मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

पौष ५ गते बिहीबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । बिहीबार तयार पारिएको मुख्य १० समाचारमा इजरायलमा मारिएका १० जनाको परिवारलाई सरकारले दियो जनही १० लाख राहत देखि सिङ्गापुरस्थित क्रिप्टो कोषको १.१४ अर्ब डलर जफत सम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार
इजरायलमा मारिएका १० जनाको परिवारलाई सरकारले दियो जनही १० लाख राहत

काठमाडौं । इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीका परिवारलाई सरकारले जनही १० लाखका दरले रूपैयाँ राहत दिएको छ । अर्थ मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को २२ असोजको मन्त्रिपरिषद्को निर्णय अनुसार इजरायल घटनामा परी निधन भएका नेपाली नागरिकका परिवारलाई राहत स्वरुप प्रतिपरिवार १० लाखका दरले आर्थिक सहायता उपलब्ध गराइएको छ । यसका लागि मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई रकम निकासा दिएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

चालु आर्थिक वर्षमा मन्त्रालयले आर्थिक सहायता वितरणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपचारका लागि समेत ९ लाख ९५ हजार रुपैयाँ निकासा दिएको मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमी तथा सुविधासम्बन्धी ऐन २०७४ अनुसार यो रकम उपलब्ध गराएको जनाएको छ।

अर्थ मन्त्रालययबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यो रकम निकासा गरी राष्ट्रपतिको उपचारमा खर्च गरिएको उल्लेख छ। गत आर्थिक वर्षमा राष्ट्रपतिको उपचारको लागि ५५ लाख रूपैयाँ सरकारले उपलब्ध गराएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको भ्रमण मण्डलले अमेरिका र चीन भ्रमणमा चार करोड ७४ लाख दुई हजार रुपैयाँ खर्च गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड अमेरिकाको न्यूयोर्कमा भएको संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन गएको भदौ ३० गते अमेरिका भ्रमणमा गएका थिए । संयुक्त राष्ट्रसंघको ७८औँ महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधनपश्चात् प्रधानमन्त्री दाहाल असोज ५ गते न्यूयोर्कबाटै चीनको औपचारिक भ्रमणका लागि हाङजाउ पुगेका थिए ।

शून्य दशमलव ५ प्रतिशत भन्दा कम जनसङ्ख्या भएका जातजातिलाई मात्रै अल्पसङ्ख्यकको रुपमा तोकिने

सरकारले राष्ट्रिय सभा निर्वाचनको प्रयोजनका लागि कूल जनसङ्ख्याको शून्य दशमलव ५ प्रतिशत भन्दा कम जनसङ्ख्या भएका जातजातिलाई मात्रै अल्पसङ्ख्यकको रुपमा तोक्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कलाई आधार मानी कूल जनसङ्ख्याको शून्य दशमलव पाँच प्रतिशतभन्दा कम जनसङ्ख्या रहेका दलित बाहेकका जातजातिलाई अल्पसङ्ख्यकको रुपमा तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

राष्ट्रिय सभा सदस्यका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ ।यस्तै आजको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका, २०८०, अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति, २०७९ र राष्ट्रिय बालबालिका नीति २०७९ स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। भ्रमणपछि प्रधानमन्त्री दाहाल असोज १३ गते नेपाल फर्किएका थिए । यसरी भ्रमणमा जाँदा उनको भ्रमण टोलीले गरेको खर्च अर्थ मन्त्रालयले निकासी गरेको छ ।

अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर

जलवायु परिवर्तनसम्बन्धी कानुन बनाउन जारी परमादेशबमोजिम हालसम्म कानुन नबनाएको भन्दै सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालतले २०७५ पुस १० गते दिएको परमादेशअनुसार सरकारले अहिलेसम्म कानुन नबनाएको उल्लेख गर्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले अदालतको अवहेलना मुद्दा दायर गर्नुभएको हो । उक्त मुद्दामा यही पुस १२ गते सुनुवाइ हुनेछ ।

अदालतको आदेशमा भनिएको थियो, “जलवायु परिवर्तनलाई अनुकूलन तथा न्यूनीकरण गर्ने सन्दर्भमा एउटा छुट्टै कानुन निर्माण गरी समस्या सम्बोधन गर्न जरुरी भएकाले जलवायु परिवर्तनसम्बन्धी एकीकृत कानुन यथाशीध्र निर्माण गरी लागू गर्नू, गराउनू ।”

नवनियुक्त ६ न्यायाधीशहरुले लिए शपथ

सर्वोच्च अदालतमा नवनियुक्त ६ न्यायाधीशले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठबाट न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् । नवनियुक्त न्यायाधीशहरूमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाल छन् ।

वीरगञ्ज नाकाबाट एक वर्षमा एक हजार नौ सय ६३ विदेशी पर्यटक भित्रिए

। पर्साको वीरगञ्ज भन्सार नाकाबाट एक वर्षको अवधिमा एक हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । वीरगञ्जस्थित पर्यटक प्रहरी कार्यालयका अनुसार गत २०७९ पुस १ गतेदेखि २०८० मङ्सिर ३० गतेसम्म सो नाकाबाट एक हजार नौ सय ६३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने एक हजार नौ सय ६२ विदेशी पर्यटक बाहिरिएका छन् ।

अघिल्लो वर्ष सोही अवधिमा वीरगञ्ज नाकाबाट छ सय ५९ विदेशी पर्यटक नेपाल भित्रिएको पाँच सय पाँच विदेशी पर्यटक बाहिरिएका थिए । नेपालको हावापानी र घुमफिर गर्ने मौसमको दृष्टिकोण उपयुक्त मानिएको असोज, कात्तिक, मङ्सिर र पुस महिनामा नेपाल भित्रिने पर्यटकको सङ्ख्या अन्य महिनाको तुलनामा बढी रहेको पर्यटन प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक अनिलकुमार महतोले जानकारी दिए ।

नेपालमा पर्यटकीय आकर्षणका क्षेत्र बढ्दै गएको, हावापानी उपयुक्त भएको र कोरोना सङ्क्रमण न्यून भइसकेकोलगायत कारणले वीरगञ्ज नाकाबाट पर्यटक भित्रिने क्रम बढेको उनको भनाइ थियो । भारतको विभिन्न हुँदै वीरगञ्ज नाकाबाट नेपाल भित्रिने पर्यटकमा बढी अमेरिका, फ्रान्स, थाइल्याण्ड, जर्मनी, युएसए र क्यानडाका पर्यटक रहेको प्रहरी नायब निरीक्षक महतोले बताए । वीरगञ्ज नाकाबाट भित्रिने विदेशी पर्यटकलाई होटल, यातायात तथा अन्य क्षेत्रमा असुविधा वा ठगी हुन नदिन सचेत गराउनाका साथै दुर्घटनामा परी घाइते भएका विदेशी पर्यटकलाई उपचार गराई परिवारको जिम्मा लगाउने कार्यसमेत पर्यटक प्रहरी कार्यालयले गर्दै आएको उनको भनाइ थियो ।

अख्तियारद्वारा १४ करोड ८१ लाखभन्दा बढीको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्यितार दुरुपयोग अनुसन्धान आयोगले १४ करोड ८१ लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालत काठमाडौंमा दायर भएको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी आज (बिहीबार) सर्वोच्च अदालतमा पुनरावेदन गरिएको हो ।

विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा अख्तियारको निर्णय अनुसार आज सर्वोच्चमा पुनरावेदन गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

मदनप्रसाद गुप्ताले सार्वजनिक सेवा अवधिमा १४ करोड ८१ लाख ८९ हजार २३ रुपियाँ बराबरको सम्पत्तिको स्रोत खुलेको नदेखिएको अख्तियारको ठहर छ । अख्तियारका अनुसार गुप्ता तथा उनका परिवारका सदस्यहरु समेतले आय आर्जन गरेको रकम चार करोड ५४ लाख ७२ हजार २४६ रुपियाँको तुलनामा विभिन्न शीर्षकमा गरिएका खर्च तथा लगानी १९ करोड ३६ लाख ६१ हजार १६९ रुपियाँ देखियो प्रवक्ता घिमिरेले जानकारी दिए । उनका अनुसार गुप्ताको आयभन्दा बढी खर्च तथा लगानी गरेको १४ करोड ८१ लाख ८९ हजार २३ रुपियाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको हुँदा उक्त सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको अनुसन्धानबाट खुलेको छ ।

काठमाडौँको तापक्रम निरन्तर घट्दो, चिसो अझ बढ्ने

काठमाडौँ उपत्यकाको तापक्रम दैनिक घट्दो क्रममा छ । काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको छ । बुधबार काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियोभने आज बिहानको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको मौसमविद् रोजन लामिछानेले बताए । उनले भने, “काठमाडौँमा आज सबैभन्दा कम तापक्रम मापन भएको छ, यो अहिलेसम्मकै कम तापक्रम हो र यो अझै घट्ने सम्भावना छ ।” काठमाडौँ उपत्यकाको आज बिहान ५.४५ बजे ४ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको न्यूनतम तापक्रम ८.४५ बजे घटेर ४ दशमलव ५ डिग्री सेल्सियस कायम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उड्नै लागेको बुद्ध एअरको आकस्मिक ढोका यात्रुले खोलेपछि‘

पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एअरको आकस्मिक ढोका यात्रुले खोलेका छन् । बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौं उड्न लागेको उडान नं. ६५२ को जहाजको आकस्मिक ढोका यात्रुले खोलेका थिए । जहाज ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा ढोका खुलेको थाहा भएको बुद्ध एअरले जनाएको छ । यात्रुबाट के कति कारणले ढोका खुल्न गएको हो, यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले अध्ययन गरिरहेका पनि बुद्ध एअरले जनाएको छ । ढोका खोलेको जहाज बुद्ध एअरका प्राविधिकले जाँच गरिरहेको र काठमाडौं आउने यात्रुलाई अर्को जहाजबाट ल्याउन लागेको पनि बुद्ध एअरले स्पष्ट पारेको छ ।

‘भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनुपर्दैन’

सरकारले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमणबाट नआत्तिन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा केरला राज्यमा देखिएको सङ्क्रमणबाट डराउन नपर्ने बताए । उनले भारतमा देखिएको सङ्क्रमण श्वासप्रश्वाससम्बन्धी रहेकोले आत्तिनुपर्ने अवस्था नरहेको बताए ।

अहिले भारत र चीनमा श्वासप्रश्वास समस्या बढिरहेको छ । उनले कोरोनाका बेला तयार गरिएको सघन उपचार कक्ष (आइसियु), अक्सिजनलगायत भौतिक पूर्वाधार आवश्यक परेका बेला प्रयोग गर्न सकिने बताए । “अहिले देखिएको नयाँ भेरियन्ट नयाँ भए पनि नयाँ लक्षण यसमा छैन । त्यही श्वासप्रश्वाससम्बन्धी नै लक्षण अहिलेको नयाँ भेरियन्टमा देखिएको छ”, उनले भने, “हामीसँग भएका भौतिक पूर्वाधार र जनशक्ति तालिमप्राप्त भएकाले आत्तिहाल्नुपर्ने अवस्था छैन ।” उनका अनुसार सीमानाका र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेक्सलाई तयारी अवस्था राखिएको र श्वासप्रश्वाससम्बन्धी आएका बिरामीलाई विशेष निगरानी गर्न आग्रह गरिएको छ ।

उनले लामो समयसम्म श्वासप्रश्वास समस्या देखिएका बिरामीलाई भने अणुवांशिक अध्ययन (जिन सिक्वेन्सिङ) गर्न निर्देशन दिएको बताए । उनले सबैले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको हुनाले नयाँ भेरियन्टको सङ्क्रमणको रोकथाम खोपले गर्ने बताए । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) भारतको केरला राज्यमा कोभिड–१९ को नयाँ भेरिएन्ट भेटिएको पुष्टि गरेको हो ।

सिङ्गापुरस्थित क्रिप्टो कोषको १.१४ अर्ब डलर जफत

सिङ्गापुरको एक अदालतले आर्थिकरूपमा पतन भएको क्रिप्टोकरेन्सी हेज फण्ड थ्री एरोज क्यापिटलका संस्थापकहरूको विश्वव्यापी सम्पत्ति १.१४ अर्ब अमेरिकी डलर जफत गर्न आदेश दिएको छ ।

थ्री एरो क्यापिटलले गत वर्ष आर्थिकरूपमा सङ्कटग्रस्त बनेको भन्दै निवेदन दायर गरेको थियो । क्रिप्टो बजारमा मूल्यहरू घट्दै जाँदा यसको सम्पत्तिमा ठुलो कारोबार रोकिएपछि संस्था आर्थिकरूपमा धराशायी बनेको थियो ।

बेलायती भर्जिन आइल्यान्डको एक अदालतले सह–संस्थापक सु झू र काइल डेभिस तथा डेभिसकी पत्नी केली चेनविरुद्ध सोमबार उक्त आदेश जारी गरेको कारोबार रकम व्यवस्थापनका लागि जिम्मेवारी तोकिएको टेनेओ नामक संस्थाले जनाएको छ । आदेशमा भनिएको छ, “उनीहरूले आफ्नो सम्पत्ति (स्थानान्तरण वा बिक्री सहित) १.१४४ अर्ब अमेरिकी डलर बराबरको कारोबार गर्न रोक लगाएका छन् ।” “यसले थ्री एरोका संस्थापकका विपषी र सहयोगीहरूलाई उनीहरूको कानुनी दायित्व र जोखिमको बारेमा स्पष्ट सङ्केत पनि दिएको छ,” विज्ञप्तिमा भनिएको छ ।

आदेशमा डेभिसकी श्रीमतीलाई समावेश गर्नुले ‘लिक्विडेटर’हरूले सम्पत्ति पुनः प्राप्त गर्ने प्रयासको थप विस्तारलाई सङ्केत गर्दछ । गत सेप्टेम्बरको अन्त्यतिर सिङ्गापुरबाट उडान भर्ने क्रममा झुलाई पक्राउ गरिएको थियो र उनी चार महिनादेखि जेल जीवन बिताइरहेका छन् । डेभिस र उहाँकी पत्नीको ठेगाना अहिले थाहा छैन । तीनै जना सिङ्गापुरका नागरिक हुन् । सिङ्गापुरको मौद्रिक प्राधिकरणले झू र डेभिसलाई नौ–नौ वर्षका लागि देशमा नियमित लगानी गतिविधि सञ्चालन गर्न प्रतिबन्ध लगाएको थियो ।

लिक्विडेटर, ब्रिटिस भर्जिन आइल्याण्ड्सको एक अदालतले दिवालियापनको अध्यक्षता गर्न आदेश दिएको छ, थ्री एरोको सम्पत्ति पुनर्प्राप्त गर्न र कम्पनी असफल भएपछि यसको कारोबारलाई फिर्ता ल्याउने प्रयास गरिरहेको छ । यद्यपि, उसले झु र डेभिसलाई रकम फिर्ता गर्ने प्रयासमा सहयोग नगरेको र स्वेच्छाले जानकारी प्रदान गर्न असफल भएको आरोप लगाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *