पौष ३ गते मंगलबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । मंगलबार तयार पारिएको मुख्य १० समाचारमा देखीकांग्रेस एक ढिक्का भएमा कसैले हल्लाउन सक्दैनः शेखर कोइराला चिकित्सक लाइसेन्स परीक्षाका लागि आजदेखि आदर्श र सिद्धान्तलाई स्थापित गर्दै पार्टीलाई थप सुदृढ गरी अघि बढ्नुपर्छ स् सभापति देउवा सम्मका समाचारलाई समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
कांग्रेस एक ढिक्का भएमा कसैले हल्लाउन सक्दैनः शेखर कोइराला
पोखरा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीले कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरुको रिपोर्ट कार्ड मागे कांग्रेसले प्रधानमन्त्रीको रिपोर्ट कार्ड माग्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशको पोखराको सभागृहमा भइरहेको प्रथम सम्मेलनमा विशिष्ट अतिथिको रूपमा सम्बोधन गर्दै डा. कोइरालाले भने, ‘प्रधानमन्त्रीले मन्त्रीको रिपोर्ट कार्ड त माग्नुहोला तर कांग्रेसले प्रधानमन्त्रीको रिपोर्ट कार्ड माग्नुपर्छ ।’
उनले सरकारले जे गर्छ त्यसमा हो मा हो हैन कि यसो गर्नुपर्छ भनेर सुझाव दिइरहनु पर्नेमा जोड दिए । कांग्रेस जुर्मुराएर सरकारको नेतृत्व गरेर सबै समस्या समाधान गर्नुपर्नेमा पनि नेता कोइरालाले जोड दिएका छन् । उनले अबको चुनावमा कांग्रेस एक्लै लड्नुपर्नेमा जोड दिए । उनले भने, ‘एक ढिक्का भएमा कांग्रेसलाई कसैले हल्लाउन सक्दैन । कांग्रेस कमजोर हुन्छ त आफैँ हुन्छ, आफ्नै कारणले हुन्छ ।’ नेता कोइरालाले पार्टीको १५ औँ महाधिवेशन धेरै टाढा भएकाले पीर नगर्न पनि आग्रह गरेका छन् । उनले वैचारिक हिसावले गुट चले ठीक हुन्छ तर गुटले पार्टी सिध्याउन नहुनेमा जोड दिए ।
उनले पछिल्लो समय युवाहरु विदेशिने क्रम नरोकिएको भन्दै यसमा समीक्षा गर्न आवश्यक भएकोमा जोड दिए । उनले भने, ‘नेपाली युवाहरु किन विदेशतिर होमिए ? यसमा समीक्षा गरौँ । नेपालमा विकास गर्न आवश्यक छ, कृषिमा ध्यान दिन जरुरी छ । उत्पादनमा ध्यान दिन आवश्यक छ ।’ नेता कोइरालाले जनशक्ति नै नभएकाले व्यवसायीहरुसमेत पलायन हुने अवस्थामा पुगेको भन्दै पार्टीले यतातर्फ गम्भीर भएर ध्यान दिनुपर्नेमा जोड दिए ।
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया सहज र स्वाभाविक नलागेरै समिति गठन गरिएको हो ः प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेल शेयर बिक्री प्रक्रिया सरकारलाई सहज र स्वाभाविक नलागेको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा प्रधानमन्त्री दाहालले उक्त शेयर बिक्री प्रक्रियाका सहज र स्वाभाविक नलागेर नै सरकारले तत्काल निर्देशन र समिति गठन गरी छानबिन प्रक्रिया अघि बढाएको स्पष्ट गरे ।
उनले भने, “यसमा कहीँ न काहीँ गलत छ भन्ने लागेकै हुनाले छानबिन समिति बनाइएको हो । अध्ययन तथा छानबिन समितिको यकिन रायसुझावसहितको प्रतिवेदन प्राप्त भएपछि सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको नियमन, विदेशी लगानीको वातावरण निर्माणमा थप सहजीकरण, विदेशी मुद्रा सटही सुविधा र कर प्रशासनमा सुधारका लागि आवश्यक कदम चाल्नेछ ।”
उनले एनसेल प्रकरणमा कतै कसैबाट कानुन विपरीतका काम कारबाही भए गरेको पाइएमा कानुनबमोजिम हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध रहेकोबारे समितिलाई जानकारी गराए । यसको संवेदनशीलता करमा मात्र सीमित नभएको जनाउँदै प्रधानमन्त्री दाहालले विदेशी लगानी भित्र्याउने प्रक्रियामा समान्य त्रुटि गरिएमा राष्ट्रका लागि ठूलो क्षति हुन सक्नेतर्फ समेत सरकारले गम्भीररुपमा लिएको बताए ।
प्रधानमन्त्री दाहालले सो विषयलाई सरकारले गम्भीरतापूर्वक लिँदै त्यस सम्बन्धमा भए गरेका काम कारबाही तथा समग्रमा यसले नेपालको राजस्व, लगानी र दूरसञ्चारको विकासमा पर्ने पार्ने प्रभावका बारेमा गहन र विस्तृत अध्ययन तथा छानबिन गर्नुपर्ने आवश्यकता महसुस गरी पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन तथा छानबिन समिति गठन गरेको बताए ।
उक्त समितिलाई एनसेलको हालै भएको भनिएको शेयर खरिद–बिक्री र हक हस्तान्तरण सम्बन्धमा भए गरेका काम कारवाहीहरूको विस्तृत अध्ययन तथा छानबिन गरी यसबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर, दूरसञ्चार सेवा नियमन तथा सञ्चालन र नेपाल सरकारको कर तथा राजस्वमा पर्न सक्ने असर तथा प्रभाव विश्लेषण गरी तत्काल चाल्नुपर्ने कदम तथा नेपालको दूरसञ्चार क्षेत्रका लागि भविष्यमा गर्नुपर्ने सुधारका सम्बन्धमा समेत अध्ययन विश्लेषण गरी रायसुझावसहितको प्रतिवेदन ३० दिनभित्र पेस गर्ने कार्यादेश दिइएको छ ।
प्रधानमन्त्री दाहालले एनसेल आजियटाको स्वामित्वमा रहेको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको आठ सय पाँच शेयर न्यून मूल्याङ्कन गरी खरिद–बिक्री भएको तथा उक्त कारोबारमा करछलीको योजना गरिएको भन्ने समेतका विषयहरू विभिन्न सञ्चारमाध्यममा प्रकाशन र प्रसारण भएपछि सो सम्बन्धमा विभिन्न क्षेत्रबाट चासो व्यक्त गरिएको बारे पनि समितिलाई जानकारी दिए ।
प्रधानमन्त्री दाहालले आफू जलवायु परिवर्तनसम्बन्धी कोप–२८ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेटसको दुबइमा रहेकै बेला सो खरिद–बिक्रीको काम भएको भन्ने समाचार आएकाले स्वदेश फर्कनासाथ अध्ययन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको स्पष्ट गरे ।
प्रधानमन्त्री दाहालले छानबिन समितिले नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, उद्योग विभाग, नेपाल राष्ट्र बैङ्क, आन्तरिक राजस्व विभाग र अन्तर्गतका करदाता सेवा कार्यालय र धितोपत्र बोर्डसँग समन्वय गरी कागजात र विवरण सङ्कलन गर्ने र सोको विश्लेषण गर्ने कार्य गरिरहेका बैठकलाई जानकारी गराए ।
प्रधानमन्त्री दाहालले ती नियामक निकायहरूले आ–आफ्नो क्षेत्राधिकारमा रही वैदेशिक लगानीसमेत रहेको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको वैदेशिक लगानी, शेयर खरिद–बिक्री, कर राजस्व, विदेशी मुद्रा सटहीसमेतको विषयमा प्रमाण तथा कागजात सङ्कलन समेतको कार्य गरिरहेको अवगत गराए ।
बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेलको ८० प्रतिशत शेयर अर्को विदेशी कम्पनीलाई बिक्री गरेको भन्ने समाचार सञ्चारमाध्यममा आएपछि प्रधानमन्त्री र आफ्नो मन्त्रालयले तत्कालै आवश्यक चासो लिई नियामक निकायसँग बुझ्ने काम भएको जानकारी दिए । उनले भने, “एनसेलको शेयर बिक्री वितरण गर्न नियमन निकाय स्वीकृत लिनुपर्नेमा त्यो नभएको अवस्था छ, बिक्री अन्तरराष्ट्रिय मूल्य मान्यताअनुरुप छ÷छैन, त्यससम्बन्धी कानुन केकस्तो छ भन्नेबारे सरोकारवाला निकायसँग छलफल भएको र त्यसपछि मन्त्रिपरिषद्बाट विस्तृत अध्ययन छानबिन समिति गठन गरिएको छ ।”
मन्त्री शर्माका अनुसार, छानबिन समितिले अहिले काम अघि बढाइरहेकाले वैदेशिक लगानीको अवस्था, शेयर खरिद–बिक्रीको पारदर्शिता, कर र राजस्वको विषय के भएको छ । ऐन नियमको पालना भएको छ कि छैन भनी समितिले अध्ययन गर्ने छ । छ वर्षपछि एनसेल सरकारको मातहत आउँदैछ ।
नेपालको दूरसञ्चार क्षेत्रको विकासमा देखापरेका समस्या खासगरी विदेशी लगानी नेपालमा कसरी आकर्षण गर्ने, पारदर्शिता कायम गर्ने पाटोमा देखिएका चुनौतीलाई सम्बोधन गरिने उनले बताए । मन्त्री शर्माले एनसेलका विषयमा उठेको विषयलाई सरकारले अत्यन्त गम्भीरताका साथ अध्ययन र छलफल गरेर निष्कर्षमा प्रयत्न गरिरहेको जानकारी दिँदै त्यस सम्बन्धमा देखिएका कमीकमजोरी र समस्या समाधान गर्न निर्देशन भए अनुरुप काम अघि बढाइएको जानकारी दिए ।
एनसेल खरिद–बिक्री प्रकरणबारे राज्यव्यवस्था तथा सुशासन समितिको बैठकले ६ बुँदे निर्देशन दिएको छ ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छलफलमा बोलाइएको थियो । उक्त बैठकपछि समितिले ६ बुँदे निर्देशन दिएको हो । समितिले एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदनलाई समेत आधार लिइ राज्यलाई तिर्नुपर्ने वा बुझाउनुपर्ने कर एनसेलनबाट असुल उपर गर्न निर्देशन दिएको छ ।
मकवानपुर बहुमुखी क्याम्पस हेटौडालाई सार्बजानिक बिश्वबिधालय बनाउने बागमती प्रदेशको निर्णय
बागमती प्रदेश सरकार मन्त्री परिषदको बैठकले मकवानपुर बहुमुखी क्याम्पस हेटौडालाई बागमती प्रदेश सार्बजानिक बिश्वबिधालय बनाउककने निर्णय गरेको छ । मंगलबार बसेको बागमती प्रदेश मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको हो ।सरकारले प्रादेश उच्च शिक्षा ऐन २०७८ लाई कार्यान्वयन गर्दै प्रदेश उच्च शिक्षा परिषद्अन्तर्गत हेटौँडाको मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउन पहल अघि बढाएको हो ।
२०७८ चैत १५ मा जारी उक्त ऐनमा प्रदेशको मौलिक सम्भावना र चुनौतीलाई मध्यनजर गर्दै समुदायको ज्ञान, सीप र प्रविधिलाई शिक्षासँग जोड्न, शैक्षिक तथा प्राज्ञिक क्षेत्रलाई मर्यादित, गुणस्तरीय र व्यावहारिक बनाउन विश्वविद्यालय स्थापनाको व्यवस्था गरिएको छ ।
आदर्श र सिद्धान्तलाई स्थापित गर्दै पार्टीलाई थप सुदृढ गरी अघि बढ्नुपर्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आदर्श र सिद्धान्तलाई स्थापित गर्दै पार्टीलाई थप सुदृढ गरी अघि बढ्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै उनले पार्टीलाई एकताबद्ध बनाउँदै लैजान सके बहुमत र त्यो नभए सबैभन्दा ठूलो पार्टी बनाउने गरी काम गर्नुपर्नेमा जोड दिए ।
नेपाल आदिवासी, जनजाति, दलितलगायतको साझा देश भएको उल्लेख गर्दै सभापति देउवाले सबैलाई एकसाथ समेटेर लैजानुपर्ने बताए । “कुनै पनि पार्टीको बहुमत छैन, त्यसैले कुनै न कुनैसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता छ, आवश्यकता पनि यही हो”, उनले भने । कांग्रेसको आदर्श र सिद्धान्तमा अन्य पार्टी पनि आएका र त्यसमानेमा पार्टीको जित भएको उनको भनाइ थियो । सभापति देउवाले भने– “बहुदलीय प्रजातन्त्र हाम्रो सिद्धान्त र आदर्श हो, यसमा समावेशी र समानुपातिक पनि राखिएको छ ।” नेपाली कांग्रेसका उपसभापति एवं कानुनमन्त्री धनराज गुरुङले आम कार्यकर्ताको भावनालाई आत्मसात् गर्दै पार्टी सङ्गठनलाई अघि बढाउनुपर्नेमा जोड दिए ।
पार्टीका महामन्त्री गगनकुमार थापाले कांग्रेसका लागि काम गर्न धेरै अवसर रहेको उल्लेख गर्दै जनताको निराशा हटाउने गरी काम गर्न जरुरी भएको बताए । विधानमा उल्लेखित विषयको पालना गर्दै विधि र पद्धतिअनुसार पार्टी सङ्गठनलाई अघि बढाउने कुरामा सबै लाग्नुपर्ने उनको भनाइ थियो । पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले धेरै सङ्कट पार गरेर आएकाले विद्यमान समस्याको सहजै समाधान गर्नसक्ने जिकिर गरे । हरेक समय चुनावको चिन्ता गर्ने नभई देशको चिन्ता गरी अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले गुटका कारण कांग्रेस कमजोर बन्न नहुने भन्दै पार्टीलाई एक ढिक्का बनाएर लैजानका लागि सबैको सकारात्मक सोच र क्रियाशीलता आवश्यक हुने बताए । पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस सहमहामन्त्री जीवन परियार, पूर्वमहामन्त्री शशाङ्क कोइराला, गण्डकी प्रदेशका मुख्यमन्त्री एवं पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र शङ्कर भण्डारी, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललगायतले आ–आफ्नो धारणा राखेका थिए ।
राजसंस्था र हिन्दु राष्ट्र पुनस्थापनाको पक्षमा जनदबाब सिर्जना गर्न वृहत आन्दोलन गर्ने राप्रपाको निर्णय
राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी फागुनमा उपत्यका केन्द्रीत आन्दोलन गर्ने भएको छ । पार्टीको मंगलबार काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । पुस र माघ महिनामा देशभर सभा र आन्दोलनको तयारी गर्ने र फागुन लागेपछि मेची–महाकाली एकता यात्रासँगै उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय भएको अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बताए ।
आन्दोलनका लागि पार्टीले लिङ्देनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति गठन गरेको छ । समितिमा केन्द्रिय कार्य समितिका सबै पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरु रहने लिङ्देनले जानकारी दिए । ‘हिन्दु राष्ट्र पुनस्र्थापना र प्रदेश तह खारेजीका लागि व्यापक जनदबाब सृजना गर्न पार्टीले बृहत् आन्दोलन गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘जनताको चाहना भयो भने हामी संसद छाडेर पनि आन्दोलन अघि बढाउन सक्छौं ।’ आन्दोलन तयारीका लागि पुस र माघमा देशैभर व्यापक सभा तथा तयारीका अन्य कामहरु गरिने उनले बताए । ‘फागुनमा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रीत प्रदर्शन गर्ने निर्णय गरेका छौं,’ उनले भने ।
पार्टीका संगठन विभाग प्रमुखसमेत रहेका महामन्त्री डा. धवल शमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरिएको राप्रपाले जनाएको छ । कोषाध्यक्ष नीलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक परिचालन समिति, प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठको संयोजकत्वमा प्रचार तथा प्रसार समिति गठन भएको छ । यस्तै, राप्रपाले सञ्चालन गरिरहेको नवीन राप्रपा कार्ययोजनाका बाँकी कामहरुलाई पनि आन्दोलनको अंगकै रुपमा सम्पन्न गर्ने निर्णय भएको लिङ्देनले बताए । राप्रपाले मुलुकको बिग्रदो अर्थतन्त्र, भ्रष्टाचार, चरम बेरोजगारी, बढ्दो निराशा, आर्थिक मन्दीका कारण साना किसान तथा उद्यमीहरूमाथिको बढ्दो ऋणभार, युवा शक्तिको विदेश पलायन लगायतका जनजीविकाका विभिन्न मुद्दा उठाएर उपत्यका केन्द्रीत आन्दोलन गर्न लागेको पार्टीले जनाएको हो ।
एनसेल प्रकरण ः सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
एनसेलको सेयर खरिदबिक्री भएको विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले गत मंसिर २२ गते दायर गरेको रिटमा मंगलबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतले सो आदेश दिएका हुन् । सांसद सिंहले एनसेल सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिदबिक्री भएको सांसद सिंहले रिट निवेदनमा उल्लेख गरेका छन् । न्यायाधीश राउतले उक्त रिटमा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई पुस १६ गते छलफलमा बोलाउने आदेश दिएका हुन् ।
प्रधानमन्त्रीसँग श्रीलङ्काका राजदूतको भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि श्रीलङ्काका राजदूत सुदर्शना पार्थिरानाले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री कार्यालयमा आज भएको सो भेटमा उनीहरुबीच नेपाल र श्रीलङ्का सम्बन्धका विविध विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
नयाँ मन्त्री निवास परिसरमा आगलागी
ललितपुरको भैंसेपाटीस्थित नयाँ मन्त्री निवास परिसरमा आज आगलागी भएको छ ।
मङ्गलबार मध्याह्न मन्त्री निवास भित्र जस्ताले बनाइएको टहरमा आगलागी भएको र त्यसलाई नियन्त्रणमा लिएको जानकारी भैंसेपाटीस्थित प्रहरी प्रभागले दिएको छ । मानवीय क्षति नभएको र श्रमिक बस्नका लागि बनाइएको टहरामा आगलागी भएको, त्यसमा रहेका रङ्ग र तारहरू जलेको जानकारी पनि प्रहरीले दिएको छ ।
कांग्रेस गण्डकी प्रदेश सम्मेलनमा सभापति देउवाद्धारा उदघाटन
नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलनको बैठक सुरु भएको छ । कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरी बैठक सुरु भएको हो ।
सम्मेलनमा सभापति देउवासहित पार्टी केन्द्रीय समितिका पदाधिकारीसमेत उपस्थित छ । सम्मेलनको उद्घाटन पोखरा सभागृहमा भयो भने बन्दसत्र भोलि पोखरा पार्टी प्यालेसमा हुने गरी व्यवस्था मिलाइएको छ । सम्मेलनमा पार्टीको गण्डकी प्रदेश कार्यसमितिसहित पाँच सय जना प्रतिनिधिले बन्दसत्रमा भाग लिने तयारी गरिएको हो ।




