मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

मंशिर ७ गते बिहीबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो ।बिहीबार पारिएको मुख्य १० समाचारमा भोलिबाट दुर्गा प्रसाईँले तीनकुनेमा प्रदर्शन गर्ने देखी काठमाडौं जिल्ला अदालतको फैसला : उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद खुला प्रतिस्पर्धाबाट प्रअ नियुक्ति नगर्न अन्तरिम आदेशसम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

भोलिबाट दुर्गा प्रसाईँले तीनकुनेमा प्रदर्शन गर्ने

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले शुक्रवारबाट तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् । पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाईँले शुक्रवारबाट युवा विद्यार्थीले बिहीबार प्रदर्शन गरेको स्थानमा प्रदर्शन गर्ने भएका हुन् । प्रसाईँले बिहीबार बल्खुमा गरेको कार्यक्रममा युवा सङ्घका कार्यकर्ता र प्रहरीसँग पटक पटक झडप भएको थियो । त्यस क्रममा केही सवारी साधन तोडफोड हुनुका साथै दुवैतर्फ केही व्यक्ति घाइते भएका छन् । करिब १० मिनेट बल्खुमा आफू समर्थकलाई सम्बोधन गरेका प्रसाईँले आजै साँझ आफ्नै घरमा पत्रकार सम्मेलन गर्ने समर्थकहरूले बताएका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को प्रदर्शनमा १ सय ५९ सेल अश्रुग्यास प्रहार भएको प्रहरीले जनाएको छ । प्रदर्शनका क्रममा भएको झडप नियन्त्रण गर्नका लागि पानीको फोहोरा, अश्रुग्यास र रबरका गोली प्रहार गर्न प्रहरी बाध्य भएको थियो । वाटर क्याननबाट पानीको फोहोरा, १५७ सेल अश्रुग्यास र ५ राउन्ड रबरको गोली प्रहार गरिएको काठमाडौं उयत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनाली जानकारी दिए ।प्रारम्भिक विवरण अुनसार प्रहरीको ३ वटा मेघाफोन, शिल्ड–११ थान, हेल्मेट–३ थान र वाटर क्याननमा समेत क्षति पुगेको छ। प्रदर्शनकारीतर्फ २३ जना सामान्य घाइते भएका थिए। तीमध्ये १७ जना उपचार पश्चात डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार ५ जना प्रहरी घाइते भएका छन्। बल्खुबाट कुलेश्वरतर्फ आउन लागेको भीडलाई माइकिङ गरेर सम्झाउने क्रममा झन् उत्तेजित ढुंगा प्रहार गर्दा घाइते भएका ५ जना घाइते प्रहरीहरुको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । दुर्गा प्रसाईंको नेतृत्वमा आयोजित जनप्रदर्शनमा राप्रपाका सांसद तथा प्रवक्ता ज्ञानेन्द्र शाही पनि सहभागी भएका थिए । प्रसाईले आफ्नो अभियान सफल नभएसम्म निरन्तर आन्दोलन जारी राख्ने घोषणा गरेका छन् ।

सरकारले गर्यो १६ उत्कृष्ट करदातालाई सम्मान सम्मानित

सरकारले उत्कृष्ट करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस, २०८० का अवसरमा सञ्चालित कर सप्ताह समापन समारोहमा आज अर्थमन्त्री डा प्रकाशशरण महतले विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरेका छन् । आर्थिक वर्ष २०७८÷७९ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने नेपाल दूरसञ्चार कम्पनी पुरस्कृत भएको छ । निर्यात कारोबार क्षेत्रमा डाबर नेपाल, विशेष उद्योगमा एसियन पेन्ट्स, कृषि तथा पशुजन्य उद्योगमा ओसिबी फुड्स एण्ड फिड्स कम्पनी, सहकारी तथा लघुवित्तमा छिमेक लघुवित्त वित्तीय संस्था र बैंक तथा वित्तीय क्षेत्रतर्फ ग्लोबल आइएमई बैंक सम्मानित भएका छन् ।

यस्तै बीमा व्यवसायतर्फ लाइफ इन्स्योरेन्स कम्पनी नेपाल, स्वास्थ्य शिक्षा प्रदायक संस्थातर्फ नोबेल मेडिकल कलेज, पर्यटन व्यवसायतर्फ मनकामना दर्शन प्रालि, वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट, रु ५० करोडदेखि एक अर्ब कर तिर्ने मध्यमस्तरीय करदातातर्फ नेपाल स्टक एक्स्चेन्ज र ऊर्जा मुलुक उद्योगतर्फ भोटेकोसी जलविद्युत् कम्पनी सम्मानित भएका छन् । विप्रेषण व्यवसायतर्फ आइएमई लिमिटेड, व्यक्तिगत आयतर्फ विजयकुमार साह तथा संस्थागततर्फ सबैभन्दान बढी आयकर, मूल्यअभिवृद्धि, अन्तःशुल्क तिर्ने र पाँच वर्षको मूल्यअभिवृद्धि कर समयम दाखिला गर्ने विधामा सूर्य नेपाल प्रालिलाई सरकारले सम्मान गरेको छ ।

नेपाल आइपुग्यो भारतले दिएको १५ वटा मुर्रा राँगा

भारतले अनुदानमा दिएको उन्नत जातको १५ वटा मुर्रा राँगा बुधबार नेपाल आइपुगेको छ । गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाल–भारत कृषि तथा पशुपन्छीको क्षेत्रमा सहकार्यको समझदारी भएको थियो । जसअनुसार भारतले नेपालको दुग्ध र मासु विकासका लागि उन्नत जातको मुर्रा राँगा उपलब्ध गराउने घोषणा गरेको थियो । नेपाल–भारत कृषि तथा पशुपन्छीको क्षेत्रमा सहकार्यको समझदारीअनुसार मुर्रा प्रजातिको उन्नत नश्लको राँगा नेपालगञ्ज नाका भएर बुधबार नेपाल भित्रिएको पशुसेवा विभागले जनाएको छ ।

नेपालगन्जको जमुनाहा नाकाबाट ती राँगाहरु नेपाल भित्र्याइएको विभागका महानिर्देशक डा. उमेश दाहालले जानकारी गराएका छन् । भारतसँगको सहमतिअनुसार मिति २०८०–०८–०६ गते बाँके जिल्ला जमुनाहा नाका हुँदै उक्त राँगाहरु नेपाल भित्रिएको छ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विद्यमान क्वारेन्टाइन प्रक्रिया पूरा गरी नेपाल ल्याइने राँगाहरु लाहान, पोखरा र गौघाटस्थित राष्ट्रिय पशु प्रजनन् कार्यालयहरुबाट हाल उत्पादन भइरहेको जमेको वीर्यको परिमाण व्यवस्थापकीय क्षमता र कार्यक्षेत्रको आधारमा भारतबाट प्राप्त हुने १५ वटा राँगाहरु राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखरामा ७, राष्ट्रिय पशु प्रजनन् लाहानमा ५ र नेपालगन्जमा ३ वटा राखिने छ ।’

उनका अनुसार मुर्रा राँगाको जमेको वीर्यको माग पाँच वर्षमा दुई गुणा र १० वर्षमा करिब पाँच गुणा बढ्ने अनुमान गरिएको छ । मुर्रा राँगाको वीर्य उत्पादन वृद्धि गरी कृत्रिम गर्भाधानको क्षेत्र विस्तार गर्दै देशका विभिन्न भागमा भैंसीको नश्ल सुधारमार्फत् दूध र मासुको उत्पादन र उत्पादकत्व वृद्धि हुने अपेक्षा गरिएको उनले बताएका छन् ।

सेनाका उपरथि पाण्डे र सचिव घिमिरेले दिएको राजीनामा स्वीकृत

नेपाल सरकारले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन (करिव ६५करोड) अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले सो अनुदान स्वीकृत गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको जानकारी दिइन्। यसैगरी, बैठकले सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति (रा.प. द्वितीय श्रेणी, सरकारी वकिल, रा.प. द्धितीय श्रेणी उपसचिव (राजश्व), प्रहरी नायब उपरीक्षक र रा.प. तृतीय डाटा एनाइलाइटिस्ट) थप गर्ने निर्णय गरेको छ ।

सञ्चारमन्त्री शर्माले नेपाली सेनाका उपरथि ताराध्वज पाण्डेले व्यक्तिगत कारण दर्शाइ आफ्नो पदबाट दिएको राजीनामा २०८०/०७/२४ गतेबाट लागू हुने गरी स्वीकृत गर्ने र उर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय बैठकले गरेको बताइन् ।

मन्त्रीपरिषदका निर्णयहरू ः
१. विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने ।
२. प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन (करिव ६५ करोड) अनुदान स्वीकृत गर्ने ।
३. सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति थप गर्ने– रा.प. द्धितीय श्रेणी, सरकारी वकिल, रा.प. द्धितीय श्रेणी उपसचिव (राजश्व), प्रहरी नायव उपरीक्षक र रा.प. तृतीय डाटा एनाइलाइटिस्ट ।

४. नेपाली सेनाका उपरथि ताराध्वज पाण्डेले व्यक्तिगत कारण दर्शाइ आफ्नो पदबाट दिएको राजीनामा २०८०÷०७÷२४ गतेबाट लागु हुने गरी स्वीकृत गर्ने ।
५. उर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत गर्ने ।

बालकृष्ण, टोपबहादुर लगायतको रिटमा आज पनि सुनुवाइ

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुले दायर गरेको रिटमा आज पनि सुनुवाइ हुँदैछ । मंगलबारदेखि उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा सुनुवाइ सुरु भएको थियो । तर, बुधबार पनि बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको १९ जना अभियुक्त र सरकारी पक्षले दायर गरेको दुईवटा रिटमा आज पनि सुनुवाइ हुने भएको हो ।  

सरकारी पक्षले जिल्ला अदालत काठमाडौंले धरौटीमा छाडेका टंक गुरुङ र केशव तुलाधरलाई प्रतिवादी बनाउँदै निवेदन दर्ता गरेको छ । यता अभियुक्तहरु पूर्व गृहमन्त्री बालकृष्ण खाण, टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, सानु भण्डारी, आङटावा शेर्पा, इन्द्रजित राई, हरिभक्त महर्जन, सन्देश शर्मा, शमशेर मियाँ, गोविन्द चौधरी, आशिष बुढाथोकी, सन्दीप रायमाझी, टेकनाथ रिजाल, केशवप्रसाद दुलाल सागर राई र रामशरण केसी काठमाडौं अदालतको थुनामा पठाउने आदेशविरुद्ध उच्च पुगेका हुन् । यसैगरी, जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले लक्ष्मी महर्जन र टंकबहादुर गुरुङलाई धरौटीमा रिहा गरे पनि उनीहरू पनि उच्च पुगेका हुन् ।

उच्चका नवनियुक्त मुख्य न्यायाधीशहरूले खाए शपथ

उच्च अदालतका नवनियुक्त मुख्य न्यायाधीशहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मुख्य न्यायाधीशमा नियुक्त गरी आज पदको शपथ गराएका हुन् । न्यायपरिषदको यही मंसिर ५ को बैठकले ६ जना मुख्य न्यायाधीशहरू नियुक्तिका लागि सिफारिस गरेको थियो ।

उच्च अदालत सुर्खेतमा लोहितचन्द्र शाह, उच्च अदालत पोखरामा माधवप्रसाद पोखरेल, उच्च अदालत विराटनगरमा रमेशप्रसाद राजभण्डारी, उच्च अदालत जनकपुरमा श्रीकान्त पौडेल, उच्च अदालत तुलसीपुरमा नित्यानन्द पाण्डे र उच्च अदालत दिपायलमा शान्ति सिंह थापा मुख्य न्यायाधीशमा सिफारिस भएका थिए।

टीकापुर हत्याकाण्ड ः सरकारका नाममा कारण देखाऊ आदेश

टीकापुर हत्याकाण्डका कैदीको सजाय मिनाहा गर्ने सरकारको नाममा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। थप कैदीको सजाय मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्धको निवेदनमा सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयसहित सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सजाय माफी दिने निर्णय गरेका थिए।

उक्त निर्णयलगत्तै टीकापुर हत्याकाण्डमा ज्यान गुमाएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी श्रीमती शारदाले सर्वोच्चमा रिट दायर गरेकी थिइन्। बिहीबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले कारण देखाउ आदेश दिएको हो। यसअघि उक्त निवेदन पटकपटक पेसीमा चढाइए पनि विभिन्न कारण सुनुवाइ हुन सकेको थिएन।

शारदा कडायत, मन्धरादेवी विष्टलगायतले गत कात्तिक २१ गते उक्त निवेदन दिएका हुन्। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसर पारी कैद मिनाहा गरिदिएपछि हरिनारायण चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरीलगायत गत असोज ३ गते रिहा भएका थिए।

होटल बनाउन दिने प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मासहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरूविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेकामा चितवन राष्ट्रिय निकुञ्ज कार्यालय सौराहाका तत्कालीन सहायक संरक्षण अधिकृत अभिनय पाठक, खैरहनी नगरपालिकाका इन्जिनियर राजेश कोइराला र सवइन्जिनियर सुमन श्रेष्ठ, कुमरोज मध्यवर्ति सामुदायिक वन उपभोक्ता समूह र कंक्रिट मचान निर्माण उपभोक्ता समितिका अध्यक्ष हिराबहादुर गुरुङ छन् ।

त्यस्तै, कोषाध्यक्ष शम्भु जिसी, वन उपभोक्ता समूहका अध्यक्ष गणेशकुमार श्रेष्ठ र कोषाध्यक्ष उज्वल बर्तौला, बुढी राप्ति उपभोक्ता समितिका अध्यक्ष नारायण दत्त तिमिल्सिना र कोषाध्यक्ष सोमराज कडरिया र कंक्रिट मचान निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष कुमार दाहाल र सचिव कल्याण लटौला रहेका छन् ।

अख्तियारले दायर गरेको मुद्दामा उनीहरूसँग ७८ हजार रुपैयाँ देखि एक करोड १९ लाख पाँच हजार ६०३ रुपैयाँसम्म बिगो दाबी गरिएको छ । कुमरोज सामुदायिक वन उपभोक्ता समूहलाई निकुञ्जको कोर इलाकामा १६ कोठाको लजसहितको भ्यू टावरको निर्माण गर्न सहमति दिएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

चार महिनामा साढे १२ अर्बको विद्युत् निर्यात

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको चार महिनामा रु १२ अर्ब ५० करोड बराबरको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले सो अवधिमा एक अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् निर्यात गरी रु १२ अर्ब ५० करोड ८ लाख बराबरको रकम आर्जन गरेको छ । विद्युत् निर्यात गत आव २०७९÷८० को सोही अवधिको तुलनामा रु चार अर्ब ८६ करोड ४४ लाखले बढी हो । गत आवको पहिलो चार महिनामा ९८ करोड ३८ लाख युनिट विद्युत् निर्यात गरी रु सात अर्ब ६३ करोड ६४ लाख आर्जन गरिएको थियो ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यसवर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । गत जेठदेखि कात्तिकसम्ममा एक अर्ब ६२ करोड १६ लाख युनिट विद्युत् निर्यात गरी रु १४ अर्ब ५० करोड २१ लाख आर्जन भएको छ । प्राधिकरणले साउनमा रु दुई अर्ब १४ करोड ७६ लाख, भदौमा रु तीन अर्ब ४७ करोड ८५ लाख, असोजमा रु चार अर्ब १७ करोड ७७ लाख र कात्तिकमा रु दुई अर्ब ६९ करोड ७० लाख बराबरको विद्युत् निर्यात गरेको छ ।

चार महिनाको समग्र औसत विद्युत् बिक्री दरप्रति युनिट रु नौ १८ पैसा छ । गत वर्ष सोही अवधिको समग्र औसत बिक्री दर प्रति युनिट सात ७ रुपैयाँ ७६ पैसा थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार महिनाको अवधिमा विद्युत् निर्यातबाट सात अर्ब ८४ करोड ८० लाख भारतीय रुपैयाँ आर्जन भएकाले यसबाट देशको विदेशी मुद्रा सञ्चिति र नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न योगदान पुगेको बताए ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौता बमोजिम करिब एक सय १० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगमलाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै पाँच सय २२ मेगावाटमध्ये पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा पाँच सय २२ मेगावाट र एनभिभिएनलाई एक सय १० मेगावाट गरी छ सय ३२ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ । यसमध्ये पाँच सय ६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर चार सय केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर एक सय ३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।

सबैभन्दा धेरै कर तिर्नेमा ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंक सबैभन्दा धेरै आयकर दाखिला गर्ने बैंक तथा वित्तीय संस्था बनेको छ । बैंकले आर्थिक वर्ष २०७८–७९ मा तीन अर्ब २० करोड कर दाखिला गरेको थियो ।

आन्तरिक राजस्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० का अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने करदातामा ग्लोबल आइएमई बैंकलाई सम्मान गरेको हो । अर्थमन्त्री डा.प्रकाशशरण महतले ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सर्वाधिक कर दाखिला गरेको कदरस्वरुप सम्मानपत्र प्रदान गरे । हाल बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड छ । सन् २००७ मा वाणिज्य बैंकका रुपमा बैंकिङ कारोबार सुरुआत गरेको ग्लोबल आइएमई बैंकले आफ्नो बैंकिङ यात्रामा विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ती गरी सवल र उत्तरदायी बैंकका रुपमा स्थापित भएको छ ।

बैंकले प्रविधिमैत्री बैंकिङ सेवा तथा सुविधाको पहुँच विस्तार गरी सन् २०२५ सम्म आफ्नो व्यवसाय दोब्बर बनाउने लक्ष्य लिएको छ । बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । तीन सय ५० शाखा, तीन सय ६९ एटिएम, तीन सय २२ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर तथा ती वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४२ लाखभन्दा बढी ग्राहकमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।

काठमाडौं जिल्ला अदालतको फैसला ः उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद

जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद सजाय फैसला गरेको छ । बिहीबार न्यायाधीश विनोद खतिवडाको इजलासले नेपाल विद्यार्थी संघ त्रिवि इकाइका तत्कालिन सभापति हरिप्रसाद आचार्य, सचिव योगेन्द्र रावल, रुपेश साह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगरलाई उपप्राध्यापक चलाउनेको ज्यान मार्न खोजेको आरोपमा दोषी ठहर गरेको हो ।

जिल्ला अदालत काठमाडौँले उनीहरुबाट पीडितलाई २८ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश दिएको छ । आरोपित दीपक ओझालाई अदालतले छुट दिएको छ । २० असोज २०७७ मा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि आक्रमण भएको थियो । नेपाल विद्यार्थी संघको त्रिभुवन विश्वविद्यालय क्याम्पस इकाइका सभापति हरिप्रसाद आचार्य र सचिव योगेन्द्र रावलको नेतृत्वको समूहले उपप्राध्यापक चलाउनेमाथि आक्रमण गरेको थियो ।

घटनामा आचार्य र रावल सहित दीपकराज ओझा, रुपेश साह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगर लगायत संलग्न भएको आरोप थियो । घटनापछि उपप्राध्यापक चलाउनेको टाउको, छाती, घाँटी, तिघ्रामा चोट लागेको थियो । उपचारका क्रममा उनको अपरेसन समेत गर्नुपरेको थियो । आक्रमणपछि उपप्राध्यापक चलाउने एक महिनाभन्दा बढी अस्पतालमा उपचार गराएर घर फर्किएका थिए ।

प्रहरीले आचार्य, रावल लगायतमाथि ज्यान मार्ने उद्योग गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । आरोपितहरु जिल्ला अदालत काठमाडौंको आदेशमा धरौटीमा छुटेका थिए । उनीहरुलाई सामान्य धरौटीमा छाडिएको भन्दै चलाउनेले उच्च अदालत पाटनमा जिल्लाको आदेश बदरको माग राखेका थिए ।

उच्च अदालत पाटनले पाँच लाख धरौटीमा छाड्न आदेश दिएको हो । अनि पीडितलाई एक लाख रुपैयाँका दरले तत्काल राहत दिन समेत आदेश दिएको थियो । ज्यान मार्ने उद्योगको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधिन रहेको अवस्थामा गृहमन्त्रालयको प्रस्तावमा सरकारले आरोपितहरुविरुद्धको मुद्दा फिर्ता लिने निर्णय लिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *