मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

पौष १८ बुधबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । बुधबार तयार पारिएको मुख्य १० समाचारमा एमसीसी खारेजीविरुद्ध परेको मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश देखि राष्ट्रिय सभामा एमालेलाई सिट छुट्याउने प्रचण्ड कदम कांग्रेसका लागि आत्मघाती सम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

एमसीसी खारेजीविरुद्ध परेको मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले बुधबार उक्त मुद्दामा कारण देखाउ आदेश जारी गर्दै छलफलमा झिकाउन अन्तरिम आदेशसमेत जारी गरेको छ ।

वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, अधिवक्ता स्वागत नेपाललगायतले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई २०७९ मा सर्वोच्चमा एमसीसी खारेजीको मागसहित सर्वोच्चमा मुद्दा दर्ता गराएका थिए । नेपालमा एमसिसी संसदबाट पास भई कार्यान्वयनसहित सुरु हुन थालेपछि सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो । सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि समेत बोलाएको छ ।

नेपालको राजनीति नयाँ नेतृत्वको हातमा पर्न सकेन ः महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको राजनीति नयाँ नेतृत्वको हातमा पर्न नससकेकाले राजनीतिमा तत्काल परिवर्तन आउन नसकेको बताए । विगत लामोसमयदेखि नेतृत्व चयनमा प्रधानमन्त्री तथा पुर्वप्रधानमन्त्रीको हात अघि लम्कने भएकाले नेतृत्व शक्ति कम्जोर बन्दै गएको समेत उनले बताए ।

बुधबार काठमाडौंमा पूर्वकर्मचारी समाज नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् । उनले भने , हरेक निर्वाचनमा हरेक पाटीले आफ्नो राजनीति शक्तिलाई मजबुद्ध बनाएर गठबन्धन विना प्रतिस्पर्धा गर्न नसक्ने प्रवृतिका कारण नेपालमा सस्या झन थपिदैँ गएको छ ।’

नेपालको सन्दर्भमा प्रजातान्त्रिक मुलुकमा यस्तो हुनु दुःखद भएको उनले गुनासो गरे । यस्तो प्रवृतिले नेपालको समग्र परिवर्तनमा चाँडै फड्को मार्न नसकिने उनले बताए । राजनीतिमा धरै प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको क्रियाशीलता नेपालमा जस्तो अन्य देशमा नभएको उनको भनाइ छ । यस्तो प्रवृतिले नेपालको संविधानले परिकल्पना गरेबमोजिमको नेतृत्व शक्ति राजनीतिमा नजन्मने उनले बताए ।

उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त, १६ जनाको सरुवा

न्याय परिषद्ले देशभरका उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ । बुधबार बसेको न्याय परिषदको बैठकले उच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको हो ।जसमा २६ जना जिल्ला न्यायाधीश, नौजना कानुन व्यवसायी र चारजना कर्मचारीतर्फबाट न्यायाधीश नियुक्त भएका छन् । नियुक्ति भएकामा राजेन्द्र अधिकारी, वसन्तराज पौडेल, पूर्णेश्वरप्रसाद उपाध्याय, केशवप्रसाद बास्तोला, जयानन्द पनेरु, खगकबहादुर केसी, सूर्यनाथप्रसाद अधिकारी, कैलाशप्रसाद सुवेदी, मातृकाप्रसाद मरासेनी, ओमप्रसाद अर्याल, भरत लम्साल, कृपासुर कार्की, हेमन्त रावललगायत छन् ।

परिषद्ले उच्च अदालतका १६ न्यायाधीशलाई सरुवा गरेको छ । सरुवा हुने न्यायाधीशमा कृष्ण गिरी, टेकनारायण कुँवर, वामदेव ज्ञवाली, खुसीप्रसाद थारु, तेजनारायणसिंह राई, शकुन्तला घिमिरे, जगतबहादुर थापा, सरलाकुमारी पाण्डे, अञ्जु उप्रेती ढकाल, गीताप्रसाद तिम्सिना, राजुराम सिलवाल, मिना सेढाई गौतम, रेखा थापा पाण्डे, सागर विष्ट र गणेश ठाकुर छन् ।

पूर्वराजा ज्ञानेन्द्र र राप्रपाका पाँच शीर्ष नेताको भेटवार्ता

राप्रपाका पाँच शीर्ष नेताले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । बुधबार कपिलवस्तुको भैरहवामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवलशमशेर राणा र दीपक सिंहले भेटघाट गरेका हुन् । केही दिनदेखि पश्चिम नेपालको भ्रमणमा रहेका ज्ञानेन्द्रले फोन गरेरै राप्रपाका पाँच नेतालाई भैरहवा बोलाएका थिए । सबैजना बुधबार बिहान भैरहवा पुगेका हुन् । पूर्वराजा केही दिनदेखि भैरहवामा अड्डा जमाएर बसेका छन् ।

पूर्वराजा र राप्रपाका नेताहरूबीचको भेटवार्ताबारे केही खुलाइएको छैन । राप्रपा अहिले राजतन्त्र पुनःस्थापनाको आन्दोलनमा छ । उसले माघ र फागुनमा उपत्यका केन्द्रित आन्दोलनको घोषणा गरेको छ । त्यही पेरिफेरिमा राप्रपाका नेताहरुसँग शाहले कुराकानी गरेको बताइन्छ ।राप्रपा उपाध्यक्ष मिश्रका अनुसार पूर्वराजाले भेटमा ‘हामी सबैले धेरै देख्यौ बुझ्यौँ। म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु। मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो। सबै नेपाली मेरो लागि बराबर छन्’ भनेका थिए ।

सूर्य दर्शन सहकारी ठगी प्रकरणमा दुई जनालाई जेल चलान

सूर्य दर्शन सहकारी ठगी प्रकरणमा पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र सञ्चालक भविश्वर अर्याललाई जेल चलान गरिएको छ। बुधबार कास्की जिल्ला अदालतले सुनुवाइपछि पुर्पक्षका लागि थुनामा राख्न उनीहरुलाई आदेश दिएको स्रोतले जनाएको छ । न्यायाधीश वसन्तजंग थापाको एकल इजलासले महेन्द्र र भविश्वरलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। गत भाद्र २४ गते पक्राउ पुर्जी जारी भएपछि फरार भएका उनीहरुले मंगलबार अदालतमा हाजिर भएका थिए ।

जेल चलान भएका गुरूङ प्रमुख प्रतिपक्षी नेकपा एमालेनिकट युवा संघ नेपालका केन्द्रीय उपमहासचिव रहेको खुलेको छ। सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परेपछि पुर्पक्षका जेलमै छन् । पोखरामा गितेन्द्र (जीबी) राई अध्यक्ष रहेको समूहले खोलेको सूर्यदर्शन सहकारीमार्फत बचतकर्ताको रकम अपचलन गरेको उजुरीका आधारमा १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएपश्चा जिबी राईसहित १९ मध्ये चार थुनामा पुगेका छन् भने अझै १५ जना फरार सुचिमा नै रहेका छन् । जिल्ला अदालत कास्कीमा दर्ता सहकारी ठगी मुद्दा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरवालालाई दिलाउन माग गरिएको छ।

छानविन प्रतिवेदनका अनुसार विगतमा संचालनमा रहेको र हाल बन्द भएको ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्ष रहेका जीबी राईले पोखराको सूर्यदर्शन सहकारीबाट १० करोड रुपैयाँ गैरकानुनी रूपमा लिएका थिए । उक्त सहकारी प्रकरण राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछानेको नाम समेत उक्त प्रकरणमा आएको तर उनले आफ्नो संलग्नता नरहेको बताउँदै आएका छन् । उक्त सहकारी प्रकरणमा समाचार प्रकारशन गर्ने कान्तिपुर र इ –कान्तिपुरको विरुद्धमा अदालतमा मुद्धा दर्ता गरेका छन् ।

शिक्षा सुधारको माग गर्दै मन्त्रीलाई नेविसंघको ज्ञापनपत्र

नेपाल विद्यार्थी संघले समग्र शिक्षा प्रणालीको सुधार र विश्वविद्यालयहरुमा भइरहेको राजनीतिकरण अन्त्य गर्न माग गर्दै शिक्षामन्त्री अशोक राईलाई ज्ञापनपत्र बुझाएको छ । बुधबार नेविसंघका नेता कार्यकर्ताहरु सिंहदरबार पुगेर विश्वविद्यालयमा दलीयकरणको अन्त्य तथा खुल्ला प्रतिस्पर्धावाट मेरिटोक्रेसी र प्राज्ञिक दक्षताका आधारमा पदाधिकारी नियुक्तसहित समग्र शिक्षा क्षेत्रको सुधार गर्न माग गर्दै मन्त्री राईलाई ज्ञापनपत्र बुझाएको केन्द्रीय सदस्य ई.भुवन भट्टले जानकारी दिए ।

नेविसंघको ज्ञापनपत्रमा त्रिविलगायत देशभरका विश्वविद्यालयहरुमा भइरहेको लापरबाही, अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न छानबिन समिति गठनको माग समेत गरिएको छ ।

इजरायली सेनाको आक्रमणमा हमासका उपप्रमुख मारिए

इजरायली सेनाको आक्रमणमा हमासका उपप्रमुख सोलह अल अरौरीको मृत्यु भएको छ । मंगलबार राति लेबनानी लडाकु समूह हिजबुल्लाहको गढ बेरुतको दक्षिणी उपनगर दहियाहमा आक्रमण गर्दा अरोरी मारिएको इजरायली सेनाले जनाएको छ ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सीले हमासको कार्यालयमा ड्रोनले आक्रमण गरेको जनाएको छ । हमास र लेबनानको सुन्नी इस्लामी जमाआ इस्लामिया समूहबीचको बैठकलाई लक्षित गरिएको आक्रमणमा चार प्यालेस्टिनी र तीन लेबनानीको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

हमासले अक्टोबर ७ मा इजरायलमा गरेको घातक हमलापछि प्यालेस्टिनी क्षेत्रबाहिर इजरायलले प्यालेस्टिनी समूहका अधिकारीलाई लक्षित गरी हत्या गरेको यो पहिलो घटना हो । हमासले अरौरीको हत्याको पुष्टि गर्दै कासम ब्रिगेडका अधिकारी समीर फिन्डी अबू आमेर र अजाम अल–अक्रा अबु अम्मर पनि मारिएको बताएको छ । साथै यसको बदला लिने पनि हमासले चेतावनी दिएको छ ।

सशस्त्र प्रहरी महिला क्रिकेट टिमकी ब्याटर ज्योति पाण्डेद्धारा सन्यासको घोषणा

सशस्त्र प्रहरी टिमको महिला क्रिकेट टिमकी ब्याटर ज्योति पाण्डेले घरेलु तथा राष्ट्रिय टिमबाट सन्यास लिएकी छिन् । प्रधानमन्त्री कप महिला टी–२० कपको फाइनलमा कोशी प्रदेशमाथि ११ रनको जित हात पार्दै सशस्त्र प्रहरी क्लबलाई च्याम्पियन भएपछि ज्योतीले क्रिकेटबाट सन्यासको घोषणा गरेकी हुन् । सन् २०१६ मा नेपालको लागि अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेकी उनले अन्तिम पटक २०२१ मा कतारविरुद्ध खेलमा सहभागिता जनाएकी थिइन् ।

महाकाली करिडोर : दुई सय ४१ किमी ट्र्याक खोलियो

महाकाली करिडोरअन्तर्गत कञ्चनपुरदेखि दार्चुला खण्डमा हालसम्म दुई सय ४१ किलोमिटर ट्र्याक खोलिएको छ । अब डडेल्धुरा, बैतडी र दार्चुलामा ९३ किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको महाकाली करिडोर आयोजना कार्यालयका प्रमुख लक्ष्मणदत्त जोशीले जानकारी दिए ।

“बाँकी स्थानमा तीव्र गतिमा ट्र्याक खोलिएको छ । रुख कटानको आदेश आएको छ”, आयोजना प्रमुखले भने, “ट्र्याक खोलिएको खण्डमा कालोपत्र गर्ने तयारी भइरहेको छ ।” डडेल्धुराको सिमल्टा–भागेश्वर–सुनर्या खण्डको ३१ किलोमिटर खण्डमा २० महिनापछि रुख कटानको आदेश आएको छ । डडेल्धुरा खण्डमा दुई हजार छ रुख काट्नुपर्नेछ । बैतडीको सुनर्या–दोगडाकेदार ३५ किलोमिटर खण्डमा ३५ किलोमिटर खोल्ने काम भइरहेको छ । दार्चुलाको २७ किलोमिटर धनथला–सलेती खण्डको पनि कटान आदेश आएर ट्र्याक निरन्तर रुपमा काम भइरहेको आयोजनाले जनाएको छ ।

ट्र्याक खोलिएको ३७ किलोमिटर खण्डमा कालोपत्रका लागि सडक स्तरोन्नतिको काम पनि जारी छ । “डडेल्धुरा खण्डको पाँच किलोमिटर स्तरोन्नतिको काम चालु आर्थिक वर्षमा सकिन्छ”, आयोजना प्रमुख जोशीले भने, “दार्चुला खण्डमा अहिले सडक चौडा गर्ने र नाली बनाइरहेका छौँ ।” महाकाली करिडोरअन्तर्गत पर्ने १९ हजार ६६ रुख काट्नुपर्ने उनले बताए ।

करिडोर बनेपछि सुदूरपश्चिमको कायाकल्प हुने यस क्षेत्रका स्थानीयको विश्वास छ । विसं. २०६५÷०६६ देखि महाकाली करिडोरको काम थालिएको भए पनि दशक बितिसक्दा पनि सम्पूर्ण सडकको ट्र्याक खुलेको छैन । कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाका विकट क्षेत्र जोड्दै चीनको सिमानासम्म पुग्ने यो सडकले सुदूर पहाडको आधाभन्दा बढी भूभागलाई तराईसँग जोड्ने छ ।

कञ्चनपुरदेखि दार्चुलासम्म चार सय २५ किलोमिटर सडक निर्माण हुने छ । ब्रह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्म तीन सय ३४ किलोमिटर सडक महाकाली करिडोर सडक आयोजनाले निर्माण गरिरहेको छ । तुसारपानीदेखि तिङ्करसम्म ९१ किलोमिटर सडकको ट्र्याक नेपाली सेनाले खोली रहेको छ । सुदूरपश्चिमको समृद्धिसँग जोडिएको महाकाली करिडोरको काम चाँडो पूरा गर्न स्थानीयले माग गरेका छन् । “महाकाली करिडोर बन्ने भनेर सुनेको दशकौँ भइसक्यो । अहिलेसम्म बनेको छैन । यो बाटो निर्माण भए हामीलाई धेरै सजिलो हुन्छ”, भीमदत्त नगरपालिका–९ खल्लाका श्याम बुढाले भने, “त्यसैले करिडोर निर्माणमा अब ढिलासुस्ती हुन हुँदैन ।”

राष्ट्रिय सभामा एमालेलाई सिट छुट्याउने प्रचण्ड कदम कांग्रेसका लागि आत्मघाती

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन नजिकिएसँगै सत्ता गठबन्धनले सिट बाँडफाँटबारे छलफल सुरु गरेका छन् । मंगलबारदेखि औपचारिक छलफल सुरु भएको हो । बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । कांग्रेसका तर्फबाट छलफलमा सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता रमेश लेखक तथा माओवादीबाट अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुनबीच छलफल भएको हो।

छलफल सकिएलगत्तै प्रचण्ड र देउवा राष्ट्रिय सभा सदस्यमा एमालेलाई पछि सिट छुट्याउन राजी भएको समाचार भाइ्ररल बनेको छ । जबकि सत्ता गठबन्धनमा एमालेले जितेका नौ र एक स्वतन्त्रले जितेको गरी १० सिटमा गठबन्धनमा भागबन्डा गर्ने सहमति भएको थियो । यस विषयमा छलफल गर्न कांग्रेस, माओवादी, जनता समाजवादी र एकीकृत समाजवादीबीच बुधबार अपराह्न ३ बजे बालुवाटारमा छलफल हुने भएको छ। पहिले चार दलबीच छलफल गर्ने र लगत्तै प्रमुख प्रतिपक्षी एमालेसँग छलफल गर्ने तयारी छ ।

सत्ता गठबन्धनबीच माघ ११ मा हुने चुनावका लागि सिट बाँडफाँटका विषयमा छलफल हुन लागेको हो। एमालेसँग भने शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नेलगायत विषयमा पनि छलफल गर्ने तयारी दलहरूको छ। तर प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच केही दिनयता सम्बन्ध सुधार हुँदै गएकाले राष्ट्रिय सभामा एमालेलाई भाग दिन प्रधानमन्त्रीले कांग्रेसलाई मनाउन खोजेको स्रोतले बतायो । एक वर्षपछि सहमतिअनुसार प्रचण्डले प्रधानमन्त्री कांग्रेसलाई छाड्नुपर्ने हुन्छ । अहिलेदेखि नै एमालेलाई सँगसँगै लैजान सके कांग्रेसलाई प्रधानमन्त्री छोड्नु नपर्ने, एमालेसँग मिलेर सरकार चलाउन सकिने प्रचण्डको बुझाई छ । त्यही भएर प्रचण्डको लहलहैमा लागे राष्ट्रिय सभा निर्वाचन कांग्रेसका लागि आत्मघाती बन्ने नेताहरुको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *