मंशिर १४ गते बिहीबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । बिहीबार तयार पारिएको मुख्य १० समाचारमा उच्च अदालत पाटनले भुटानी शरणार्थी प्रकरणमा भोलि आदेश सुनाउने देखीएमालेको सङ्कल्प यात्रा बैतडीबाट आरम्भ सम्मका समाचारलाई समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
उच्च अदालत पाटनले भुटानी शरणार्थी प्रकरणमा भोलि आदेश सुनाउने
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरूको पुनरावेदन निवेदनमाथि उच्च अदालत पाटनले सुनुवाइ सकेको छ । बिहीबार न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको इजलासले सुनुवाइ सकेको छ र शुक्रवार आदेश सुनाउने उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नको आरोपमा पक्राउ परेका नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझी, इन्द्रजित राई, तत्कालीन गृह सचिव टेकनारायण पाण्डेलगायत २० जनालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका थिए । उनीहरूले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश त्रुटिपूर्ण रहेको भन्दा उच्च अदालतमा पुनरावेदन गरेका थिए ।
नेपाल एअरलाइन्सको गम्भीर लापरवाहीले ३१ यात्रु दुबई जान पाएनन्
नेपाल एअरलाइन्सले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई जाने क्रममा अरु ३१ जना यात्रुलाई काठमाडौं मै छाडेको छ । प्रधानमन्त्री चढेको जहाजबाट दुबई जान नपाएका धेरैजसो वैदेशिक रोजगारीका लागि जान लागेका नेपालीहरू छन् । जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसहितको टोली गएराति साढे ९ बजे नेपाल एअरलाइन्सको फ्लाइट नम्बर ‘आरए २२९’ बाट दुबई गएका थिए । त्यही जहाजमा टिकट काटेका ३१ यात्रु भने दुबई जान पाएनन् । ती यात्रुहरूलाई ज्ञानेश्वरस्थित एक होटलमा राखिएको छ । यात्रुहरु छुट्नुको कारण ‘भीभीआईपी फ्लाइट’ रहेको नेपाल एअरलाइन्सले जनाएको छ । नेपाल एअरलाइन्सका कर्मचारीले बिहीबार अर्को व्यवस्था गरेर दुबई पठाउने आश्वासन दिएको छ ।
युरोपमा गुगलको अर्को विशाल साइबर सुरक्षा केन्द्र स्थापना
स्पेन। साइबर आक्रमणहरूमा वृद्दि हुँदै गएको र यसले राजनीतिक प्रणालीमा खलल पु¥याउने खतरा रहेको चेतावनी दिँदै गुगलले बुधबार युरोपमा आफ्नो सबैभन्दा ठूलो साइबर सुरक्षा केन्द्र खोलेको छ । सिलिकन भ्याली फर्मले नीति निर्माताहरूसँग एक वर्षको कुराकानीपछि दक्षिणी स्पेनी शहर मालागामा नयाँ केन्द्र खोलेको बताएको छ ।
युरोपेली सङ्घ र गुगल दुवैले युक्रेनको युद्धले लोकतन्त्रलाई अस्थिर पार्न साइबर उपकरणहरू कसरी प्रयोग गर्न सकिन्छ भन्ने देखाएको चेतावनी दिएका छन् । गुगलका अन्तर्राष्ट्रियमामिला प्रमुख केन्ट वाकरले गत वर्ष साइबर आक्रमण ३८ प्रतिशतले बढेको र ‘आक्रामक बन्दै गएको’ बताउनुभएको छ । उहाँले भन्नुभयो, “हामीले अन्तर्राष्ट्रिय स्तरमा मिलेर काम गर्न आवश्यक छ ।”
युरोपेली संसदकी उपाध्यक्ष दिता चरन्जोभाले एक भिडियो सम्बोधनमा हरेक दिन अनुमानित दुई लाख ३० हजार वटा दुर्भावनापूर्णरूपमा स्थापित सफ्टवेयर डाउनलोड भइरहेको बताउनुभउको छ । “हामीलाई कुनै शङ्का छैन कि युरोपेली चुनाव गलत सूचना र साइबर हस्तक्षेपको निशाना बन्नेछ,” उहाँले भन्नुभयो । म्युनिख र डबलिनमा साइबर सुरक्षा केन्द्र रहेको गुगलले आफ्नो मालागा साइटमा साइबर खतरासँग जुध्नका लागि उपकरण निर्माण गर्ने विज्ञहरू राख्ने बताएको छ ।
एकीकृत निर्देशन संशोधनपछि कालोसूची पीडित व्यवसायीलाई राहत
नेपाल राष्ट्र बैंकले इजाजत प्राप्त पूर्वाधार विकास बैंकलाई जारी गरेको एकीकृत निर्देशन २०८० लाई संशोधनमार्फत कालोसूचीमा परेकाले राहत पाउने भएका छन् । राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै जमानतदाता लाई कालोसूचीमा समावेश गर्नपूर्व ऋणीले सुरक्षण स्वरुप राखेको धितो लिलाम गरी असुली गर्नुपर्ने व्यवस्था गरेको हो । त्यस्तै सुरक्षणबाट भएको असुली पर्याप्त नभई बैंकको ऋण रकम बाँकी रहेमा सोको भुक्तानीका लागि जमानतदाता लाई ९० दिनको समय प्रदान गर्नुपर्ने व्यवस्था थप गरिएको छ ।
संशोधनअनुसार अब ब्याज पूँजीकरण गरिएको परियोजना व्यवसायिक रुपमा सञ्चालनमा आएको अवस्थामा पूँजीकृत ब्याज रकम ‘आईसीटीएल’ मा रहेको सम्पूर्ण रकमलाई ‘आरसीआर’ बाट घटाई सञ्चित मुनाफा हिसाबमा सार्न सकिनेछ । जमानतदाता लाई कालोसूचीमा समावेश गर्नपूर्व ऋणीले सुरक्षण स्वरुप राखेको धितो लिलाम गरी असुली गर्नुपर्ने संशोधित निर्देशिकामा उल्लेख छ । जहाँ सुरक्षणबाट भएको असुली पर्याप्त नभई बैंकको ऋण रकम बाँकी रहेमा सोको भुक्तानीका लागि जमानतदाता लाई ९० दिनको समय प्रदान गर्नुपर्नेछ । सो सूचना अवधिपश्चात् मात्र जमानतदाता लाई कालोसूचीमा समावेश गर्नुपर्नेछ ।
चालू तथा अघिल्लो आर्थिक वर्षमा अनिवार्य मौज्दातबाहेक बैंकबाट अन्य कुनै कारबाहीमा नपरेको हुनुपर्ने व्यवस्थालाई हटाइएको छ । यसले सरकारी अधिकारी, कम्पनी र गैरसरकारी संस्थालाई तालिम दिन पनि मद्दत गर्नेछ । फर्मले आफ्नो साइबर सुरक्षा शस्त्रागार निर्माण गर्न वर्षौं बिताएको छ । यसले एक दशक अघि मलागामा आधारित ‘स्टार्टअप भाइरसटोटल’लाई अधिग्रहण गरेको थियो र फर्मले अहिले विश्वको सबैभन्दा ठूलो मालवेयर डाटाबेसमध्ये एक भएको दावी गनेगरेको छ । गत वर्ष उसले अमेरिकी साइबर सुरक्षा फर्म ‘म्यान्डियन्ट’लाई पाँच अर्ब डलरभन्दा बढीमा किनेको थियो ।
नेपाल फिफा वरीयतामा दुई स्थान खस्कियो
नेपाल फिफा वरीयतामा दुई स्थान खस्किएको छ । विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार सार्वजनिक गरेको पुरुष वरीयतामा नेपाल दुई स्थान तल झर्दै एक सय ७५औँ स्थानमा रहेको हो । यसअघि नेपाल एक सय ७३औँ स्थानमा थियो ।
नेपालले हालै सम्पन्न सन् २०२६ को विश्वकप छनोटको दोस्रो चरणको खेलमा संयुक्त अरब इमिरेट्स (युएई) र यमनसँग हार खेपेका कारण वरीयतामा खस्किएको हो । दक्षिण एसियाली देशमा भने नेपाल तेस्रो स्थानमा छ । भारत समग्रमा १०२ माल्दिभ्स एक सय ६१औँ स्थानमा छ । यस्तै बङ्गलादेश एक सय ८३औँ, भुटान एक ८४औँ, पाकिस्तान एक सय ९५औँ र श्रीलंका २०४औँ स्थानमा छ । विश्व वरीयताको शीर्षस्थानमा विश्वकव विजेता अर्जेन्टिना रहेको छ । उपविजेता फान्स दोस्रो, इङ्ल्यान्ड तेस्रो, बेल्जियमले चौथो र ब्राजिल पाँचौँ स्थानमा छ ।
एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
नेकपा एकीकृत समाजवादीले पुर्व निर्धारित महाधिवेसन सार्ने तयारी गरेको छ । जुन निर्णय लिनका लागि नेकपा एसले मंशिर २८ गते सचिवालय बैठक बोलाएका छन ।
महासचिव घनश्याम भुसालका अनुसार आगामी मङ्सिर १८ गते बिहान ११ बजे ६९ औँ केन्द्रीय सचिवालय बैठक आह्वान गरिएको छ । उक्त बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी, अन्तर पार्टी निर्देशनालयलगायत अजेन्डामा छलफल गरिने भएको छ । आगामी माघ १४ गते राष्ट्रिय महाधिवेशनको मिति तय भए पनि तयारी नपुगेको भन्दै अध्यक्ष माधवकुमार नेपालले महाधिवेशन सार्ने प्रस्ताव उक्त बैठकमा गर्ने बुझिएको छ ।
प्रधानमन्त्रीद्वारा अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण
संकल्पख प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरेका छन् । कोप–२८ मा सहभागी हुन युएई पुगेका प्रधानमन्त्री प्रचण्डले त्यसक्रममा बिहीबार नेपाली समुदायको हितमा भए÷गरेका काम कारबाहीको जानकारी लिएका हुन् । सो क्रममा प्रधानमन्त्री प्रचण्डले दूतावासका अधिकारीहरुलाई सेवाप्रवाह अझ प्रभावकारी बनाउन निर्देशनसमेत दिएका छन् । प्रधानमन्त्री प्रचण्ड कोप–२८ मा भाग लिन बुधबार राति दुबई गएका हुन् ।
इजरायल र हमासबीच थप एक दिनको युद्ध विराम
इजरायल र हमासबीचको युद्धविराम समाप्त हुनुभन्दा केहि मिनेटअघि थप एक दिनको युद्ध विरामको सहमति भएको छ । इजरायल र कतारका अधिकारीहरूले यसको पुष्टि गरेका छन् । टाइम्स अफ इजरायलका अनुसार हमासले आज रिहा हुने १० जना बन्धकहरूको सूची दिएको छ र जसलाई इजरायलले अनुमोदन गरेको छ ।
युद्धविराम अन्तर्गत, हमासले हरेक दिन १० जना बन्धकहरूलाई रिहा गर्नेछ । बदलामा इजरायलले ३० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ । इजरायली सेनाले युद्धविरामका अन्य सर्तहरूमा वार्ता जारी रहेको बताएको छ । यसअघि टाइम्स अफ इजरायलका अनुसार युद्धविरामको छैटौं दिन हमासले ५ बालबालिकासहित कुल १६ जनालाई मुक्त गरेको थियो । पहिलो दुई रूसी–इजरायली महिला रिहा गरियो । पछि १० इजरायली र ४ थाई नागरिकलाई रिहा गरिएको थियो । इजरायलले हमाससँग अझै करिब १५९ बन्धक बाँकी रहेको दाबी गरेको छ । अहिलेसम्म हमासले ६ दिनमा ९७ जना बन्धकलाई रिहा गरेको छ भने इजरायलले आफ्नो हिरासतमा रहेका २१० प्यालेस्टाइनीलाई रिहा गरेको छ ।
गैँडाको खागसहित आठ जना पक्राउ
चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको खागसहित आठ जना पक्राउ परेका छन् । पक्राउ परेका उनीहरूलाई आज सार्वजनिक गरिँदै छ । निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण–पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर दुईवटा गैँडा मारिएका थिए । अन्दाजी १८ र छ वर्षका पोथी गैँडा मारिएपछि निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तस्कर पक्राउ गर्न खटिएको थियो ।
गैँडा मृत भेटिएको १० दिन नबित्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मङ्सिर ९ गते पूर्वी चितवनको राप्ती नगरपालिका–३ बाट छ जना र ११ गते सोही नगरपालिकाको भण्डाराबाट दुई जना पक्राउ परेका जनाइएको छ । पक्राउ परेकाहरू चितवन र मकवानपुरका हुन् । गैँडा मारेर खाग बिक्री गर्न तयारी गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । पक्राउपछि उनीहरूबाट खागसमेत बरामद गरिएको छ । निकुञ्जको गस्ती भइरहने क्षेत्रमा गैँडा मारिएपछि वन तथा वातावरण मन्त्रालयले अध्ययनका लागि टोली गठन गरेको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा गठित टोलीले स्थलगतरूपमा अध्ययन गरेर यही मङ्सिर १२ गते विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानालाई प्रतिवेदन बुझाएको छ ।
निकुञ्जको महत्त्वपूर्ण भू–भागमा पुरातन शैलीमा गैँडा मारिएपछि सर्वत्र चासो र चिन्ता व्यक्त गरिएको थियो । घटनालगत्तै निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो खटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । उहाँका अनुसार आज राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा पत्रकार सम्मेलनमार्फत पक्राउ परेका उनीहरुलाई सार्वजनिक गरिँदै छ । निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार पत्रकार सम्मेलनमा निकुञ्ज विभागका महानिर्देशक ढुङ्गाना, ब्यूरोका प्रवक्ता नवराज अधिकारी, नेपाली सेनाको राष्ट्रय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका अधिकारीसमेतको उपस्थिति रहनेछ ।
सशस्त्र द्वन्द्वको समयमा एकै वर्षमा ३८ वटासम्म गैँडा तस्करले मारेका थिए । पछिल्ला वर्षहरूमा वन्यजन्तु चोरी सिकारी घटेर गएको थियो । कतिपय वर्षमा निकुञ्जले शून्य चोरी सिकार वर्ष मनाएको थियो । गत वर्ष दुईवटा गैँडा सिकारीले मारेका निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनाअनुसार छ सय ९४ गैँडा रहेका छन् । नेपालमा सात सय ५२ गैँडा छन् ।
एमालेको सङ्कल्प यात्रा बैतडीबाट आरम्भ
नेकपा (एमाले)को ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आजदेखि आरम्भ भएको छ । यात्राको एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका छन् ।
अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा आज बिहान नेपाली झण्डा झण्डोत्तोलन गरेर सङ्कल्प यात्रा शुभारम्भ गरेका हुन् । सो अवसरमा अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना पूरा गर्न अभियान थालिएको बताए । राजनीतिक अस्थिरता अन्त्य गर्न र सकारात्मक परिवर्तनका लागि अभियान फलदायी हुने उनको भनाइ थियो ।
सङ्कल्प यात्रा शुभारम्भपछि आजै बैतडी सदरकुकाम गोठलापानीमा आयोजना गर्न लागेको आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले बैतडीले जनाएको छ । आजै साँझ बैतडीको खोडपेमा बझाङका नेता कार्यकर्तासँग अध्यक्ष ओलीको भेटघाटको कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।




