मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

पौष १७ मंगलबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो ।मंगलबार तयार पारिएको मुख्य १० समाचारमा जापानमा विमान आगलागीको घटनामा ५ जनाको मृत्यु देखि बालकुमारी घटनामा मृत्यु भएका दुई युवाको शव सेनाको हेलिकप्टरबाट सुर्खेत लगियो सम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

जापानमा विमान आगलागीको घटनामा ५ जनाको मृत्यु

टोकियो । जापानको राजधानी टोकियोको हानेदा विमानस्थलमा यात्रु विमान अवतरणको क्रममा कोस्ट गार्डको विमानसँग ठोक्किएपछि विमानमा आगो लागेको छ । यस घटनामा कोस्ट गार्डको विमानमा रहेका ६ चालक दलका सदस्यमध्ये ५ जनाको मृत्यु भएको जापानी मिडियाले उल्लेख गरेका छन् । सो विमानका पाइलट भने विमानबाट बाहिर निस्किन सफल भएका थिए ।

जापान एयरलाइन्सका एक प्रवक्ताले यात्रुवाहक विमान ३६७ यात्रु र १२ जना चालक दलका सदस्यसहित अवतरण गर्ने क्रममा सो घटना भएको थियो । विमानबाट सबैलाई सकुशल बाहिर निकालिएको छ । कोस्ट गार्डको विमानले भूकम्प प्रभावित क्षेत्रमा अत्यावश्यक सामान पु¥याउन गइरहेको थियो । जापानको यातायात मन्त्रालयले यस विषयमा अनुसन्धान गरिरहेको छ । विमानमा आगलागी भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यसमा दमकलले आगो निभाउने प्रयास गरिरहेको देखिन्छ ।

राष्ट्रिय सभा निर्वाचनमा एकिकृत समाजवादीले नयाँलाई अवसर दिने

एकीकृत समाजवादी पाटीले पाटीलाई परिमार्जन तथा पाटीको नेतृत्व शक्तिलाई मजबुद्ध बनाउने उदेश्यले राष्ट्रिय सभा निर्वाचनमा नयाँलाई प्राथमिता दिने भएको छ । एक पटक निर्वाचनमा पराजित भएका तथा समानुपातिकमा नाम भएकालाई राष्ट्रिय सभा निर्वाचनमा सावेश नगर्ने एकिकृत समाजवादीले मापदण्ड तय गर्ने जनाइएको छ ।

एक पटक निर्वाचनमा पराजय भएकाहरु र समानुपातिकमा नाम भएकाहरुले आगामी राष्ट्रिय सभा निर्वाचनका लागि तयारी थालेपछि उनीहरुलाई यसपटक मौका नभएको एकिकृत समाजवादी पाटीले जनाएको छ । यसरी नयाँलाई अवस दिने प्रणालीले नयाँ जोस र नयाँ भिजनले पाटीलगायत जनताका लागि काम गर्न उप्रेरित गर्छ ।

एकिकृत समाजवादी पाटीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार उम्मेदवारी दर्ता गर्नुअघि पार्टी सचिवालय बैठक बसेर मापदण्ड तय गर्नेछ । चुनाव हारेका र समानुपातिक सूचीमा नाम लेखाएकाहरू माघ ११ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाउन नहुने उनको भनाइ छ । उनले उक्त विषयमा पाटीमा कुरा राखेर पाण्डेको कुराप्रति पाटी सहमति भएको तर निर्णयमा पुग्न बाँकी रहेको उनले बताए ।

अवहेलना मुद्दामा सर्वोच्चले माग्यो सरकारसँग जवाफ

फागुन २० बाट रिक्त हुने २० पदमध्ये माघ ११ गते १९ पदमा निर्वाचन हुँदै छ । त्यसमध्ये एकीकृत समाजवादीका नन्दा चपाई र सिंहबहादुर विकको अवधि सकिँदै छ । कर्णालीबाट चपाई र बागमतीबाट विकका साथै एकीकृत समाजवादीकै चुनाव चिह्नबाट चुनाव लडेका खिमलाल देवकोटाको स्थान र थप एक सिट पाउनुपर्ने सो पार्टीले जनाएको छ ।

काठमाडौं । सर्वोच्च अदालतले जलवायु परिवर्तनसम्बन्धी कानुन बनाउन दिएको परमादेश बमोजिम हालसम्म कानुन नबनाएको जिकिर गर्दै दायर गरेको अदालतमा अवहेलनासम्बन्धी मुद्दामा सरकारसँग लिखित जवाफ माग गरेको छ ।

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज जलवायु परिर्वतनसम्बन्धी कानुन किन नबनाएको भन्ने विषयमा सरकारसँग १५ दिनभित्र लिखित जवाफ माग गरेको हो । अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतले २०७५ पुस १० गते दिएको परमादेशअनुसार सरकारले अहिलेसम्म पनि कानुन नबनाएको उल्लेख गर्दै यही पुस ५ गते अवहेलनासम्बन्धी मुद्दा दायर गरेका थिए ।

जलवायु परिवर्तनलाई अनुकुलन तथा न्यूनिकरण गर्ने सन्दर्भमा छुट्टै कानुन निर्माण गरी समस्याको सम्बोधन हुन जरुरी भएकाले जलवायु परिवर्तनसम्बन्धी एकीकृत कानुन यथासीध्र निर्माण गरी लागू गर्नु गराउनु भन्ने अदालतको आदेशमा उल्लेख छ ।

नेविसंघद्धारा विश्वविद्यालयका उपकुलपति खुला प्रतिस्पर्धाबाट नियुक्तिको माग गर्दै प्रदर्शन

नेपाल विद्यार्थी सङ्घले विश्वविद्यालयका उपकुलपति तथा पदाधिकारीहरू खुला प्रतिस्पर्धाबाट नियुक्तिको माग गर्दै प्रदर्शन गरेका छन् । नेविसंघले विश्वविद्यालयमा भएको दलियकरण र राजनीतिक हस्तक्षेप को अन्त्यका लागि मंगलबार बिहान ९ः३० बजे,प्रदर्शनी मार्ग, आर आर क्याम्पस अगाडि सडक बहस आयोजना गरेको ने वि संघ केन्दीय सदस्य बिजय ढुंगानाले जानकारी दिए ।

सो बहस कार्यक्रममा नेविसंघका विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न माग गरेका छन् । मङ्गलवार अपराह्न सम्पन्न कार्यक्रममा सहभागीहरूले ‘प्रतिस्पर्धाबाट उपकुलपति, बढ्छ विश्वविद्यालयको गति’, ‘अति भए खती हुन्छ, खती हुन नदिऔँ’, ‘अब त टियु सुधार गरौँ’ भन्ने लगायतका ब्यानर प्रदर्शन गरेका थिए ।

बिजय ढुंगाना अनुसार नेविसंघले विश्वविद्यालयमा भएको दलिय हस्तक्षपको अन्त्य गर्ने विषयमा निरन्तर आवाज उठाइरहेको छ । नेविसंघले पुस १६ मा राष्ट्रिय मेलमिलाप दिवस को दिनमा आग्रह, अबको मेलमिलाप हाम्रा विश्वविद्यालयको सुधार र शिक्षाको दलियकरण र राजनीतिक हस्तक्षेप अन्त्यको लागी भन्दै नेपाली कांग्रेसले प्रज्ञा भवन कमलादीमा आयोजना गरेको कार्यक्रम स्थलमा ब्यानर समेत राखेका थिए, जुन आयोजकले जबरजस्ती हटाएको थियो। उक्त कार्यक्रममा नेविसंघले प्रमुख दलका प्रमुख नेता तथा अन्य उपस्थित नेताहरूलाई पत्र समेत बाँडेका थिए। यस्तै नेविसंघले त्रिभुवन विश्वविद्यालय को उपकुलपति तथा पदाधिकारी को नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट गर्नुपर्ने माग राख्दै प्रधानमन्त्रीलाई पत्र अभियान समेत चलाएको छ।

पूर्व सहकारी रजिष्ट्रार पराजुली पुर्पक्षका लागि थुनामा

सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिष्ट्रार उदयबहादुर पराजुलीसहित चार जना पुर्पक्षाका लागि कारागार चलान भएका छन्। कास्की जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यको इजलासले उनीहरुलाई पुर्पक्षका लागि कारागर पठाउन आदेश दिएको हो। थुनामा जानेमा सहकारीका सञ्चालक गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बरालसमेत हुनुहुन्छ। कास्कीको मित्रमिलन सहकारीको कार्यक्षेत्र थप गर्न रकम लिएको आरोपमा प्रहरीले पराजुलीलाई पुस ११ गते पक्राउ गरेको थियो।

उनले कार्यक्षेत्र थप गर्न भनी एक करोड पाँच लाख रुपैयाँ लिएको अनुसन्धानका क्रममा देखिएको थियो। हाल पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहनुभएका पराजुली जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भएका थिए । जिल्ला अदालत कास्कीबाट गएको मङ्सिर २६ गते ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। अनुसन्धानका क्रम संलग्नता पुष्टि भएपछि पछि थप दुई जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो।

सहकारी रजिष्ट्रार कार्यालयको प्रतिवेदनले २६ करोड रुपियाँ अपचलन भएको देखाएको छ। मित्रमिलनको रकम अपचलन अभियोगमा अहिलेसम्म पराजुलीसहित छ जना पक्राउ परिसकेका छन्। पोखरा २१ का वडाध्यक्ष दीपक सुवेदीसहित दुई दर्जनभन्द बढी अझै फरार छन्। फरारहरुको खोजी भइरहेको र सहकारीमा भएको ठगीबारे अनुसन्धान जारी रहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले बताए । सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्ध निर्देशक किरण अधिकारीलाई कात्तिक ४ गते नै प्रहरीले बैंकिङ कसुरमा पक्राउ गरेको थियो।

प्रजातान्त्रिक आन्दोलनका योद्धा मिश्रको निधन

नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा त्रिपुरारी मिश्रको ५४ वर्षको उमेरमा निधन भएको छ । महोत्तरीको पिपरा गाउँपालिका–३ का बासिन्दा उहाँको सोमबार राति निधन भएको हो । उनले लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए ।

पञ्चायतकालमा किशोरवयमै नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएर नेता मिश्रले प्रजातान्त्रिक आन्दोलनमा योगदान गरेका नेपाली कांग्रेस महोत्तरीका नेता बजरङ्ग नेपाली बताउँछन् । विसं २०४६ को जनआन्दोलनले प्रजातन्त्र पुनःस्थापना गरेपछि नेपाली कांग्रेसमा क्रियाशील भएका मिश्रको योगदान अनुकरणीय रहेको नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादव र नेकपा एमालेका जिल्ला अध्यक्ष कालीचन्द्र साहले शोक वक्तव्य प्रकाशन गरेर बताएका छन् । स्वर्गीय मिश्रका पत्नी, एक छोरा र एक छोरी छन् ।

रवि लामिछानेले कान्तिपुरविरुद्ध हाले गाली बेइज्जतीको मुद्दा, क्षतिपूर्तिबापत १५१ रुपैयाँ माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेसनविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका छन् । उनले अधिवक्ता अफताब आलमलाई वारेस राखेर मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।

मुद्दामा कान्तिपुरका अध्यक्षा कैलाश सिरोहिया, प्रबन्ध निर्देशक सम्भव सिरोहिया, प्रधान सम्पादक उमेश चौहानलगायतलाई विपक्षी बनाइएको छ । ‘कान्तिपुर पत्रिकामार्फत तथा अनलाइन पत्रिका ekantipur.com समेतबाट मिति २०८०/०९/०९ गतेदेखि हालसम्म प्रकाशन गरेको गलत समाचार कुनै हालतमा क्षम्य हुन सक्दैन ।

गैरजिम्मेवार तबरले कपोलकल्पित समाचार प्रकाशन गरी मलाई लाञ्छित गर्ने, मेरो दशकौं लामो सामाजिक, व्यावसायिक, राजनैतिक तथा पेसागत जीवन समाप्त पार्ने कुनियत राख्ने, चरित्र हत्या गर्ने तथा मानमर्दन गर्ने अधिकार यी विपक्षी प्रतिवादीहरूलाई छैन,’रिटमा भनिएको छ, ‘पत्रकारिताको मूल मन्त्रलाई बिर्सेर गरिएको प्रकाशन नितान्त दोषयुक्त छ । यस्तो झुट समाचार सम्पादन तथा प्रकाशन गर्ने विपक्षी प्रतिवादीहरूलाई कानूनबमोजिम कारबाही नगर्ने हो भने पत्रकारिताको नाउँमा जसले जे गरे पनि हुने परिस्थिति सिर्जना हुनुका अतिरिक्त कानूनी व्यवस्था समेत निष्प्रभावी हुने हुँदा मेराविरुद्ध झूटो भ्रामक समाचार सम्पादन र प्रकाशन गर्ने विपक्षीहरूलाई हदै सजाय गरी न्याय दिलाई पाऊँ ।’ रविले कान्तिपुरसँग १५१ रुपैयाँ क्षतिपूर्ति रकम पनि माग गरेका छन् ।

‘म फिरादीको इज्जत, सामाजिक प्रतिष्ठा, राजनैतिक जीवन, सम्मान, पेसा तथा व्यावसायिक जीवनमा समेत गम्भीर धक्का पु¥याउने कलुषित मनसाय राखी मेरो इज्जतमा घृणा तथा अवहेलना हुने गरी मैले आर्जन गरेको ख्यातिलाई ध्वस्त पार्ने बदनियत चिताई जानीबुझी सार्वजनिक रूपमा मेरो चरित्र हत्या हुनेगरी विपक्षीहरूले उल्लेखित मिति २०८०/०९/०९ गतेदेखि मिति २०८०÷०९÷१३ गतेसम्म कान्तिपुर राष्ट्रिय दैनिक पत्रिका र अनलाइन पत्रिका भपबलतष्उगच.अयm समेतबाट झुटो समाचार सम्प्रेषण एवं प्रकाशन गरी म फिरादीसमेतको नाम जोडी गालि बेइज्जती गरी मुलुकी अपराधसंहिता २०७४ को गाली बेइज्जतीसम्बन्धी परिच्छेदको दफा ३०५, ३०६ को ०१ र ०२ तथा दफा ३०७ को कसुर गर्नु भएकाले विपक्षीहरूलाई ऐ.ऐ, को दफा ३०५ तथा दफा ३०७ बमोजिम हदैसम्मको कैदको सजाय गरी म तथा मेरो परिवारको इज्जत प्रतिष्ठा, व्यवसाय तथा राजनीतिमा समेत हानी नोक्सानी भएकाले सो समेतलाई मध्यनजर गरी यो फिराद पत्र दर्ता गर्न लाग्ने कानून व्यवसायीको फी, वारेस खर्च, अदालती शुल्क लगायतको खर्चसहित समग्रमा मलाई पर्न गएको क्षतिको न्यायोचित मूल्यांकन गरी ऐ. ऐनको दफा ३०७ को १ बमोजिम विपक्षी प्रतिवादीहरूबाट सांकेतिक रूपमा क्षतिपूर्ति रकम रु. १५१ दिलाई भराई पाऊँ,’ फिराद पत्रमा भनिएको छ ।

कोरियन भाषा परिक्षा विवाद प्राविधिक समितिको बैठकमार्फत समाधान गर्ने

कोरियाले भाषा परीक्षामा देखिएको विवाद नेपाल र कोरियाबीचको प्राविधिक समिति (टेक्निकल कमिटी)को बैठक बसेर समाधान गर्नै भएको छ । मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव केवलप्रसाद भण्डारी र नेपालका लागि कोरियन राजदूत पार्क टी योङको टोलीबीच श्रम मन्त्रालयमा भएको भेटमा भाषा विवादलाई टेक्निकल कमिटीको बैठकबाट टुंग्याउने सहमति भएको हो ।

दक्षिण कोरियाले पुसको २ देखि ६ गते खुलाएको उत्पादनमुलक क्षेत्रको भाषा परिक्षा सन २०२४ को कोटा २०२३ मा नै खुलाएको र गत असारमा भएको सिपबिल्डिङ क्षेत्रको भाषा परिक्षामा अनुर्तिर्ण भएका करिब ३२ हजार विद्यार्थीहरुले २०२३ मैँ खुलेको उत्पादनमुलक क्षेत्रको भाषा परिक्षामा आवेदन दिनपाउनुपर्ने माग राखेका थिए ।

सोही क्रममा इपीयस कोरिया शाखा ग्वार्कोले कोरियाको नियम अनुसार एउटै सालमा एक परिक्षामा सामेल भएका विद्यार्थीहरुले सोही वर्ष खुलेको परिक्षामा आवेदन दिन नपाउने भनेपछि सिपबिल्डिङमा अनुर्तिण भएका विद्यार्थीहरु आन्दोलित हुँदै उत्पादनमुलक क्षेत्रको भाषा परिक्षामा सामेल हुन पाउनुपर्ने मागसहित उच्च अदालत पाटमा गएर मुद्धा दर्ता गरेपछि अदालतले अन्तरिम आदेश जारी गर्दै भाषा परिक्षामा सामेल गराउन दिन आग्रह गरेको थियो । उच्च अदालतको आदेश बमोजिम अदालतमा निवेदन दिएका १८ जनाले मात्र परिक्षा सामेल हुन सुचना जारी गरेपछि पुनः ठूलो मात्रामा सिपबिल्डिङ परिक्षामा अनुर्तिण विद्यार्थी भेला भएर पुन उच्च अदालतमा सबैले परिक्षामा सामेल हुन पाउनुपर्ने माग सहित रिट दर्ता गरेका थिए ।

एक पटक सामेल भएका विद्यार्थीहरुले उत्पादनमुलक क्षेत्रको भाषा परिक्षमा सामेल हुन नपाएपछि आन्दोलनमा उत्रिने क्रममा पौष १३ गते प्रहरीले चलाएको गोली लागेर दुइ जना युवाको मृत्यु भएको थियो ।

सोही विषयमा मन्त्रालयमा आज भएको छलफलका क्रममा कोरियाले नेपाल संवदेनशील बन्दै गएको चिन्ता व्यक्त गर्दै नेपालबाट कोरिया बढी कामदार लैजादाँ कोरियाको मानव संशाधन विभाग र दूतावासका कर्मचारीहरू ‘सुरक्षा थ्रेट’मा परेको राजदूत पार्कले बताए । बैठकमा उनले अहिले देखिएको समस्याको समाधान विस्तारै हुँदै जाने बताए । तर उनले कोरियाको रोजगारीको विषयमा नकारात्मक बढ्दै गएकोले सकारात्मक व्यवहारको अपेक्षा राखेको समेत उल्लेख गरे । उनका अनुसार आगामी दिनमा यस्ता किसिमका गतिविधिमा समावेश भएमा कोरियाले अर्को निर्णय लिन सक्छ । १६ वटा देशमध्ये नेपाललाई बढी प्राथमिकतामा राखेको भएपनि नेपाल झन संवेदनशिल भएकाले यस्तो नबन्न पनि उनले आग्रह गरे ।

श्रम प्रवक्ता राजीव पोखरेलले नेपालले कोरियाको रोजगारी गुमाउन नचाहेको उल्लेख गर्दै कोरियन भाषा परिक्षामा यस वर्ष भएको विवादलाई कोरिया र नेपालबीच कामदार भर्नाको भाषा परीक्षामा देखिएको समस्यालाई समाधान गर्नुपर्ने बताए । उनले अहिले देखिएको समस्याले आगामी दिनमा कोरियाको रोजगारीमा असर आउन नहुने समेत बताए ।

ईपीएस कोरियाका लागि आवेदन फाराम भर्ने म्याद २ दिन थप

ईपीएस कोरियाको परीक्षाका लागि आवेदन फाराम भर्ने म्याद २ दिन थप गरिएको छ ।
वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले आवेदन फाराम भर्ने म्याद पुस २० गतेसम्मका लागि थप गरेको छ ।

कोरियामा पानीजहाज निर्माण क्षेत्रका लागि आवेदन दिएकाहरूलाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन म्याद थप गरिएको छ । यसअघि आवेदन दिने समय पुस १६ गतेदेखि १८ गतेसम्मका लागि तोकिएको थियो । वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै २ दिन म्याद थप गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए ।

विभागको महानिर्देशकको निर्णय अनुसार म्याद थप गरिएको छ । आवेदन आह्वान गरिएको पहिलो दिन पुस १६ गते प्राविधिक कारणले अनलाइनमा समस्या आएको थियो । मानवीय समवेदनालाई समेत मध्यनजर गर्दै २ दिन म्याद थप गर्ने निर्णय गरिएको महानिर्देशक घिमिरेले जानकारी दिए ।

आवेदन फाराम भर्न पाउनुपर्ने माग राख्दै पानीजहाज निर्माण क्षेत्रका युवाहरूले आन्दोलन गरेका थिए । आन्दोलनको क्रममा पुस १३ गते ललितपुरको बालकुमारीमा २ जनाको मृत्यु भएपछि सरकारको आलोचना भइरहेको छ ।

सोहीदिन उच्च अदालत पाटनले इच्छुक सबैलाई आवेदन फाराम भर्न दिन आदेश दिइसकेको छ । यसअघि सन् २०२३ मा एउटा क्षेत्रमा आवेदन फाराम भरेकाहरूलाई अर्कोमा भर्न नपाउने भन्दै उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन रोक लगाइएको थियो ।

बालकुमारी घटनामा मृत्यु भएका दुई युवाको शव सेनाको हेलिकप्टरबाट सुर्खेत लगियो

ललितपुरको बालकुमारीमा इपीएस कोरिया शाखामा भाषा परीक्षाको आवेदन दिन पुगेका र प्रहरीबीच झडप हुँदा ज्यान गुमाएका दुई जनाको शव नेपाली सेनाको ‘स्काई ट्रक’ मा राखेर लगिएको छ । आज (मंगलबार) बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेनाको स्काई ट्रकमा राखेर लगिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए ।

गत शुक्रबार बालकुमारीमा झडप हुँदा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो । सुजनको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको थियो । वीरेन्द्रको पाटन अस्पतालमा मृत्यु भएको थियो । दुबैको शवको पोष्टमर्टम पाटन अस्पतालमा गरिएको थियो । दुबैको शव मंगलबार बिहान काठमाडौंबाट सेनाको स्काई ट्रकमार्फत् सुर्खेत विमानस्थल लगिएको हो ।

त्यहाँबाट छुट्टाछुट्टै हेलिकप्टरमा राखेर घर पु¥याइने एसपी कार्कीले जानकारी दिएका छन् । मृतक परिवारले विभिन्न माग राखेर आन्दोलन गर्दै आएको थियो । सरकारसँग सोमबार भएको छलफलमा चार बुँदे सहमति समेत भएको थियो । सरकारले मृतक दुबै जनाको शव सम्बन्धित जिल्लामा पठाइदिने सहमति गरेको थियो । मृतक परिवारलाई सरकारले १०–१० लाख रुपैयाँ दिने, त्यसबाहेक मृतक परिवारका सदस्य एक–एक जनालाई रोजगारी दिने पनि निर्णय भएको हो । सरकारले अतिरिक्त थप राहत उपलब्ध गराउन पहल गर्ने पनि दुई पक्षबीच सहमति भएको छ । दुबै मृतकलाई शहीद घोषणाका लागि पहल गर्ने र दुबै जनाको शव परिवारले बुझ्ने पनि सहमति भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *