पौष २ गते सोमबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । सोमबार तयार पारिएको मुख्य १० समाचारमा आगामी निर्वाचनमा ठूलो पार्टी बनाउन एकसाथ अघि बढ्न नेता कार्यकर्तालाई सभापति देउवाको आग्रहदेखी चिकित्सक लाइसेन्स परीक्षाका लागि आजदेखि आवेदन खुला सम्मका समाचारलाई समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
आगामी निर्वाचनमा ठूलो पार्टी बनाउन एकसाथ अघि बढ्न नेता कार्यकर्तालाई सभापति देउवाको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानअनुसार अहिलेको निर्वाचन प्रणालीबाट कुनै पनि पार्टीको बहुमत नआउने बताएका छन् । कांग्रेसको नुवाकोट जिल्ला सम्मेलनलाई सोमबार सम्बोधन गर्दै एकल बहुमत आउन धेरै गाह्रो भएकाले कसै न कसैसँग मिल्नुपर्ने बाध्यता भएको उनले बताए । ‘हाम्रो पार्टी गएको निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनेको थियो । तर, हामीले बहुमत पु–याउन सकेनौँ’ सभापति देउवाले भने, ‘त्यसैले हामीले कसै न कसैसँग मिल्नुपर्छ ।
तपाईंहरूलाई थाहा छ, हाम्रो पार्टीमा घात, अन्तर्घात पनि छ । खुट्टा तानातान पनि पार्टीमा भइरहेकै हो, अहिले होइन पहिलेदेखि नै । त्यसैले हाम्रो पार्टीलाई पनि सुर्धानुछ ।’ पार्टीभित्र घात, अन्तर्घात गर्नेलाई कारबाही गरौँ भन्दा नेताहरुले नै कारबाही गर्न पाइँदैन भन्ने गरेको सुनाए । उनले आगामी निर्वाचनमा एकल बहुमत नभए ठूलो पार्टी बनाउन एकसाथ अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरे ।
माओवादी पदाधिकारी बैठक मंगलबार बस्ने
नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ। मंगलबार (पुस ३) गते दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको सचिव गणेश साहले जानकारी दिए । बैठकमा रुपान्तरण अभियान, विधान सम्मेलन, राष्ट्रियसभा निर्वाचन लगायत विषयमा छलफल हुनेछ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने तय भएको छ।
जनताको आक्रोश गणतन्त्रप्रति होइन, नेतृत्वप्रति होः शेखर कोइराला
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको रिपोर्ट कार्ड आफूहरूले मागिरहेको बताएका छन्। दाहाल प्रधानमन्त्री बनेको पुस १० गते एक वर्ष पुग्दैछ।प्रधानमन्त्री दाहालले मन्त्रीहरूलाई पुस ५ देखि १० गतेसम्म काठमाडौं उपत्यका नछाड्न भनेको सुनिएको उल्लेख गर्दै कोइरालाले प्रधानमन्त्रीकै रिपोर्ट कार्ड माग गरिएको बताए। नुवाकोट कांग्रेसको जिल्ला सम्मेलनलाई सोमबार सम्बोधन गर्दै कोइरालाले भने, ‘सरकारको कामकारबाहीको कुरा आइराखेको छ।
अमेरिकी राष्ट्रपति बाइडेनको गाडीमा कार ठोक्कियो
अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी श्रीमती सवार गाडीमा एउटा कारले ठक्कर दिएको छ । आइतबार अमेरिकाको डेलावेयरमा बाइडेन आफ्नी पत्नी जिल बाइडेनसँग एक कार्यक्रमबाट फर्कदै गर्दा उनको सवारीमा एउटा कार आएर ठोक्किएको थियो । तर, दुर्घटनामा राष्ट्रपति र प्रथम महिला घाइते भने भएनन् ।
तुरुन्तै बाइडेनका अंगरक्षकले दुवैलाई उद्धार गरी कारमा घटनास्थलबाट टाढा पठाएको थियो। अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार अनुसार राष्ट्रपति बाइडेनलाई ठक्कर दिने कार सिल्भर रंगको सेडान थियो। बाइडेनको गाडीलाई ठक्कर दिने चालकलाई सुरक्षाकर्मीले तत्काल पक्राउ गरेका थिए । दुवै सवारीसाधन बाइडेनबाट ४० मिटरको दूरीमा ठोक्किएका हुन् । बाइडेन र उनकी पत्नी अभियानका लागि डेलावेयर गएका थिए।
दुवैले एउटा रेस्टुरेन्टमा खाना खाएका थिए । रेस्टुरेन्टमा केही पत्रकारले बाइडेनलाई प्रश्न सोधिरहेका बेला कार दुर्घटनाको आवाज सुनिएको थियो। यो सुनेपछि गोप्य सेवा सक्रिय भयो । लगत्तै राष्ट्रपतिको उद्धार गरिएको जानकारी गराइएको थियो ।अमेरिकी राष्ट्रपतिलाई विश्वको सबैभन्दा शक्तिशाली राष्ट्रपति मानिन्छ, तर उसको सुरक्षाको विषयमा निर्णय लिने काम गुप्तचर निकायको हो । राष्ट्रपतिले चाहेमा पनि उनलाई एक्लै छोड्दैनन् ।
भारतमा फेरि फैलियो कोरोना, पाँचको मृत्यु
छिमेकी देश भारतमा फेरि कोरोना भाइरस देखापरेको छ । पछिल्लो २४ घन्टामा पाँचजनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मृत्यु हुनेमा चारजना केरला र एकजना उत्तर प्रदेशका छन्। भारतसँगै सिंगापुरमा पनि कोरोना भाइरसको नयाँ सवभेरियन्ट देखिएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा आइतवार ३३५ नयाँ केसहरू दर्ता भएका छन् । त्यसपछि सक्रिय केस बढेर १७ सय एक पुगेको छ। केरलामा कोरोनाको नयाँ सबभेरियन्ट पुष्टि भएको छ।
हालसम्म भारतमा चार करोड ५० लाख चार हजार ८१६ कोरोना संक्रमित भेटिएका छन् । मृत्यु हुनेको संख्या पाँच लाख ३३ हजार ३१६ पुगेको छ। यस रोगबाट निको हुनेको संख्या चार करोड ४४ लाख ६९ हजार ७९९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९८.८१ प्रतिशत र मृत्युदर १.१९ प्रतिशत छ ।हालसम्म भारतमा २२०.६७ करोड डोज कोभिडविरुद्धको भ्याक्सिन दिइएको छ।
शिक्षामा गरिएको लगानीअनुसार प्रतिफल प्राप्त हुनुपर्छ ः राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा नीति समाजसापेक्ष, बजारमुखी र प्रतिस्पर्धी बनाउन आग्रह गरेका छन् । सोमबार त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोहलाई त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्बोधन गर्दै उनले प्रसिद्ध विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, कर्मचारीका सामुन्ने नेपालीले हासिल गरेको ज्ञान, कला, कौशल, सीप र क्षमतामा कुनै कमी हुन नहुने बताए । शिक्षा विकासमा सरकारले ठूलो लगानी गरे पनि पर्याप्त नभएको उनले औँल्याए । दीक्षित विद्यार्थीले प्राप्त गरेका ज्ञान, सीप, प्रविधि राष्ट्र निर्माणका लागि उपयोग गर्नसमेत उनले आग्रह गरे ।
‘सक्षम, सबल, तथा समृद्ध राष्ट्र निर्माणका लागि दीक्षित छात्रछात्राहरूको भूमिका महत्त्वपूर्ण हुनेछ,’ राष्ट्रपति पौडेलले भने, ‘भोलि देशलाई कुन दिशामा लैजाने हो । त्यो तपाईँहरूकै हातमा छ ।’ देशबाट मैले के पाए भन्दा पनि देशलाई मैले के दिए, के दिँदै छु र भविष्यमा के योगदान गर्न सक्नु भनेर सकारात्मक सोच लिनुपर्ने उनले सुझाव दिए । ‘आजको यस प्रतिस्पर्धात्मक वातावरणमा तपाईँहरूले बेहोर्नु परेको चुनौतीप्रति पनि राष्ट्र अनभिज्ञ छैन । एकातिर पढाइमा अब्बल बन्नुपर्ने दबाबमा अभिभावक र समाजबाट हुन्छ भन्ने अर्कोतर्फ आकर्षक रोजगारी पाइन्छ कि पाइन्न भन्ने चिन्ता पनि रहिरहन्छ,’ उनले भने, ‘यस प्रकारको अवस्थाको अन्त्य आवश्यक छ ।’
त्रिविको दीक्षान्त समारोह समाप्त, गिजिबुकमा नाम रेकर्ड
त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा आज विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट विद्यार्थीहरु दीक्षित भएका हुन् ।
त्रिविको ६१औँ ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए । निवेदन दिएकामध्ये स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ एक सय १२ विद्यार्थी दीक्षित भएका हुन् ।
विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्रा डा शिवलाल भुसालले विसं २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उत्तीर्ण गरेका विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुन पाउने व्यवस्था गरिएको जानकारी दिए । गत वर्ष १० हजार तीन सय विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए । त्रिविले दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर ‘ध्यचमि च्भअयचम’ बनाएको छ । त्रिविले कीर्तिमानको प्रमाणपत्र पनि प्राप्त गरेको छ।
२० सांसदहरूको टोली चीन प्रस्थान
संघीय संसदका सदस्यहरुको टोली १० दिने चीन भ्रमणका लागि आइतबार दिउँसो बेइजिङ प्रस्थान गरेका छन् । नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेको नेतृत्वमा २० सदस्यीय टोली एयर चाइनाबाट दिउँसो १२ः ५ बजे छेन्दु हुँदै बेइजिङ प्रस्थान गरेका हुन् । भ्रमण टोलीमा नेपाली कांग्रेस र नेकपा एमालेका ५–५, नेकपा माओवादी केन्द्रका ३ तथा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट एक–एक जना छन् ।
चीनको वाणिज्य मन्त्रालय अन्तर्गतको अन्तर्राष्ट्रिय व्यापार एकेडेमीको कार्यक्रममा सहभागी हुन सांसदहरुको टोली चीन गएको हो । चीनमा रहँदा भ्रमण टोलीले बेइजिङ, नानजिङ र गियाङ सहरसमेत भ्रमण गर्ने कार्यतालिका छ । नेपाली कांग्रेसबाट युवराज शर्मा, रामनाथ अधिकारी, ऐनबहादुर शाही, सरस्वती बजिमय र कुसुमदेवी थापा, नेकपा (एमाले)बाट दामोदर बैरागी, मानबीर राई, निर्मला कोइराला, रुक्मिणी राना बराइली र भगवती न्यौपाने, नेकपा (माओवादी केन्द्र)बाट मुख्य सचेतक पाण्डेसहित जगप्रसाद शर्मा र नारायणी शर्मा छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिशा नेपाली, जनता समाजवादी पार्टीबाट प्रकाश अधिकारी र नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक मेटमणि चौधरी रहेका छन् । भ्रमण टोलीमा संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्का, सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारी र शाखा अधिकृत जीवन निरौला सहभागी छन् । १० दिने भ्रमण पूरा गरी संसदीय टोली पुस १४ गते काठमाडौं फर्कने कार्यक्रम छ ।
मंसिर २९ देखि संसदीय सुनुवाइ समितिले प्रस्तावित
न्यायाधीशहरूको सुनुवाइ थालेको थियो । अब उनीहरुको नाम अनुमोदनका लागि ४ पुसमा अर्को बैठक बस्ने समितिले निर्णय गरेको छ । प्रस्तावित ६ न्यायाधीशमा सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सारंगा सुवेदी र अब्दुल अजीज मुसलमान छन् । समितिबाट नाम अनुमोदन भएमा राष्ट्रपतिबाट नियुक्त गर्ने व्यवस्था छ ।
चिकित्सक लाइसेन्स परीक्षाका लागि आजदेखि आवेदन खुला
नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाका लागि आवेदन खुला गरेको छ । काउन्सिलले चिकित्सकको ६८औँ लाइसेन्स परीक्षा अन्तर्गत आगामी माघमा हुने परीक्षाका लागि आजदेखि आवेदन खुला गरेको हो । उक्त परीक्षामा सहभागी हुन भहबm.लmअ.यचन.लउ मा दिइएको निर्देशन बमोजिम अनलाइन आवेदन फारम भरी बुझाउन काउन्सिलले अनुरोध गरेको छ ।
आवेदन आज देखि माघ २ गतेसम्म नियमित तथा माघ ३ र ४ गते विलम्ब शुल्कसहित बुझाउन सकिने व्यवस्था रहेको छ ।अनलाइन आवेदन फारम भर्ने र बुझाउने व्यवस्था चौबीसै घण्टा खुला रहने काउन्सिलले जनाएको छ । परीक्षा माघ १७ देखि १९ गतेसम्म इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक ललितपुरमा कम्प्युटर प्रविधिबाट हुनेछ ।




