मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

मंशिर १२ गते मंगलबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । मंगलबार तयार पारिएको मुख्य १० समाचारमा भुटानी शरणार्थी प्रकरणमा सकियो २२ प्रतिवादीको बहसदेखी १० वाणिज्य बैंकले घोषणा गरे लाभांश सम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

भुटानी शरणार्थी प्रकरणमा सकियो २२ प्रतिवादीको बहस

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा २२ प्रतिवादीको बहस सकिएको छ । काठमाडौँ जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ उच्च अदालत पाटनमा गत सातादेखि जारी छ । मङ्गलवारसम्म नक्कली भुटानी शरणार्थी प्रकरणका २२ प्रतिवादीको बहस सकिएको छ भने अब सरकारी वकिलले बहस गर्ने छन् । उच्च अदालत पाटनका अनुसार शुक्रवार मात्र फैसला आउने सम्भावना छ ।

रुसी सेनामा रहेका तीन नेपालीको मृत्यु

रुसी सेनामा सम्बद्ध रहेका तीन जना नेपालीको मृत्यु भएको छ । युक्रेससँगको युद्धका क्रममा उनीहरुको ज्यान गएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । रुसको मस्कोस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तान रहेका छन् । उनीहरुको गत १५ नोभेम्बर (कार्तिक २९) गते मृत्यु भएको हो । रुसी सेनाले नेपालीहरुलाई आफ्नो सहयोगीको रुपमा राखेका थिए ।

रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले नेपाली मारिएको घटनाको रुसी सेनामा विस्तृत सोधखोज भइरहेको जानकारी दिए । रुस र युक्रेनबीचको युद्धका क्रममा केही नेपालीहरू पनि रहेको सूचना बाहिर आइरहेका बेला तीन नेपाली मारिएको घटना सार्वजनिक भएको हो । रुस–युक्रेन युद्धमा रुसको पक्षबाट लड्न झण्डै २ सय नेपाली रहेको अनुमान गरिँदै आएको छ । अन्य केही पनि सम्पर्कविहीन रहेको सूचना छ ।

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् । मंगलबार दिउँसो १ बजे सभापति देउवा निवास धुम्बाराहीमा बैठक बस्ने भएको छ । महासमिति बैठकको तयारी र विभाग गठनका विषयमा छलफल गर्न सभापति देउवाले बैठक आव्हान गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

कांग्रेसले महासमिति बैठक पुस १६ देखि १९ सम्म काठमाडौंमा गर्ने गरि मिति तय गरिएकोे छ । विधान अनुसार महाधिवेशन नभएको वर्ष महासमिति बैठक गर्नुपर्ने व्यवस्था छ ।

कांग्रेसको भ्रातृ संगठन सेनानी संघको अध्यक्षमा दाहाल नियुक्त

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी आबद्ध भ्रातृ संघ— नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल (ओखलढुंगा) लाई मंगलबार नियुक्त गरेका छन् । नेपाली कांंग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार पार्टी सभापति देउवाले दाहाललाई संघको अध्यक्षमा नियुक्त गरेका हुन् । यसअघि उक्त संघ नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको थियो ।

त्यस्तै सभापति देउवाले नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा मेघराज टण्डन (कपिलवस्तु) र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा प्रकाश पन्थ (तनहुँ) लाई नियुक्त गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

प्रचण्ड र ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । समसामयिक विषयमा छलफल गर्न ओली सिंहदरवार पुगेको उनको सचिवालयले जनाएको छ। एमालेले मंसिर १४ गतेदेखि झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म अभियान सुरु गर्दैछ । त्यसका लागि ओली आजै धनगढी प्रस्थान गर्दैछन् । त्यसअघि विभिन्न राजनीतिक विषयमा प्रधानमन्त्रीसँग कुराकानी गर्न ओली सिंहदरबार पुगेको बताइन्छ ।

प्रहरी समायोजनका लागि दबाब दिन भन्दै ६ वटै प्रदेशका गृहमन्त्रीले आजै प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका छन् । ओली र प्रचण्डबीच यस विषयमा पनि कुराकानी भएको बुझिएको छ ।

भूकम्पले भत्काएको प्रधानमन्त्री कार्यालय केही दिनअघिदेखि साविककै रुपमा सञ्चालनमा आएको छ । ओली र प्रचण्डले पुनर्निर्माण भएको प्रधानमन्त्री कार्यालयको अवलोकनसमेत गरेका थिए ।

निरन्तर नयाँ रेकर्ड कायम गर्दै सुनको मूल्य

नेपाली बजारमा साताको तेस्रो कारोबारको दिन मंगलबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। नेपाल सुन चाँदी ब्यावसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १७ हजार ७०० रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख १७ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख १६ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदी मूल्य स्थिर रहँदै १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि चाँदी १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस दुई हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

वर्तमान सरकारले नै प्रहरी समायोजन प्रक्रिया टुङ्ग्याउनु पर्छ ः गृहमन्त्री

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूले आज गृह मन्त्रालयमा संयुक्त भेटघाट गरेका छन् । त्यसक्रममा प्रदेशमा प्रहरी समायोजन प्रक्रियालाई छिटो टुङ्गो लगाउनेबारे छलफल भएको थियो। उपप्रधानमन्त्री श्रेष्ठले सरकार संघीयतालाई बलियो बनाउन आवश्यक ऐन निर्माण, संशोधन र कार्यविधि तय गर्न लागिरहेको तथा प्रहरी समायोजन प्रक्रियालाई प्राथमिकतामा टुङ्ग्याइने बताए । वर्तमान सरकारले नै प्रहरी समायोजन प्रक्रिया टुङ्ग्याउनु पर्छ । उपप्रधानमन्त्री श्रेष्ठले भने हतपतमा नगरौ राम्रो गरौ राम्रो गर्दा ढिलो नगरौ ।

भेटघाटका क्रममा मन्त्री गंगानारायण श्रेष्ठ, आन्तरिक मामिला तथा कानून, वाग्मती प्रदेश,मन्त्री मोहम्मद समिम गृह, सञ्चार तथा कानुन, मधेस प्रदेश,मन्त्री सन्तोष कुमार पाण्डे गृह, सञ्चार तथा कानुन, लुम्बिनी प्रदेश,मन्त्री कृष्ण बहादुर जि‍ .सी.( आन्तरिक मामिला तथा कानुन, कर्णाली प्रदेश,मन्त्री शिवराज भट्ट ( आन्तरिक मामिला तथा कानुन, सुदूरपश्चिम प्रदेश,मन्त्री सरस्वती अर्याल तिवारी ( ऊर्जा, जलश्रोत तथा खानेपानी (प्रतिनिधि) गण्डकी प्रदेश र मन्त्री शमशेर राई ( गैर विभागीय (प्रतिनिधि आन्तरिक मामिला तथा कानून) कोशी प्रदेश सहभागी थिए ।

एनआरएनए आरके समूहद्वारा पुनः निर्वाचन गर्न माग

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को राजेन्द्रकुमार (आरके) शर्मा समूहले अनलाइन प्रणालीमार्फत गत महिना सम्पन्न निर्वाचनमा योजनाबद्धरूपमा धाँधली भएको आरोप लगाउँदै पुनः निर्वाचनको माग गरेको छ । एनआरएनए आरके समूहद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा निर्वाचन प्रक्रियाअन्तर्गत प्रतिनिधि छनोटदेखि मतदान र नजिता सार्वजनिक हुँदासम्म योजनाबद्धरूपमा धाँधली भएकाले पुनः निर्वाचनको माग गरिएको छ ।

सङ्घका अध्यक्षको प्रत्यासी आरके शर्माले एनआरएनएको एकता,विश्वसनियता, तटस्थता र सुदृढीकरणका पक्षमा जस्तोसुकै त्याग गर्न आफू तयार रहेको स्पष्ट गर्दै निर्वाचनपछि उत्पन्न विवादका सन्दर्भमा सम्बद्ध सरकारी निकायलाई जानकारी गराउँदा पनि सुनुवाइ नभएको भनी गुनासो व्यक्त गरे । सो समूहका बुद्धिसागर सुवेदीले विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीको साझा संस्थाका रूपमा रहेको सङ्घलाई अझ विश्वसनीय र सुदृढ तुल्याउन पुनः निर्वाचन हुनुपर्ने धारणा व्यक्त गरे ।

सो समूहले गैरआवासीय नेपाली नागरिकता व्यवस्था गरेकामा नेपाल सरकारलाई धन्यवाद दिँदै पहिलो पुस्ताका नेपालीलाई बंशजको आधारमा नागरिकता उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गरेको छ । जाजरकोट भूकम्पका पीडितलाई यथासक्य राहत सहयोग उपलब्ध गराएको उल्लेख गर्दै एनआरएनएले आगामी दुई वर्षभित्र रु १० करोड राशीकोआपत्कालीन राहत तथा उद्धार कोष बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

१० वाणिज्य बैंकले घोषणा गरे लाभांश

अहिलेसम्म १० वाणिज्य बैंकहरुले लाभांश घोषणा गरेका छन् । १० वाणिज्य बैंकहरुले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । लाभांश घोषणा गरेका बैंकमध्ये ७ बैंकको बुक क्लोज भइसकेको छ । बुक क्लोज भएका बैंकहरुको सेयर खरिद गर्ने सेयरधनीहरूले यो वर्षका लागि लाभांश पाउने छैनन् ।

बुक क्लोज भइसकेका बैंकहरुमा माछापुच्छ्रे, एभरेष्ट, एनआईसी एसिया, सानिमा, सिटिजन्स, सिद्धार्थ र स्टान्डर्ड चार्टर्ड छन् । त्यस्तै ग्लोबल आईएमई बैंकले आज बुक क्लोज मिति तय भएको छ । मंगलबारसम्म सेयर खरिद गर्ने सेयरधनीहरू यो बैंकले वितरण गर्ने लाभांश पाउने छन् ।

लाभांश घोषणा गरिसकेका नबिल र नेपाल एसबीआई बैंकले भने अहिलेसम्म बुक क्लोजको मिति तय गरिसकेका छैनन् । यी बैंकको सेयर खरिद गर्ने लगानीकर्ताहरु अहिले पनि यी बैंकले घोषणा गरेको लाभांश पाउन सक्नेछन् । माछापुच्छ्रे बैंकले लाभांशस्वरुप प्रदान गरेको बोनस सेयर लगानीकर्ताले डिम्याट खातामा पाइसकेको छ भने दोस्रो बजारमा सूचीकृत भइसकेको छ । नगद लाभांश घोषणा गरेका केही बैंकले सेयरधनीको बैंक खातामा लाभांश प्रदान गरिसकेका छन् । भने केही बैंकको बाँकी रहेको छ ।

काठमाडौँवासीलाई मेलम्चीको पानी छिटोभन्दा छिटो खुवाउँछु : खानेपानीमन्त्री यादव

खानेपानी मन्त्री महिन्द्रराय यादवले काठमाडौँवासीलाई मेलम्चीको पानी चाँडै खुवाउने बताएका छन् ।
काठमाडौँवासीले मेलम्चीको पानी एक हप्ताभित्र व्यवस्था गर्न दबाब दिइरहेका बेला खानेपानी मन्त्री यादवले आज मङ्गलवार अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गरेपछि सञ्चारकर्मीमाझ यो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

खानेपानी उपभोक्तासँगै अर्थमन्त्री महतसँग भेट गरेका यादवले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने विषयमा अर्थ मन्त्रालयसँग सकारात्मक छलफल भएको पनि बताए । उनले भने, ‘यहाँ अर्थ मन्त्रालयमा खानेपानीको विषयमा छलफल भएको छ । सकारात्मक कुरा भएको छ । हामी फेरि बसेर छलफल गरेर पानी ल्याउने प्रक्रिया हामी अगाडि बढाउँछौँ । छिटोभन्दा छिटो हामी काठमाण्डौवासीलाई पानी खुवाउँछौँ ।’

काठमाडौवासीले भने एक हप्ताभित्र मेलम्चीको पानीको व्यवस्था गर्न सरकारलाई दबाब दिएका छन् । एक हप्ताभित्र पनि पानी काठमाडाँै ल्याउने व्यवस्था नगरे सरकारविरुद्ध आन्दोलन गर्ने उनीहरूको चेतावनी छ । कोटेश्वरका स्थानीय हरि गौतमले अर्थमन्त्रीसँगको भेटमा मेलम्चीको पानी एक हप्ताभित्र काठमाडौँ आउने गरी आवश्यक बजेटको व्यवस्था गर्न माग गरिएको बताए । उनका अनुसार ११ करोड ५० लाख ६६ हजार रुपैयाँ हेलम्बुका स्थानीयले माग गरेको रकम सरकारले तत्काल उपलब्ध गराए खानेपानी ल्याउने काममा देखिएको अवरोध हट्नेछ ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले मेलम्चीको पानी काठमाण्डौ ल्याउने कुरामा हेलम्बुवासीले अवरोध नगरेको स्पष्ट पारे । मङ्गलवार अर्थमन्त्रीसँगको भेटपछि उनले सञ्चारकर्मीमाझ यो कुरा बताएका हुन् । अध्यक्ष शेर्पाले स्थानीयसँग गरेको सम्झौताअनुसारको बजेट भने तत्काल व्यवस्था गर्न सरकारलाई दबाब दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *