पौष १९ बिहीबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । बिहीबार तयार पारिएको मुख्य १० समाचारमा राष्ट्रिय सभाका उम्मेदवार छनोट गर्न देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समिति बैठकदेखि चक्कू प्रहारबाट घाइते दक्षिण कोरियाली विपक्षी नेता लीको स्वास्थ्यमा क्रमिक सुधार सम्मका समाचारलाई समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
राष्ट्रिय सभाका उम्मेदवार छनोट गर्न देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समिति बैठक
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बोलाइएको छ । पार्टी सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभामा उम्मेदवार छनोटको विषयमा छलफल गर्न शनिबार कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबार नै कांग्रेसले उम्मेदवारको टुंगो लगाउने भएको छ । आगामी फागुनमा कांग्रेसका चार सांसदको कार्यकाल सकिँदैछ । कांग्रेसले आफ्नो पहिलाको चार सिट र थप ६ सिट दाबी गर्ने भएको छ । कांग्रेसका सातवटै प्रदेश समितिले करिब चार सयजनाको नाम सिफारिस गरेको छ । ती नाममध्येबाट उम्मेदवार छनोट हुनेछन् ।
तीन वर्ष कैद सजाय माग गर्दै पर्यटनमन्त्री किराँतीविरुद्ध प्रहरीमा उजुरी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीविरुद्ध प्रहरीमा उजुरी परेको छ । काठमाडौँका ध्रुवराज लुईंटेलले धार्मिक भावनामा आँच पु¥याएको भन्दै बिहीबार किराँतीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी दिएका हुन् । गत पुस ४ मा प्रज्ञा भवन कमलादीमा आयोजित सार्वजनिक कार्यक्रममा मन्त्री किराँतीले दिएको अभिव्यक्तिले धार्मिक भावना आघात पुगेकाले उनलाई पक्राउ गरी तीन वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गराउन निवेदकले माग गरेका छन् ।
‘म जाहेरवाला लामो समय अगाडिदेखि हिन्दू धर्मको भावनाले ओतप्रोत भइ धर्मको माध्यमले राज्यलाई सशक्तिकरण गर्ने र एकतामा राख्न सक्छ भनी धार्मिक सेवा गरी हिँडी आएको एक वैदिक सनातनी धार्मिक व्यक्ति हुँ । विपक्षी सुदन किराँती भन्ने सुदन राई नेपाल सरकारको पर्यटन संस्कृति मन्त्री भई कार्य गरेकोमा नेपालको संस्कृति र पर्यटन क्षेत्रमा काम गर्नु पर्नेमा विपक्षीले मिति २०८०–९–१४ गते भएको भेलामा क्रिश्चियन मान्दिन ‘भन्नु संविधान मान्दिन भन्नु हो, संविधान मान्दिन भन्ने देशद्रोही हो, देशद्रोहीलाई हत्कडी लगाउने र जेलमा हालिने भनी भाषण गरी निजले भाषणबाट जात, जाति, सम्प्रदाय र वर्गको धार्मिक भावनामा सनातन कालदेखि चलिआएको धर्मलाई आघात पु¥याई क्रिश्चियनबाहेक अन्य धर्मलाई हेयको रुपमा हेरी धार्मिक प्रचारसमेत गरेको तथा मुलुकी अपराध संहिता, २०७४ को दफा १२६ मा कसैले जात जाति, सम्प्रदाय वा वर्गको भावनामा आघात पु¥याउन हुँदैन भन्ने कानुनी व्यवस्थाको बर्खिलापमा क्रिश्चियन धर्म नमान्ने देश द्रोही भएको अफवाह फैलाई अन्य धार्मिक भावनामा आघात पु¥याएको, विपक्षी कसूरदारले क्रिश्चियन धर्मको प्रचारक जस्तो बनी अन्य वैदिक सनातन धर्मप्रति हेय तथा भेदभावपुर पु¥याएकोले विपक्षीले गरेको उक्त मितिको भाषण सामाजिक सञ्जालमा भाइरलसमेत भइरहेको हुँदा विपक्षीबाट धार्मिक भावनामा आघात पुगेको हुँदा विपक्षीलाई पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ को दफा १५६ ९१० को कसूरमा ऐ को दफा १५६ ९२० बमोजिम ३ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना समेत गराई पाउँ’, निवेदकमा उल्लेख गरिएको छ ।
मन्त्री किराँतीले क्रिस्चियन धर्मविरोधी सबै संविधान विरोधी र देशद्रोही भएको आरोप लगाउँदै उनीहरूलाई जेल हाल्नुपर्ने बताएका थिए । मन्त्री जस्तो पदमा बसेर क्रिस्चियन पादरीले दिने अभिव्यक्ति दिएर धार्मिक भावनामा चोट पुर्याएको भन्दै सर्वत्र उनको राजीनामाको माग उठेको छ ।
एमालेलाई राष्ट्रियसभामा सीट दिने विषयमा माधवकुमार नेपालको आपति
नेपाल एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमाललेलाई राष्ट्रिय सभामा सिट दिने प्रधानमन्त्ती प्रचण्डको प्रस्तावमाथि विमति जनाएका छन् । बिहीबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा अध्यक्ष नेपालले यस्तो विमती जनाएका हुन् । टीआरसी विधेयकमा सहमतिको शर्त अघि सार्दै एमालेलाई पनि राष्ट्रियसभामा सीट दिन कांग्रेस र माओवादी सकारात्मक देखिएपनि अध्यक्ष नेपालले भने विमती जनाएका हुन् । अध्यक्ष नेपाल केपीओलीसँगको नकरात्मक सम्बन्धका कारण पनि नेकपा एमालेलाई पछि पार्न खोज्छन् ।
अध्यक्ष नेपालले एमाललेलाई राष्ट्रिय सभामा कुनै पनि सिट दिनुहुन्न भन्ने पक्षमा उभिदैँ प्रधानमन्त्ती प्रचण्डलाई भने,’ यस विषयमा एमालेलाई सिट दिने नदिने विषय पाटीका अध्यक्षहरुबीच फरक हुन्छ ।’ उनले सहमति र असहमतिको दोष बालुवाटार भएकाले निर्णय प्रक्रियामा मजबुद्ध हुनुपर्ने बताए । एमालेले टीआरसी विधेयक पास गर्नको लागि राष्ट्रियसभामा ६ सीट मागेको प्रधानमन्त्रीले गठबन्धनको बैठकमा नै उल्लेख गरेका छन् ।
निलम्बन फुकुवापछि सांसद कोइरी पहिलोपटक संसदीय समितिमा
नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी बिहीबार संसदीय समितिमा सहभागी भएका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेपछि निलम्बनमा परेका उनी निलम्बन फुकुवा भएसँगै पहिलोपटक बिहीबार संसदीय समिति बैठकमा सहभागी भएका हुन् । गत १९ वैशाखदेखि निलम्बनमा परेका कोइरी बिहीबार उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उपस्थित भएका हुन् । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले यही ८ पुसमा सांसद कोइलीको निलम्बन फुकुवा गरेका थिए ।
युद्धग्रस्त रुस र युक्रेनका लागि श्रम स्वीकृति रोक
सरकारले युद्धग्रस्त देश रुस र युक्रेनका लागि श्रम स्वीकृति दिन रोक लगाएको छ । वैदेशिक रोजगार विभागले आज (बिहीबार) एक सूचना जारी गर्दै यी देशमा व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति दिन रोक लगाइएको जनाएको हो । नेपाली नागरिकहरू यी देशमा जाँदा हुनसक्ने थप क्षतिलाई न्यूनीकरण गर्न र यस विषयलाई मध्यनजर गरी हाललाई अर्को व्यवस्था नभएसम्म श्रम स्वीकृति स्थगन गरिएको विभागको भनाइ छ । नेपालीहरू विभिन्न माध्ययम तथा उद्येश्यले रुसमा पुगेर त्यहाँको सेनामा भर्ती भएका छन् । यसरी भर्ती भएकाहरूमध्ये अहिलेसम्म १० जनाको निधन भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै चार जना युक्रेनी सेनाको कब्जामा छन् ।
नागरिकले मलाई देश बचाउन बोलाइरहेछन् : पूर्वराजा ज्ञानेन्द्र
पूर्वराजा ज्ञानेन्द्र शाहले नागरिकले आफूलाई देश बचाउन बोलाइरहेको बताएका छन् । विहिबार भैरहवामा नागरिक अभिनन्दन ग्रहण गर्दै पूर्वराजा ज्ञानेन्द्रले आफु जता गए पनि नागरिकले आऊ, देश बचाऊ भन्ने सुनिरहेको बताएका हुन् ।
सम्बोधनको क्रममा उनले आफु कतै नगएर नेपालीहरुको पिडालाई नियालिरहेको बताएका छन् । उनले भने– ‘म जता जाऊँ, जहाँ पुगौं, जनआवाज उठेको सुन्छु– मलाई आऊ, हाम्रो देश बनाऊ र देश बचाऊ । देशको सभ्यता र समृद्धि बढाऊँ । यहाँ उभिएर म भन्दछु– म बोलिरहेछु, देश बनोस्, देश बचोस् भन्ने आफ्ना पुर्ख्यौली भावना, इच्छा, आकांक्षा पोखिरहेछु । म अन्त गएको छैन, सदासदा नेपालीका साथमा छु, नेपालभित्रै छु । नेपालीहरूको सुख–दुःख, सुविधा, असुविधा, बाधा, पीडा तथा हिजो आजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु ।’
उनले सदाचारी राजनीतिको युग बितिसकेको भन्दै नेपाल भित्र हुने र गरिने राजनीतिक परिवर्तनमा कुनै न कुनै प्रकारले भित्र तथा बाह्य शक्तिको टेको चाहिन्छ भन्ने भाष्य रहेको बताए ।
पूर्व राजा ज्ञानेन्द्रले सबै एक ठाउमा उभिएर समिक्षा गरेर राम्रो मार्ग चित्र तयार गर्न आग्रह गरेका छन् । उनले भनेका छन्– ‘ आउँ अब हामी सबै एकै ठाउमा उभियौं अनि सोचौं र सबै कुराको समिक्षा गरेर एउटा राम्रो मार्ग चित्र तयार गरौँ । देश हामीले नै बनाउने हो– हाम्रो स्रोतसाधनको परिचालन गरेर देशको समृद्धि हामीले नै अघि बढाउने हो ।’
भूकम्पपछिको पुनःनिर्माणका लागि भारतले १० अर्ब सहयोग गर्ने
जाजरकोट र रुकुम पश्चिममा भूकम्पले क्षति पु¥याएको संरचना पुनःनिर्माणका लागि भारतले १० अर्ब सहयोग गर्ने भएको छ ।
काठमाडौंमा आयोजित नेपाल–भारत संयुक्त आयोगको बैठकमा भारतले भूकम्पबाट भत्किएको संरचना पुनःनिर्माणका लागि एक हजार करोड (१० अर्ब) सहयोग गर्ने विषयमा सहमति भएको हो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बैठकमा चार बुँदे सम्झौता पत्रमा हस्ताक्षरसमेत भएको बताए । जसमा १० वर्षमा १० हजार मेगावाट बिजुली भारतलाई निर्यात गर्ने, नेपालले बनाएको स्याटलाइट भारतको सहयोगमा प्रक्षेपण गर्नेलगायत रहेका छन् । बैठकमा तीन वटा १३२ केभीको अन्तरदेशीय प्रसारणलाइनको उद्घाटन भएको प्रवक्ता राईले बताए । बैठकमा नेपाल र भारतको समग्र विषयमा समीक्षा हुनुको साथै आगामी दिनमा यसलाई कसरी सुदृढ बनाउँदै लैजाने विषयमा छलफल भएको उनले बताए ।
वायुसेवा निगमका विमान चालक शाहको नक्कली शैक्षिक प्रमाणपत्र , विशेष अदालतमा रिट दायर
नेपाल वायुसेवा निगममा कार्यरत विमान चालक सम्राट बहादुर शाहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको पुष्टि भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत काठमाडौँमा नक्कली प्रमाणपत्र विरुद्ध रिट दायर गरेको छ । २०७१ /११/१० गते क्याप्टेन पदमा नियुक्त भएका सम्राट आठौँ तहका क्याप्टेन हुन् ।
सम्राट बहादुर शाहले भारतको Secondary Education Council, Utter Pradesh अन्तर्गत V S J INTER COLLEGE SARAHARI GORAKHPUR बाट Intermediate Examination, 2003 (प्राइभेट परीक्षा) प्रथम श्रेणीमा उत्तीर्ण सहितको झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी विमान चालकको रुपमा नियुक्ती लिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
नक्कली प्रमाणपत्र लिएर विमान चालकका रुपमा नियुक्त भएको उजुरी आधारमा अनुसन्धान गर्दा सोही कुरा पुष्टि भएपछि अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको शाहलाई प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजायका लागि बिहीबार बिशेष अदालत काठमाडौंमा रिट दायर गरिएको जनाएको छ ।
चार सम्झौतामा हस्ताक्षर गर्दै नेपाल–भारत संयुक्त आयोगको बैठक सम्पन्न
नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक विभिन्न चारवटा सम्झौतामा हस्ताक्षर गर्दै सम्पन्न भएको छ । बैठकमा द्विपक्षीय सम्बन्धका समग्र विषयका साथै आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा भएको थियो । दुवै देशबीच सम्पर्क सञ्जाल विस्तार, व्यापार, जलस्रोत, ऊर्जा व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतका विदेशमन्त्री एस जयशङ्करको उपस्थितिमा ती सम्झौतामा हस्ताक्षर भएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार सरकारी संस्था वा अन्य कुनै पनि संस्थामार्फत उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनका लागि भारतीय अनुदान सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
यसैगरी दुई देशबीच दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्न सकिनेछ । नेपाल विद्युत् प्राधिकरण र भारत सरकारको नेशनल थर्मल पावर कर्पारेशनबीच नवीकरणीय ऊर्जा विकासका लागि सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र भारतीय अन्तरिक्ष अनुसन्धान संस्था तथा अन्तरिक्ष विभागका तर्फबाट न्यू स्पेस इण्डिया (एनएसआईएल) बीच ध्रुवीय उपग्रह प्रक्षेपण वाहनमा मुनाल उपग्रह प्रक्षेपण सेवासम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको छ । आजै दुई देशबीच १३२ किलोभोल्ट क्षमताका रक्सौल परवानीपुर, कुशाहा कटैया र न्यू नौतनवा मैनाहिया अन्तरदेशीय प्रसारण लाइनको उद्घाटन गरिएको छ । भूकम्पपछिको पुनः निर्माणका लागि भारत सरकारले रु १० अर्ब अनुदान सहयोग गर्ने घोषण गरेको छ ।
चक्कू प्रहारबाट घाइते दक्षिण कोरियाली विपक्षी नेता लीको स्वास्थ्यमा क्रमिक सुधार
घाँटीमा धारिलो हतियार प्रहार हुँदा घाइते बनेका दक्षिण कोरियाली विपक्षी दलका नेता ली जे–म्युङको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको तर जटिलताबाट बच्न कडा निगरानीको खाँचो रहेको सियोल नेसनल युनिभर्सिटी अस्पतालका चिकित्सकले बिहीबार बताएका छन् । लीलाई दक्षिणी बन्दरगाह शहर बुसानमा मङ्गलबार पत्रकारहरूसँगको कुराकानीपछि गाडीतर्फ जाने क्रममा समर्थकको रूपमा आएका एक व्यक्तिले धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएका थिए । उनको घाँटीको बायाँ भागमा चक्कुको चोट लागेको थियो ।
टाउकोबाट शरिरमा रगत जाने नसामा चोट लागेका लीलाई तत्काले स्थानीय अस्पतालमा लगिएको थियो । उपचार त्यहाँ सम्भव नभएपछि नेता लीलाई पछि राजधानी सियोल लगी करिब दुई घण्टा लामो शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गर्ने चिकित्सक मिन सेउङ–कीका अनुसार लीको ‘भाग्यवश स्वास्थ्यमा सुधार आएको छ ।” लीको मांसपेशीमा १.४ सेन्टिमिटर छेडिएको घाउ देखिएको र घाँटीमा रगत जमेको भएपनि शल्यक्रियापछि उहाँको स्वास्थ्यमा सुधार देखिएको हो । चक्कूले ‘भित्री नशा (जुगुलर भेन) करिब ६० प्रतिशत भाग काटेको’ सर्जन चिकित्सकले बताएका छन् ।
मिनले भने– “भाग्यवश धमनी, मस्तिष्क तन्त्रिका, घाँटी वा वायुमार्गमा क्षतिको कुनै सङ्केत थिएन । लीको स्वास्थ्य तत्काल खतरामुक्त भए पनि अझै चिकित्सकीय निगरानी आवश्यक छ, किनकि घाउमा सङ्क्रमण भई उपचारमा जटिलता आउनसक्छ ।” लीको शल्यक्रियापछि सियोल अस्पतालले बिहीबार पहिलो पटक स्वास्थ्य अवस्थाबारे दिएको जानकारीमा पार्टी नेतालाई बुधबार सघन उपचार कक्षबाट जनरल वार्डमा स्थानान्तरण गरिएको बताइएको छ । लीको डेमोक्रयाटिक पार्टीले आक्रमणकारीको चक्कु उनको नसामा नभई उनको धमनीमा लागेको भए उहाँको मृत्यु हुनसक्ने बताएको छ ।
योनहाप समाचार संस्थाका अनुसार बुसानको एक अदालतले हत्या प्रयासको अभियोगमा ६६ वर्षीय संदिग्ध व्यक्तिविरुद्ध अभियोजन पक्षले दायर गरेको पक्राउ पुर्जी बिहीबार पुनरावलोकन गर्ने भएको छ ।




