कार्तिक २० गते सोमबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । सोमबार तयार पारिएको मुख्य १० समाचारमा राष्ट्रपति पौडलद्वारा विदेश भ्रमण स्थगितदेखी गाँजा खेती सम्भाव्यता अध्ययनका लागि कार्यदल गठनसम्मका समाचारलाई समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
राष्ट्रपति पौडलद्वारा विदेश भ्रमण स्थगित
राष्ट्रपति रामचन्द्र पौडेलको पर्सीदेखि तय भएको फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित भएको छ । विनाशकारी भूकम्पजस्तो प्राकृतिक विपत्ति आइपरेका बेला मुलुक छाड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपति पौडेलले सो भ्रमण स्थगित गरेका उनका प्रेस सल्लाहकार किरण पोखरेलले प्रेस नोटमार्फत जानकारी दिए । राष्ट्रपति पौडेल भूकम्प प्रभावितहरूको अवस्था बुझ्न भोलि बिहान भूकम्प प्रभावित क्षेत्रतर्फ जानु हुने कार्यक्रम तय भएको जनाइएको छ । नेपाल सरकार मन्त्रिपरिषदको बैठकले ती मुलुककको भ्रमण स्वीकृत गरेको भोलिपल्टै जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिमलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो ।
सो भ्रमण नेपाल र नेपाली जनताका लागि अत्यन्त महत्वपूर्ण हुँदाहुँदै पनि प्राकृतिक विपत्ति आइपरेको हुनाले यो बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपतिले भ्रमण स्थगित गर्नुभएको प्रेस सल्लाहकार पोखरेलले बताए । राष्ट्रपति पौडेल फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनको निमन्त्रणामा यही नोभेम्बर ९ देखि ११ तारिखसम्म पेरिसमा हुने पिस फोरम कार्यक्रम अन्तर्गतको ‘वान पोलार प्लानेट समिट’ तथा ‘पेरिस प्याक्ट फर पिपुल एण्ड प्लानेट’ सम्मेलनमा भाग लिन जाने कार्यक्रम तय भएको थियो ।
नेपालले पेरिस सम्झौता २०१५ मा विश्वको तापमान एक दशमलव पाँच डिग्री सेल्सियसभित्र नियन्त्रण गर्ने प्रतिवद्धता जनाएको र नेपालले सन् २०४५ भित्र शून्य डिग्री कार्वन उत्सर्जनको महत्वाकांक्षी लक्ष्य राखेको छ । बिग्रँदो पर्यावरणलाई कसरी अनुकुल बनाउने भन्ने उद्देश्य रहेको उक्त सम्मेलनमा कार्वन उत्सर्जनको कुनै कारक नभएर पनि नेपालले जलवायु परिवर्तनको असर भोग्नु परेको सम्बन्धमा विश्वजगतको ध्यानाकर्षण गराउने कार्यक्रम थियो । त्यस्तै, युरोपेली युनियनका महत्वपूर्ण राष्ट्रहरू फ्रान्स, जर्मनी र इटलीबाट राष्ट्रपति पौडेललाई आएको निमन्त्रणासँगै ती मुलुकका राष्ट्रपतिसँग तीन दशकपछि उच्चस्तरको महत्वपूर्ण भेटवार्ता पनि तय थियो ।
कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दिएको राजीनामा अस्वीकृत
नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत भएको छ । प्रदेशसभा सचिवालयमा सोमबार बसेको कांग्रेस दलको बैठकले उनको राजीनामा अस्वीकृत गरेको स्रोतले जनाएको छ । कोशी प्रदेश सरकारमा सांसद केदार कार्कीले पार्टीबाट विद्रोह गरेर मुख्यमन्त्री बन्न एमालेको साथ लिएपछि कार्कीको निर्णयप्रति असहमति जनाउँदै थापाले राजीनामा दिएका थिए ।
एमाले कोशी प्रदेशमा प्रतिपक्षमा बस्ने
एमालेले कोशी प्रदेशमा प्रतिपक्षमा बस्ने निर्णय गरेको छ। सोमबार बिहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन कायमै राख्दै प्रतिपक्षमा बस्ने निर्णय गरेको प्रमुख सचेतक रेवती भण्डारीले जानकारी दिए।
उनले सरकार बनाउँदाको समर्थन फिर्ता भइसकेको, तर दिइएको विश्वासको मतको समर्थन भने हाललाई फिर्ता नलिने निर्णय भएको बताए। कोशी प्रदेशमा एमालेबाट मन्त्री बनेका रामबहादुर मगरले शनिबार राजीनामा दिएका थिए। कांग्रेसको विद्रोही (शेखर कोइराला) पक्ष र एमालेबीचको समझदारीविपरीत मुख्यमन्त्री कार्कीले माओवादी र एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराएपछि असन्तुष्ट बनेको एमालेले सरकारबाट बाहिरिने निर्णय लिएको थियो।
मगर असोज २८ गते विनाविभागी मन्त्री नियुक्त भएका थिए । तर उनले मन्त्रालयको जिम्मेवारी नसम्हाल्दै राजीनामा दिएका थिए ।मुख्यमन्त्री कार्कीले कात्तिक १ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए। उनलाई एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले मत दिएका थिए। राप्रपा भने मतदानमा सहभागी नै भएन ।
माओवादी केन्द्रले काठमाडौंमा गर्न लागेको विरोध प्रदर्शन स्थगित
नेकपा (माओवादी केन्द्र) ले मंसिर २२ गते काठमाडौंमा गर्ने भनेको जनप्रदर्शन स्थगित गरेको छ। कर्णालीको जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पलगायत कारणले काठमाडौं केन्द्रित जनप्रदर्शनका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरिएको माओवादी केन्द्रका महासचिव देव गुरूङले बताए। काठमाडौंबाहेक अन्य स्थानमा भने प्रदर्शन यथावत रहेको उनले बताए । महासचिव गुरूङले वडा र स्थानीय तहका कार्यक्रम भने यथावत रहने बताए ।
रुकुमपश्चिममा १६ हजार पाँच ७० घर पूर्णरुपमा क्षतिग्रस्त
भूकम्पका कारण रुकुमपश्चिमका छ स्थानीय तहका १६ हजार पाँच सय ७० घर पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले तथ्याङ्क सङ्कलन जारी रहेकाले यो सङ्ख्या बढ्नसक्ने बताए । नगरपालिका प्रमुख तथा गाउँपालिकाका अध्यक्षहरुले समितिको बैठकमा पेश गर्नुभएको प्रारम्भिक तथ्याङ्कअनुसार सबैभन्दा बढी आठबिसकोट नगरपालिकाका घरमा क्षति पुगेको छ ।
समितिका अनुसार आठबिसकोट नगरपालिकामा सात हजार एक सय ४८ घरमा पूर्णरुपमा क्षति पुगेको छ भने सानीभेरी गाउँपालिकाका तीन हजार एक सय ४६ घर पूर्णरुपमा र सात सय २२ घरमा आंशिक क्षतिग्रस्त बनेका छन् । चौरजहारी नगरपालिकामा एक हजार नौ ८७ घर पूर्ण र चार हजार तीन सय ७४ घरमा आशिंकरुपमा क्षति पुगेको छ भने मुसीकोट नगरपालिकामा दुई हजार तीन सय घर पूर्णरुपमा र तीन हजार पाँच सय घरमा आशिंक क्षति पुगेको छ । त्यसैगरी त्रिवेणी गाउँपालिकामा एक हजार नौ सय ३५ घर पूर्ण र एक हजार दुई सय ५८ घरमा आंशिक क्षति पुगेको छ भने बाँफिकोट गाउँपालिकामा १८ वटा घर पूर्ण र एक सय सात घरमा आंशिक क्षति पुगेको छ ।
तिहारमा बजारमा चिनीको अभाव नहुने
काठमाडौं उपत्यकामा अब चिनीको अभाव नहुने भएको छ ।
साल्टट्रेडिङले आजबाट उपत्यकाका खुद्रा व्यापारीलाई १० बोराका दरले चिनी उपलब्ध गराउने जनाएको छ । साल्टट्रेडिङले उपत्यकामा खुद्रा व्यापारीलाई १० बोराका दरले चिनी उपलब्ध गराउने जनाएको हो ।
तिहार तथा छठ पर्वका लागि सरकारले चिनीको आयात सहज बनाएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निरन्तर पहलपछि साल्टट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी बिक्री वितरणका लागि दिइने भएको हो । खुद्रा व्यापारी तथा व्यवसायीले आजदेखि साल्टट्रेडिङको कालीमाटी शाखा र भोलिदेखि कोटेश्वर शाखाबाट चिनी किन्न पाउनेछन् । यो चिनी प्रतिकिलो रु एक सय १५ मा उपभोक्ताले किन्न पाउनेछन् । व्यापारीले तोकिएका निर्धारित मूल्यभन्दा बढीमा बेचेको खण्डमा भने कारबाही हुनेछ ।
दशैँका बेला बजारमा चिनीको हाहाकार भएपछि उक्त कार्यालयले चिनी उत्पादक उद्योगसँग समन्वय गर्दै तीन हजार मेट्रिकटन चिनी साल्टट्रेडिङमार्फत किन्ने प्रबन्ध गरेको थियो। यसका साथै अवैधरुपमा भित्रिएको चिनीको खोजतलास गर्न उपत्यकाका तीनवटै जिल्लामा सुरक्षा निकायसँग समन्वय गरी विशेष अनुगमन टोली परिचालन गरिएका
थिए ।
उक्त कार्यालयको समन्वयमा सबै निकायका प्रतिनिधि सम्मिलित उच्चस्तरीय अनुगमन टोलीले राजधानी काठमाडौँका विभिन्न स्थानमा अवैधरुपमा पठाइएका सयौँ बोरा चिनी बरामद गरेको थियो । उद्योगीबाट किनिएको चिनी साल्टट्रेडिङले आफ्ना ‘आउटलेट’, खुद्रा बिक्रेता सङ्घअन्तर्गतका केही पसल तथा खाद्य संस्थानबाट मात्रै बिक्री वितरण गरे पनि उपभोक्ताले लामो लाइन लाग्नुपर्ने अवस्था भएकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा सबै खुद्रा व्यापारीलेसमेत १० बोरा चिनी बिक्री वितरणका लागि किन्न पाउने भएका हुन् ।
एनआईसी एशियाद्धारा भूकम्प प्रभावित क्षेत्रमा राहतका लागि ५१ लाख सहयोग
मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत आफ्ना लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एन आई सी एशिया बैँक लिमिटेडले जाजरकोट भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५१ लाख नगद सहयोग प्रदान गरेको छ ।
उक्त रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका छन् । २०८० कात्र्तिक १७ गते राती कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत वरपरका जिल्लामा परेको ठूलो जनधनको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकम बैंकले उपलब्ध गराएको हो ।
क्यानको निर्णय ः राष्ट्रिय क्रिकेट टोलीलाई ५० लाख नगदसहित सम्मान गर्ने
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ५० लाख नगदसहित सम्मान गर्ने निर्णय गरेको छ। सोमबार बसेको क्यानको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको सचिव पारस खड्काले जानकारी दिए। सचिव खड्काका अनुसार आईसीसी टी–२० विश्वकप फाइनलमा एसिया क्षेत्र छनोटमा उत्कृष्ट खेल प्रदर्शन गर्दै सन् २०२४ मा वेष्ट इन्डिज र अमेरिकामा सञ्चालन हुने विश्वकपमा छनोट भएको टोलीलाई सो नगदसहित सम्मान गर्ने निर्णय भएको हो।
आगामी जनवरीमा सञ्चालन हुने यू–१९ एसिया कपमा छनोट भएको यू–१९ राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुलाई जनही ५० हजारका दरले नगद पुरस्कार उपलब्ध गराउने निर्णय समेत भएको क्यानले जनाएको छ । आईसीसी टी–२० विश्वकप फाइनलमा एसिया क्षेत्र छनोट अन्तर्गतको फाइनल खेलमा ब्रिकी भएको टिकटबाट संकलित रकमको ५० प्रतिशत रकम जाजरकोट भूकम्प पीडितका लागि सहयोग उपलब्ध गराउने निर्णय पनि भएको क्यानले जनाएको छ ।
जाजरकोट भूकम्पः ४.५ म्याग्निच्युडको भूकम्पको दोस्रो झड्का
जाजरकोटमा ४.५ म्याग्निच्युडको भूकम्पको दोस्रो झड्का गएको छ । सोमबार अपरान्ह ४ बजेर ४० मिनेटमा भूकम्पको दोस्रो झड्का गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर भूकम्प गएको हो । सोमबारै जिल्लाको रामिडाँडा भएर ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो । यसअघि शुक्रबार सो ठाउँमा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ठूलो जनधनको क्षति भएको थियो ।
काठमाडौँ महानगरले पठायो भूकम्प पीडितका लागि राहत सामाग्री
काठमाडौं महानगरपालिकाले भूकम्प पीडितहरूका लागि राहत सामाग्री पठाएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत महानगरले जाजरकोट र पश्चिम रूकुमका भूकम्प पीडितहरूका लागि राहत साम्रागी पठाएको हो ।
गाँजा खेती सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन
सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गरेका थिए । आर्थिक वर्ष २०८०–८१ को बजेट वक्तव्य को १०५ नम्बर बुँदामा भनिएको छ– औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको समभाव्यता अध्ययन गरिनेछ ।’ यो कार्यदललाई दुईवटा विषय म्यान्डेट दिइएको छ । गाँजालाई औषधिका रुपमा कसरी उपयोग गर्न सकिन्छ र गाँजाबाट औद्योगिकरणको सम्भाव्य अनुसन्धान गर्नेछ । गाँजाको डाँठ, पात र रेसाबाट कपडा बनाउन सकिन्छ भन्ने विषयमा कार्यदलले अनुसन्धान थाल्ने छ ।
मन्त्री डा। महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा सोमबार बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयको सहसचिव सदस्यसचिव रहने गरी कार्यदल बनाएको हो । कार्यदलले काम शुरु गरेको एक महिनाभित्रमा प्रतिवेदन बुझाउन अर्थ मन्त्री डा. महतले निर्देशन दिएका छन् ।




