मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

पौष ९ सोमबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । सोमबार तयार पारिएको मुख्य १० समाचारमा जीन सिक्वेन्सिङ गर्दा नेपालमा कोरोनाको पुरानै भेरियन्ट पुष्टिदेखि सङ्क्रमणकालीन न्यायलाई टुंग्याउने विषयमा बालुवाटारमा तीन दलको बैठक सम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

जीन सिक्वेन्सिङ गर्दा नेपालमा कोरोनाको पुरानै भेरियन्ट पुष्टि

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जीन सिक्वेन्सिङ गर्दा नेपालमा कोरोना भाइरसको पुरानै ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । प्रयोगशालाका निर्देशक डा.रञ्जनराज भट्टले १४ नमूनाको जिन सिक्वेन्सिङ गर्दा कोरोनाको नयाँ भेरियन्ट पुष्टि नभएको जानकारी दिए । उनका अनुसार सीमा नाकामा नोभेम्बर महिनामा सङ्कलन गरिएका नमूनाको जिन सिक्वेन्सिङ गरिएको हो । सङ्कलन गरिएका नमूनाको जिन सिक्वेन्सिङ गर्दा कोरोना भाइरसको पुरानो भेरियन्ट ओमिक्रोन पुष्टि भएको उनले जानकारी दिए । कोभिडको नयाँ सब भेरियन्ट ‘जेएन डट वान’ पछिल्लो एक महिनायता विश्वभर तीव्र रुपमा फैलिरहेको छ ।

नयाँ भेरियन्ट बेलायत, चीनलगायत धेरै देशहरूमा फैलिरहेको छ । भारतमा पनि कोरोनाका बिरामी दिनप्रतिदिन बढिरहेका छन् । सीमा नाकाबाट नमूना सङ्कलन गरेर पुनः जिन सिक्वेन्सिङ गरिने निर्देशक डा. भट्टको भनाइ छ ।


आगामी आवको बजेट निर्माण सुरु

आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट निर्माण प्रक्रिया सुरु भएको छ । राष्ट्रिय योजना आयोगले प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै आगामी आवका लागि सङ्घीय समपूरक तथा विशेष अनुदानअन्तर्गत सञ्चालन गरिने आयोजना र कार्यक्रमका लागि प्रस्ताव माग गरेको हो । प्रदेश र स्थानीय तहलाई यस्तो अनुदान शीर्षकअन्तर्गत कार्यान्वयन हुने योजना तथा कार्यक्रमको प्रस्ताव आगामी माघ मसान्तभित्र पेस गरिसक्न भनिएको छ ।

राष्ट्रिय योजना आयोगका सहप्रवक्ता डा दिवाकर लुइँटेलका अनुसार सङ्घीय सरकारले प्रदेश र स्थानीय तहको मागका आधारमा वित्तीय हस्तान्तरणको उपकरणका रुपमा समपूरक र विशेष अनुदान उपलब्ध गराउँछ । आवश्यक प्रक्रिया र मापदण्ड पूरा गरेका योजना तथा कार्यक्रम मात्र यस्तो अनुदान पाउनका लागि योग्य हुने उनको भनाइ थियो ।

“समपूरक र विशेष भनेको मागका आधारमा दिइने अनुदान हो । स्थानीय तह र प्रदेशले तोकिएको मापदण्ड तथा समय सीमाभित्र प्रस्ताव हालेपछि माग भई आएका योजना÷कार्यक्रम छनोटको प्रक्रियामा जान्छन्”लुइँटेलले भने । समपूरक र विशेष अनुदानका लागि अनलाइनबाट मात्रै प्रस्ताव पेस गर्न सकिने आयोगले जनाएको छ । अनलाइनबाट प्राप्त प्रस्तावलाई राष्ट्रिय योजना आयोगका सदस्यको संयोजकत्वमा रहने छनोट समितिले विश्लेषण गरी उपयुक्त योजना तथा कार्यक्रमलाई बजेट उपलब्ध गराउन सिफारिस गर्नेछ ।

अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को प्रावधानअनुसार केन्द्र सरकारले प्रदेश र स्थानीय तहलाई पूर्वाधार विकाससम्बन्धी योजना कार्यान्वयन गर्न समपूरक अनुदान दिनसक्ने व्यवस्था छ । त्यस्तै शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आधारभूत सेवाका क्षेत्रमा विशेष अनुदान उपलब्ध गराइन्छ ।

अन्तर प्रदेश वा अन्तर स्थानीय तहबीच सन्तुलित विकास गर्ने, अर्थ–सामाजिकरुपमा पछि परेका वर्ग समुदायलाई लक्षित गरेर पनि यस्तो अनुदान उपलब्ध गराइछ । यसरी, समपूरक अनुदानका लागि पूर्वाधार निर्माणसँग सम्बन्धित आयोजनाहरु र विशेष अनुदानका लागि शिक्षा, स्वास्थ्य, खानेपानी, समावेशीकरण तथा मूल प्रवाहीकरण, तहगत सन्तुलन, खाद्यसुरक्षा तथा पोषण, फोहरमैला व्यवस्थापनजस्ता क्षेत्रसँग सम्बन्धित आयोजनामा अनुदान माग गर्न सकिनेछ । प्रदेश र स्थानीय तहले सङ्घीय सरकारबाट समपूरक तथा विशेष अनुदान पाउन निश्चित मापदण्ड र प्रक्रिया पूरा गर्नुपर्छ । यस्तो अनुदान पाउनका लागि आयोजना तथा कार्यक्रम सिफारिस गर्दा आवश्यकता र औचित्य पुष्टि हुनुपर्ने आयोगले जनाएको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्छ ः सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँले आज आयोजना गरेको जिल्ला सम्मेलन तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गणतन्त्रको विकल्प नभएको बताए ।

सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनका लागि दलबीच सहमति र सहकार्यको आवश्यकता रहेको औँल्याए । देउवाले पार्टीलाई बलियो बनाउन पार्टीभित्र समझदारी र एकताको खाँचो रहेको पनि बताए । उनले भने, “पार्टीलाई बलियो बनाएर अघि जानुपर्छ । तबमात्र देशको ठूलो र शक्तिशाली पार्टी बन्न सकिन्छ ।” सभापति देउवाले अहिलेको संविधानका कारण एउटै पार्टीको बहुमत आउने अवस्था नरहेकाले चुनावमा गठबन्धन गरेर जानुपरेको दाबी गरे ।

उनले भने, “संविधान समावेशी छ । संविधानका कारण एउटै पार्टीको बहुमत आउँदैन । गठबन्धन गरेर जाँदा कांग्रेस ठूलो शक्तिका रुपमा निर्माण गर्न सकिन्छ ।”कार्यक्रममा कांग्रेस उपसभापति एवं कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री धनराज गुरुङले सहमति, सहकार्य र समझदारी अहिलेको आवश्यकता रहेको औँल्याए । देशको प्रमुख समस्या अशिक्षा, गरिबी र भ्रष्टाचार भएकाले यसको अन्त्यका लागि कांग्रेस, एमाले र माओवादी मिल्नुपर्नेमा उनले जोड दिए ।

तीन दलबीचको एकताबाट मात्र मुलुक समृद्ध हुने बताउँदै उनले भने, “विस्तृत शान्ति सम्झौतादेखि हालसम्म भएका उपलब्धि तीन दलको एकताले भएको हो । त्यो एकता अझै आवश्यक छ ।” यसअघि सभापति देउवाले कांग्रेस तनहुँको नवनिर्मित भवनको उद्घाटन गरेका थिए । नेपाली कांग्रेस तनुहँले निर्माण गरेको सो भवनको सभापति देउवाले शिलालेख अनावरण गरी उद्घाटन गरेका छन् ।

पूर्वमहामन्त्री डा . शशांक कोइराला, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, केन्द्रीय सदस्य शङ्कर भण्डारी, प्रदीप पौडेल, गोविन्द भट्टराई लगायतको सहभागिता थियो । चन्दादाताबाट रकम सङ्कलन गरी भवन निर्माण गरिएको हो । करिब रु दुई करोड लागतमा भवन निर्माण गरिएको जिल्ला सभापति जितप्रकाश आलेले जानकारी दिए । आठ आना क्षेत्रफलमा फैलिएको भवन चारतलाको छ । सो अवसरमा सभापति देउवाले भवन निर्माणका लागि सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान समेत गरेका छन् ।

सुदन किराँतीको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन भएको छ । क्रिश्चियन धर्म नमान्नेलाई जेल हाल्नेजस्ता विवादास्पद अभिव्यक्ति दिएपछि उनको राजीनामा माग्दै काठमाडौंमा सोमबार प्रदर्शन भएको हो ।सनातन धर्मावलम्बी नेपालीको अगुवाइमा सोमबार काठमाडौँमा प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले संसद् भवन घेराउ गर्दै मन्त्री किराँतीलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने माग गरेका छन् ।

उनीहरुले गौशालाबाट बानेश्वरसम्म शंख बजाउँदै विरोध र्याली गरेका थिए । मन्त्री किराँतीले गत बुधबार एक कार्यक्रममा ‘क्रिश्चियनलाई मान्दिनँ भन्नु चाहिँ संविधान मान्दिनँ भन्नु हो। संविधान नमान्ने देशद्रोही हुन् । यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने, जेलमा हाल्दिने हो ।’ भनेपछि उनको राजीनामाको माग गर्दै विरोध भइरहेको छ ।

भोलि राष्ट्रका नाममा सम्बोधन गर्दै प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रचण्डले सरकार सम्हालेको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने तय भएको जानकारी दिए । प्रचण्डले आफ्नो आगामी योजनाहरू पनि प्रस्तुत गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यसबेला उनी एमाले गठबन्धनबाट प्रधानमन्त्री नियुक्त भएका थिए । फागुनयता कांग्रेसको गठबन्धनमा छन् । राष्ट्रका नाममा सम्बोधन गर्नुअघि उनले सबै मन्त्रालयको रिपोर्ट मगाएर अध्ययन गरिरहेका छन् । प्रचण्डले तत्काल मन्त्रीहरू भने नफेर्ने भएका छन् । उनले राष्ट्रिय सभा निर्वाचनपछि मात्र मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् ।

गृहमन्त्रीले सुन तस्करकै संरक्षण गरेर सुशासनको धज्जी उडाएको रवि लामिछानेको आरोप

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुन तस्करीको प्रमाण दिँदा पनि तस्करकै संरक्षण गरेर सुशासनको धज्जी उठाएको आरोप लगाएका छन् ।
चितवनको नारायणगढमा पत्रकारहरूसँग कुरा गर्दै आफूले सुन तस्करीको प्रमाण सिंहदरबारस्थित गृहमन्त्रीको क्याबिनमै पुगेर देखाउदा समेत गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनको धज्जी उडाएको बताएका हुन् ।

सभापति लामिछानेले सदनमा नै गृहमन्त्री श्रेष्ठलाई सुन तस्करीको सूचना भएको जानकारी गराएको बताए । सोमबार पत्रकार सम्मेलनमा कुरा गर्दै सभापति लामिछानेले गृहमन्त्री निकटमा रहेको मान्छे अध्यागमनको डिजी झलकराम अधिकारी सुन तस्कारीको नाइके रहेको उल्लेख गरे । लामिछानेले प्रमाण देखाउँदै सुन तस्करीको नाइकेले गृहमन्त्रीलाई सुन पठाएको सुचना दिएको बताए । लामिछानेले छानबिनको लागि गएर छापा मार्दा केके सामान भेटिए भन्दै प्रश्न गरे ? गृहमन्त्रीको क्याबिन, सिंहदरबारमा गएर अधिकारीको कालो कर्तुतका बारेमा सबै कुरा देखाएपछि उनलाई कारबाही हुन्छ भन्ने विश्वास गरेको तर सुन तस्करीका नाइके अधिकारीलाई गृहमन्त्रीले छानबिनको नाटक गरेर मन्त्रालय तानेको भन्दै आपत्ति जनाए ।

‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन सहयोग पुग्छ ः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं सुस्वास्थ्यको कामना दिएका छन् । ‘क्रिसमस डे’ का अवसरमा उनले पर्वले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताएका हुन् ।

राष्ट्रपति पौडेलले चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको लिएको बताएका छन् । यो पर्वले सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समुन्नत नेपाल निर्माण गर्न सक्ने उनको भनाइ छ ।

सरकारको एक वर्ष ः ऊर्जा क्षेत्रमा रणनीतिक उपलब्धि

आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा रहेको ऊर्जा क्षेत्रलाई थप व्यवस्थित गर्ने लक्ष्यका साथ वर्तमान सरकारले देखिने गरी केही महत्वपूर्ण कामलाई अगाडि बढाएको छ । जलविद्युत् आयोजनाको निर्माण, प्रसारण प्रणालीको विस्तार, अन्तर्राष्ट्रिय सहयोग भित्र्याउनेदेखि आन्तरिक स्रोतको परिचालनमा समेत उत्तिकै ध्यान दिइएको छ ।

आन्तरिक विद्युत् खपत बढाउनेदेखि बढी भएको बिजुली बिक्री गरेर विदेशी मुद्रा भित्र्याउनसमेत यसबीचमा सरकार सफल भएको छ । क्रमशः लगानीमैत्री वातावरण बन्दै गएको सन्दर्भमा विदेशी लगानीकर्तासमेत मुलुकको ऊर्जा क्षेत्रमा लगानीका लागि उत्तिकै उत्सुक देखिएका छन् । पछिल्लो एक वर्षमा सरकारले दक्षिण एशियाकै सबैभन्दा ठूलो आयोजनाका रुपमा रहेको कर्णाली चिसापानी बहुउद्देश्यीय आयोजनाको अध्ययन प्रारम्भ गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष चासो र ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको मार्गनिर्देशमा नेपाल विद्युत् प्राधिकरणले सो आयोजनाको अध्ययन शुरु गरेको, र यो कार्य तीन वर्षभित्र सम्पन्न गर्ने तयारी छ । कूल १० हजार आठ सय मेगावाट क्षमताको सो आयोजना चालिसको दशकमा चर्चामा आएको भए पनि हालसम्म कुनै पनि प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।

यस्तै राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी जलाशयुक्त आयोजनाको निकट भविष्यमा नै शिलान्यास गर्ने तयारी सरकारले गरेको छ, र यसका लागि स्रोत सुनिश्चित गरेको छ । लामो समयदेखि राजनीतिक खिचातानी र अनिर्णयको बन्दी भएको सो आयोजनाका लागि सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार शुल्कमध्येबाट भन्सार बिन्दुमा नै प्रतिलिटर रु पाँच आयोजनाका लागि सोझै उपलब्ध गराउने प्रबन्ध गरिएको छ ।

यो आयोजना प्रभावितका लागि सरकारले हालसम्म रु ३४ अर्ब ९५ करोड बराबरको मुआब्जा वितरण गरिसकेको छ । आयोजनाको डुबान क्षेत्रमा पर्ने गोरखा र धादिङ जिल्लातर्फ यस वर्ष मात्रै एक सय ६५ रोपनी जग्गा प्राप्त गरी हालसम्म ४८ हजार नौ सय ८७ रोपनी जग्गाको मुआब्जा वितरण गरिएको छ । आयोजनाको डुबान क्षेत्रमा पर्ने घर गोठलगायत भौतिक संरचना, फलफूल तथा बोटबिरुवाको क्षतिपूर्ति निर्धारण भई क्षतिपूर्ति वितरणको कार्य भइरहेको बूढीगण्डकी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगत श्रेष्ठले जानकारी दिए । सरकारको आन्तरिक स्रोतबाट कम्पनी मोडेलमा निर्माणको कार्य अघि बढाउन २०७९ भदौ १७ गते कम्पनी दर्ता भएको थियो ।

बाह्र कक्षासम्मको शिक्षा निःशुल्क गर्दैछौँ ः मोहनबहादुर बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बाह्र कक्षासम्मको शिक्षा निःशुल्क गर्ने तयारी भइरहेको बताएका छन् ।सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ खाडीचौरस्थित बाल शिक्षा माध्यमिक विद्यालयको ५९औँ वार्षिकोत्सव तथा अभिभावक भेलालाई आज सम्बोधन गर्दै १२ कक्षाससम्म निःशुल्क पढ्ने व्यवस्थाको लागि सरोकारवालासँग तीव्र रुपमा छलफल भइरहेको बताए । “१२ कक्षाससम्म निःशुल्क पढ्ने व्यवस्थाको लागि प्रधानमन्त्री र नेतालगायत सरोकारवालासँग कुरा गरिसकेको छु, अब छिट्टै निर्णय हुन्छ”, मन्त्री बस्नेतले भने । उनले यही सरकारले १२ कक्षाससम्म निःशुल्क पढ्ने व्यवस्था गर्ने बताए ।

मन्त्री बस्नेतले शिक्षा र स्वास्थ्यका कारण धेरै मानिस मानसिक रोगी भएको आफूले पाएको बताउँदै आत्महत्या गर्नेमध्ये पनि अधिकांश मानसिक रोगी रहेको बताए । उनले भने, “नेपाली शिक्षालाई निःशुल्क गर्दै जाँदा आत्महत्या न्यूनीकरणमा सहयोग पुग्नेछ ।” उनले सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका, भोटेकोशी गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाले आफ्ना विद्यालयमा १२ कक्षाससम्म निःशुल्क पढ्ने व्यवस्था निःशुल्क गरिसकेको बताए ।

मन्त्री बस्नेतले अब केही वर्षमा लाखौँलाख विद्यार्थीले नेपालमै सहुलियतमा मेडिकल शिक्षा पढ्न पाउने बताए । “यसबाट खरबौँ रुपैयाँ विदेशिनबाट जोगिन्छ, लाखौँले रोजगारी पाउनेछन्”, उनले भने । उनले सरकारले एक प्रदेश एक मेडिकल कलेज सञ्चालन गर्ने योजना बनाइने बताए। सो अवसरमा उनले विद्यालयलाई स्कुल बस प्रदान गर्ने गाउँपालिकाको पूर्वअध्यक्ष केदार क्षेत्रीलाई सम्मान गरे ।

कार्यक्रममा बागमती प्रदेशको वन तथा वातावरणमन्त्री मसिना खड्काले शिक्षा नै भविष्य तय गर्ने बाटो भएकाले समसापेक्ष बदलिँदो प्रविधिसँगै शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता औँल्याए । बागमती प्रदेशसभा सदस्य अमृता नेपाल, गाउँपालिका अध्यक्ष गङ्गाबहादुर तामाङलगायतले शुभकामना व्यक्त गरे । मन्त्री बस्नेतले आजै बाह्रबीसे नगरपालिका–४ सिन्धुपाल्चोकको ७३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार भएको बताए । उनले शिक्षाको विकास हुन नसके अन्य कुनै पनि विकास नहुनेसमेत दाबी गर्दै शिक्षाको मन्दिरलाई व्यवस्थित गर्न समुदायका सबै व्यक्ति लाग्नुपर्ने बताए ।

सङ्क्रमणकालीन न्यायलाई टुंग्याउने विषयमा बालुवाटारमा तीन दलको बैठक

प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको छलफल भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच टीआरसीको बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ र राष्ट्रियसभाका पूर्वसदस्य तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी सहभागी छन् । नेकपा एमालेबाट नेता अग्नि खरेल र संसदीय दलका सचेतक महेश बर्तौला सहभागी छन् । नेकपा माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन र नेता खिमलाल देवकोटा सहभागी भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार शिर्ष नेताहरु संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुंगोमा पु¥याउन छलफलमा जुटेका हुन् । यस अघि आइतबार पनि शिर्ष नेताहरुबीच शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन विधेयक बनाएर अगाडी बढ्ने विषयमा छलफल भएको थियो । सोहि छलफलको निरन्तरताको लागि आजको बैठक बसेको बताइएको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनाउन थालिएको विधेयक संसदमा भए पनि प्रमुख दलहरूबीच सहमति हुन नसक्दा विधेयक अगाडी बढेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *