मंशिर ६ गते बुधबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । बुधबार पारिएको मुख्य १० समाचारमा भोलिका लागि सुरक्षा व्यवस्था कडा, डिआइजी नेतृत्वमा कमाण्ड देखी खुला प्रतिस्पर्धाबाट प्रअ नियुक्ति नगर्न अन्तरिम आदेशसम्मका समाचारलाई समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
भोलिका लागि सुरक्षा व्यवस्था कडा, डिआइजी नेतृत्वमा कमाण्ड
काठमाडौं । भोलि (बिहीबार) बल्खु र तीनकुनेमा हुने शक्ति प्रदर्शनको सुरक्षा व्यवस्थाका लागि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार उपत्यकाको सुरक्षा व्यवस्थालाई मजबुत बनाउन डिआइजी लालमणी आचार्यको नेतृत्वमा ज्वाइन्ट अप्रेसन कमाण्ड सेन्टर गठन गरिएको छ । कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार उपत्यकाको शान्ति सुरक्षामा कुनै कमी हुन नदिनका लागि सुरक्षा योजना बनाएर अघि बढिएको छ । उनका अनुसार कमाण्ड सेन्टरमा सशस्त्र प्रहरी बलका एसएसपी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक र नेपाली सेनाका कर्णेलसहितको संयुक्त टिम गठन गरिएको छ ।
मैनालीले भन्नुभयो, “भोलि हुने प्रदर्शनमा मुठभेड हुन नदिन र शान्ति सुरक्षा चुस्त राख्न एकीकृत सुरक्षा योजना बनाइएको छ । यस टिमले उपत्यकाको शान्ति सुरक्षा खलबलिन नदिन बिशेष किसिमले कार्य गर्नेछ ।”
भोलि हुने प्रदर्शनमा मुठभेड हुन नदिन र शान्ति सुरक्षा चुस्त राख्न एकीकृत सुरक्षा योजना बनाइएको छ । बल्खु र तीनकुनेमा हुने प्रदर्शनमा आवश्यक सुरक्षा व्यवस्था मिलाइने उनको भनाइ छ । उहाँले भन्नुभयो, “बल्खु र तीनकुनेमा हुने प्रदर्शनका लागि आवश्यक सुरक्षाकर्मीको व्यवस्था मिलाउने छौँ, हामीसँग सुरक्षाकर्मीको अभाव छैन । तर यति संख्यामा नै परिचालन हुन्छ भन्ने छैन । आवश्यकताको आधारमा परिचालन गर्छौ ।”
आतङ्कित गर्ने सामग्री सम्प्रेषण गरेको भन्दै १७ मिडियालाई २४ घण्टे स्पष्टीकरण माग
प्रेस काउन्सिल नेपालले सञ्चार माध्यमको आवरणमा सर्वसाधारणलाई त्रसित र आतङ्कित गर्ने सामग्री सम्प्रेषण गरेको भन्दै बुधबार युट्युबसहितका १७ वटा मिडियालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । विभिन्न सामाजिक अभियन्ताको प्रदर्शनीको विषयलाई लिएर प्रायोजित एवं जनमानसलाई उत्तेजित, त्रसित पार्ने भाषाशैलीमा हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने सामग्री सम्प्रेषण गरेको भन्दै आचारसंहिताबमोजिमको कारबाही गरेको काउन्सिलले बुधबार विज्ञप्ति जारी गरेर जनाएको हो ।
काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा दर्ता सूचीकरण भएका सञ्चार माध्यमअन्तर्गत सामाजिक सञ्जालबाट अवाञ्छित सामग्री सम्प्रेषण भएको हकमा २४ घण्टाभित्र स्पष्टीकरण सोधिएको जनाइएको छ ।
यस्तै, काउन्सिलले कुनै मिडियाअन्तर्गत आबद्ध नभएका र आचारसंहिताविपरीत सामग्री सम्प्रेषण गरेका सञ्चार माध्यम (युट्युब च्यानल)लाई त्यस्ता सामग्री हटाई काउन्सिलमा जानकारी गराउन निर्देशन दिनुका साथै थप अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरेको छ । आ‘चारसंहिताविपरीत अफवाह पैmलाउने, द्वन्द्व बढाउने, अश्लील सामग्री सम्प्रेषण गर्ने, घृणास्पद अभिव्यक्ति लगायतका भ्रमपूर्ण सामग्री सम्प्रेषण गर्ने सामाजिक सञ्जाललाई त्यस्ता सामग्री हटाइ काउन्सिलमा जानकारी गराउन निर्देशन दिनुका साथै थप अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरिएको छ’ विज्ञप्तिमा भनिएको छ ।
काउन्सिलले सर्वसाधारणलाई त्रसित एवं उत्तेजित बनाउने शीर्षक दिई अफवाह फैलाउने, अवाञ्छित गतिविधिलाई प्रश्रय दिने, हिंसा, त्रासलाई प्रश्रय पुग्ने सामग्री सम्प्रेषण गर्ने र त्यस्ता सामग्रीलाई अप्राकृतिकरूपमा भ्युअर बढाउने उद्देश्यले अतिरञ्जित ढङ्गले चरित्रहत्या गर्ने किसिमबाट सामग्री सम्प्रेषण भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
काउन्सिलले हिंसा, त्रास एवं द्वन्द्वलाई प्रश्रय पु¥याउने, प्रायोजित एवं पक्षपोषणयुक्त, घृणास्पद अभिव्यति एवं वैयक्तिक गोपनीयताप्रतिकूल सामग्री सम्प्रेषण नगर्न÷नगराउन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तामा आग्रह गरेको छ ।
गलहत्याइएका तत्व फेरि फर्कने जमर्को गर्दैछन् ः प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको सपना कहिल्यै पूरा नहुने बताएका छन् । नेपाल सरकारको मन्त्रिपरिषद्ले सरकारी लिखतहरूमा नेपाल संवत् समेत उल्लेख गर्ने निर्णयको स्वागतमा प्रधानमन्त्रीलाई सम्मान गर्ने कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।
‘यो उपलब्धि सानो दुख, त्याग र बलिदानले प्राप्त गरेको होइन। सबै ठुला क्रान्ति, आन्दोलन र परिवर्तनपछि प्रतिगामी या इतिहासको मञ्चबाट गलहत्याइएका तत्वहरुले फेरि फर्कने जमार्को गर्छन्। उनीहरुले अन्तिम रुपमा तागत प्रयोग गर्ने कोशिस गर्छन्। त्यो जहाँ पनि हुने गरेको छ। अहिले त्यही अनुसार निरंकुशतावादी तत्वहरु फेरि पुनरागमन गर्ने षड्यन्त्र गर्दैछन्।’ उनले भने, ‘यो व्यवस्था कसैले उल्टाउन खोज्छ भने त्यो सपना मात्रै हो, तिनीहरूको सपना कहिल्यै पूरा हुँदैन।’ अहिले ल्याएको उपलब्धिमा शान्तिपूर्ण र सशस्त्र सबैखालको आन्दोलनको योगदान गरेको बताए।
समाजवादीले बनायो बाबुरामको नेतृत्वमा एकता समायोजन समिति
नेपाल समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग एकता÷ ध्रुवीकरण गर्न संयोजन समिति गठन गरेको छ। काठमाडौंमा आज बसेको नेपाल समाजवादीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी अध्यक्षद्वय डा. बाबुराम भट्टराईको अध्यक्षतामा समिति गठन गरेको हो। समितिमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोब, महासचिव रमेशप्रसाद यादव र कार्यकारिणी सदस्य जनकराज शाह छन्।
पार्टी एकता÷ ध्रुवीकरण संयोजन समितिले बृहत् समाजवादी केन्द्र निर्माणका लागि माओवादी केन्द्रलगायतका विचार, राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकता÷ ध्रुवीकरण गर्दै जाने बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ। बैठकले संगठन निर्माण तथा विस्तार अभियानको समयावधि २ महिना थप गरी फागुन मसान्तसम्म पु¥याउने, सबै स्थानीय तहहरूको बैठक, समिति गठन र पुनर्गठन पुस मसान्तसम्म गरिसक्ने निर्णय पनि गरेको छ। यस्तै, मंसिर–पुसमा वडा र पालिकाहरूको भेला, सम्मेलन सम्पन्न गर्ने, माघ–फागुनमा प्रदेशको सम्मेलन सम्पन्न गर्ने तथा आगामी वैशाखमा राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ।
रेट्रो फिटिङ् गरेको भवनमा सरे प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंहदरबारको रेट्रोफिटिङ गरी बनाएको नयाँ भवनमा सरेका छन् । बुधबार प्रधानमन्त्ती प्रचण्ड उक्त भवनमा सरेका हुन् । गत २०७२ सालको विनाशकारी भूकम्पले सो भवनमा ठूलो क्षति पु¥याएपछि त्यसलाई पुनर्निर्माण गरी तयार गरिएको हो ।
नेपाल प्रहरीका पाँच एसपीको एसएसपीमा बढुवा
नेपाल प्रहरीका पाँच एसपीको एसएसपीमा बढुवा भएका छन् । बढुवा भएकालाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बुधबार दज्र्यानी चिह्न प्रदान गरेका छन् । गत २४ कात्तिकको बढुवा समितिको सिफारिसअनुसार मंगलबार पाँचजनाको बढुवा भएको हो । जसमा वसन्त रजौरे, रविकुमार पौडेल, नवीनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राई छन् ।
कार्यक्रममा बोल्दै महानिरीक्षक कुँवरले कार्यसम्पादनको सिलसिलामा आउन सक्ने सुरक्षा चुनौतिको सामना गर्न प्रहरी कर्मचारीहरूले आफ्नो विवेकको उचित प्रयोगका साथै धैर्य र संयमित भएर सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने बताए ।
सुरक्षा चुनौतिको सामना गर्न तयार पारिएको सुरक्षा योजना तथा नीतिको प्रभावकारी रूपमा कार्यान्वयन गर्दै वर्तमान अवस्थामा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन प्रचलित कानून बमोजिम बल प्रयोगको सिद्धान्तलाई अवलम्बन गर्दै उच्च मनोबलका साथ काम गर्न सुरक्षा व्यवस्थापनमा खटिनुपर्ने उनको भनाइ छ । सम्बोधनकै क्रममा प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई उत्कृष्टताका साथ निर्वाह गर्न निर्देशन दिएका छन् ।
संगठनप्रति बफादार, इमानदार र निष्ठावान भएर काम गर्ने हरेक प्रहरी कर्मचारीहरूलाई संगठनले उचित तवरले मूल्यांकन गरेको चर्चा गर्दै संगठनको नीति अनुरूप सम्पूर्ण प्रहरी कर्मचारीहरूको समस्या र गुनासो सम्बोधन गर्दै व्यवस्थापन गर्न संगठन क्रियाशील रहेको बताए ।
एपिवान टिभीले रोक्यो दुर्गा प्रसाईंको अन्तर्वार्ता, भुषण दाहाल असन्तुष्ट
एपिवान टेलिभिजनले दुर्गा प्रसाईंको अन्तर्वार्ता प्रसारण रोकेको छ। ब्राभो डेल्टा शो नामक कार्यक्रमका लागि भुषण दाहालले लिएको प्रसाईंसँगको अन्तर्वार्ता अन्तिम समयमा प्रसारण रोकिएको हो। दाहालले ट्विटरमा दिएको जानकारीअनुसार व्यवस्थापनको हवाला दिँदै कार्यक्रम प्रसारण नहुने जानकारी उनलाई दिइएको छ। दाहालले भनेका छन्, ‘वाह! लोकतन्त्र। ३५ वर्षको मेरो टेलिभिजन यात्रामा पहिलो पटक बनेर तयार कार्यक्रम हेर्दै नहेरी व्यवस्थापनको हवाला दिँदै प्रसारण नगरिने जानकारी एपिवान एचडीबाट प्राप्त भएकोले खेदपूर्ण रुपमा सम्पूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु।’कार्यक्रम आज बेलुका ९ बजे प्रसारण हुने तालिका थियो।
भोलि अत्यावश्यक अवस्थामा मात्र उपत्यकामा गाडी लिएर निस्कन ट्राफिक प्रहरीको अनुरोध
काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले मंशिर –७ गते बिहीबार अत्यावश्यक अवस्थामा मात्र उपत्यकामा गाडी लिएर निस्कन आग्रह गरेको छ । ट्राफिक प्रहरीले बुधबार एक सुचना जारी गर्दै सर्वसाधारण सबैलाई अनुरोध गरेको हो ।
इजरायल–हमासबीच चार दिने युद्धविराम
इजरायलको मन्त्रिपरिषद्ले बन्दी रिहाइका लागि चार दिन युद्ध विराम गर्ने प्रस्तावलाई पारित गरेको छ। यो अवधिमा पहिलो चरणअन्तर्गत हमासको कब्जामा रहेका ५० जना रिहा हुनेछन्। इजरायलको मन्त्रिपरिषद्मा बन्दी रिहाइका लागि हमाससँगको जारी युद्ध रोक्नेबारे मतदान भएको थियो। प्रस्तावित चार दिने युद्ध विरामलाई मन्त्रिपरिषद्ले पारित गरेको हो।
कतारको मध्यस्थतामा अघि बढेको युद्ध विरामको प्रस्तावलाई हमासले पनि सकारात्मक भनेको छ। युद्ध विराम र बन्दी रिहाइमा इजरायली मन्त्रिपरिषद्ले स्वीकृति दिएसँगै हमासको कब्जामा रहेका दुई सयभन्दा बढी व्यक्तिको रिहाइ प्रक्रिया अघि बढ्ने भएको छ। पहिलो चरणमा ५० जना रिहा हुने छन्। नेपाली युवा विपिन जोशीलाई पनि हमासले बन्धक बनाएको इजरायलले जनाएको छ। त्यसबापत इजरायलले पनि एक सय ५० जना प्यालेस्टिनी बन्दीलाई रिहा गर्नुपर्ने प्रस्तावमा उल्लेख थियो। यद्यपि, यस विषयमा इजरायल सरकारले केही बताएको छैन। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने बन्धक रिहाइ पछि पनि युद्ध जारी रहने बताएका छन्।
बन्धकको रिहापछि युद्ध रोकिने भनेर चर्चा भइरहेको प्रति खण्डन गर्दै उनले लक्ष्य हासिल नहुन्जेल युद्ध जारी रहने जिकिर गरेका छन्। उनले हमासद्वारा बन्धक बनाइएकाहरुलाई फर्काउनु आफ्नो महत्वपूर्ण लक्ष्यमध्ये एक भएको उल्लेख गर्दै हमासको सफाया पनि महत्वपूर्ण अर्को लक्ष्य भएको जनाएका छन्। फेरि इजरायलका लागि खतरा हुने कुनै पनि शक्तिलाई निमिट्यान्न नपारेसम्म गाजामा केही नछाड्ने उनको प्रतिबद्धता छ।
इजरायल र हमासबीचको युद्ध ४७ औं दिनमा पुग्दा दुवैतर्फ करिब १५ हजार व्यक्तिको ज्यान गएको छ। तीमध्ये इजरायली आक्रमणमा गाजा क्षेत्रमा मारिने बालबालिकाको संख्या ५ हजारभन्दा बढी पुगेको छ।
खुला प्रतिस्पर्धाबाट प्रअ नियुक्ति नगर्न अन्तरिम आदेश
काठमाडौं महानगरपालिकाले खुला प्रतिस्पर्धाबाट सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति गर्न तत्काल नपाउने भएको छ । खुला प्रतिस्पर्धाबाट प्रअ नियुक्ति गर्न लागेको भन्दै परेको मुद्दामा उच्च अदालत पाटनले मंगलबार ‘नियम कार्यान्वयन नगर्न’ अन्तरिम आदेश जारी गरेको हो।
यससँगै महानगरका मेयर बालेन्द्र साहको खुला प्रतिस्पर्धाबाट प्रअ नियुक्ति गर्ने कदममा ठेस लागेको छ। आदेशसँगै मुद्दाको अन्तिम टुंगो नलागेसम्म खुलाबाट प्रअ नियुक्ति गर्ने बाटो रोकिएको छ। मंगलबार उच्च अदालत पाटनका न्यायाधीश श्यामजी प्रधानको एकल इजलासले सो आदेश जारी गरेको हो।
काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेको ८७ वटा सामुदायिक विद्यालयमा नयाँ मापदण्डअनुसार प्रअ नियुक्तिका लागि कार्यविधि तयार पारिसकेको छ। महानगरपालिकाले १७ कात्तिकदेखि नयाँ मापदण्डबाट प्रअ नियुक्तिका लागि आवेदन माग गरेको थियो।




