल स्थित राजदूतावासबाट २० करोडका योजनाहरू नेपालभरि सोझै बाँड्न र लागू गर्न सक्नेछ । एउटा सार्वभौम सत्ता सम्पन्न र स्वतन्त्र राष्ट्रका निम्ति यो लज्जाजनक र राष्ट्रिय हित विरोधी सम्झौता हो ।गठबन्धन सरकारले गरेको सम्झौताले हामी सम्पूर्ण देशभक्त नेपालीहरूलाई स्तब्ध आश्चर्यचकित र क्रुद्ध बनाएको छ ।
भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण ः द्विपक्षीय हितमा केन्द्रित
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा दुईदिने नेपालको औपचारिक भ्रमणमा आएका भारतीय विदेशमन्त्री डा एस जयशङ्कर भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् ।
भ्रमणका क्रममा महत्वपूर्ण विभिन्न द्विपक्षीय सहमतिपत्र÷समझदारीपत्रको आदानप्रदान भएको छ । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन उनि बिहीबार नेपाल आएका हुन् । बैठकमा विकास साझेदारीसहित द्विपक्षीय सहकार्यका सबै पक्षमाथि समीक्षा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । संयुक्त आयोगको बैठकपश्चात् भारतीय विदेशमन्त्री र नेपालका परराष्ट्रमन्त्रीको उपस्थितिमा दुई पक्षबीच विभिन्न सहमतिपत्र÷समझदारीपत्रको आदानप्रदान भएको थियो ।
बैठकमा सन् २०२१ को जनवरीमा सम्पन्न भारत–नेपाल संयुक्त आयोगका छैटाँै बैठकपछि द्विपक्षीय सहकार्यका सबै क्षेत्रमा हासिल उपलब्धिहरुको प्रशंसा गरिएको थियो । बैठकमा नेपालमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनका लागि भारत र नेपालबीच नयाँ सहमति कायम भएको छ । नयाँ सम्झौतामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनका लागि बजेटको सीमा रु पाँच करोडबाट बढाएर रु २० करोड पुराइएको छ ।
त्यस्तै दीर्घकालीन ऊर्जा व्यापारका लागि भारत सरकार र नेपाल सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौताअन्तर्गत आगामी दश वर्षमा नेपालबाट भारततर्फ हुने विद्युत् निर्यातको परिमाण १० हजार मेगावाटसम्म पुराइने छ । यसका लागि नेपालको जलविद्युत् उत्पादन क्षेत्र र प्रसारण पूर्वाधारमा पारस्परिक लाभदायी लगानीलाई प्रोत्साहन गर्न सबै उपायहरु अपनाउनेमा दुवै पक्ष सहमत भएका छन् । यसैगरी, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा निर्मित मुनाल स्याटेलाइटका लागि न्यूस्पेस इन्डिया लिमिटेड र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानबीच प्रक्षेपण सेवा सम्झौता भएको छ ।
नेपाली विद्यार्थीले बनाएको यो स्याटेलाइट बिना शुल्क भारतीय प्रक्षेपण रकेटबाट प्रक्षेपण गरिने छ । भारतको एनटिपिसी लिमिटेड र नेपाल विद्युत् प्राधिकरणबीच नवीकरणीय ऊर्जा विकासमा सहकार्यका लागि एक समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ । यस समझदारीपत्रले एनटिपिसी लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच नवीकरणीय ऊर्जामा सहकार्यका लागि खाका तयार पार्नेछ ।
सोही अवसरमा दुवै विदेशमन्त्रीले रक्सौल–परवानीपुर प्रसारण लाइनको दोस्रो सर्किट, कटैया–कुशाहा लाइनको दोस्रो सर्किट र नयाँ नौतनवा–मैनहिया लाइन गरी भारत र नेपालबीच रहेको तीनवटा एक सय ३२ केभी अन्तरदेशीय प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन गरेका थिए । त्यस्तै, दुवै मन्त्रीको उपस्थितिमा जाजरकोटका भूकम्पपीडितका लागि भारत सरकारले उपलब्ध गराएको पाँचौँ चरणको राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।
उक्त राहत सामग्रीमा भूकम्पबाट प्रभावित मानिसका लागि दुई सय प्रिफ्याब घरहरु, एक हजार दुई सय ब्ल्याङ्केट, एक सय ५० वटा त्रिपाल र दुई हजार स्लिपिङ ब्याग छन् । दुई सयवटा प्रिफ्याब घरमध्ये २० वटा घर कार्यक्रममा हस्तान्तरण गरिएको थियो भने बाँकी घर आउँदो केही साताभित्र विभिन्न चरणमा हस्तान्तरण गरिने छन् ।
साथै, जाजरकोटमा हालै गएको भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्न भारत सरकारले करिब रु १० अर्ब आर्थिक सहयोग उपलब्ध गराउने भारतीय विदेशमन्त्रीले घोषणा गरेका थिए । त्यसमध्ये ठूलो हिस्सा अनुदान सहायताअन्तर्गत रहनेछ । भ्रमणका क्रममा भारतीय विदेशमन्त्री डा जयशङ्करले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछट्टै शिष्टाचार भेटवार्ता गरेका थिए । साथै उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग पनि छुट्टाछट्टै भेटवार्ता गरेका थिए ।
विदेशमन्त्री डा जयशङ्कर र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतबीच पनि भेटवार्ता भएको थियो । सबै भेटघाटमा पारस्परिक हितका द्विपक्षीय विषयमा कुराकानी भएको नेपालस्थित भारतीय दूतवासले जनाएको छ । परराष्ट्रमन्त्री साउदले विदेशमन्त्री डा जयशङ्करको सम्मानमा हिजो रात्रिभोजको पनि आयोजना गरेका थिए ।
भ्रमणको दोस्रो दिन दुवै विदेशमन्त्रीले भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको नयाँ भवनसहित शिक्षा, स्वास्थ्य र सांस्कृतिक क्षेत्रमा भूकम्पपछिका ५९ वटा पुनःनिर्माण परियोजनाको संयुक्त रुपमा उद्घाटन गरेका थिए । भ्रमणका क्रममा विदेशमन्त्री डा एस जयशङ्करले पशुपतिनाथ मन्दिरमा पूजा गर्नुका साथै पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरुवा रोपेका थिए । ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार हो । दुई घनिष्ठ र मित्रवत् छिमेकीबीच उच्चस्तरीय आदानप्रदानको परम्परालाई ध्यानमा राख्दै यो भ्रमण भएको भारतीय पक्षले जनाएको छ ।
धोकाधडीको आरोपमा टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ
राइड सेयरिङ कम्पनी टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् । प्रहरीले उनलाई बिहीबार राति पक्राउ गरेको हो ।
आर्थिक लेनदेन र धोकाधडीको आरोपमा पक्राउ परेका भट्टलाई प्रहरीले शुक्रबार काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि लगेको छ । कम्पनी बेचेर आएको रकम आफ्ना साझेदारहरूलाई नदिएको आरोपमा उनीविरुद्ध उजुरी परेको थियो। प्रहरीले सोही आरोपको आधारमा बिहीबार राति भट्ट पक्राउ परेको जानकारी दिएको छ। प्रहरीमा परेको उजुरीमा भट्टले टुटल एक करोड रुपैयाँमा बिक्री गरेको, तर उक्त रकम साझेदारहरूलाई नदिएको पाइएको छ।
पाथीभरा क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरासहित आसपास क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै त्यस क्षेत्रमा चिसो अत्यधिक बढेर जनजीवन प्रभावित बनेको छ । पाथीभरा धाम ३ हजार ७ सय ९४ मिटर उचाइमा अवस्थित छ । यहाँ सामान्यतया हरेक वर्ष यो मौसममा चैतसम्मै बेला बेलामा हिमपात हुने गर्दछ ।
चिसो निकै बढेपछि पाथीभरा जाने तीर्थयात्रुहरुको सङ्ख्यामा कमी आएको छ । पाथीभरा दर्शन र पूजा अर्चना गर्न जाने सीमित सङ्ख्याका तीर्थयात्रीहरू चिसो बढेपछि प्रभावित भएका छन् । सामान्यतया यो बेला अरू समयमा भन्दा केही कम तीर्थयात्रीहरू आउने गरेको ताप्लेजुङ सदरमुकाम फुङलिङका अशोक खतिवडाले बताए । पाथीभरा जाने मार्गको ३ हजार १ सय मिटर उचाइमा पर्ने माथिल्लो फेदीदेखि नै हिमपात भएको उनको भनाइ छ ।
पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार मन्दिर क्षेत्रमा बाक्लो हिउँ परेको छ । आसपासका बस्तीहरूमा पनि सामान्य हिउँ परेको उनले बताए । अबका केही सातासम्म पाथीभरा क्षेत्रमा हिमपात हुन्छ । यसका साथै आसपासका गाउँ बस्ती पनि हिउँमय हुने गरेका छन् । हिमपात भएपछि बाटो चिप्लो हुने गरेकाले तीर्थयात्रुहरु जाने क्रम यो बेला निकै कम हुने गरेको स्थानीय दुर्गा खनालले बताए ।




