मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

मंशिर ८ गते शुक्रबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो ।शुक्रबार पारिएको मुख्य १० समाचारमा सर्वोच्चद्वारा निषेधित क्षेत्र घोषणा गर्नुको कारण देखाउन आदेश देखी भोलि तिनकुनेमै विरोध प्रदर्शन गर्छौं– दुर्गा प्रसाई सम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

सर्वोच्चद्वारा निषेधित क्षेत्र घोषणा गर्नुको कारण देखाउन आदेश

सर्वोच्च अदालतले माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्णय विरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । अधिवक्ता स्वागत नेपालले जिल्ला प्रशासन कार्यालय काठमाडौंको माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले शु्क्रबार सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो । सर्वोच्चले दुवै पक्षलाई छलफल को लागि बोलाउने आदेश समेत दिएको छ ।

आइलाग्नेमाथि जाइलाग्न युवा संघलाई ओलीको निर्देशन

एमाले अध्यक्ष केपी ओलीले आइलाग्नेमाथि जाइलाग्न युवा संघलाई निर्देशन दिएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बसेको युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आफू अनुशासनमा रहन, तर आइलाग्नेमाथि जाइलाग्न निर्देशन दिएका हुन् । जे पनि सहने भन्ने कुरा सह्य नहुने ओलीको भनाइ छ । निष्ठाको राजनीति गर्न र पार्टीप्रति विश्वास गर्न पनि उहाँले युवा संघलाई निर्देशन दिए । एमाले खानका लागि नभएर काम गर्नका लागि बनेको पार्टी भएको उनले दाबी गरे । देशको हितमाथि प्रश्न उठ्दा युवा संघ मैदान उत्रिएर खबरदारी गरेको भन्दै उनले प्रशंसा गरे ।

युवा संघ र युथ फोर्सले आफूलाई जतिबेला पनि तयार अवस्थामा राख्नुपर्ने उनको भनाइ छ । युवा संघ एमालेको काँइलो छोरो र छोरी भएको भन्दै उनले युवा संघले झलक मात्रै देखाएको दाबी गरे । ‘युवा संघले एक झलक मात्र देखाएको छ, सिंगै एमाले उठ्यो भने के हुन्छ ? सिंगै युवा संघ उत्रियो भने के हुन्छ ?,’ उनले प्रश्न गरे ।

दुर्गा प्रसाईंको आन्दोलनबाट सरकार थर्कमान भएको पनि ओलीले बताए । ‘हिजो बल्खुमा कहाँ हिँडेका हुन् थाहा छैन, के माग हो, के नारा हो केही थाहा छैन, ३–४ हजार मानिस के जम्मा भएका थिए, यो सरकार त्यत्तिकैमा थर्कमान छ, किन भने यसको जगै छैन, एउटा किलो गाडेको छ भने हल्लिँदैन, तेर्सो पारेको छ भने अलिअलि हावा चल्दा पनि ढलमलाउँछ, गठबन्धन छ जरा छैन,’ उनले भने ।

दुर्गा प्रसाईंलाई देशलाई माया नगर्ने बिकाउ माल र धतंगाको संज्ञा दिँदै ओलीले साइकलको मूल्यसँग सार्वभौमसत्ताका कुरा गर्नेहरु देशप्रेमी हुनै नसक्ने बताए । ‘एउटा धतंगाले नेपाललाई उता गाभ्यो भने साइकल सस्तो पाइन्छ, साग सस्तो पाइन्छ भनेछ, देशको माया नगर्ने बिकाउ मालहरुले यस्तो भन्छन्, साइकलको मूल्यसँग सार्वभौमसत्ता साट्ने कुरा गर्छन्,’ उनले भने ।

राजतन्त्र ब्युँताउने सपना नदेख्न पनि ओलीले चेतावनी दिए । कोहीकोही तत्व १५ वर्षअघि फालिसकेको राजतन्त्र फर्काउँछौं भन्दैछन्, मलाई लाग्छ, चेत नै नभएका मुर्खहरुले राजतन्त्र मान्छन्, जन्मिँदै राजा हुने, एउटा व्यक्तिमा सार्वभौमसत्ता हुन्छ भन्नु मूर्खता हो, राजतन्त्र काम लाग्दैन भनेर नेपाली जनताले फालिदिएका हुन्,’ उनले भने ।

ओलीले गठबन्धन सरकारका कारण जनतामा निराशा छाएको आरोप लगाए । सरकारको ध्यान देश, जनता र विकासमा केन्द्रित हुनुपर्नेमा अन्यत्र केन्द्रित रहेकाले जनतामा निराशा छाएको उनको भनाइ थियो । सरकारका हरेक गतिविधि जनभावना विपरीत, संविधान विपरीत र राष्ट्रहित विपरीत रहेकाले जनतामा चरम निराशा छाएको ओलीले बताए ।

माओवादी हिंसाका कारण युवाहरु विदेश जानुपरेको पनि ओलीले बताए । शान्ति प्रक्रियाका बाँकी काम र संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउनुपर्नेमा सरकारले हिंसाको महिमागान गाएर बसेको आरोप लगाए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिंसा दिवसमा बिदा दिने निर्णय गरेर हिंसालाई पश्रय दिन खोजेको पनि बताए ।

गठबन्धन सरकारका कारण युवा विदेश पलायन बढेको, देशको अर्थतन्त्र ओरालो लागेको, जनतामा निराशा छाएको, व्यापार व्यवसाय ठप्प रहेको र देश निक्कै गम्भीर अवस्थामा रहेको उनले बताए । ‘विश्वविद्यालयमा सत्ता पक्षले नै तालाबन्दी लगाउँछ, गठबन्धनका भलाद्मीहरु (गुण्डाहरु) ले प्रोफेसरको ढाड भाँचिदिन्छन्, यो त हाम्रो मान्छे हो थुन्न पर्दैन भनिन्छ, अदालतले भए पनि दुई वर्ष थुन्ने आदेश दियो, म यसको स्वागत गर्छु, सत्ता स्वार्थका लागि कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई माफी दिने कुरालाई अदालतले रोकेको छ, यसमा खुशी छु, नेपाली जनता खुशी छन्,’ उनले भने ।

प्रधानमन्त्री र कतारका विदेश राज्यमन्त्रीबीच भेटवार्ता

कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल मुरैखीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटार पुगेर विदेश राज्यमन्त्री सोल्तान बिनले प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । उनीहरुबीचको भेटमा दुई देशको सम्बन्धका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आज नै राज्यमन्त्री अल मुरैखीको टोलीले परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गरेको थियो । भेटमा परराष्ट्रमन्त्री साउदले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । नेपालको दुई दिने भ्रमणका लागि बिहीबार काठमाडौं आएका अल मुखैरी आजै स्वदेश फर्कदैछन् ।

चार महिनामा साढे चार खर्ब नाघ्यो व्यापार घाटा

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिसम्ममा मुलुकको व्यापार घाटा साढे चार खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारसम्बन्धी कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार यो अवधिमा नेपालले कूल रु चार खर्ब ६१ अर्ब ९३ करोड ८० लाख ९३ हजार बराबरको व्यापारघाटा व्यहोरेको हो ।

भन्सार विभागका अनुसार गत आर्थिक मसान्तसम्ममा कूल रु पाँच खर्ब ६३ अर्ब छ करोड ८८ लाख ५४ हजार बराबरको वैदेशिक व्यापार गर्दा रु पाँच खर्ब १२ अर्ब ५० करोड ३४ लाख बराबरको आयात गरेको छ भने रु ५० अर्ब ५६ करोड ५३ लाख बराबरको मात्रै निर्यात गरेको छ । गत आवको पहिलो चौमासिक अवधिको तुलनामा चालु आवको सोही अवधिमा आयात तीन दशमलव ७९, निर्यात सात दशमलव ६८, व्यापार घाटा तीन दशमलव ३४ र समग्र वैदेशिक व्यापार चार दशमलव १५ प्रतिशतले घटेको छ । नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार साझेदार भारत हो । चालु आवको पहिलो चौमासिक अवधिमा नेपालले भारतसँग कूल रु तीन खर्ब ४७ अर्ब तीन करोड बराबरको व्यापार गर्दा रु दुई खर्ब ८१ अर्ब दुई करोड बराबरको व्यापार घाटा व्यहोरेको छ ।

एसियाली विकास बैंकसँग १३ अर्ब ३३ करोड बराबरको ऋण सम्झौता

सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच रु १३ अर्ब ३३ करोड (अमेरिकी डलर १० करोड) बराबर सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । आज अर्थमन्त्रालयमा आयोजित कार्यक्रमा अर्थसचिव कृष्णहरि पुष्कर र एसियाली विकास बैंकको नेपालका लागि देशीय निर्देशक अर्नौड काओसिसबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।

“सार्वजनिक वित्त व्यवस्थापन र सुदृढ सेवा प्रवाहको विषय सरकारको मुख्य प्राथमिकतामा छ । सार्वजनिक वित्तको पुनःसंरचनासँगै वित्तीय सङ्घीयता कार्यान्वयनका लागि यो कार्यक्रमबाट मद्दत पुग्नेछ”, सम्झौतापत्रमा हस्ताक्षरपछि अर्थसचिव पुष्करले भने, “चालु आर्थिक वर्षको बजेटबाट पनि सरकारले सुधारका विभिन्न कार्यक्रमहरुमार्फत सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाहलाई मजबुत बनाउन खोजेको छ ।” एडिबीका देशीय निर्देशक काओसिसले नेपालको वित्त प्रणालीलाई दिगो बनाउन र सरकारका आवधिक योजनालाई बढी प्रभावकारी बनाउन यो कार्यक्रमले सघाउने बताए । “सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको मुलुक बनाउन तय गरिने मध्यमकालीन र दीर्घकालीन राष्ट्रिय योजनासँग यो कार्यक्रम जोडिएको छ”, उनले भने ।

नेपालले बजेटरी सहायताका लागि यो सहुलियतपूर्ण ऋण लिएको हो । सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रमको पहिलो चरण कार्यान्वयन भइसकेको छ । यो ऋण रकम दोस्रो चरणअन्तर्गतका कार्यक्रम कार्यान्वयनका लागि लिइएको अर्थमन्त्रालयले जनाएको छ । तीनवटै तहका सरकारको सार्वजनिक खर्च व्यवस्थापन तथा विकास बजेट प्रभावकारी कार्यान्वयनका लागि यो कार्यक्रमले मद्दत पुर्याउने ठानिएको छ । त्यस्तै, केन्द्र सरकारको सार्वजनिक ऋण व्यवस्थापनका लागि पनि प्रभावकारी भूमिका निर्वाह गर्ने जनाइएको छ ।

दुर्गा प्रसाईंलाई घर बाहिर निस्किन दिइएन

प्रहरीले दुर्गा प्रसाईलाई घरबाट बाहिर निस्किन दिएको छैन । भक्तपुरको ठिमीमा रहेको घरबाट उनलाई बाहिर निस्किन नदिइएको हो । प्रसाईं निवासमा अहिले प्रहरी परिचालन भएका छन् ।

प्रसाईको नेतृत्वमा शुक्रबार काठमाडौंको तीनकुनेमा प्रदर्शनको तयारी थियो । काठमाडौं जिल्ला प्रशासन कार्यालयले भने प्रसाईंको अभियानलाई तीनकुनेमा प्रदर्शनको अनुमति नदिइएको भन्दै विज्ञप्ति जारी गरेको छ । तीनकुने क्षेत्रमा पनि ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् । प्रसाईका ३० जनाभन्दा धेरै समर्थक पक्राउ परेका छन् । प्रसाईले २०४७ सालकै संविधान लागू गर्नुपर्ने, राजा ल्याउनुपर्ने, मन्त्री, प्रधानमन्त्रीलाई जहाँ पायो त्यही कुट्ने अभिव्यक्ति दिएपछि प्रहरीले उनलाई घरमै नजरबन्दमा राखेको हो ।

वडा सचिवसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

रामेछापको मन्थली नगरपालिका वडा नं. ३ का तत्कालीन वडासचिव शिवकुमार महतोविरुद्ध आफू जीवितै हुँदै आफ्नो मृत्युको दर्ताको प्रमाणपत्र बनाएर श्रीमतीलाई एकल महिला भत्ता खुवाएको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार महतोले निर्मला खत्रीसँगको मिलेमतोमा खत्रीको जीवित श्रीमानको मृत्यु भएको भनी बदनीयतपूर्वक एकल महिलाको सामाजिक सुरक्षा भत्ताको परिचय पत्र बनाएको आरोप लागेको छ ।

उनका अनुसार गलत लिखत तयार पारी नेपाल सरकारलाई ४५ हजार २२० रुपियाँ हानिनोक्सानी पु¥याएको आरोपमा भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो असुलउपर हुन मागदाबी लिई शुक्रबार विशेष अदालत काठमाडौंमा आरोेपपत्र दायर भएको आयोगले जनाएको छ ।

सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरीको आह्वान

सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय संसदीय सुनुवाइ समितिले गरेको छ । सिंहदरबारमा बसेको समितिको बैठकले पत्रिकामा सूचना प्रकाशन गरेर १० दिनभित्र उजुरी आह्वान गर्ने निर्णय शुक्रबार गरेको हो । सरकारले सर्वोच्च अदालतका लागि न्यायाधीश नियुक्त गर्ने निर्णय गत मङ्सिर ५ गते गरेको थियो । उनीहरूमाथि संसदीय सुनुवाइका लागि मङ्सिर ६ गते पत्र प्राप्त भएकोले सुनुवाइ प्रक्रिया थालनी भएको हो । अहिलेसम्म सर्वोच्चको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाल सिफारिस भएका छन् ।

धनगढी उडेको श्री एयरको इञ्जिनमा आगो देखियो, काठमाडौंमै आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको विमानको दाहिने इञ्जिनमा आगो देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । विमानस्थलका प्रवक्ता सुभाष झाका अनुसार काठमाडौंबाट ६०÷६५ किलोमिटर उडेर गइसकेको अवस्थामा दाहिने इञ्जिनमा आगो देखिएपछि काठमाडौं फर्काएर आकस्मिक अवतरण गराइएको हो । ४ः२० बजेतिर सुरक्षित अवतरण गराइएको र यात्रुहरूलाई अर्को जहाजबाट पठाउने तयारी गरिएको झाले बताएका छन् ।

भोलि तिनकुनेमै विरोध प्रदर्शन गर्छौं– दुर्गा प्रसाई

दुर्गा प्रसाईले भोलि काठमाडौँको तिनकुनेमै विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन् । भक्तपुरस्थित आफ्नै निवासमा शुक्रबार अपराहन्न पत्रकार सम्मेलन गर्दै प्रसाईले शनिबार तिनकुनेमै विरोध प्रदर्शन गर्ने घोषणा गर्दै आफु भक्तपुरबाट जुलुस लिएर जाने बताएका छन् । साथै उनले भक्तपुरबासीलाई आफ्नै निवास अगाडी जम्मा भएर तिनकुने जाने बताए ।

प्रसाईले आफुलाई घरमै नजरबन्दमा राखेको दाबि गर्दै दिनभर आफ्नो घरमा विद्युत समेत बन्द गरिदिएको बताए । प्रसाईले आफुलाई घरमा प्रहरीले नजरबन्दमा राखेको दाबि गरेपनि प्रशासनले भने प्रसाईलाई नजरबन्दमा नराखेको स्पष्ट गरेको छ । प्रशासनले प्रसाइले दिनभर पत्रकार सम्मेलन गरिरहेको र उनलाई नजरबन्दमा नराखेको बताएको छ । प्रसाइले आज तीनकुनेमा गर्ने कार्यक्रमको अनुमति नलिएको भन्दै प्रहरीले बिहानैदेखि पक्राउ गर्ने र तितरबितर परेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *