मंशिर २८ गते बिहीबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । बिहीबार तयार पारिएको मुख्य १० समाचारमा इजरायलमा परराष्ट्रको विशिष्ट श्रेणीमा लम्साल बढुवा देखी सर्वोच्चद्वारा वीरबाट डा. पौडेललाई हटाउनुको कारण माग सम्मका समाचारलाई समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
परराष्ट्रको विशिष्ट श्रेणीमा लम्साल बढुवा
सरकारले नेपाल परराष्ट्र सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा सहसचिव सेवा लम्साललाई बढुवा गर्ने निर्णय गरेको छ । सचिवमा बढुवा भएसँगै लम्साल परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव भएकी छन् । यसअघिका परराष्ट्र सचिव भरतराज पौड्याल अवकाशमा गएपछि लम्साललाई सचिवमा बढुवा गरिएको हो । बिहीबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बैठकको निर्णय सार्वजनिक गर्दै नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको जानकारी दिइन्।यसैगरी बैठकले विद्युत खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
संवत् २०८० साल मंसिर २८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः
१. नेपाल परराष्ट्र सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त १ पदमा सहसचिव श्री सेवा लम्साललाई बढुवा गर्ने ।
२. नेपाली सेनाका उपरथी श्री अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने ।
३. विद्युत खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने ।
बालकृष्ण खाँणलाई धरौटीमा छाड्न आदेश
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई उच्च अदालत पाटनले धरौटीमा छोड्न आदेश दिएको छ । बिहीबार उच्च अदालतका न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले खाँणलाई धरौटीमा छोड्न आदेश दिएको हो । यसअघि उच्च अदालत पाटनका न्यायाधीशहरु जनक पाण्डे र प्रकाह खरेलबीच खाँणलाई थुनामा राख्ने की धरौटीमा छोड्ने भन्ने विषयमा राय बाझिएको थियो ।
न्यायाशीश पाण्डेयले खाँणलाई ३० लाख धरोटीमा छोड्नु पर्ने राय दिएका थिए । उता न्यायाधीश खरेलले थुनामै राख्नु पर्ने राय दिएका थिए । दुवै न्यायाधीश हरुको राय बाझिएपछि निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेशअनुसार आज एकल इजलासमा सुनुवाइ भएको हो ।
संकल्प यात्राका क्रममा धनकुटामा ओलीमाथि आक्रमणको प्रयास, एक जना नियन्त्रणमा
नेकपा एमालेले जारी राखेको संकल्प यात्राको क्रममा धनकुटा र भोजपुरको बिचमा पर्ने लेगुवा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि एक व्यक्तिले आक्रमणको प्रयास गरेका छन् । फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका एक व्यक्तिले ओलीमाथि आक्रमणको प्रयास गरेका हुन् । महालक्ष्मी–५ धनकुटाका महेश राईले ओलीमाथि आक्रमणको प्रयास गरेपछि आक्रमण लगत्तै एमाले कार्यकर्ताले आक्रमणको प्रयास गर्ने व्यक्तीमाथि व्यक्तिलाई कुटपिट गरेका थिए । आक्रमणको प्रयास गर्ने राईलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रदेश र जिल्ला कार्यसमितिलाई रिक्त पदको विवरण पठाउन कांग्रेसको निर्देशन
नेपाली कांग्रेसले मातहतका कार्यसमितिलाई पद रिक्त भएको विवरण पठाउन निर्देशन दिएको छ। महामन्त्री गगन थापाले मंसिर २५ मा प्रदेश र जिल्ला कार्यसमितिहरूलाई रिक्त पदको विवरण पठाउन परिपत्र गरेका हुन् । पार्टीका प्रदेश, जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, पालिका, वडामा निर्वाचन हुन बाँकी रहेका पद वा विधानत् विविध कारणले रिक्त रहेका पदको विवरण पठाउन महामन्त्री थापाको परिपत्रमा भनिएको छ ।
रास्वपाको वडा अधिवेशन आजदेखि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा अधिवेशन आजदेखि सुरु भएको छ । रास्वपाले पार्टी स्थापनापछि पहिलोपटक वडा अधिवेशन गर्न थालेको हो । सातै प्रदेशका एक एक वडाबाट आजदेखि वडा अधिवेशन आरम्भ भएको पार्टीको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । ‘निर्वानपछि एक वर्षमा पार्टीको अधिवेशन सुरु गर्ने निर्णय गरेका थियौँ । औपचारिक रुपमा अधिवेशन आजदेखि सुरु भएको छ’, उनले भने, ‘सात प्रदेशमा सात वडामा वडा अधिवेशन आजै सक्छौँ । हामीले निरन्तररुपमा वडा अधिवेशन, पालिका अधिवेशन र प्रदेश अधिवेशन गरेर क्रमशः राष्ट्रिय महाधिवेशनको बाटो खुलाएका छौँ ।’
रास्वपाले भरतपुर महानगरपालिका–११, जितपुर सिमरा उपमहानगरपालिका– २, पोखरा उपमहानगरपालिका–१०, बुटवल उपमहानगरपालिका–१३, इटहरी उपमहानगरपालिका–२०, भेरीगङ्गा नगरपालिका–६ र टीकापुर नगरपालिका–१ मा आज वडा अधिवेशन गर्दैछ । सातै प्रदेशका ती वडामा रास्वपाका केन्द्रीय प्रतिनिधि सहभागी हुँदैछन् । पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकाल, सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठ, सहमहामन्त्री विपिन आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठ र केन्द्रीय सदस्य विजय जैरु विभिन्न वडामा केन्द्रीय प्रतिनिधि रहेका छन्।
‘जलेश्वर बैठकबाट पार्टीको वैचारिक धार स्पष्ट गरेका छौँ । यसलाई स्थानीय तहसम्म पुर्याउने मुख्य एजेण्डा हो’, प्रमुख सचेतक परियारले भने । सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठले प्रत्येक वडामा एक सभापतिसहित ११ सदस्यीय वडा समिति गठन गरिने बताए । उनले भने, ‘११ जनामध्ये कम्तीमा ४ महिला सदस्य अनिवार्य गरेका छौँ । चार जनामध्ये पनि एक जना अनिवार्यरुपमा दलित महिलाको व्यवस्था गरिएको छ । ६ जना ४५ वर्षमुनिका युवा हुनै पर्नेछ ।’
चार महिनामा चार खर्ब ७७ अर्ब रेमिट्यान्स भित्रियो, शोधनान्तर बचत एक खर्ब ४७ अर्ब
चालू आर्थिक वर्षको चार महिनामा चार खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यस अवधिमा विप्रेषण आप्रवाह २६.४ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भइ तीन अर्ब ६० करोड पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.८ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा मुलुकको शोधनान्तर स्थिति एक खर्ब ४७ अर्ब ११ करोड रुपैयाँले बचतमा रहेको छ। गत आर्थिक वर्षको यसै अवधिमा शोधनान्तर स्थिति २० अर्ब ३ करोडले बचतमा रहेको थियो। समीक्षा अवधिमा चालू खाता ९६ अर्ब ३८ करोड रुपैयाँले बचतमा रहेको छ। गत आर्थिक वर्षको यसै अवधिमा चालुखाता ३७ अर्ब ७९ करोड रुपैयाँले घाटामा रहेको थियो।
यस अवधिमा विदेशी मुद्राको सञ्चिति पनि बढेको छ। आयातमा भएको कमी र रेमिट्यान्समा वृद्धिका कारण विदेशी मुद्राको सञ्चिति बढेको हो। गत असार मसान्तको तुलनामा विदेशी मुद्रा सञ्चिति ८.९ प्रतिशतले बढेको छ। चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म नेपालसँग १२ अर्ब ७५ करोड अमेरिकी डलर सञ्चिति रहेको छ। उक्त सञ्चितिले १३.६ महिनाको वस्तु तथा ११।३ महिनाको वस्तु तथा सेवा धान्न पर्याप्त छ।
यसैबीच, अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै गएको जानकारी गराएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसद्वारा बिहीबार ललितपुरमा आयोजित ओद्योगिक नीति तथा श्रम सम्बन्ध विषयक कार्यक्रममा उनले पर्यटकहरुको वृद्धि हुँदै गएको, बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्दै गएको, रेमिट्यान्स बढ्दै गएको जानकारी गराउँदै अहिले अर्थतन्त्रका सबै सुचकहरुमा सुधार हुँदै गएको बताएका हुन् । राष्ट्र बैंकको समीक्षात्मक प्रतिवेदनले पनि त्यसको पुष्टि गरेको छ ।
राष्ट्रपतिसमक्ष तीन राजदूतद्वारा ओहदाको प्रमाणपत्र पेश
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष श्रीलङ्का, पनामा र बेल्जियमका राजदूतहरूले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति भवनमा आज बेग्ला–बेग्लै आयोजित विशेष समारोहमा उनिहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।राष्ट्रपतिसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका आवासीय राजदूत सुधार्सना के पथीराना, गणतन्त्र पनामाका गैरआवासीय राजदूत यसेल एलानिस बुलियो रिभेरा र बेल्जियम अधिराज्यका गैरआवासीय राजदूत डिडेर आना एल भान्डेरसेल्टले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
ओहोदाको प्रमाणपत्र प्रस्तुतिका निम्ति आयोजित विशेष समारोहमा नेपालका सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो । त्यसअघि नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटस्थित होटल र्याडिसनदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।
मणिपालबाट सम्पर्कविहीन युवकको शव सेतीमा फेला
पोखराको मणिपाल शिक्षण अस्पतालबाट सम्पर्कविहीन तनहुँका एक बिरामी युवकको शव सेती नदीको ड्याम खोलेर खोजी गर्ने क्रममा पोखरा–३, नदीपुरमा भन्ने ठाउँमा फेला परेको छ । उपचारका लागि मणिपाल अस्पतालमा भर्ना हुनुभएका १९ वर्षीय संगम मिश्र गत सोमबार साँझ साढे ६ बजेदेखि सम्पर्कविहीन हुनुभएको थियो । मणिपालको आकस्मिक कक्षमा उपचाररत सङ्गम आफ्ना बुवा हरिप्रसाद औषधी लिन गएका बेला अस्पतालबाट निस्कनुभएको थियो । ज्वरो आएपछि उहाँलाई उपचारका लागि भर्ना गरिएको थियो । नदीको बिचमा ढुङ्गामा अड्किएको अवस्थामा सङ्गमको शव फेला परेको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय वगर र सशस्त्र प्रहरी सम्मिलित टोलीले शव निकाली पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रवक्ता विकले बताए। मणिपाल अस्पतालबाट नदीपुरतर्फ आउने सेती नदीको झोलुङ्गे पुलको बीचमा सङ्गमले लगाएका कपडा र परिचयपत्र भेटिएका थियो । सङ्गमको परिवारले समेत ड्याम खोली खोजतलास गरिदिन आग्रह गरेको छ । उहाँले नदीमा हाम फालेको हुन सक्ने अनुमान गर्दै खोजीका लागि सेती नदीको ड्याम खोलिएको हो । नदी छेउछाउ नजान सार्वजनिक सूचना जारी गर्दै प्रहरीले बिहीबार मध्याह्न १२ देखि ४ बजेसम्म ड्याम खोलेको थियो ।
एमाले सांसद लक्ष्मी कोइरीले पाए सफाइ, शर्मालाई जन्मकैदको फैसला
थमन विक हत्या प्रकरणमा अभियुक्त रहेका नेकपा एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीले सफाइ पाएका छन्।कोइरीसँगै सफाइ पाउनेमा पवन कापर छन्। सोही हत्या प्रकरणमा लोसपाका मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मालाई भने जन्मकैदको फैसला भएको छ। उनलाई जिल्ला अदालत महोत्तरीले जन्मकैदको सजाय सुनाएको हो। शर्मासहित प्रदीप साह माझी, सञ्जयकुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, सुरेश पाण्डे र धर्मेन्द्र रायलाई जन्मकैद फैसला भएको छ।
सर्वोच्चद्वारा वीरबाट डा. पौडेललाई हटाउनुको कारण माग
सर्वोच्च अदालतले डा. सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउनुको कारण माग गरेको छ। बिहीवार सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले डा. पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउनुको कारण माग गरेको हो। अदालतले डा. पौडेलका सर्न्दभमा अन्तरिम आदेशका लागि सरोकारवालालाई छलफलमा समेत बोलाएको छ। स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले बिहीवार मन्त्रिस्तरीय निर्णय गर्दै उनलाई वीर अस्पतालको निर्देशक पदबाट हटाएका थिए।




