मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

मंशिर २७ गते बुधबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । बुधबार तयार पारिएको मुख्य १० समाचारमाइजरायलमा रोजगारीको प्रलोभन देखाउने गिरोहसँग सचेत रहन विभागको आग्रह देखी रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता ल्याउन प्रयास भइरहेको छ ः प्रधानमन्त्रीसम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

इजरायलमा रोजगारीको प्रलोभन देखाउने गिरोहसँग सचेत रहन विभागको आग्रह

काठमाडौँ । वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाउने गिरोह सक्रिय रहेको भन्दै सचेत रहन आग्रह गरेको छ । नेपाल सरकार र इजरायल सरकारबीचको श्रम सम्झौता बमोजिम मात्रै इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदारहरु पठाउने काम भइरहेको विभागले जनाएको छ ।

यस्तै इजरायलको कृषि क्षेत्रमा नेपाली श्रमिकहरू लैजाने विषयमा इजरायलसँग छलफल भइरहे पनि यस विषयमा कुनै पनि निर्णय भइ नसकेको विभागको भनाइ छ । इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाइ विभिन्न व्यक्ति तथा समूहहरूले गैरकानुनी रूपमा प्रलोभनमा पारी रकम उठाउने गरेको सूचना आएको भन्दै विभागले सचेत रहन अनुरोध गरेको हो ।

राष्ट्रियसभा निर्वाचनमा न्यायपूर्ण तवरले टिकट बितरणका लागि शेखर पक्षले दवाव दिने

नेपाली कांग्रेसको शेखर कोइराला समूहले आगामी राष्ट्रियसभा निर्वाचनमा मापदण्डलाई बिशेष ख्याल गर्दै न्यायापूर्ण तवरले टिकट बितरण गर्नुपर्नेमा जोड दिएको छ ।बुधबार काठमाडौंमा बसेको कोइराला समूहको भेलाले यसअघि पार्टी सभापतिले आफ्नो समूहको संरक्षकको काममात्रै रहेको र आफु अनुकुललाई मात्रै टिकट दिएको भन्दै यसपटक भने मापदण्डलाई बिशेष ख्याल गर्दै न्यायापूर्ण तवरले टिकट बितरण गर्नुपर्नेमा जोड दिएको हो ।

यसअघिको निर्वाचनमा मापदण्डलाई बेवास्ता गरिएको र भेदभाव भएको भन्दै आगामी राष्ट्रियसभा निर्वाचनमा मापदण्ड र न्यायोचित टिकट बितरणका लागि दवाव दिने निर्णयसमेत सो समूहको भेलाले गरेको छ । भेलामा राष्ट्रियसभा निर्वाचन लगायत पार्टीको आन्तरिक बिषयमा छलफल भएको कांग्रेस नेता शेखर कोइरालाले बताए । उनले देश र कांग्रेस ठिक ढंगले चल्न नसकेकोमा आफुहरुको ध्यान केन्द्रीत रहेको जिकिर गरे । नेता कोइरालाले आफ्नो समूह ठीक ढंगले चलेको र महामन्त्री र आफ्नो एजेण्डामा एक इन्च पनि फरक नरहेको दावी गरे । त्यस्तै, कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रियसभा निर्वाचनमा मापदण्डलाई बिशेष ख्याल गर्दै न्यायापूर्ण तवरले टिकट बितरण गर्नुपर्नेमा आफुहरुको जोड रहेको बताए ।

बैठकमा महासमिति बैठकलाई तोकिएको समयमा नै प्रभावकारी रुपमा गर्नुपर्ने बिषयमा पनि छलफल भएको उनले बताए । महामन्त्री थापाले कांग्रेस सरकारमा भएका बेला एकमाथि अर्को प्रकरण आउनुलाई सामान्य रुपमा लिन नहुने भन्दै पार्टीभित्र बृहत छलफल गर्नुपर्ने धारणा राखे । कोइराला र आफुबीच एजेण्डागत रुपमा कुनै समस्या नभएको उनले स्पष्ट पारे ।

बालेनलाई धक्का, राप्रपाको कार्यालयमा महानगरको डोजर नचल्ने

उच्च अदालत पाटनले राप्रपाको पार्टी कार्यालय नभत्काउन आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश हरिप्रसाद पौडेल र पुरुषोत्तम ढकालको संयुक्त इजलासले बुधबार पार्टी कार्यालय नभत्काउन काठमाडौं महानगरपालिकाको नाममा आदेश दिएको हो । अदालतले व्यक्तिको नाममा रहेको पार्टी कार्यालय भवनको नक्सापास गरिदिन पनि परमादेश दिएको छ । यसअघि न्यायाधीश सुभाष पौडेल र नारायण प्रसाद पौडेलको संयुक्त इजलासले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकको उक्त जग्गामा निर्मित भवन भत्काउने कार्य नगर्न नगराउन काठमाडौं महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

गत साउन १५ गते काठमाडौं महानगरपालिकाले हाइटेन्सन लाइनमुनि रहेको राप्रपाको धुम्बाराहीस्थित कार्यालयको संरचना अवैध रहेको भत्काउन प्रयास गरेको थियो । तर, त्यतिबेला राप्रपाका नेता कार्यकर्ताको अवरोध र त्यसपछिको वार्तापछि महानगरपालिकाले २१ दिनको समयसीमा दिएको थियो । भवन खाली गर्न दिइएको २१ दिनको समयमा घरधनीलाई प्रयोग गर्दै राप्रपा अदालत पुगेको थियो । अब राप्रपाको कार्यालयमा महानगरको डोजर नचल्ने भएको छ ।

राष्ट्रपतिलाई बाइपास गर्दै संसदको महासचिवको काम गर्न पाण्डेयलाई सभामुखको पत्र

संघीय संसदका दुवै सदन प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष राष्ट्रपतिको संस्थाविरुद्ध सक्रिय भएको छ । आठ महिना कार्यकाल बाँकी छँदै संसदको महासचिव पदबाट भरतराज गौतमलाई राजीनामा दिन लगाएर सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सचिव पद्मप्रसाद पाण्डेयलाई महासचिव नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए । राष्ट्रपतिले अहिलेसम्म पाण्डेलाई संसदको महासचिव नियुक्त गरेका छैनन् ।

तर राष्ट्रपतिबाट नियुक्त नहुँदै पाण्डेयलाई संसदको महासचिवको काम गर्न सभामुख घिमिरेले बुधबार पत्र पठाएका छन् । पत्रमा राष्ट्रिय सभाको अध्यक्ष तिमिल्सिनासँगको परामर्शमा पाण्डेयलाई महासचिवको काम गर्न तोकिएको प्रतिनिधिसभा सचिवालयले जनाएको छ । प्रशासनिक नेतृत्व नहुँदा संघीय संसद दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय काममा प्रभाव परेको, लोकसेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायतमा प्रभाव परेका कारण सभामुखले पाण्डेयलाई कार्यवाहक तोकेको उल्लेख छ । सभामुख घिमिरेले महासचिव नियुक्तिमा भएका ढिलाइ वा चासोबारे राष्ट्रपति पौडेलसँग संवाद गर्न चाहेका छन् । अहिलेसम्म सम्पर्क भएको छैन ।

संघीय संसदमा एमालेको वर्चस्व कायमै राख्न सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले एमाले क्याडर पाण्डेयलाई महासचिव नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । तर त्यो सिफारिसमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, संसदका पूर्वमहासचिव सूर्यकिरण गुरुङलगायतले आपत्ति जनाएपछि राष्ट्रपति पौडेलले परामर्श सुरु गरेका छन् । संसदभन्दा बाहिरका व्यक्तिलाई महासचिव नियुक्त गर्न खोज्नुको कारण राजनीतिक भएको देखिएको छ । सोही कारण राष्ट्रपति पौडेलले आफ्नो स्वविवेक प्रयोग गरी यो विषयलाई अहिले थाती राखेका हुन् ।
नौं स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट आर्थिक वर्ष २०८०÷०८१ शुरू भएको ५ महिना बित्नै लाग्यो । तर अझै पनि देशभरका ९ वटा पालिकाहरूले चालु आर्थिक वर्षको बजेट ल्याउन सकेका छैनन् ।

देशभरका नौं वटा स्थानीय तहमा गाउँ सभा र नगरसभा हुन नसकेकाले बजेट आउन नसकेको बताइएको छ । बजेट ल्याउन नसक्ने पालिकाहरू सबैभन्दा बढी मधेश प्रदेशमा छन् । मधेश प्रदेशमा ८ वटा पालिकाहरूले बजेट ल्याउन सकेका छैनन् भने कोशी प्रदेशको एउटा पालिकाले अझै बजेट ल्याउन सकेको छै न। मधेश प्रदेशका ५ जिल्ला सप्तरी, सर्लाही, धनुषा, रौतहट र सिरहाका पालिकाले बजेट ल्याउन नसकेका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजेट ल्याउन नसक्नुमा प्रमुख–उपप्रमुख वा वडाका अध्यक्ष र सदस्यहरूको विमति रहेको जनाएको छ। मन्त्रालयका प्रवक्ता एवं सहसचिव कमलप्रसाद भट्टराईले बजेट निर्माणको कानूनी प्रक्रियाअनुसार बजेट नल्याएका नौं वटा पालिकाहरू रहेको बताए ।

उनले स्थानीय पालिकाले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने र असारको मसान्तभित्रमा पारित गरिसक्नुपर्ने प्रावधान रहे पनि ती पालिकाहरूले भने कानूनको पालना नगरेको बताए। उनले बजेट ल्याउन नसक्नुमा प्रमुख÷उपप्रमुख वा वडाका अध्यक्ष र सदस्यहरूको विमति रहेको मन्त्रालयको अध्ययनले देखाएको जानकारी दिए ।

‘सबैभन्दा बढी बजेट ल्याउन नसक्ने पालिकामा मधेश प्रदेशमा रहेका छन् । बजेट ल्याउन नसक्नुमा उहाँहरूको आन्तरिक कारण नै रहेको छ । कतिपय अवस्थामा प्रमुख–उपप्रमुख वा वडाका अध्यक्ष र सदस्यहरूको विमतिको कारणले नआएको देखिन्छ’, उनले भने, ‘कतिपय क्षमता विकास नभएका कारण पनि देखिन्थ्यो तर अहिले त्यो अवस्था होइन। सबैलाई जानकारी भएकै हो । जति पनि पालिकाले ल्याएनन् त्यो भनेको कानूनको पालना गरेनन् भन्ने बुझाइ मन्त्रालयको छ ।’

उनका अनुसार बजेट पारित गरिसकेपछि मात्रै खर्च गर्न पाइने कानूनी व्यवस्था रहेको र पारित नगरी खर्च गरे त्यो बेरुजु हुन्छ । उनले विधि प्रक्रिया बिना ल्याइएको बजेट र भएको खर्चलाई वैधानिक मान्न नसकिने जिकिर गरे । चालु आर्थिक वर्षको ५ महिना बित्न लागिसक्दा समेत बजेट नल्याउनेमा सप्तरीको रुपनी गाउँपालिका, सिराहाको औरही गाउँपालिका, धनुषाको औरही गाउँपालिका, धनुषाको कमला नगरपालिका, सर्लाहीको चन्द्रनगर गाउँपालिका र हरिपूर्वा नगरपालिका, रौतहटको गढीमाई नगरपालिका र फतुवा विजयपुर नगरपालिका रहेका छन् । त्यस्तै कोशी प्रदेशको तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाले पनि वार्षिक बजेट ल्याउन सकेको छैन ।

संघीय संसदका महासचिव डा. गौतमको राजीनामा स्वीकृत

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका महासचिव डा. भरतराज गौतमको राजीनामा स्वीकृत गरेका छन् ।

डा. गौतमले मंसिर २४ देखि लागू हुने गरी दिएको राजीनामा राष्ट्रपति पौडेलले बुधबार स्वीकृत गरेका राष्ट्रपति कार्यालयले जनाएको छ । डा. गौतमले राजीनामा दिएपछि सभामुख देवराज घिमिरेले बुधबार सचिव पद्मप्रसाद पाण्डेलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिइसकेका छन् । यसअघि मंगलबार सभ्मुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सचिव पाण्डेयलाई महासचिवमा सिफारिस गरेका थिए

एकीकृत समाजवादीले सा¥यो सचिवालय बैठक

नेकपा एकीकृत समाजवादीको ७०औँ सचिवालय बैठक सरेको छ । यसअघि बिहीबार र शुक्रबार तय गरिएको बैठक पुस २ र ३ गतेलाई सारिएको हो । एकीकृत समाजवादले सचिवालय बैठकमा विधान मस्यौदामाथि छलफल गर्ने कार्यसूची तय गरेको थियो । पार्टीले उपाध्यक्ष बेदुराम भुसाल, महासचिव घनश्याम भूसाल र उपमहासचिव प्रकाश ज्वाला रहेको कार्यदल बनाएको थियो । कृषि मन्त्रीसमेत रहेका कार्यदलका अध्यक्ष बेदुराम भुसाल देशबाहिर रहेकाले बैठक स्थगित गर्नुपरेको पार्टीका सचिव जीवनराम श्रेष्ठले बताए । उनका अनुसार एकीकृत समाजवादीले महाधिवेशनको समेत तयारी गरिरहेको छ । एकीकृत समाजवादीले आगामी जेठ ३ देखि महाधिवेशन गर्दैछन् ।

गाजामा तत्काल युद्धविराम गर्ने प्रस्तावको पक्षमा नेपालको मतदान

नेपालले संयुक्त राष्ट्रसङ्घको महासभामा गाजामा तत्काल युद्धविराम गर्ने प्रस्तावको पक्षमा मतदान गरेको छ । मानवीय सहायताका लागि तत्काल लडाइँ रोक्ने प्रस्तावमा नेपालसहित एक सय ५३ वटा देशले पक्षमा मतदान गरे । यसअघि गएको अक्टोबर २८ मा पनि नेपालले गाजामा मानवीय सहायताका लागि युद्धविराम गर्ने पक्षमा मतदान गरेको थियो ।

गए राति भएको मतदानमा राष्ट्रसङ्घका एक सय ९३ वटा सदस्य राष्ट्रमध्ये अमेरिका, इजरायल, चेक रिपब्लिक, ग्वाटेमाला, लाइबेरियालगायत १० वटा देशले विपक्षमा मत दिएका छन् । बेलायतसहित २३ देशले मतदानमा भाग लिएनन् । महासभाको आपत्कालीन सत्रमा पेस गरिएको यो प्रस्तावमा युद्धका कारण बन्दी बनाइएकाहरूलाई तत्काल र विनासर्त रिहा गर्न पनि माग गरिएको छ । इजरायलमा अध्ययनका लागि पुगेका कञ्चनपुरका विपिन जोशीलाई पनि हमासले बन्दी बनाएको ठानिएको छ । नेपालले जोशीलाई छुटाउन कुटनीतिक पहल भइरहेको बताउँदै आएको छ ।

रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता ल्याउन प्रयास भइरहेको छ ः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ती भएका नेपाली युवालाई फिर्ता ल्याउने हरसम्भव प्रयास भएको बताएका छन् । बुधबार काभ्रेको धुलिखेलमा काठमाडौं विश्वविद्यालयको २९औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा अवसर छैन भन्ने भाष्य निर्माण गरेर विदेशी भूमिमा पठाउने काम भइरहेको भन्दै उनले आपत्ति जनाए ।
प्रचण्डले विभिन्न बाध्यताका कारण दुई सय नेपाली युवाहरू रुसी सेनामा भर्ना भएका खबर आएको जनाउँदै त्यो निकै चिन्ताजनक रहेको बताए ।

सिम्रौनगढ नगरपालिकामा घाईते भएका लक्ष्मी मुखियाको उपचारका क्रममा मृत्यु

सिम्रौनगढ नगरपालिकामा घटनामा घाईते भएका सिम्रौनगढ नगरपालिकामा घाईते भएका लक्ष्मी मुखियाको उपचारका क्रममा मृत्यु छ । बारा सिम्रौनगढ नगरपालिका वडा नं. १ नमसंग्राढाट बस्ने लखिन्द्र मुखियाको छोरा अं. वर्ष २५ को लक्ष्मी मुखिया नारायणी अस्पताल बिरगंजमा उपचारको क्रममा मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

बुधबार नगरपालिकामा आन्दोलनरत शिक्षक र कर्मचारीले नगरपालिकाका नगरप्रमुख चढ्ने गाडी तोडफोड र आगजनी गर्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्याँससहित गोली प्रहार चलाएको थियो । प्रशासकीय अधिकृत महेश मिश्र नगर प्रमुखको गाडी चढेर कार्यालय जाने क्रममा आन्दोलनकारीले गाडीमा ढुंगा प्रहार गरेका थिए । आन्दोलनकारीले गाडी जलाउने र कार्यालयमा ढुंगामुढा गर्न थालेपछि गोली चलाएको बाराका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताएका थिए । गोली लागेर घाइते भएका लक्ष्मी मुखिया उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल पठाइएको थियो । उपचारका क्रममा सोही अस्पतालमा उनको मृत्यु भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *