मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

मंशिर ११ गते सोमबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । सोमबार पारिएको मुख्य १० समाचारमा नवलपुर पुगेर देउवाले भने– कसैले चाहँदैमा अब राजतन्त्र फर्किंदैनदेखी निर्वाचन व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुनेसम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

नवलपुर पुगेर देउवाले भने– कसैले चाहँदैमा अब राजतन्त्र फर्किंदैन

नवलपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब कुनै पनि हालतमा नेपालमा राजतन्त्र नफर्किने बताएका छन् । नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्ला सम्मेलनलाई सोमबार सम्बोधन गर्दै उनले कुनै हालतमा राजतन्त्र नफर्कने बताएका हुन् । कसैले चाहँदैमा अब राजतन्त्र फर्किदैन । सार्वभौम संविधानसभाको निर्णयले गणतन्त्रको स्थापना भएकाले अब राजतन्त्र फर्किने कुनै सम्भावना छैन,’ उनले भने ।

केही समययता नेपालमा राजावादीहरू राजतन्त्र फर्काउन सक्रिय भएर लागेका बेला देउवाले कसैले चाहेर अब राजतन्त्र नफर्किने बताएका हुन् । पत्रकारले शेरबहादुर बोलेन भन्छ्न् मैले भन्नै पर्छ, संविधानसभाले निर्णय गरेकाले अब राजतन्त्र फर्किदैन, सबै मिलेर लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र मजबुत बनाउन पर्छ,’ उनले भने । राजावादी सक्रिय भएर सडकमा प्रदर्शन गरिरहँदा पनि कांग्रेस सभापति देउवाले मौनता साँध्दै आएका थिए । सोमबार मात्र उनले यस विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेका हुन् ।

त्रिशूलसहित श्रीनिवास पक्राउ, गौशालामा तनावग्रस्त

व्यवसायी दुर्गा प्रसाईं समूहको कार्यक्रममा प्रहरीले हस्तक्षेप भएपछि सोमबार गौशालामा तनाव उत्पन्न भएको छ । प्रसाईं नेतृत्वको समूहले सडक अवरुद्ध पार्न खोजेपछि प्रहरीसँग झडप भएको थियो । प्रसाईं समर्थकले प्रहरीमाथि ढुंगामुढा गरेका थिए भने प्रहरीले बल प्रयोग गरेको थियो । प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनमा हिन्दूवादीहरुको समेत उपस्थिति थियो ।

आफूलाई धर्मगुरु बताउने आचार्य श्रीनिवासले उक्त प्रदर्शनमा उग्रअभिव्यक्ति दिँदै सडक अवरुद्ध गर्न खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । राजतन्त्र फर्काउने र ऋण मिनाहा गर्ने उद्देश्यका साथ थालिएको आन्दोलनको आज पाँचौं दिन हो । आजको कार्यक्रमले गौशाला–विमानस्थल रुटमा सवारी साधन सञ्चालनमा आंशिक प्रभाव परेको प्रहरीको भनाई छ ।

एक दर्जन विधेयकलाई आगामी अधिवेशनमा पेस गर्ने गरी काम गर्नुस् ः सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले संसदीय समितिका गतिविधि एवं क्रियाकलापलाई प्रभावकारी र परिणाममुखी तुल्याउन निर्देशन दिएका छन्। सङ्घीय संसद् प्रतिनिधिसभा मातहतका १० विषयगत समितिका सभापतिसँगको बैठकमा उनले समिति बैठकमा देखिएको कोरमसम्बन्धी चुनौती र प्राप्त विधेयकको जिम्मेवारीलाई समयमै सम्बोधन गर्न सुझाव दिए।

सभामुख घिमिरेले भने, “विधेयकको कामलाई प्राथमिकता दिनुस्, निर्देशन किन कार्यान्वयन भएन समीक्षा गर्नुस्, समितिको कार्यक्षेत्रमा देखिएको दोहोरोपन अन्त्य गर्नुस् ।” उनले समितिमा रहेका एक दर्जन विधेयकलाई संसद्को आगामी अधिवेशनमा सुरु हुनासाथ पेस गर्न सकिने गरी तयारी गर्नसमेत निर्देशन दिए।

उनले भने, “आफ्नो कार्यक्षेत्र के हुन सक्छ पहिल्याऔँ, देखिएका समस्या समाधान गर्न आपसमा समन्वय होस्, अन्योल र अप्ठ्यारो परेमा सभामुखसँग परामर्श गरौँ, विधेयकको काम सक्ने गरी कार्यतालिका र योजना बनाऔँ ।” उनले लिइएका नीतिगत निर्णय वा स्थलगत प्रतिवेदनले देखाएका विषयलाई मन्त्रालय र सम्बन्धित ठाउँमा किन भएन भन्नेमा पनि त्यतिकै ध्यान पु¥याउन सुझाव दिए।

निर्देशनप्रतिको गम्भीरताको अभावलाई पूर्णता दिन मुख्य, प्रमुख र सचेतकमार्फत सम्बन्धित दलको ध्यान जान जरुरी रहेको बताउँदै सभामुख घिमिरेले समितिका निर्देशन र प्रतिवेदन कार्यान्वयनका लागि आफ्नो पूर्णसाथ सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। यसअघि बैठकमा सभामुख घिमिरेले संसदीय दलका प्रमुख सचेतक र सचेतकमार्फत संसदीय समितिका बैठक यथाशीघ्र आह्वान गर्न र कोरम पु¥याएर अघि बढ्न निर्देशन दिएका राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले बताए। सदनलाई बलियो र मर्यादित बनाउन सकिएन भने जनतामा संसद्प्रतिको आस्था र निष्ठा कमजोर भई व्यवस्था र नेतृत्वप्रति नै आघात पुग्नसक्नेतर्फ समयमै ध्यान पु¥याउनुपर्नेतर्फ सभामुखले सबैको ध्यानाकर्षण गराएका छन् ।

श्री ५ लेखेको शिलालेख हटाइयो

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा उद्घाटन गरिएको पृथ्वीनारायण शाहको सालिकमा श्री ५ लेखेर अनावरण गरिएको सालिकको शिलालेख हटाइएको छ । बिर्तामोड –१ स्थित इकम कलेजमाथि कारबाही प्रक्रिया अघि बढेपछि कलेजले हटाउन लगाएको हो । सो कलेजको दर्ता खारेजीका लागि प्रक्रिया पनि अगाडि बढेको बताइएको छ । कलेजले बहालवाला राजासरह पूर्वराजा ज्ञानेन्द्र शाहबाट सालिक अनावरण गर्न लगाउँदै देशमा राजतन्त्र भए जसरी ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहको करकमलबाट बिर्तामोड नगरपालिका–१ झापामा रहेको इकम कलेजको प्राङ्गणमा स्थापित राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको सालिक अनावरण’ गरिएको थियो ।

इकम कलेजले संविधानको ठाडो उल्लङ्घन गरेकाले दर्ता खारेजी प्रक्रिया अगाडि बढाइने बिर्तामोड–१ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले बताए । पाण्डेले इकम कलेजसँग पत्र पठाएर स्पष्टीकरण सोधिने र दर्ता खारेजीका लागि बिर्तामोड नगरपालिकाको शिक्षा शाखालाई अनुरोध गरिने बताए । चौतर्फी विरोधपछि इकम कलेजको प्राङ्गणबाट ‘श्री ५’ लेखिएको शिलालेख हटाएको थियो ।

कलेजका सञ्चालकले आफूहरुबाट त्रुटि भएको स्वीकार गरिसकेका छन् । सालिक अनावरण गर्ने क्रममा राखिएको शिलालेखको भाषामा त्रुटि भएको महसुस भएपछि त्यसलाई हटाइएको कलेजका संस्थापक अध्यक्ष एवम् सीइओ आलोक कार्कीले बताए । अर्को शिलालेखमा ‘श्री ५’ को सट्टा पूर्व राजा भनेर लेखिने उनले जानकारी दिए । सो कलेजले गत शनिबार पूर्वराजा ज्ञानेन्द्रबाट सालिक अनावरण गराएको थियो ।

यसअघि शिलालेखमा ‘श्री ५’ लेखेपछि प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले पनि स्पष्टीकरण सोध्नुभएको थियो । त्यसपछि कलेज प्रशासनले शिलालेख हटाएको थियो । इकम कलेज ८ वर्षदेखि सञ्चालनमा छ । सो कलेजले होटल म्यानेजमेन्ट, विज्ञान र व्यवस्थापन सङ्कायको कक्षा सञ्चालन गर्दै आएको छ ।

कांग्रेस केन्द्रीय लेखा समितिमा चार सदस्य मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय लेखा समितिको सदस्यमा चार जनालाई मनोनयन गरेका छन्। देउवाले दिलिप ढुंगाना (धनुषा), डा. डेबिड बस्याल (अर्घाखाँची), रमेश नेपाल (मकवानपुर) र अनन्त कार्की (सिन्धुली) लाई समिति सदस्यमा मनोनयन गरेका हुन्। कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य श्यामकुमार घिमिरेको संयोजकत्वमा केन्द्रीय लेखा समिति क्रियाशील छ।

एमाले सचिव भट्टराईको गाडी तोडफोड भएको भोलिपल्टै अनेरास्ववियुका नेतामाथि खुकुरी प्रहार

एमाले सचिव योगेश भट्टराईको गाडी तोडफोड भएको भोलिपल्टै सोमबार अनेरास्ववियुका ताप्लेजुङ सहसंयोजक एवं कोशी प्रदेशका सांसद तिलकुमार मेन्याङ्बोका स्वकीय सचिव विवेक बानियाँमाथि खुकुरी प्रहार भएको छ । सदरमुकाम फुङलिङको आफ्नै निवास अगाडि सोमबार बिहान खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । खुट्टामा गम्भीर चोट लागेका उनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल लुङ्गेलीका अनुसार फुङलिङ नगरपालिका–४ का प्रेमराज लिम्बूले खुकुरी हानेका हुन् ।

माओवादीको वेबसाइट सार्वजनिक

सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले पार्टीको वेबसाइट सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वेबसाइट सार्वजनिक गरेका हुन्।

पार्टीको प्रचारको शैलीलाई आधुनिक ढंगबाट अघि बढाउनका लागि वेबसाइट निर्माण गरिएको माओवादी केन्द्रले जनाएको छ ।यसअघि माओवादीले गठन गरेको ‘आइसीटी फोरम’को नेतृत्वमा वेबसाइट निर्माणको काम भएको हो। सार्वजनिक कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष समेत रहेका प्रचण्डले समय अनुसार युगको अवस्था पनि फेरिँदै गएको कारणले डिजिटल उपयोग गरेर जाने प्रवृत्ति बढ्दै गएको बताए ।

सरकार मन्त्री, प्रधानमन्त्री बन्ने र टिकाउनेमै सीमित छ ः सांसद देवकोटा

राष्ट्रियसभा सदस्य अनिता देवकोटा द्विसदनात्मक सङ्घीय संसद्मध्ये प्रतिनिधिसभालाई विकास र राष्ट्रियसभालाई विधेयकसँग जिम्मेवार बनाएर जोड्न सके दुवै काम ठिक ढङ्गले अघि बढ्न सक्ने तर्क गर्छिन् ।

उनले सरकार को आयो आएन, बजेट कस्तो ल्याइयो, महाभियोग र अविश्वासको प्रस्ताव किन भन्ने विषयमा राष्ट्रियसभाले वास्ता नराख्ने भएकाले त्यसरी बेग्ला–बेग्लै तोकेर जिम्मेवार बनाएमा निरन्तर र समयमै कानुन निर्माण हुने विचार प्रकट गरे । सदस्य देवकोटाले भनिन्, ‘विकास कसरी गर्ने, बजेट कहाँ हाल्ने अनि सरकार गठन र विघटनको काम उसले गर्छ । कानुन समयमै निर्माण गर्ने हो भने विधेयक निर्माणको सम्पूर्ण काम राष्ट्रियसभाबाट हुनुपर्छ भन्ने पाटोबाट बहस चलाइनुपर्छ ।’

विसं २०४३ मा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा प्रवेश गरेकी उनीसँग नेपाल महिला सङ्घ दाङको अध्यक्ष, महिला सङ्घकै केन्द्रीय सदस्य, नेपाली कांग्रेस महासमिति सदस्य, दोस्रो संविधानसभा सदस्य भई काम गरेको अनुभव छ । देशमा भएका विभिन्न घटनाका कारण प्रतिनिधिसभा लामो समयसम्म अवरुद्ध भएको विगतका घटना सुनाउँदै उनले कानुन निर्माणको प्रमुख थलो मूल जिम्मेवारी र कर्तव्यबाट प्रभावित हुँदा राज्य सञ्चालनमा पर्न सक्ने असरलाई समयमै सम्बोधन गर्न आवश्यक रहेको धारणा राखिन् ।

माथिल्लो सदनमा प्रतिनिधित्व गराउँदा विषयविज्ञको चयन गरिनुपर्ने सुझाव दिँदै उनले दललाई चुनावमा सहयोग गरेको, आफन्त र पीडितका नाममा जिम्मेवारी दिने सोच राखिए सभा ‘डम्पिङ साइट’ बन्न सक्ने खतराको चेतावनी दिइन् । बजेट विनियोजन र अवसर प्रदानका विषयमा सरकारले प्रतिनिधिसभा र राष्ट्रियसभाबीच विभेद गरेको आरोप लगाउँदै नेत्री देवकोटाले हालसम्मका सबै सरकारले धेरै ठाउँ र विषयमा विभेद गरेकाले सांसद कानुन निर्माणमा मात्रै केन्द्रित हौँ भनिएको बताइन् ।

राष्ट्रियसभालाई प्रतिनिधिसभाको छायाँका रूपमा मान्न नसकिने स्पष्ट गर्दै सदस्य देवकोटाले भनिन्, ‘केही अभ्यासले त्यो देखाएको हुनसक्छ, त्यसलाई सुधार्नुपर्छ, तर यहाँ सरकारले बरु छायाँ बनाउन खोजेको छ ।’ जनता र राष्ट्रहितलाई शिरमा राखेर मात्र विधि निर्माण गरिनुपर्नेमा जोड दिँदै उनले भनिन्, ‘सबैको साझा भएकाले देश निर्माणमा राजनीतिक दल, जनप्रतिनिधि, राज्य र राष्ट्र लाग्नुपर्छ । सरकारमा को छ–छैन गौण विषय हो ।’

बनाइएका कानुन कार्यान्वयनको प्रभावकारिता परीक्षण र मापन हुनुपर्नेमा जोड दिँदै नेत्री देवकोटाले कानुन तर्जुमा सबैको स्वामित्व कायम गराउँदै बनेका कानुन कार्यान्वयनमा सरकारको तदारुकताको खाँचो औँल्याइन् । राष्ट्रियसभामा आफ्नो छ वर्षे कार्यकाल पूरा गरी तीन महिनापछि बाहिरिन लागेकी सदस्य देवकोटाले सभाको गरिमालाई प्रभावकारी तुल्याएर दू्रतगतिमा कानुन निर्माण गर्ने आफ्नो सोच पूरा हुन नसकेको प्रतिक्रिया दिइन् ।

राजतन्त्र फर्काउन संयुक्त राजावादी मोर्चा गठनको गृहकार्य

मंसिर ७ गते काठमाडौंमा दुर्गा प्रसाई र मंसिर ९ गते झापामा राप्रपाको राजावादीहरूको भीड देखेर उत्साहित भएका पूर्वराजावादीहरू मोर्चा गठनको अभियानमा लागेका छन् । तर मोर्चा राप्रपा वा राप्रपा नेपालको अध्यक्षमध्ये कसको नेतृत्वमा भन्ने पेचिलो प्रश्न बनेको छ । राप्रपाले पुसभित्रै राजतन्त्र फर्काउने गरी अभियान सुरु गर्ने भएको छ । त्यसका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय समिति र पदाधिकारी बैठक बोलाएका छन् । बैठकले आन्दोलनका कार्यक्रम तय गर्ने बुझिएको छ ।

राप्रपाले राजतन्त्र फर्काउन पुसमै अभियान चलाउने भएपछि कमल थापाको राप्रपा नेपाल पनि जुर्मुराएको छ । राप्रपा नेपालको सोमबार बिहान काठमाडौंमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाले सबै राजावादी दल र समूहलाई एक ठाउँमा ल्याउन मोर्चा बनाउनुपर्ने प्रस्ताव गरेका छन् । राजसंस्था चाहने दलहरूबीच तत्काल पार्टी एकता सम्भव नदेखिएकाले संयुक्त मोर्चा बनाएर सहकार्य गर्न थापाले प्रस्ताव गरेको बताइन्छ ।

नेपालमा राजतन्त्र फर्काउनुपर्छ भन्ने मान्यता राख्ने दलहरूको नेतृत्व राजेन्द्र लिङ्देन, कमल थापा, केशरबहादुर विष्टलगायतले गरिरहेका छन् । विवादास्पद व्यवसायी दुर्गा प्रसाई समूह बनाएर आन्दोलनमा लागेका छन् । तर राजावादीहरू आपसमा मिल्न सक्ने सम्भावना भने छैन । अहिलेसम्म लिङ्देन, थापा, विष्ट, प्रसाई एक ठाउँमा बसेर छलफलमा जुटेका छैनन् । सडकमा देखिएको भीडबाट उत्साहित मात्र भएका हुन् । जबसम्म पूर्वराजा ज्ञानेन्द्र शाहले एक ठाउँमा आउन दबाब दिँदैनन्, राजावादीहरू मिल्ने सम्भावना न्यून रहेको बताइन्छ ।


निर्वाचन व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने

एसियाका निर्वाचन व्यवस्थापनसम्बन्धी निकाय र संस्थाका उच्चस्तरीय प्रतिनिधिको सहभागितामा यही मङ्सिर २० र २१ गते काठमाडौँमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । निर्वाचन आयोग नेपाल र ‘एसियन नेटवर्क फर फ्रि इलेक्सन’ को आयोजनामा हुने उक्त छैटौँ संस्करणको ‘एसियन इलोक्ट्रोल स्टेकहोल्डर फोरम’ को उद्घाटन उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र समापन परराष्ट्रमन्त्री एनपी साउदबाट हुने तय भएको आयोगले जनाएको छ ।

सम्मेलनमा एसिया तथा प्रशान्त क्षेत्रका ४० देशका निर्वाचन व्यवस्थापनसम्बन्धी निकायका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज र निर्वाचनका विभिन्न आयाममा क्रियाशील गैरनाफामूलक तथा प्राज्ञिक संस्थाका दुई सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् ।सम्मेलनको मुख्य नारा ‘दिगो लोकतन्त्र निर्माणः निर्वाचनसम्बन्धी अवसर र चुनौतीको सम्बोधन’ (बिल्डिङ सस्टेनेबल डेमोक्रेसिसः एड्रेसिङ इलोक्ट्रोल च्यालेन्जेज एण्ड अपर्चुनिटिज) रहेको छ ।

सम्मेलनमा नेपाललगायत अन्य मुलुकका विज्ञ व्यक्तिबाट सात विषयमा केन्द्रित रही २१ वटा कार्यपत्र प्रस्तुत तथा काठमाडौँ घोषणापत्र जारी गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *