कार्तिक २४ गते शुक्रबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । शुक्रबार तयार पारिएको मुख्य १० समाचारमा मुगुमा एकै परिवारका ४ जनाको हत्या घटनामा संलग्न दुई जना सार्वजनिकदेखी आज देखि यमपञ्चक सुरु, पहिलोदिन धनतेरस मनाइँदैसम्मका समाचारलाई समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
मुगुमा एकै परिवारका ४ जनाको हत्या घटनामा संलग्न दुई जना सार्वजनिक
मुगुको छायाँनाथरारा नगरपालिका–६ मन्दुगाउँको हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पकाउ पर्नेमा मुगुको छायाँनाथ रारा नगरपालिका–७ पिना घर भई बाँकेको वैजनाथ गाउँपालिका–१ चिसापानी बस्ने ३१ वर्षीय काले भनिने गोर्खराज शाही र छायाँनाथ रारा–६ मन्दु बस्ने ३१ वर्षीय गोपालबहादुर बोहरा छन् । उनीहरूलाई शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले सार्वजनिक गरेको हो ।
शाहीलाई कात्तिक २० गते सुर्खेतको वीरेन्द्रनगरबाट र बोहरालाई उनकै घर मन्दुबाट शुक्रबारै नियन्त्रणमा लिएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भिम ढकालले बताए । प्रहरीका अनुसार बोहरा योजना बनाएका हुन् । मृतकका श्रीमान् दीपक बोहरालाई राम्रो कमाइ गर्ने कतारस्थित कम्पनीमा आफूलाई भिसा पठाइदिन गोपालले आग्रह गरेका थिए ।
दीपकले सोही कुरा अस्वीकार गरेको रिसइबीका कारण उनको परिवारको हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । हत्याको मुख्य योजनाकार गोपालले गोर्खराजलाई भेटी मृतकसँग १०÷१२ तोला सुन र नगद भएकोले लुटपाट गर्ने सल्लाह गरेका थिए ।
कात्तिक ५ गते सुर्खेतबाट हिँडेका गोर्खराज मुगु पुगेका थिए । कात्तिक ७ गते दुई जना स्थानीय एक सामुदायिक विद्यालयमा लुकीछिपि बसेका थिए । ८ गते राति ९ बजे उनीहरू मृतकको घर पुगी ढोका खोल्न लगाएर हत्या गरेका थिए । उनीहरूले खुकुरीले टाउको र घाँटीमा प्रहार गरेर श्रीदेवी बोहरासहित ४ जनाको हत्या गरेका थिए । मारिसकेपछि उनीहरूले मृतकसँग भएको १ थान मोबाइल, कानमा लगाएको रिङ, घाँटीको तिलहरी लुटपाट गरेका थिए ।
घटनापछि कात्तिक ९ गते गोर्खराज शाही मुगु र जुम्लाको सिमानासम्म पैदल हिँडेर सुर्खेततर्फ बसमा भागेका प्रहरीको अनुसन्धानको क्रममा खुलेको डीआईजी ढकालले बताए । यही कात्तिक ८ गते घरमै २६ वर्षीया श्रीदेवी बोहरा र उनका ११ वर्षीय छोरा मनोज‚ ६ महिनाका छोरा रहर र ७ वर्षीया छोरी अप्सराको शव भेटिएको थियो ।
रीना साहलाई मेयर पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख रीनाकुमारी साहलाई पदमा पुनर्बहाली गरेको छ। न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले साहलाई मेयर पदबाट हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो। साह २०७९ बैशाख ३० को निर्वाचनबाट एमालेको तर्फबाट मौलापुर नगरपालिकाको नगरप्रमुख पदमा निर्वाचित भएकी थिइन्। उनी दल त्यागेर गएको भन्दै एमालेले जानकारी गराएपछि निर्वाचन आयोगले उनको पद गुमेको सूचना निकालेको थियो। त्यसपछि साहले आयोगलाई विपक्षी बनाइ रिट दायर गरेकी थिइन्।
मुद्रास्फीति वाञ्छित सीमा बाहिर, विप्रेषण र विदेशी मुद्रा सञ्चिती बढ्यो
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार गत असोज मसान्तसम्ममा मुद्रास्फीतिले वाञ्छित सीमा नाघेको छ भने विप्रेषण र विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार भएको देखिएको छ । त्यस्तै, शोधनान्तर स्थिती पनि बचतमा देखिएको छ ।
राष्ट्र बैंकको प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति सात दशमलव ५० प्रतिशत छ । चालु आर्थिक वर्षका लागि सरकारले मुद्रास्फीति साढे छ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ । तर सरकारले राखेको मूल्यवृद्धिको अधिकतम सीमाको लक्ष्यभन्दा वास्तविक मूल्यवृद्धि एक प्रतिशत बिन्दुले बढी देखिएको हो । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति आठ दशमलव ३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति छ दशमलव ८१ प्रतिशत रहेको छ ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३७ दशमलव ६३ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १८ दशमलव २२ प्रतिशत, फलफूलको १४ दशमलव ०२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२ दशमलव २३ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११ दशमलव ९२ प्रतिशतले बढेको छ । तर, घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११ दशमलव ६१ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५
दशमलव ५५ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १२ दशमलव ११ प्रतिशत, शिक्षाको नौ दशमलव १० प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको आठ दशमलव ०८ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको छ दशमलव २५ प्रतिशतले बढेको छ । त्यस्तै, यातायात क्षेत्रमा एक दशमलव ६२ प्रतिशतको मूल्यवृद्धि देखिएको छ । गत असोज महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १० दशमलव २३, तराईको पाँच दशमलव ६६, पहाडको सात दशमलव ३८ प्रतिशत र हिमालको १० दशमलव २४ प्रतिशत रहेको छ ।
त्यस्तै, यो अवधिमा विप्रेषण आप्रवाह ३० प्रतिशतले वृद्धि भई रू तीन खर्ब ६५ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६ दशमलव ८ प्रतिशतले बढेको थियो । गत असोज मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख १३ हजार तीन सय ९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९ हजार दुई सय ९७ रहेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमास अवधिमा सरकारको चालु खाता रू ५९ अर्ब ९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रू ३५ अर्ब २४ करोडले घाटामा रहेको थियो । त्यस्तै, वैदेशिक लगानी रू ३ अर्ब ३७ करोडले धनात्मक रहेको छ ।
असोज मसान्तसम्मको शोधनान्तर स्थिति रू ९९ अर्ब ७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रू १२ अर्ब ४३ करोडले बचतमा थियो । गत असार मसान्तमा रू १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति छ दशमलव सात प्रतिशतले वृद्धि भई गत असोज मसान्तसम्ममा रू १६ खर्ब ४३ अर्ब ९ करोड पुगेको छ । चालु आर्थिक वर्षको तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १२ दशमलव चार महिनाको वस्तु आयात र १० दशमलव तीन महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
पहिलो त्रैमासिक अवधिमा आयात एक दशमलव सात प्रतिशतले बढेको छ भने निर्यात दुई दशमलव तीन प्रतिशतले घटेको छ । कुल वस्तु व्यापार घाटा दुई दशमलव एक प्रतिशतले बढेकोछ ।
बहुमूल्य सामान बोकेर भिडभाडमा नजान उपत्यका प्रहरीको अनुरोध
काठमाडौँ उपत्यका प्रहरी कार्यालयले बहुमूल्य सामान बोकेर भिडभाडमा जाने गल्ती नगर्न अनुरोध गरेको छ । उपत्यका प्रहरीले यसरी जाँदा चोरीको सम्भावना अधिक हुने भएकाले विशेष ख्याल गर्न पनि सुझाएको छ । तिहारलगायत चाडपर्वको समयका लागि ११ बुँदे अनुरोध सार्वजनिक गर्दै प्रहरीले आफ्नो सुरक्षामा पहिले आफैँ सचेत हुनसके धेरै घटनाबाट जोगिन सकिने जनाएको छ ।
तिहार, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा शान्ति र सुरक्षालाई मजबुद बनाउन उक्त कार्यालयले सर्वसाधारमा जारी गरेको अपिलमा लङ्गुरबुर्जा, जुवा र तासलगायत हारजित हुने खेल खेल्ने वा खेलाउने कार्य नगर्न र नगराउन भनेको छ । कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले मुख्यगरी पटाका पटकाउनेजस्ता गतिविधि, हत्या–हिंसा, चोरी, तस्करी तथा हारजित हुने गरी खेलिने खेललाई विशेष निगरानीका लागि प्रहरी टोली परिचालन गरिएको जानकारी दिए ।
साथै चाडपर्वको समय भएकाले यातायात क्षेत्रमा हुने अवाञ्छित गतिविधिलाई पनि ट्राफिकमार्फत निगरानी बढाएको जनाइएको छ । सार्वजनिक गरिएको अनुरोधमा पटाका, आतिसबाजीजस्ता विष्फोटक पदार्थको कारोबार गर्ने कार्य नगर्न, मादकपदार्थ सेवन (मापसे) र लागूपदार्थ सेवन (लापसे) गरी सवारीसाधन नचलाउन, यात्राको क्रममा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान पनि भनिएको छ ।
नगद, बहुमूल्य सामान, गरगहना र महँगा मोबाइल फोनसहित भीडभाडमा सकेसम्म नजान, घर तथा पसल बाहिर जानुपरेमा घरको झ्याल ढोका राम्रोसँग बन्द गरेको छ–छैन यकीन गर्न तथा सकेसम्म साइरन जडित ताल्चा जडान गर्न पनि प्रहरीले अनुरोध गरेको छ । लामो समय घर वा पसल छोडी बाहिर जानुपरेमा छिमेकी तथा स्थानीय प्रहरीलाई खबर गर्न सकेसम्म डिजिटल प्रविधिमार्फत रकमको कारोबार गर्न, आफ्नो मोबाइल बैंकको ओटिपी कोड सुरक्षित राख्न पनि अनुरोध गरिएको छ ।
अब अदालत मंसिर १ मा मात्र खुल्ने
सर्वोच्चसहितका अदालत अब मंसिर १ गते मात्र खुल्ने भएका छन् । सर्वोच्च अदालतले सूचना प्रकाशन गरी शुक्रबारको सुनुवाइपछि एकैपटक मंसिर १ गते मात्र अदालत खुल्ने जानकारी गराएको हो ।
दीपावली पर्वका लागि यही कात्तिक २६ देखि ३० गतेसम्म सर्वोच्च अदालत बन्द रहने सूचनामा भनिएको छ । सर्वोच्च अदालतले भाइटीकाको दिनबाहेक अन्य दिनमा बन्दी प्रत्यक्षीकरणका निवेदनमा सुनवाइ हुने भन्दै हरेक दिनका लागि न्यायाधीश तोकेको छ । सर्वोच्चले बन्दी प्रत्यक्षीकरणका निवेदनमा सुनवाइ गर्न आइतबार न्यायाधीश प्रकाशमानसिंह राउत, सोमबार सपनाप्रधान मल्ल, मंगलबार हरिप्रसाद फुयाल र बिहीबार हरिप्रसाद फुयाललाई तोकेको छ ।
मातहतका अदालतहरूले सर्वोच्चकै सूचनाको आधारमा आआफ्ना अदालतमा बिदा दिने र बन्दी प्रत्यक्षीकरणसहितका निवेदनमा सुनुवाइ गर्न न्यायाधीश तोक्ने गर्छन् । यस्तै चेकबाट कारोबार गर्नुपर्ने अवस्थामा आफ्नो रकमले खाम्ने अङ्कको मात्र चेक जारी गर्न तथा सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत तथा यात्राको विवरण अद्यावधिक गर्ने कार्य नगर्न पनि अनुरोध गरिएको छ ।
तिहारमा मौसम सफा रहने
हाल देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेकाले अझै दुई दिन देशका कतिपय स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज र भोलि कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा बदली रही वर्षाको सम्भावना रहेको छ । साथै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको उनले बताए ।
मौसमविद् अधिकारीले पश्चिमी वायुको प्रभावले दुई दिन मौसम प्रतिकूल रहे पनि तिहारको समयमा सामान्यतया सफा रहने उल्लेख गरे । उनले भने, ‘पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम प्रदेशमा भोलिसम्म हल्का बाँदल लाग्ने देखिन्छ । त्यसपछि मौसम राम्रै रहने देखिन्छ । अहिले कुनै ठूलो मौसमी प्रणाली भित्रने सम्भावना नभएकाले तिहारमा मौसम सामान्यतया सफा रहनेछ ।’
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अहिले सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम आंशिक बदली रहेको जनाइएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थान र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
तापक्रम घट्दैः चिसो बढ्दै
पछिल्ला दिनमा क्रमिकरुपमा तापक्रम घट्दै गएकाले आगामी दिनमा चिसो बढ्दै जाने महाशाखाले पूर्वानुमान गरेको छ । ‘तापक्रम क्रमिक रुपमा घट्दै गएको छ । चिसो बढिरहेको छ’ मौसमविद् अधिकारीले भने । तापक्रम अझै घट्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज काठमाडौँको अधिकतम तापक्रम २३ र न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ ।
भावी सेनापतिको लाइनमा भनिएका पाण्डेले बुझाए राजीनामा
भावी प्रधानसेनापतिको लाइनमा रहेका भनिएका नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन्। उमेरको विषयमा छानबिन सुरू भएपछि उनले बिहीबार राजीनामा बुझाएको बताइएको छ । सेनाको उच्च श्रोतका अनुसार पाण्डेले बलाधिकृत रथी सीताराम खड्कालाई राजीनामा बुझाएका हुन्। उनको राजीनामाबारे रक्षामन्त्री पूर्णबहादुर खड्कालाई जानकारी गराइँदैछ।
पाण्डेको उमेर विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न रक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो । बिहीबार नै नेपाली सेनाभित्रको ठूलो प्राड विभागमा समेत यस विषयमा छलफल भएको थियो । सैनिक मुख्यालयभित्रै छानबिनसमेत सुरू भएपछि पाण्डेले राजीनामा दिएको बुझिएको छ । प्रधानसेनापति प्रभुराम शर्माको २०८१ भदौ २४ गते कार्यकाल सकिएलगत्तै पाण्डे प्रधानसेनापतिको रोलक्रममा थिए।
सैनिक नियमावलीअनुसार उपरथी दर्जाको अवकाश हुने उमेरको हद ५७ वर्ष हो। २०२१ माघ १२ गतेको जन्ममितिअनुसार उनले २०७८ माघ १२ गते नै अवकाश पाइसक्नुपर्ने हो, तर अहिले एक वर्ष आठ महिना बढी समय अवधि जागिर खाइरहेका छन् । एसएलसी प्रमाणपत्रमा पाण्डेको जन्ममिति २०२१ माघ १२ गते छ।
तर, २०४२ चैत २५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंको चलानी नम्बर ७५८८ अनुसार पाण्डेको जन्ममिति २०२३ मंसिर २३ गते कायम गरिएको भन्दै एसएलसीको नतिजा प्रकाशित भएको मिति २०३८ सालको सक्कली ढड्डामा उल्लेख छ।
नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन दिँदैनौँ ः माधव नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । चिनियाँ सहयोग परियोजना बीआरआईसम्बन्धी चीनको कुङमिङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले समाजवादी चीनलाई आर्थिक तथा सुरक्षाका विभिन्न माध्यम प्रयोग गरी घेरा हाल्ने एवम् कमजोर बनाउने कतिपय क्रियाकलापप्रति आफूहरू सचेत रहेको बताए।
उनले भने, ‘नेपालमा आन्तरिक द्वन्द्व चर्काउने, सैन्य तथा सुरक्षा सहयोगमार्फत भू–राजनीतिकरुपमा चीनलाई घेरा हाल्न खोज्ने हाम्रो भूमि प्रयोग गर्ने कुनै पनि कामलाई हामी स्वीकार गर्न सक्दैनौँ ।’ चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी), दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका अन्य राजनीतिक दलहरुबीचको सम्बन्ध सहकार्य, आपसी समझदारीमा आधारित भएको भन्दै उनले चिनियाँ कम्युनिष्ट पार्टीले यी क्षेत्रका विभिन्न राजनीतिक दलसँग खुला संवाद, विचारको आदानप्रदान र क्षेत्रीय विश्वव्यापी मुद्दामा एकअर्कालाई सहयोग तथा प्रोत्साहनसहित सम्बन्ध स्थापना गर्ने कोसिस गरेको बताए।
यसप्रकारको सहयोग र दृष्टिकोणले दक्षिण एसिया र दक्षिण पूर्वी एसियाको शान्ति, विकास र स्थिरतालाई सुदृढ पार्ने लक्ष्य लिएको उनको भनाइ छ । रचनात्मक छलफल र साझेदारी पहलहरुमा सम्बन्ध भएर सीपीसी तथा दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका अन्य राजनीतिक दलहरुले क्षेत्रीय सद्भाव, आर्थिक समृद्धि र सांस्कृतिक आदान प्रदानमा योगदान दिने कोसिस गरिरहेको उनले उल्लेख गरे।उनले साझा चुनौतीहरुको मिलेर समाधान गर्न पनि आवश्यक रहेको बताए। उनले दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका राजनीतिक दलले सीपीसीसँग सम्बन्धलाई थप बलियो र दरिलो बनाएर समाज विकासका विभिन्न पक्षमा काम गर्नु आवश्यक रहेको बताए ।
इरानी जेलमा रहेकि नोबेल पुरस्कार विजेता महम्मदीद्वारा अनसन तोडेको घोषणा
जेलमा रहेकि इरानी नोबेल शान्ति पुरस्कार विजेता नार्गिस मोहम्मदीले अनसन तोडेकि छन् । तेहरानको इभिन जेलमा रहेकी ५१ वर्षीया वरिष्ठ अधिकारकर्मी मोहम्मदीलाई ‘इरानमा महिला माथि भइरहेको उत्पीडनविरुद्धको लडाइँका लागि’ अक्टोबरमा नोबेल पुरस्कार प्रदान गरिएको थियो । इरानमा अनिवार्य गरिएको तर अधिकारकर्मीद्वारा विरोध गरिएको हिजाब लगाउने शर्तलाई नमानिकन उनलाई उपचारका लागि अस्पतालमा भर्ना गराएपछि मोहम्मदीले अनशन तोडेको उनको पारिवारिक श्रोतले जनाएको छ ।
बिहीबार उनको इन्स्टाग्राम अकाउन्टमा पोस्ट गरिएको एक सन्देशमा अधिकारकर्मीको परिवारले उहाँलाई बुधबार परीक्षाका लागि अस्पतालमा स्थानान्तरण गरिएको जनाएको छ । उनि मुटु र फोक्सोको समस्याबाट पीडित छन् । “अनिवार्य हिजाब नलगाई अस्पताल भर्ना भएपछि र महिला वार्डमा फर्केपछि मैले अनशन तोडेँ,” उनले भनिन्।
मोहम्मदीको परिवारले सोमबार आफू र अन्य कैदीहरूको लागि चिकित्सा सेवाको सीमितता र इस्लामी गणतन्त्रमा महिलाहरूले सार्वजनिक रूपमा कपाल ढाक्नु पर्ने आवश्यकताको विरोधमा भोक हडताल सुरु गरेको बताएको छ । मोहम्मदीलाई भेट्न अस्पताल पुगेका साथी र सहयोगीलाई इस्लामिक रिपब्लिक सेक्युरिटी फोर्सले धम्की दिएको र सताएको उनका समर्थकले बिहीबार बताएका छन् ।
इरानमा सन् १९७९ को इस्लामिक क्रान्तिको केही समयपछि सार्वजनिक स्थलमा महिलाका लागि अनिवार्य गरिएको हिजाब लगाउन मोहम्मदीले इन्कार गर्दै आएकी छन् । उनले हिजाब लगाउन इन्कार गरिरहने कसम खेय्कि छन् । “महिलाको रूचीबिना नै हिजाब लगाउनु पर्ने कानून उन्मूलन नभएसम्म, म सडकमा यसरी नै हिंड्नेछु, र हिजाब बिना हामी महिलाहरूलाई हिँडेको देखेर तपाईंहरू थरथर काँप्नेछिन्न,” उनले इरान सरकार र अधिकारीलाई सङ्केत गर्दै भनिन्।
पहिलो पटक २२ वर्षअघि पक्राउ परेकी मोहम्मदीले इरानमा मानव अधिकारका लागि अभियान चलाएको आरोपमा विगत दुई दशकको अधिकांश समय जेलभित्र र बाहिर बितयेकि छन् । सन् २०२१ को नोभेम्बरदेखि जेलमा रहेकी उनले आठ वर्षदेखि फ्रान्समा रहेका आफ्ना छोराछोरीसँग भेट गर्न पाउएकि छैनन । सन् २०२२ को सेप्टेम्बरमा २२ वर्षीया महसा अमिनीको हिरासतमा मृत्यु भएपछि जेलबाट नै इरानमा महिनौं लामो विरोध प्रदर्शनको नेतृत्व गरेकी मोहम्मदीले नोबेल पुरस्कार दिने घोषणा गरिएको छ ।
आज देखि यमपञ्चक सुरु, पहिलोदिन धनतेरस मनाइँदै
हिन्दु नेपालीहरुको अर्को ठूलो पर्व तिहार (दीपावली) पनि नजिकिएको छ। आज देखि यमपञ्चक सुरु भएको छ। यमपञ्चकको पहिलो दिन, आज धन त्रयोदशी अर्थात् धनतेरस मनाइँदैछ। दीपावलीको किनमेलका लागि धनतेरसलाई निकै उत्तम मानिन्छ। आज धातुका नयाँ सामान जोडेर धनतेरस मनाइन्छ। विशेष गरी मिथिला क्षेत्रमा धातुका सामान किनेर पूजाआराधना गर्दै दीपावली पर्व प्रारम्भ गर्ने परम्परा छ।
घरघरमा आजै साँझदेखि उज्याला बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिन्छ। दीपावली मुख्यतः धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिने पर्व भएको हुँदा पहिलो दिन नै नयाँ वस्तु जोडेर लक्ष्मी खुशी पार्न यो पर्वको परम्परा चलेको मिथिला संस्कृतिका ज्ञाता बताउँछन्। मिथिला क्षेत्रमा ‘दिवाली’को पहिलो दिन नै बजारबाट किनेर ल्याइएको धातुका गहना वा भाँडालाई लक्ष्मीको प्रतिमा स्थापित गरिएका ठाउँमा पूजा गरेर यो पर्व विधिवत सुरु गरिने परम्परा छ।
सन्ध्याकालमा दीप प्रज्ज्वलनसँगै धनतेरसको पूजा गरेर ‘दिवाली’ पर्व सुरु गरिन्छ। पर्व विशेषका कारण आज तामा, पित्तल र काँशका भाँडा पसल तथा सुनचाँदीका गहना बनाउने पसलमा ग्राहकको भीडभाड रहन्छ। आज किनिएको सामान शुभफल दिने, टिकाउ र नाफा दिने हुने जनविश्वास छ।




