पौष ८ आइतबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । आइतबार तयार पारिएको मुख्य १० समाचारमा एमाले सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवादेखि भक्तपुर ः नेपाल प्रहरीका सई आफ्नै घरमा मृत अवस्थामा फेला सम्मका समाचारलाई समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
एमाले सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा
काठमाडौं । सभामुख देवराज घिमिरेले नेकपा एमालेका महोत्तरी– १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा गरेका छन् । उनी १९ वैशाख २०८० मा निलम्बनमा परेका थिए । आइतबार उनको निलम्बन फुकवा भएको हो । निलम्बन फुकुवा भएसँगै अब उनी संसदीय गतिविधिमा भाग लिन पाउने भएका छन् । हत्या आरोपमा जिल्ला अदालत महोत्तरीबाट सफाइ पाएपछि सांसद कोइरीले निलम्बन फुकुवाको निवेदन दिएका थिए ।
२०७७ सालमा उच्च अदालत जनकपुरले सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या अभियोग लागेका फौजदारी अभियोगमा पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएदेखि फरार कोइरी ४ मंसिर २०७९ मा भएको चुनावमा महोत्तरी १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
सन्त नेता भट्टराई नेपाली जनतालाई सार्वभौम बनाउने त्यागी व्यक्तित्व ः सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सन्त नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउने संविधान जारी गर्ने त्यागी व्यक्तित्व भएको धारणा राखेका छन् । नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री सन्त नेता भट्टराईको शताब्दी जन्मदिवसका उपलक्ष्यमा आज नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित विमर्शसभामा सभापति देउवाले सन्त नेता भट्टराई नेपालका एक त्यागी व्यक्तित्वका रुपमा आफूले पाएको बताए ।
“उनलाई मैले नख्खु जेलमा पहिलो पटक भेटेको हो, अत्यन्तै ‘सेन्स अफ ह्युमर’ भएको व्यक्ति थिए, कहिल्यै चिन्ता नलिने सच्चा त्यागी तथा निर्लोभी व्यक्तित्वका रुपमा उनले आफूलाई स्थापित गरेका थिए ”, सभापति देउवाले भने, “उनले २०४७ सालमा तत्कालीन राजा र जनता सबैले अपनत्व गर्नेगरी नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन बनाउने संविधान जारी गर्न सफल भए । उनको त्यागी, सादगीपनका साथै आदर्श व्यक्तित्वका विषयमा अझै खोजी गरेर किताब लेखिनुपर्छ ।”
सभापति देउवाले आजको समयमा सन्त नेता भट्टराईबाट सिकेर गणतन्त्रात्मक शासन व्यवस्था सुदृढ बनाउनुपर्ने धारणा पनि व्यक्त गरे । नेपाली कांग्रेसका उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले किसुनजी सरकारको नेतृत्व र पार्टी सञ्चालनमा अनुशासित ढङ्गले काम गरेका निष्ठावान् व्यक्तित्वका रुपमा स्मरण गरे । उनले अप्ठ्यारा दिनमा पनि पार्टीमा दुःख पाएका कार्यकर्तालाई सहयोग गरेर हिसाबकिताब राख्दै पार्टी चलाएर नेपाली कांग्रेसलाई सशक्त बनाउने योगदान स्वर्गीय भट्टराइले गरेका बताए ।
“किसुनजीले कसैप्रति दुर्भाव राखेको पाइएन । पार्टी सभापति रहेका अवस्थामा चुनाव हार्दा पनि कसैलाई आरोपित गरेनन्, आफू अपमानित भएर पनि पार्टीलाई विभाजन हुनबाट रोकेका थिए, उनले आध्यात्मिक, भौतिक, प्रशासनिक तथा निष्ठाका आधारमा देश र जनताप्रति समर्पणको भाव देखाएका थिए”,उपसभापति खड्काले भने ।
उनले किसुनजीलाई जनता, कार्यकर्ता र विश्वले विश्वास गर्नेगरी आफूलाई स्थापित गर्न सफल व्यक्तित्वका रुपमा स्मरण गरे । उनले सरकार सञ्चालनमा किसुनजीले देखाएको बाटो अनुशरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । कांग्रेस उपसभापति एवं कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री धनराज गुरुङले जीवनभर देश, जनता र प्रजातन्त्रका लागि अविश्राम लागि परेका व्यक्तित्व किसुनजीको निष्ठा र साद्गीपनको अनुशरण गर्नसकेमा उनिप्रति सच्चा श्रद्धाञ्जलि हुने भन्ने धारणा राखे ।
“वर्तमान समयमा विकृति र विसङ्गतिको चाङमा उभिएर आजको दिनमा उनले दिएका मार्गदर्शन पछ्याउन ज्यादै कठिन छ । किसुनजीको सन्तपन, साद्गीपन र सदाचार हामीमा पनि हुनु आवश्यक छ”,उपसभापति गुरुङले भने । त्यस्तै सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले किसुनजीले पछ्याएको आदर्श र निष्ठालाई कायम राख्नु हाम्रो दायित्व हो, भनिन् । उनले किसुनजी भारतीय स्वतन्त्रताका लागिसमेत योगदान गर्नुभएका चीरस्मरणीय व्यक्तित्व रहेको धारणा पनि राखिन् ।
मीनबहादुरको समूहले १३८ किलो सुन तस्करी गरेको छानबिन समितिको निष्कर्ष
१४ किलो सुनसहित पक्राउ परेको गिरोहले १३८ किलो सुन नेपाल भित्र्याइसकेको छानबिन समितिले निष्कर्ष निकालेको छ ।त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट केही साताअघि १४ किलो सुनसहित चन्द्रबहादुर घले पक्राउ परेका थिए । त्यसपछि छानबिन समिति गठन भएको थियो । सो समितिले छानबिन प्रतिवेदन सार्वजनिक गर्दै १३८ किलो सुन नेपाल भित्र्याएकोमा १४ किलो मात्रै बरामद गरिएको जनाएको छ ।
समितिका अनुसार मीनबहादुर घलेले दुबईमा बस्ने गरेका भारतीय नागरिकसँग मिलेर सुन तस्करी गर्ने गरेका थिए । मीनबहादुर स्वयं, चन्द्र र कृष्णकुमार श्रेष्ठले भरिया बनेर सुन ल्याउने गरेको पाइएको छ । घलेले एयरपोर्टमा सेटिङ मिलाउन दानबहादुर गुरुङलाई प्रयोग गर्ने गरेको र एयरपोर्टबाट सुन बाहिर निकाल्न नागरिक उड्डयन प्राधिकरणका कर्मचारी राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, अवकाशप्राप्त भई करारमा कार्यरत रमेश देउला, पलम्बर शेरबहादुर बस्नेत र कार्यालय सहयोगी अनिल श्रेष्ठको भूमिका रहेको समितिको दाबी छ ।
लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीद्धारा शपथ ग्रहण, केसीलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी
लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। शनिवार नियुक्त भएका मन्त्रीहरू कृष्णा केसी र सरोज थापालाई आइतबार प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका हुन्।
कृष्ण केसीले सहरी विकास मन्त्रालय र सरोज थापाले उद्योग तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । केसी बाँके क्षेत्र नम्बर १ र थापा प्युठान प्रदेशसभा २ बाट विजयी भएका थिए। लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित ७ जना मन्त्री रहेका थिए । थापा र केसी शपथ लिएसँगै लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित मन्त्रीहरूको सङ्ख्या ९ पुगेको छ । नवनियुक्त मन्त्रीहरूले बुटवलमा शपथ ग्रहण गरेर पदभार ग्रहण गर्न दाङ जानेछन् । लुम्बिनी प्रदेशमा १० मन्त्रालय छन् ।
त्रिभुवन विमानस्थल भन्सारमा २१ दिनको मात्रै सीसीटीभी फुटेज, अनुसन्धान गर्न कठिनाई
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा २१ दिनको मात्र सीसीटीभी फुटेज भटिएको छ । गत मंसिर २१ गते दुबईबाट तस्करी भएर नेपाल आएको १४ किलो सुनको अध्ययनमा भन्सार कार्यलयमा सीसीटीभी फुटेज भेटिएको छानबिन समितिले निष्कर्ष निकालेको छ । त्रिभुवन विमानस्थलबाट १४ केजी सुनसहित गोरखाका चन्द्र घले गत मंसिर २१ गते पक्राउ परेका थिए । ५५ वर्षीय घले २१ गते फ्लाइ दुबईको विमानबाट नेपाल आएका थिए । स्टकोट जस्तो विशेष कपडा नै सिलाएर गोजी बनाइ २ केजीका ७ वटा विस्कुट आकारको सुन लुकाएर ल्याएका थिए । एक वर्षमा ५२ पटकसम्म दुबई गएको उनको ट्राभल हिस्ट्री देखिएको छ ।
घलेको साथबाट बरामद भएको १४ केजी सुनको विषयमा छानबिन गर्न प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको थियो । समितिले आइतबार छानबिन प्रतिवेदन बुझाएको छ । उक्त अवसरमा छानबिन समितिका संयोजक पौडेलले विमानस्थल भन्सार कार्यालयमा २१ दिनको मात्रै सीसीटीभी फुटेज भेटिएको जनाएका हुन् । विमानस्थलमा सीसीटीभि फुटेज तीन महिनासम्मको रेकर्ड नभेटिएपछि विमानस्थलबाट पास भएका मोबाइल नम्बर समेत नभेटीको स्रोतले जनाएको छ ।नेपालको कानूनअनुसार ३ महिनाको सीसीटीभी फुटेज सुरक्षित राख्नुपर्ने व्यवस्था छ ।
हमास–इजरायल युद्धमा मारिने पत्रकारको संख्या ९९ पुग्यो
इजरायल र हमासबीचको युद्धमा पत्रकार मारिने क्रम अझै रोकिएको छैन ।गत ७ अक्टोबरबाट सुरू भएको युद्धमा परी अहिलेसम्म मृत्यु हुनेको पत्रकारको संख्या ९९ पुगेको छ । गाजाको सरकारी मिडिया कार्यालयले आफ्नो टेलिग्राम च्यानलमा युद्ध सुरु भएदेखि इजरायली सेनाबाट ९९ जना पत्रकार मारिएको बताएको हो । इजरायली सेनाले मध्य गाजाको नुसेरात शरणार्थी शिविरमा गरेको आक्रमणमा मारिने मुहम्मद खलिफा पछिल्लो पत्रकार हुन् ।
सभापति लामिछानेमाथि खोया प्रहार भएको विषयमा सञ्चारमाध्यमले प्रतिशोध साँधे ः रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेमाथि पोखरामा शनिबार भएको खोया प्रहारको विषयमा सञ्चारमाध्यमले प्रतिशोध साँधेर समाचार प्रकाशित गरेको आरोप लगाएको छ । आइतबार पार्टी महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले विज्ञप्ति जारी गर्दै तथ्यलाई पूरै बेवास्ता गर्दै असान्दर्भिक विषय जोडेर प्रवाह गरिएका समाचारहरुप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘सार्वजनिक व्यक्ति भएकाले नेता विशेषको आलोचना वा तिनकाप्रति जनप्रतिक्रिया आउनु स्वभाविक हो । यद्यपि, पोखरामा के कति कारणले ती व्यक्तिले सभापति लामिछानेलाई प्रहार गरे भन्ने खुलेको छैन । यसबारे न प्रहरीले प्रहारकर्तालाई उधृत गर्दै सार्वजनिक जानकारी दिएको छ, न प्रहारकर्ताले नै कारण खुलाएका छन् ।
सभापति लामिछानेसँग त झनै सोधिएको छैन । आधिकारिक स्रोतले केही जानकारी नदिँदा नदिँदै अनुमानका आधारमा सभापति लामिछानेको चरित्र हत्या गर्ने दुरासयका साथ प्रेषित गरिएका समाचारहरुप्रति खेद व्यक्त गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । पोखराका घटनालाई लिएर केही सञ्चारमाध्यमले भ्रमपूर्ण समाचार प्रेषित गरेर सभापति लामिछानेको चरित्रहत्यासँगै सिंगो पार्टीको उदीयमान छविलाई धुमिल बनाउने प्रयास गरेका ढकालले आरोप लगाएका छन् । ‘पार्टी स्थापनादेखि नै केही सञ्चारमाध्यम प्रतिशोध साँधेर निरन्तर हामीविरुद्ध खनिएका छन् ।
कमीकमजोरीमा स्वच्छ आलोचना गर्नुपर्ने दायित्व भुलेर पार्टी वा व्यक्ति विशेषको खोइरो खन्नु सञ्चारमाध्यमको धर्म होइन । वर्तमान अव्यवस्थामा हालीमुहाली गरिरहेकाहरुलाई हाम्रो जबरजस्त उपस्थितिले इर्ष्या र त्रास मात्रै थपेको छैन, फाइदाको दीर्घकालीन सुनिश्चिततामा शंकासमेत उत्पन्न गरेको छ । त्यसैले उनीहरु हामीलाई कमजोर बनाउन नियोजित प्रहारमा केन्द्रित छन् । यो पनि त्यसैको निरन्तरता हो,’ उनले भनेका छन् ।
कुँवर र पौडेल उच्च अदालतको न्यायाधीश सिफारिस
लालबहादुर कुँवर र निर्मला पौडेल उच्च अदालतको न्यायाधीश सिफारिस भएका छन् । यसअघि कुँवर सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार थिए भने पौडेल पनि रजिष्ट्रार नै थिइन् । न्यायपरिषद्को निर्णयले रजिष्ट्रारद्वय न्यायाधीश सिफारिस गरेको छ ।
सन्दीपविरुद्धको मुद्दा हेर्दा हेर्दैमा
सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा सुनुवाइ नसकिएपछि मुद्दालाई हेर्दा हेर्दैमा राखिएको छ ।
जिल्ला अदालत काठमाडौंमा दायर बलात्कार मुद्दाको अन्तिम सुनुवाइ जारी रहेको छ । लामो सयमदेखि अदालतमा अड्किएको यो मुद्दामा आज भएको सुनुवाइ नसकिएपछि यो हेर्दा हेर्दैमा राखिएको हो ।
न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी सुनुवाइमा आज पहिला पीडिततर्फबाट सरकारी वकिलले बहस गरेका थिए ।
सरकारी वकिलले बहस सकेपछि पीडितका निजी कानुन व्यवसायीले पनि बहस गर्ने तालिका छ । पीडितका तर्फबाट बहस पूरा भएपछि अभियुक्त सन्दीपका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन् ।
मुद्दाको अन्तिम सुनुवाइ सकिएपछि सन्दीपको मुद्दाले किनारा पाउनेछ ।
भक्तपुर ः नेपाल प्रहरीका सई आफ्नै घरमा मृत अवस्थामा फेला
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलमा प्रहरी नायव निरीक्षक (सई) मृत फेला परेका छन् । प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्साल काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक ४४ वर्षीय बालकृष्ण उपाध्याय घिमिरे मृत फेला परेका हुन् ।
भक्तपुर प्रहरी परिसरका प्रमुख वेद विष्टका अनुसार सर्ई आफ्नै घरको तेस्रो तलामा आफू सुत्ने कोठाभित्र मृत अवस्थामा सई फेला परेका हुन् । अहिलेसम्म मृत्यु हुनुको कारण भने नखुलेको प्रहरीले जनाएको छ । प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृत सहितको टोली घटनास्थल पुगेर थप अनुसन्धान थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




