कार्तिक २६ गते आइतबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । आइतबार पारिएको मुख्य १० समाचारमा जाजरकोट भूकम्प प्रभावितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने निर्णयदेखी काठमाडौं महानगरलाई २७ डाक्टर र ५ खाद्य विज्ञको आवश्यकतासम्मका समाचारलाई समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
जाजरकोट भूकम्प प्रभावितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने निर्णय
काठमाडौं।विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावितहरुको अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले जाजरकोट केन्द्रबिन्दु बनाई गएको भूकम्पबाट प्रभावितहरुको लागि अस्थायी आवास बनाउन प्रति परिवार ५० हजार रुपैयाँका दरले उपलब्ध गराउने निर्णय गरेको हो ।
सो रकम २५÷२५ हजार रुपैयाँका दरले दुई किस्तामा उपलब्ध गराइने जनाइएको छ । त्यस्तै बैठकले बझाङ केन्द्रबिन्दु बनाई गएको भूकम्पबाट प्रभावितहरुलाई अस्थायी आवासका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने यसअघिको उपप्रधानमन्त्री एवं गृहमन्त्री स्तरीय निर्णयलाई अनुमोदनसमेत गरेको छ ।
बैठकले राहत उपलब्ध गराउन जाजरकोट र रुकुम पश्चिम जिल्लालाई पाँच÷पाँच करोड उपलब्ध गराउने कार्यकारी प्रमुख स्तरीय निर्णयको अनुमोदन पनि गरेको छ । साथै जाजरकोट, पश्चिम रुकुम र सल्यानमा प्रमुख जिल्ला अधिकारीले विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि–२०७९ बमोजिम बमोेजिम रकम खर्च गर्ने सम्बन्धमा प्रतिकार्यका लागि गर्नसक्ने खर्च र सीमा तोकेको छ । त्यसैगरी भूकम्पको कारण क्षति भएका निजी आवास, सार्वजनिक भवन र संरचनाको प्रवलीकरण, पुनर्निर्माण र पुनःस्थापना योजना बनाउन विस्तृत क्षति आकलन÷मूल्यांकन जनशक्ति र खर्चबारे समेत बैठकले आवश्यक निर्णय गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान चाप बढ्यो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ हवाई उडान बढेको छ । तिहार सुरु भएदेखि नै दैनिक हवाई उडानको चाप रहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बढेको छ । “दसैँको तुलनामा तिहारमा उडान केही कम छ । तर दैनिक उडान भने चाप बढिरहेको छ”, उनले भने । महापबन्धक तिवारीले अन्तर्राष्ट्रियतर्फ अहिले दैनिक दुईतर्फी गरेर एक सय १० को हाराहारीमा उडान भइरहेको जानकारी दिए ।
दसैँको समय अर्थात् गत असोज २९ गते अन्तर्राष्ट्रिय उडानतर्फ सबैभन्दा धेरै एक सय १३ उडान भएको थियो । जुन एक दिनमा भएको अहिलेसम्मकै बढी उडान हो । असोज ३० गते एकसय १० र कात्तिक १ देखि ३ गतेसम्म दैनिक एकसय १० भन्दा बढी अन्तर्राष्ट्रिय उडान भएको विमानस्थलको आँकडा छ ।
तिहार, छठलगायत चाडपर्वका साथै पर्यटकीय सिजन पनि चलिरहेकाले हवाई उडान बढेको तिवारीको भनाइ थियो । उनका अनुसार तिहार र छठका कारण आन्तरिकतर्फ हवाई यात्रुको चाप दैनिक बढ्दो छ । आन्तरिकतर्फ दैनिक दुई तर्फी गरेर तीन सय उडानमार्फत १४ देखि १५ हजार यात्रु आवतजावत गरिरहेका विमानस्थलका महाप्रबन्धक तिवारीले जानकारी दिए। आन्तरिकतर्फ १२ हेलिकोप्टर कम्पनीसहित २० वायुसेवा कम्पनीले उडान गर्दै आएका छन् ।
अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान थपियो
जाडो यामको नयाँ उडान तालिकामा अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान थपिएको छ । विमानस्थलका अनुसार कतार एयरवेज, फ्लाई दुबईलगायत एयरलाइनसले उडान बढाएका छन् । एयर ट्राफिक व्यवस्थापन गरेर उडान सहजीकरण भइरहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका महाप्रबन्धक तिवारीले जानकारी दिए ।
जाजरकोट भूकम्प ः दुई जिल्लामा ३९ प्रहरी कार्यालयमा क्षति
यही कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्र बिन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुमपश्चिमका प्रहरी कार्यालयमा ठूलो क्षति पु¥याएको छ । भूकम्पले जाजरकोट र रुकुमपश्चिममा गरेर जिल्ला प्रहरी कार्यालयका भवनसँगै ३९ वडा प्रहरी भवनमा क्षति पु¥याएको हो ।
जाजरकोटमा मात्रै २९ वटा प्रहरी कार्यालयका भवन आंशिक क्षति हुँदा चार भवन भने पूर्णरुपमा ध्वस्त भएका जिल्ला प्रहरी कार्यालयका जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए । उनडका अनुसार जिल्ला प्रहरी कार्यालयको भवन, चुनेचाँदे गाउँपालिका–९ मा रहेको इलाका प्रहरी कार्यालय पञ्चलादह, भेरी नगरपालिक–३ मा रहेको जिल्ला अदालत समन्वय सुरक्षा इकाइ कार्यालय र सोही ठाउँकै अस्थायी प्रहरी चौकी पूर्णरुपमा क्षति भएका हुन् ।
जिल्लामा भूकम्पले आंशिक क्षति पु¥याइएका २९ प्रहरी भवनमध्ये चार वटा कम जोखिम भएकाले सोही भवनबाट सेवा सञ्चालन भइरहेको प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिए । अन्य जोखिम रहेका ठाउँमा त्रिपालबाट सेवा प्रवाह भइरहेको उनले बताए । त्यस्तै रुकुमपश्चिममा १० वटा प्रहरी कार्यालयमा क्षति हुँदा पाँच भवन पूर्णरुपमा ध्वस्त भएका छन् भने पाँच वटामा आंशिक क्षति पुुगेको छ । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार जिल्ला प्रहरी कार्यालयको पुरानो भवन बस्न नमिल्ने गरी क्षति भएको छ ।
प्रहरी चौकी पूर्तिमकाँडा, प्रहरी चौकी सोलावाङ, प्रहरी चौकी सिम्ली र इलाका प्रहरी कार्यालय आठबिसकोटका भवन पूर्णरुपमा भूकम्पले क्षति पु¥याएको छ । सिम्लीको प्रहरी चौकी अरुको घरमा सरेर सेवा दिइरहेको छ भने आठबिसकोट इलाका प्रहरी कार्यालयले त्रिपालबाट सेवा दिइरहेको प्रनाउ भट्टराईले जानकारी दिए । बाँकी अस्थायी प्रहरी चौकी साँख, स्यालाखदी, पीपल, भुल्नेटा र इलाका प्रहरी कार्यालय चौरजहारीमा आंशिकरुपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।
यस वर्ष प्रधानमन्त्री निवासमा देउसी भैलो नहुने
यस वर्षको तिहारमा प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ । गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पत्नी दाहालको गत असार २७ गते निधन भएको थियो ।
भाइटीकाको दिन बाहेक तिहारमा सर्वोच्च अदालत खुला हुने
सर्वोच्च अदालतले तिहार बिदामा पनि अत्यावश्यक सेवा दिने भएको छ । सर्वोच्चले तिहार बिदामा बन्दी प्रत्यक्षीकरण, निवेदन दर्ता लगायतका कामका लागि सेवा खुला गर्ने भएको हो । सर्वोच्च अदालतले कात्तिक २६ गते आइतबारदेखि बिहीबारसम्मका लागि न्यायाधीशहरुलाई जिम्मेवारी तोकिएको छ ।
सर्वोच्च अदालतका अनुसार कात्तिक २६ गते आइतबार न्यायाधीश प्रकाशमान सिंह राउत, कात्तिक २७ गते सोमबार न्यायाधीश सपना प्रधान मल्ल, कात्तिक २८ गते न्यायाधीश हरिप्रसाद फुयाँल र कात्तिक ३० गते बिहीबार न्यायाधीश कुमार रेग्मीलाई जिम्मेवारी तोकिएको छ । कात्तिक २८ गते भाइटीकाको दिन भने अदालत बन्द रहनेछ । सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणका लागि बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म इजलास रहनेछ । बन्दी प्रत्यक्षीकरण लगायतका रिट दर्ता गर्नका लागि भने कर्मचारीहरु बिहान १० बजे नै अदालतमा उपस्थित हुनेछन् ।
धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी आज लक्ष्मी पूजा मनाइँदै
यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।
आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ ।
दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।
लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि उनले बताए ।
आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । लक्ष्मी पूजाका अवसरमा आज सहरबजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कूल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीयरूपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी गराए ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार शनिबारदेखि सुरु भएको हो । चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ ।
आज महाकवि देवकोटाको जन्मजयन्ती
नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरी मनाइएकाे छ ।
देवकोटाको जन्म १९६६ कात्तिक कृष्ण औँसीका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो। १० वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्। नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा लोकप्रिय र बढी बिक्री भएको पुस्तक हो।
नेपाली साहित्यमा स्वच्छन्दतावादी र प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्किन्छ। उनमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ। विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका थिए।
तीन महिनामा ‘शाकुन्तला’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तत्काल कविता लेख्नसक्ने क्षमता थियो। देवकोटाको कवि(प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ। देवकोटाको निधन २०१६ सालमा भएको थियो।
इजराइलको चेतावनी ः बेरूतलाई पनि गाजा जस्तै बनाइदिन्छौं
इजराइलले लेबनानको राजधानी बेरूतलाई पनि गाजा जस्तै बनाइदिने धम्की दिएको छ । हिजबुल्लाहका नेता हसन नसरल्लाहको अभिव्यक्तिबारे बोल्दै इसराइलका रक्षामन्त्री योआव गालान्टले बेरूतलाई पनि गाजा जस्तै बनाइ दिने चेतावनी दिएको बिबिसीले जनाएको छ ।
हिजबुल्लाहका नेता हसन नसरल्लाहले शनिबार एक टेलिभिजन सम्बोधनमा इजराइलविरूद्ध आक्रमण बढाइएको दाबी गरेका थिए । ‘दक्षिणी लेबनानबाट इजराइलमाथिको आक्रमण जारी रहन्छ । गाजामा भइरहेको इजराइल–हमास युद्धमा प्यालेस्टाइनी नागरिकहरूको समर्थनमा आक्रमण जारी रहनेछ,’ उनले भनेका थिए ।
त्यस्तै पछिल्लो एक सातायता इजराइलमाथि ड्रोन र विमानसहित शक्तिशाली मिसाइलहरू पनि प्रहार गरिएको बताएका थिए । उनले इस्लामी देशहरू इजराइलविरूद्ध एकजुट हुनुपर्ने पनि बताए । शनिबार साउदी अरबको राजधानी रियादमा भएको इस्लाम तथा अरब देशहरूको आपतकालीन सम्मेलनले इजराइललाई तत्काल संघर्षविराम गर्न अपिल गरेको बिबिसीले जनाएको छ ।
हिजबुल्लाहका नेताको अभिव्यक्तिको जवाफमा रक्षामन्त्री गालान्टले हिजबुल्लाह गम्भीर गल्तिको नजिक रहेको चेतावनी दिए । ‘यसको नराम्रो परिणाम ब्यहोर्नुपर्छ । यसको असर लेबनानका नागरिकहरूले ब्यहोर्नेछन् । गाजामा जे गरिरहेका छौं, बेरूतमा त्यस्तै कसरी गर्ने भन्ने हामीलाई थाहा छ । बेरूतको पनि त्यस्तो हालत हुन्छ जस्तो अहिले गाजाले ब्यहोरिरहेको छ,’ गालान्टको भनाइ उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ ।
आज कुकरको पूजा गरी कुकुर तिहार
यमपञ्चकको दोस्रो दिन आज घरघरमा विशेष पूजाआजा गरी कुकुरलाई माला लगाई दिएर, मीठो मीठो खान दिएर कुकर तिहार मनाइएको छ । हरेक वर्ष तिहारको दोस्रो दिनमा यमदूतको रुपमा कुकुरको विशेष पूजा गर्ने परम्परा रहेको छ । इमान्दार र घरको रक्षकको रुपमा कुकुरलाई आज माला लगाइदिने, रोटी, खीर लगायतका मीठा मीठा खानेकुरा खान दिने प्रचलन रहेको छ ।
आजको दिनलाई नरक चतुर्दशी तथा नर्के चतुर्दशी पनि भन्ने गरेको पाइन्छ । नरक चतुर्दशीको दिन विहानै ननुहाई केही खानु हुन्न भन्नै हिन्दू मान्यता रहेको छ । यो वर्ष लक्ष्मीपूजा पनि आजकै दिन परेको हुँदा लक्ष्मीको भव्य पूजा गरी बत्ति, माला तथा फूलले घर सजाएर लक्ष्मीको स्वागत गरी आजै साँझ लक्ष्मीपूजा पनि मनाइँदै छ । आजको दिन लक्ष्मीको पूजा गरे आफ्नो घरमा लक्ष्मीको बास हुने, धनधान्य हुने, श्रीबृद्धि हुने आदि मान्यता रहेको छ ।
काठमाडौं महानगरलाई २७ डाक्टर र ५ खाद्य विज्ञको आवश्यकता
काठमाडौं महानगरपालिकाले २७ जना मेडिकल अधिकृत र ५ जना खाद्यविज्ञको आवश्यकता परेकाले आवेदन खुल्ला गरेको छ । महानगर पालिकाले शनिबार एक विज्ञप्ती जारी गर्दै आठौं तहको मेडिकल अधिकृतको लागि एमबीबीएस उतीर्ण गरेका जनशक्ति माग गरेको हो । शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रहरुका लागि करारमा डाक्टर माग गरिएको महानगरले जनाएको हो । यस्तै महानगरले ल्याब संचालनका लागि खाद्य विज्ञ माग गरेको छ । महानगरपालिकाले सातौं तहको माइक्रोबाइलोजिस्ट २ जना, फुड टेक्नोलोजिस्ट ३ जना मागेको महानगरपालिकाले जनाएको छ । महानगरका कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाले खाद्य सम्बन्धी गुणस्तर मापन गर्न महानगरपालिकाले आफ्नै कर्मचारी राख्न लागेको बताए ।
काठमाडौं महानगरको १२ भदौ २०७९ को कार्यपालिकाले खाद्य पदार्थको अनुगमन गर्न खाद्य निरीक्षक (फुड इन्सपेक्टर) राख्ने निर्णय गरेको थियो । बैठकमा मेयर बालेन शाहले फुड टेक्नोलोजीमा स्नातकोत्तर गरेका ५ जना फुड इन्सपेक्टर राख्ने प्रस्ताव गरेका थिए, जसलाई कार्यपालिका बैठकले अनुमोदन गरेको थियो । तर स्नातकोत्तर योग्यता राख्दा प्रतिस्पर्धा गर्ने जनशक्ति कम हुने देखिएपछि स्नातक योग्यता तोकेर सूचना निकालिएको झाले बताए । महानगरले खाद्य निरीक्षकहरु राखेपछि मासु र खाद्य पदार्थको पसल नियमित अनुगमन गर्ने जनाएको छ ।




