पौष ४ गते बुधबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । बुधबार तयार पारिएको मुख्य १० समाचारमा सिंहदरबारमै बसेर सबैलाई टार्गेट दिन्छु, नियमित मूल्यांकन गर्छुः प्रधानमन्त्री प्रचण्ड देखि
राष्ट्रिय सभाका मतदाताको नामावली स्वीकृत, २०४७ जनाले मतदान गर्ने सम्मका समाचारलाई समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
सिंहदरबारमै बसेर सबैलाई टार्गेट दिन्छु, नियमित मूल्यांकन गर्छुः प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले एक वर्षे कार्यकालको गम्भीर समीक्षा गर्दै आगामी कार्ययोजना निर्माण गर्ने बताएका छन् । बुधबार दिउँसो सिंहदरबार कृषि तथा पशुपन्छी मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयको संयुक्त वार्षिक समीक्षाका निम्ति बोलाइएको बैठकमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
बैठकमा प्रधानमन्त्रीले भने, ‘आज २ वटा मन्त्रालयको मन्त्रालयगत अवस्था के छ, त्यसबारे समग्र स्थितिको जानकारी लिने काम भयो। यो आफैंमा महत्वपूर्ण छ। मैले सरकारको नेतृत्व लिएको १ वर्ष पुग्दैछ। मैले क्यालेण्डर नै बनाएर सबै मन्त्रालयसँग छलफल गर्ने सोचेको छु। एक वर्षमा हामीले कति काम गर्यौं, कहाँ के कति समस्या देखिए, त्यसको गम्भीर अध्ययन गरेर आगामी योजना निर्माण गर्छु।’
‘म १० बजे नै कार्यालय आउँछु। नियमित रूपमा छलफल, समीक्षा र मूल्यांकन हुन्छ’ प्रधानमन्त्रीले भने, ‘जनतालाई डेलिभरि दिने कुरा मुख्य हो। जति राम्रो डेलिभरि दिन सकियो, जनतामा राज्यप्रतिको विश्वास त्यति नै बढ्दै जान्छ। हामीले जनतालाई केन्द्रमा राखेर सोच्नुपर्छ, सोचिन्छ।’
“देशको अर्थतन्त्र, राजनीति र समाजको मुख्य हार्मोनी कृषि र भूमि नै हो। कृषिलाई विकासको मुल आधार बनाउन सकेनौं र भूमिको वैज्ञानिक व्यवस्थापन गर्न सकेनौं भने समृद्धिको मुल काम गर्न सक्दैनौं” प्रधानमन्त्रीले भने, “जलविद्युत र उद्योग पनि महत्वपूर्ण छन्। तर, उद्योग पनि कृषिमा आधारित भएर मात्र चल्छन्। तसर्थ, कृषिको उत्पादकत्व बढाउने र भूमिको वैज्ञानिक व्यवस्थापन गर्ने कुरालाई केन्द्रमा राखेर काम गर्नुपर्दछ।”
“मलको कुरा धेरै भयो। मल सधै बाहिरबाट किनेर मात्र हुँदैन, हामी आफैले उत्पादन गर्नेतर्फ सोच्नुपर्छ। कम्पोष्ट मलको पनि अधिकतम उपयोग गर्नुपर्छ” प्रधानमन्त्रीले भने, “यसपटक विगतभन्दा भिन्न ढंगको बजेट, नयाँ ढंगले जाने सोच्दैछु। त्यसका लागि पुस महिनाभित्रै एउटा राम्रो अन्तरक्रिया गर्छौं। नीति कार्यक्रम र बजेटको परम्परागत ढाँचा फेर्छौं, तपाईहरूले पनि त्यसरी नै सोचिराख्नुहोला।”
पशुपति विकास कोषका सयभन्दा बढी सल्लाहकारहरुको नियुक्ति खारेज
पशुपति क्षेत्र विकास कोषले विभिन्न समयमा नियुक्त गरिएका सयभन्दा बढी सल्लाहकारहरूको नियुक्ति खारेज गरेको छ । बुधबार बसेको कोषको परिषद् बैठकले यसभन्दा अगाडि गरिएका सल्लाहकार नियुक्तिको निर्णयलाई खारेज गरेको हो ।राजसंस्थाका पालादेखि हालसम्म विभिन्न समयमा नियुक्त गरिएका सयभन्दा बढी सल्लाहकार खारेज गरिएको विकास कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको निजी सचिवालयले जनाएको छ ।
परिषद बैठकले पशुपति क्षेत्र परिसरमा मदिरा विक्री वितरणसमेत बन्देज गर्ने निर्णय गरेको छ । बैठकले पशुपति दर्शन तथा अवलोकनमा आउने दर्शनार्थी र पर्यटकहरुको सुरक्षाका लागि सुरक्षा पोष्ट निर्माण गर्ने निर्णय गरेको छ । पशुपति विकास कोषमा जो कार्यकारी निर्देशक वा अध्यक्ष आए पनि सल्लाहकार नियुक्ति गर्ने लहड चलेको थियो ।
राष्ट्रपति पौडेलद्वारा सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनालाई नियुक्त गरेका छन् । न्यायपरिषदले सिफारिसपछि संसदीय सुनुवाई समितिले अनुमोदन गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई राष्ट्रपति पौडेलले बुधबार सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेका हुन् ।
यसअघि बुधबार नै संसदीय सुनुवाइ समितिले उनीहरुको नाम सर्वसम्मत अनुमोदन गरेको थियो । संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएसँगै अब राष्ट्रपतिले न्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
कुवेतबाट फर्केकी नेपाली महिलाले विमानमै जन्माइन् बच्चा
घरेलु कामदारको रुपमा कुवेत गएर फर्केकी नेपाली युवतीले विमानमा बच्चा जन्माएकी छन् । युएईको सारजाहबाट काठमाडौं आइपुगेको विमानको शौचालयमा नवजात शिशु फेला परेपछि यो रहस्य खुलेको हो । कुवेतबाट आएकी २८ वर्षीया धनमाया रानाले शौचालयभित्र उक्त शिशुलाई जन्माएर फालेको आशंका गरिएको छ । प्रहरीले युवती र शिशु दुवैलाई एम्बुलेन्समा राखेर सिनामंगलस्थित केएमसी अस्पताल लगेको थियो । शिशु जन्माएर फालेको भन्दै प्रहरीले रानालाई नियन्त्रणमा लिएको थियो ।
एअर अरेबियाको काठमाडौं अवतरण भएको विमानको शौचालयको कमोडभित्र लुकाई छिपाई भर्खर जन्माएको बच्चा छाडिएको अवस्थामा फेला परेको हो । विमान सफाइ गर्ने कर्मचारीले कमोडभित्र नवजात शिशु देखेपछि एयरलाइन्सका कर्मचारी र प्रहरीले खानतलास गरेका थिए । केही समययता घरेलु कामदारका रूपमा कुवेत पुगेका नेपाली युवतीमाथि चरम यौन शोषण हुने गरेको पाइएको छ । जसकारण स्वदेश फर्किदा उनीहरू गर्भवती अवस्थामै आउन विवश छन् ।
चार दिने नेपाल भ्रमणमा श्रीलंकाका विदेशमन्त्री साब्री आइपुगे काठमाडौं
श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्री नेपाल भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् । नेपाल–श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री चारदिने भ्रमणमा काठमाडौं आएका हुन् । संयुक्त आयोगको बैठकमा व्यापार तथा लगानी, पर्यटन, शिक्षा, रक्षा, संस्कृति, जनस्तरको सम्पर्क एवं कनेक्टिभिटीलगायत द्विपक्षीय सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बिहीबार र शुक्रबार हुने बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउदले गर्नेछन् भने श्रीलंकाको प्रतिनिधि मण्डलको नेतृत्व साब्रीले गर्नेछन् ।बैठकपछि विज्ञान, प्रविधि तथा अन्वेषणका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षरसमेत जनाइएको छ । साब्री श्रीलंकाका पूर्व अर्थमन्त्रीसमेत हुन् । साब्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, समकक्षी एनपी साउदलगायतसँग शिष्टाचार भेट वार्ता गर्नेछन् । चार दिने भ्रमण सकेर साब्री शनिबार स्वदेश फर्कनेछन् ।
वैदेशिक रोजगारीमा जाने नेपालीले तोडे रेकर्ड,मंसिरमा मात्रै ७१ हजारले छाडे देश
मंसिर महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरूको संख्या सबैभन्दा उच्च रहेको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या मंसिर महिनामा उच्च रहेको हो । मंसिरमा नयाँ र पुन श्रम स्वीकृतिमार्फत वैदेशिक रोजगारीमा जानेको संख्या ७१ हजार २ सय ७६ रहेको छ । गत वर्षको मंसिर महिनामा ६८ हजार ६ सय २२ को संख्यामा नेपालीहरू वैदेशिक रोजगारीमा गएका थिए ।
जुन अहिलेको अघिल्लो महिनाको तुलनामा ३ हजारले कम हो । मंसिर महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सर्वाधिक रोजाइमा युएई रहेको छ । त्यस्तै, नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आवको पहिलो चार महिनामा विदेश पढ्न जाने नेपाली विद्यार्थीहरूले करिब ३८ अर्ब ४४ करोड रुपैयाँ विदेश भित्र्याएका छन् । गत आवको सोही अवधिमा उक्त रकम करिब २२ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो ।
किसानको माग बेवास्ता गर्दै सरकारले तोक्यो उखुको मूल्य, प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने
सरकारले किसानको माग बेवास्ता गर्दै उखुको मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले किसानले उद्योगीबाट प्रतिक्विन्टल ५६५ रुपैयाँ पाउने गरी मूल्य निर्धारण गरिएको जानकारी दिइन् । सरकारले पनि उखुमा अनुदान दिने भएको छ। सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने उनको भनाइ छ ।
उखुको मूल्य निर्धारणको माग गर्दै उखु किसानले आन्दोलन गर्दै आएका थिए। उनीहरूले प्रतिक्विन्टल ७५० रुपैयाँ तोक्न माग गरेका थिए। तर सरकारले किसानले माग गरेको भन्दा एक सय रुपैयाँ कम मूल्य निर्धारण गरेको हो । चिनी मिल उद्योगीको दबाबमा सरकारले नयाँ मूल्य निर्धारण गरेको किसानहरूको आरोप छ ।
२८ दिनभित्र मेलम्चीको पानी ल्याउन द्रुत तालिका
मेलम्ची खानेपानी विकास समितिले अबको २८ दिनभित्रमा काठमाडौंमा मेलम्चीको पानी ल्याउन द्रुत तालिका बनाएको छ ।विकास समितिले विज्ञप्ति जारी गर्दै आयोजना र ठेकेदार कम्पनीबीच सहमति भएकाले अबको २८ दिनभित्र पानी पथान्तरण गरिसक्ने बताएको हो । ‘खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा मेलम्ची खानेपानी विकास समितिको मिति मंगलबार बसेको बोर्ड बैठकबाट निर्माण व्यवसायीसँग एक समझदारीपत्रमा मंगलबारै हस्ताक्षर गरी तत्काल निर्माण व्यवसायीलाई साइटमा परिचालनका लागि आवश्यक सहजीकरण र समन्वय गर्ने निर्णय भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
बैठकले निर्माण व्यवसायी सिनोहाइड्रोमार्फत् नै तत्काल कार्य सुरू गर्ने निर्णय भएको विकास समितिले जानकारी दिएको छ । ‘सहमति अनुसार निर्माण व्यवसायी सिनोहाइड्रो तत्कालै साइटमा परिचालन हुनेछ र आकस्मिक परिस्थिति पर्न आए बाहेक बढीमा २८ दिनको द्रुत कार्यतालिका अनुसार दुई सिफ्टमा जनशक्ति परिचालन गरी पानी पथान्तरणका लागि आवश्यक कार्यहरू सम्पन्न गरिने छ,’ विकास समितिले भनेको छ ।
सरकारी निकायलाई अख्तियारको ४८ बुँदे सुझाव
अख्तियार दूरुपयोग अनुसन्धान आयोगले सार्वजनिक निकायलाई विभिन्न ४८ बुँदामा सुझाव दिएको छ । आयोगको गत मंसिर ६ र ७ गते आयोग र नेपाल सरकारका नियामक निकायहरू तथा सार्वजनिक संस्थानहरू बिच सम्पन्न अन्तरक्रिया कार्यक्रमपश्चात आयोगले उक्त सुझावहरु दिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
अख्तियारले कार्यकारी र नियमनकारी दुवै कार्य गर्ने निकायहरूको (जस्तैः काठमाडौं उपत्यका विकास प्राधिकरण, नेपाल नागरिक उड्डयन प्राधिकरणलगायत) कार्य विभाजन गरी नियमनकारी वा कार्यकारी कार्यमध्ये कुनै एकमा मात्र कार्यक्षेत्र रहने गरी कानुनी व्यवस्था मिलाउन पनि सुझाव दिएको छ ।
अख्तियारले भनेको छ, “सार्वजनिक संस्थानहरूमा विस्तृत अध्ययनबाट जनशक्ति योजना तयार पारी अनावश्यक कर्मचारी घटाउने, कानुनविपरीत राजनीति गर्ने, काम नगर्ने कर्मचारीलाई कानुनी कारबाहीको दायरामा ल्याउने तथा कर्मचारी सरूवा, बढुवालाई स्वचालित बनाउने व्यवस्था मिलाउने ।” अख्तियारले हुण्डी, क्रिप्टोकरेन्सी लगायतका अवैध कारोबार नियन्त्रणको लागि नेतृत्व लिन नेपाल राष्ट्र बैंकलाई भनेको छ ।
पूर्वमन्त्री न्यौपानेको निधन
मान्म (कालीकोट)। नेपाल सरकारका पूर्वसूचना तथा सञ्चार सहायक मन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ । कलेजो रोगले ग्रसित न्यौपानेको उपचारका क्रममा आज बिहान ४ बजे भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा निधन भएको हो ।
मिर्गौला रोगपीडितसमेत रहनुभएका पूर्णमन्त्री न्यौपानेको उपचारका क्रममा अस्पतालमै निधन भएको उनका आफन्त रहेका अधिवक्ता उमाकान्त न्यौपानेले बताए । उनका अनुसार न्यौपानेको तीन महिनादेखि भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको थियो । दुई छोरा र तीन छोरी रहेका न्यौपानेका एक छोरा दुबईमा रहेका उनि दुबईबाट नेपाल फर्केपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने न्यौपानेले जानकारी दिए ।
विसं २०५१ मा कालीकोटमा नेकपा (एमाले)बाट प्रतिनिधिसभामा निर्वाचित न्यौपाने सूचना तथा सञ्चार सहायक राज्यमन्त्री भएका थिए । कालीकोटको रास्कोट नगरपालिका–८ को फुकोट गाउँमा जन्मिुनभएका न्यौपाने साविकको फुकोट गाउँ विकास समितिको अध्यक्षमा समेत निर्वाचित भएका थिए ।
राष्ट्रिय सभाका मतदाताको नामावली स्वीकृत, २०४७ जनाले मतदान गर्ने
निवार्चन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ । आयोगले बुधबार राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानूनी व्यवस्था अनुसार प्रदेश सभा सदस्य ५४९ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १४९८ जना गरी जम्मा २०४७ जनाको मतदाता नामावली स्वीकृत भएको हो ।
स्वीकृत नामावलीमा प्रदेश सभा सदस्यतर्फको कूल मतदाता ५५० मध्ये निधन भएका प्रदेश सभा सदस्य १ जनाको नाम हटाइ ५४९ जना कायम गरिएको छ। त्यसैगरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको कूल मतदाता १५०६ जनामध्ये निधन भएका गाउँपालिका अध्यक्ष १, उपाध्यक्ष १, नगरपालिका उपप्रमुख १ र निलम्बनमा परेका गाउँपालिकाका अध्यक्ष १, नगरपालिकाका प्रमुख ४ गरी जना ८ को नाम हटाइ कूल १४९८ जनाको नामावली स्वीकृत गरिएको छ ।
उल्लिखित मतदातामध्ये प्रदेश सभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ रहेकोले मिति २०८० माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रदेश सभा सदस्यको कूल मतभार २९,०९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कूल मतभार २८,४६२ गरी जम्मा ५७,५५९ मतभार रहेको छ ।




