मंशिर २९ गते शुक्रबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । शुक्रबार तयार पारिएको मुख्य १० समाचारमा बालेनलाई अदालतको अर्को झड्का, सुर्तीजन्य पदार्थ बिक्री रोक्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश देखी निमा छिरिङ ट्राभल्सका संचालक मनोज तामाङसहित दुई जना पक्राउ सम्मका समाचारलाई समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
बालेनलाई अदालतको अर्को झड्का, सुर्तीजन्य पदार्थ बिक्री रोक्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
काठमाडौँ । काठमाडौं महानगरपालिकाले सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आन्तरिम आदेश दिएको छ । शुक्रबार न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले रिटको अन्तिम टुंगो नलगेसम्म महानगरले मंसिर १२ गतेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
काठमाडौं महानगरपालिकाले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐनलाई आधार बनाएर बिक्रीवितरण समेतमा पूर्ण प्रतिबन्ध लगाइएको छ भन्ने सूचनाले निवेदकहरूलाई अपुरणीय क्षति पुग्न सक्ने भन्दै यस्तो आदेश दिएको हो । महानगरपालिकालाई विपक्षी बनाई श्रीराम टोवाको उद्योगले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।
सम्पत्ति शुद्धीकरणले खाँणसँग माग्यो १५ लाख धरौटी, अब अख्तियार लगियो
कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग लागिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालतपाटनको आदेश अनुसार ३० लाख धरौटीमा छुटेका खाँणलाई आजै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लागिएको थियो । विभागले खाँणसँग १५ लाख रुपैयाँ धरौटी मागेपछि सो रकम बुझाएसँगै उनलाई अख्तियार लागिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी खाँणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाँणमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गर्नुपर्ने प्रहरीले राय दिएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणलाई उपस्थित गराउन यसअघि नै सम्पत्ति शुद्धीकरण र अख्तियारले केन्द्रीय कारागारमा पत्र पठाएका थिए । यसैले खाँणमाथि विभाग र अख्तियारले पुन स् अनुसन्धान गर्ने छन् ।
राष्ट्रियसभा निर्वाचनका लागि १२ वटा राजनीतिक दलले गरे दल दर्ता
१२ वटा राजनीतिक दलहरुले आगामी माघ ११ गते तय भएको राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन दल दर्ता गरेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले दल दर्ताको अन्तिम दिन शुक्रबारसम्म निर्धारण गरेको थियो । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आवेदन दिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार लोकतान्त्रिक समाजवादी पार्टी (लोसापा), नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले पनि राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन आवेदन दिएका छन् । आइतबार आवेदन परेका दलको निवेदनमाथि जाँचबुझ गरिने प्रवक्ता पौडेलले बताए ।
निर्वाचन आयोगका अनुसार मंसिर २४ देखि २९ गतेसम्म दर्ता भएका दलले मात्रै राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन पाउनेछन् । फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदैछ । माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ ।
सरकारलाई दिएको समर्थन फिर्ता लिन महन्थलाई राजेन्द्र महतोको आग्रह
लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले सरकारलाई दिएको समर्थन फिर्ता गरी संघर्षको कार्यक्रम घोषणा गर्न आग्रह गरेका छन् । नेता महतोले शुक्रबार विज्ञप्ति जारी गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र थरुहटका नेताहरुलाई विभिन्न तहका सरकारलाई दिएको समर्थन फिर्ता गरी एकताबद्ध र गोलबध भएर प्रतिकारमा उत्रिन आह्वान गरेका हुन् । नेता तथा कार्यकर्ताविरुद्ध भइरहेको षड्यन्त्रको पर्दाफास गरी निर्भयताका साथ आन्दोलनमा उत्रिन तथा खुट्टा नकमाउन र हिम्मत देखाउन लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई उनले आग्रह गरेका छन् ।
लोसपाका प्रदेशसभा सदस्य अभिराम शर्मालाई महोत्तरी जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएपछि महतोले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । मधेस आन्दोलनको क्रममा असई थमन विकको हत्यामा संलग्न रहेको आरोपमा जिल्ला अदालत महोत्तरीले शर्माविरुद्ध जन्मकैदको फैसला सुनाएको हो । नेता महतोले थरुहट र मधेसी मोर्चाका सबै नेताहरुलाई अधिकार र पहिचानकालागि भएको आन्दोलनको मागलाई दबाउन राज्यद्वारा भइरहेको षड्यन्त्रको विरुद्धमा सरकारबाट समर्थन फिर्ता गर्न आग्रह गरेका छन् ।
कांग्रेसले राष्ट्रिय सभा उम्मेदवारका लागि सातै प्रदेशबाट माग्यो नाम
नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यको उम्मेदवारका लागि सातै प्रदेशबाट नाम मागेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रत्येक प्रदेशबाट तीन–तीनजनाको दरले नाम सिफारिस पठाउन निर्देशन दिएको छ । आगामी माघ ११ गते हुने निर्वाचनका लागि कांग्रेसका प्रत्येक प्रदेश समितिले सात दिनभित्र सबै नाम केन्द्रमा पठाइसक्नुपर्नेछ । तिनै नाममध्येबाट कांग्रेसले पुस १२ गते बोलाएको केन्द्रीय समिति बैठकमा उम्मेदवारको नाम तय गर्ने छ ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कांग्रेस नेताहरूले १० सिट दाबी गर्नुपर्ने बताएका थिए । आगामी फागुन २० गते राष्ट्रिय सभाका २० सदस्यको पद रिक्त हुँदैछ । जसमा एक राष्ट्रपतिबाट मनोनीत भएका छन् । १९ सिटमध्ये कांग्रेसले प्रत्यक्षतर्फ नौ र राष्ट्रपतिबाट एक मनोनीत गरी १० सिटको दाबी गर्नेछ । सत्तारुढ गठबन्धनमा अहिलेसम्म राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सिट बाँडफाँटबारे छलफल भइसकेको छैन । तर मोटामोटी रूपमा आफ्नो पार्टीका रिक्त रहेका सिट यथावत् राखी एमालेले जितेको नौ सिटमा सबै दलले भागबन्डा गर्ने भएका छन् । त्यसो हुँदा कांग्रेसले पाँच सिटमा दाबी गर्नेछ । फागुन २० मा कांग्रेसका चार सांसद बिदा हुँदैछन् ।
कांग्रेसले यसपटक कृष्णप्रसाद सिटौला र गोपालमान श्रेष्ठमध्ये एकलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने तयारी गरेको छ । त्यसका लागि श्रेष्ठले समानुपातिक सूचीबाट नाम फिर्ता लिइसकेका छन् । सिटौलाले उम्मेदवारको नाम फिर्ता लिने तयारी गरेका छन् ।
काठमाडौं महानगरको कामप्रति प्रधानमन्त्ती प्रचण्डको प्रशंसा
प्रधानमन्त्ती प्रचण्डले काठमाडौँ महानगरपालिकाको कामप्रति प्रशंसा गरेका छन् । काठमाडौं महानगरपालिकाको २९ औं स्थापना दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहमा बोल्दै स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महानगरको कामको प्रशंसा गरेका हुन् । प्रधानमन्त्रीले महानगरको कामले संघीय सरकारलाई सकारात्मक उत्प्रेरणा प्राप्त भइरहेको बताए । पछिल्लो समय काठमाडौं महानगरले गरेका प्रगतिशील कामहरूलाई गम्भीरतापूर्वक हेरेको भन्दै प्रचण्डले शहरी सौन्दर्य, शिक्षा, सार्वजनिक शौचालय निर्माण तथा व्यवस्थापन, सांस्कृतिक सम्पदाहरुको संरक्षण, सुर्ति, चुरोट लगायतका वस्तुमा गरेको नियमन लगायतका क्षेत्रमा गरेको कामको बारेमा प्रशंसा गरेका थिए ।
हिजोबाट प्रतिबन्ध गरेको सुर्तीजन्य पदार्थ समेत समावेश गर्दै उनले भने, ‘सांस्कृतिक सम्पदाहरू संरक्षण, लागुऔषध, सुर्ती–चुरोट लगायतका वस्तुमा लगाएको नियमन, छात्रवृत्ति, रोजगारी लगायतका क्षेत्रमा महानगरले गरेको पहलमा संघीय सरकारलाई समेत सकारात्मक उत्प्रेरणा पैदा गरिरहेको प्रधानमन्त्रीले बताए । काठमाडौंँ महानगरपालिकाले गरेको कामको नमुना हेरेर अन्य स्थानीय तहले काम गर्नुपर्ने उनले बताए । महानगरले भौतिक र मानवीय विकासका पक्षलाई सन्तुलित ढङ्गले अगाडि बढेर देशका सबै स्थानीय तहलाई अनुकरणीय नमुना प्रस्तुत गर्ने उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधार गर्ने प्रतिबद्धतासमेत जनाए । सरकारले स्थानीय तहमा वित्तीय हस्तान्तरणको विषयलाई अझ प्रभावकारी बनाइ स्थानीय तहलाई संविधानको मर्म र भावनाअनुरुप श्रोत साधनको व्यवस्था र स्थानीय सरकारको मान्यताअनुसार अधिकार सम्पन्न तुल्याउत थप प्रभावकारी काम गर्ने उनको भनाइ छ ।
‘स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधार गर्दै वित्तीय हस्तान्तरणको विषयलाई अझ प्रभावकारी बनाइ स्थानीय तहलाई संविधानको मर्म र भावनाअनुरुप स्रोत साधनको व्यवस्था र स्थानीय सरकारको मान्यताअनुसार अधिकार सम्पन्न तुल्याउन थप प्रभावकारी काम गर्नेछु,’ उनले भने, ‘संविधानले परिलक्षित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन संघीय कानूनहरुको निर्माण मेरो पहिलो प्राथमिकतामा छ ।’
प्रधान सेनापतिद्वारा अशोक सिग्देललाई रथीको दर्ज्यानी चिन्ह प्रदान
नेपाली सेनाको रथी पदमा बढुवा भएका अशोकराज सिग्देलले शुक्रबार फुली लगाएका छन् । प्रधान सेनापति प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति भएका उपरथी सिग्देललाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । मन्त्रिपरिषदको बिहीबारको निर्णयबमोजिम सिग्देल रथीमा बढुवा भएका थिए । योसँगै उनी नेपाली सेनाको भावी प्रधान सेनापति बन्ने समेत तय भएको छ । सेनाको अर्को रथी पद पनि रिक्त भएको छ । २०२३ माघ १९ गते कपिलवस्तुमा जन्मिएका सिग्देल २०४३ फागुन ३ गते नेपाली सेनाको अधिकृत क्याडेट दर्जामा प्रवेश गरेका थिए ।
निषेधित क्षेत्र तोड्न खोज्ने २८ जना प्रदर्शनकारी पक्राउ
काठमाडौंमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले प्रदर्शन गर्ने २८ जनालाई नियन्त्रणमा लिएको छ। शुक्रबार माइतीघर मण्डलमा निषेधित क्षेत्र तोकेको भन्दै नागरिक अगुवाहरूले प्रदर्शन गरेका हुन्। प्रदर्शनको क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले प्रदर्शन गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुुसार पक्राउ पर्नेमा १४ जना महिला र १४ जना पुरूष गरी २८ जना नियन्त्रणमा रहेका छन् ।
बृहत् नागरिक आन्दोलन, शान्ति बाटिकामा प्रदर्शनरत मिटरब्याजी पीडितहरू, मृतक आरती साहका पक्षधरहरूले आन्दोलन गरेका हुन्। उनीहरूले रत्नपार्कबाट ¥याली निकालेर भद्रकाली पुगेका थिए। त्यहाँबाट माइतीघरतर्फ आउन खोजेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंसिर ६ गते दुर्गा प्रसाईंको प्रदर्शनलाई लक्षित गरी एक महिनाका लागि माइतीघरमा निषेधित क्षेत्र तोकेको थियो। त्यसयता शान्तिबाटिकामा प्रदर्शन हुँदै आएको छ।
निमा छिरिङ ट्राभल्सका संचालक मनोज तामाङसहित दुई जना पक्राउ
वैदेशिक रोजगारका लागि भिजिट भिषामा महिला तथा पुरुष गरी ३०० जना पठाएको थाहापाएपछि गत मंशिर २७ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थाल अध्यागमन कार्यालयका अधिकृत नर बीर खडकालाई कार्यालयबाट नियन्त्रणमा लिएको थियो । सोही अनुसन्धानका क्रममा नर बीर खड्का मार्फत ३०० जना सेटिङ मिलाएर पठाएकोमा निमा छिरिङ ट्राभल्सका संचालक मनोज तामाङ र सोही ट्राभल्समा काम गर्ने पदम लामालाई पक्राउ प्रहरीले पक्राउ गरेको छ ।
नक्कली कागजातका आधारमा भिजिट भिषामा पठाउदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीहरुलाई सेटिङ मिलाई मानव तस्करी गर्ने क्रममा नक्कली कागजात बनाएर प्रतिव्यक्ती ४० हजारदेखी ५५ हजार सम्म पैसा लिएको थाहा पाएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर लिखित सम्बन्धी कसुर समेतका अपराधमा आवश्यक कारवाहीको लागि प्रहरी परिसर टेकु पठाईएको जनाएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थाल अध्यागमन कार्यालयले यस्तो काम गरैकानुनी भएकाले अन्य नागरिकहरुले यस्ता कर्मचारीहरुबाट हुने ठगी अपराधबाट बच्न समेत आग्रह गरेको छ ।
भिजिट भिषामा विदेश जान लागेका युवा युवतीहरुलाई नक्कली कागजात बनाई अध्यागमन कार्यालयमा कार्यारत कर्मचारीहरुसँग सेटिङ मिलाई विदेश पठाउने र विदेश पुगेपछि महिलाहरुलाई घरेलु कामदारको रुपमा लगाईने र शोषण समेत हुने र पुरुषहरुले समेत तोकिएको काम नपाई जोखिमपूर्ण काममा लागाईने हुदाँ वैदेशिक रोजगारमा जादा भिजिट भिषा प्रयोग गरी गएका युवा युवतीहरुलाई स्वदेशमा फर्काउन समेत कठिनाई हुने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थाल अध्यागमन कार्यालयले जनाएको छ ।
वर्तमान सत्ता गठबन्ध हटाउन धैर्यता गर्नुपर्छ : ओली
एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैधानिक रुपमा नै वर्तमान सरकारको सत्तागठबन्धन तोड्ने बताएका छन् । शुक्रबार ओलीले ‘झुलाघाट–चिवा भञ्ज्याङ सम्मृद्धिका लागि सङ्कल्प यात्रा’अन्तर्गत तेह्रथुमको म्याङ्लुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
एमाले अध्यक्ष ओलीले वर्तमान सत्ता गठबन्धन तोड्नका लागि धैर्यता राख्न आवश्यक रहेको स्पष्ट पारे । अहिले नेकपा एमाले सरकारमा नरहेकाले सत्तागठबन्धन भत्काउन लोकतन्त्रमा धैर्यता राख्नुपर्ने अडान उनले राखेका छन् । लोतान्त्रिक विधि र पद्धतिमा आक्रामक भएर मात्र काम नहुने ओलीको भनाई छ ।
नेकपा एमाले पुरानो पाटी भएकाले सरकारले गरेका नकरात्मक गतिविधिको ओकालत गर्छ उनले भने । पछिल्लो समयमा माओवादी नेतृत्वको सरकारले देशमा बढेको भ्रष्टचार नियन्त्रणमा नाटक गरिरहेकाले नेकपा एमाले नाङ्गो आँखाले हेर्न नसक्ने उनले बताए । आगामी निर्वाचनमा एमाले नेतृत्वको सरकार निर्माणका लागि जनताले सहज विश्वास गरेको ओलीले बताए । ओलीले विरोधिहरुले कालो झण्डा देखाउने, मोसो दल्ने , कुटपिट गर्ने जाइलागेर हिंसात्मक र मुठभेडले समस्या समाधान नहुने बताए । देशमा उत्पन्न समस्या समाधानका लागि सरकारले देशमा देखापरेका समस्या समाधानका लागि विशेष ध्यान दिनुपर्ने ओलीले बताए ।
अध्यक्ष ओलीले पहिचान पक्षधरप्रति सङ्केत गर्दै भने,‘ अहिले पहिचान पक्षधरले विरोध प्रदर्शन गरेर आफ्नो क्षेत्रको विकासको विरोध गरेका समेत बताए । यसरी हरेका सरकारले गरेका गतिविधिमाथि सँधै अभद्र तवरले मानवहितका विपरित गरिने कार्यले समाजमा , देशको सम्रग विकासमा ठ्लो बाधा पुग्ने उनले बताए । अरुलाई तमासा देखाएर आफ्नो क्षेत्रमा अशान्तिको वातावरण सिर्जना गर्नु भनेको आफ्नै खुट्टामा बन्चरो हो ओलीले बताए । शान्तिपूर्ण र संवादबाट समस्याको समाधान खोज्न सकिने भन्दै बाटाका ढुंगामुढा र विरोध प्रदर्शनले, सल्लाका रुख ढालेर समस्या समाधान नहुने ओली बताए ।




